प्रदीप पौडेलको AGENDA : यस्तो हुनुपर्छ अबको कांग्रेस

-  |   प्रदीप पौडेल, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

प्रदीप पौडेलको AGENDA : यस्तो हुनुपर्छ अबको कांग्रेस

स्थापनाको समयमा कांग्रेस नेपाली समाजका मुख्य मुद्दामा धारिलो थियो । खासगरी बीपी कोइरालाको समयमा विचार दृष्टिकोण र योजनामा हामी जति प्रस्ट थियौँ, अहिले त्यस्तो छैनौँ ।
कांग्रेसले नेपाली समाजका मुद्दालाई जसरी प्राथमिकतामा राखेर आफ्नो अवधारणा बनाउनुपर्ने थियो, त्यसरी अघि बढ्न सकिरहेको छैन । हाम्रै पार्टीमा काम गरेका कैयौँ युवा साथी मैले चिन्छु, जो खाडी मुलुकमा रात, दिन दुःख गरिरहेका छन् । त्यहाँ जान बाध्य भएका छन् ।
हामीले त्यो संवेदनालाई वस्तुगत रूपमा समेटिरहेका छैनौँ । कहिलेकाहीँ राजनीतिकर्मी भन्न पनि लाज लाग्छ । जलस्रोतको धनी देशमा १६ घन्टा लोडसेडिङ हुन्छ । जलस्रोतको धनी देशमा महँगोमा बिजुली किन्नुपर्ने हुन्छ ।

pradeep poudel (2)
राजनीतिक दलमध्ये कांग्रेसलाई खराबमध्ये राम्रो मान्न सकिन्छ । विगतमा कांग्रेसले समन्वयकारी भूमिका खेलेकै हो । यस हिसाबले पनि खराबमध्ये राम्रो मान्न सकिएला । सबैखाले अतिवादीलाई समन्वय गरी लोकतान्त्रिक बाटोमा ल्याउन कांग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको हो । त्यो एउटा राजनीतिक संयोजनको कुरा थियो । राजनीतिक अधिकारसँग जोडिएको कुरा थियो । फरक विचारको पनि अस्तित्व हुनुपर्छ भन्ने र बहुलवादलाई सर्वस्वीकार्य बनाउने सवालमा कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको हो ।
तर, बीपी कोइरालाको समयमा विषय यतिमात्रै थिएनन् । यद्यपि, यो पनि एउटा मुद्दा त थियो । यहीमात्रै त थिएन । यो विषयसँग जोडेर उहाँले आर्थिक अधिकारका कुरा नेपाली समाजलाई समृद्ध बनाउने उठाउनुभएको थियो । नेपाली समाज त्यतिबेला सामन्ती स्वरूपमा चलेको थियो । सबैभन्दा ठूलो दुस्मन सामन्त नै थिए । सामन्तवादबिवरुद्ध लडेको बीपी कोइरालाको पार्टीले आज प्राथमिक मुद्दा छुट्याउन सकिरहेको छैन ।
यो समाजको समस्या एकातिर छ, हामीले उठाएको मुद्दा अर्कोतिर । हामी समुदायमुखी वा समाजमुखी हुन सकिरहेका छैनौँ । मेरो विचारमा कांग्रेसमा वैचारिक विषयमा छलफल नै हुन सकेको छैन । वैचारिक बहस हुनै सकेन । हालै महाधिवेशन भयो । केही ठाउँमा उद्घाटन भयो । बन्दसत्र त कहीँ पनि चलेन । विचारको प्राथमिकतालाई अवलम्बन गर्न सकिराखेका छैनौँ हामीले । कपी, पेस्ट गरिएको दस्तावेजमात्रै बनाएर कुनै वादको पछि मात्रै हिँड्न खोजेकोजस्तो देखियौँ ।
महाधिवेशनपछि 
महाधिवेशनपछि एकखालको उत्साह छ । आफू नेतृत्वमा आएरमात्रै हो कि वा अरू नै केही हो । तर, पहिले म के गर्न आएको हो भन्ने प्रस्ट नभईकन आत्मविश्वास बढाउन सकिँदैन । रचनात्मकता बढाउन सकिँदैन ।
‘टार्गेट क्लियर’ बनाउन नसक्दा अरूलाई आत्मविश्वस बढाउन सकिँदैन । यस्तो हुँदा राजनीतिक मञ्चलाई वैचारिक बहस गर्ने थलोका रूपमा विकास गर्न सकिएको छैन । नेतृत्व गर्ने हामीले पनि हो । त्यो भूमिकाबाट ममात्रै अलग रहन सक्दिनँ । त्यो चुनौती मिट गर्नैपर्छ । हामीले नै त्यो टार्गेट तयार बनाउनुपर्छ ।

नेपाली समाजका मुद्दालाई पार्टीको एजेन्डा बनाउन खोजेजस्तो देखिनुपर्छ । पार्टीको विधान खल्तीमा राखेर आफूलाई अनुकूल भएअनुसार चलाउने कुराको अन्त्य हुनुपर्छ । विधानलाई आफूले चलाउने होइन, विधानअनुसार आफू चल्नुपर्छ । विधानलाई शिरमा राखेर त्यसअनुसार पार्टी र आफू चल्न सक्ने हुनुपर्छ ।

pradeep poudel (5)
अबको नेतृत्वले सबै शक्तिलाई समेटेर अघि बढ्न सक्यो भने सबैले अवसर पाएर अघि बढाउन सकियो भने सिर्जनात्मकता पनि स्वाभाविक रूपमा बढी हुन्छ । वैचारिक सिर्जनात्मक कुरा एकातिर छ । पार्टी व्यवस्थापनको कुरा अर्कोतिर भइरहँदा गुट बढ्ने, ती गुट आफ्नो स्वार्थका निम्ति मात्रै उपयोगी हुने अवस्था आउँछ । र, नेतृत्व गर्ने भर्याङमा मात्रै सीमित हुन्छ ।
महाधिवेशनपछि सभापतिको काम 
१. सभापतिले कांग्रेसको शक्तिलाई व्यवस्थापन गरेर संविधान कार्यान्वयन गर्ने विषयमा स्पष्ट योजनागत अभियान अघि बढाउनु आवश्यक छ ।
२. मधेस आन्दोलनले नउठाएका विषयलाई व्यवस्थापिका संसद्भित्र कानुन निर्माण गर्ने अभियानको नेतृत्व गर्ने ।
३. मधेस आन्दोलनसँग पनि समन्वय गरी त्यो समस्यालाई हल गराउने कोसिस गर्ने ।
४. पर्टीभित्रको अन्तरविरोध न्यूनीकरण गर्ने ।
५. सबैलाई काम गर्ने अवसर दिने ।
६.सबैको क्षामता के हो बुझेर त्यहीअनुसार भूमिका दिनेलगायत कुरामा सभापति केन्द्रित हुनु आवश्यक देखिन्छ ।
कांग्रेसभित्र युवा नेताको भूमिका 
टेस्टेड नेताप्रति जनअपेक्षा तुलनात्मक रूपमा कम छ । हामी अनटेस्टेड भएकाले हामीसँग अपेक्षा अलि बढी छ । यो हाम्रो सुविधा पनि हो ।
सुविधामात्रै होइन, चुनौती पनि हो । र, फेरि टेस्ट भइसकेपछि हामी पनि त्यस्तै भयौँ भने हामीप्रतिको भरोसा पनि घट्नेछ । केन्द्रीय समितिमा धेरै युवा गएका छैनन् । यो एक हिसाबले अवसर पनि हो । जति थोरै गएका छौँ । थोरै जाँदा पनि केही गरेकोजस्तो वा गर्न खोजेकोजस्तो देखिनुपर्छ ।
यथास्थितिलाई रूपान्तरण गर्न खोजेकोजस्तो देखिनुपर्छ । नेपाली समाजका मुद्दालाई पार्टीको एजेन्डा बनाउन खोजेजस्तो देखिनुपर्छ । पार्टीको विधान खल्तीमा राखेर आफूलाई अनुकूल भएअनुसार चलाउने कुराको अन्त्य हुनुपर्छ । विधानलाई आफूले चलाउने होइन, विधानअनुसार आफू चल्नुपर्छ । विधानलाई शिरमा राखेर त्यसअनुसार पार्टी र आफू चल्न सक्ने हुनुपर्छ ।
त्यसैले पार्टीको आन्तरिक व्यवस्थापन राज्यको स्वार्थसँग जोडेर पार्टीलाई अघि बढाउने काममा हाम्रो भूमिका अलि बढी देखिनुपर्छ । त्योखालको प्रखरता देखियो भनेमात्रै हामीप्रतिको विश्वास रहन सक्छ । त्यो भरोसा र अपेक्षालाई नटुट्ने बनायौँ भने नेतृत्वमा हामीलाई कसैले जान नदिइरहन सक्दैन ।
परम्परागत गुट छँदै छ । त्यो बलियो रूपमा बसेको छ । तर मलाई लाग्छ– राजनीतिक मुद्दामा प्रखर ढंगले उभिन सकियो भने त्यो मुद्दाका आधारमा पनि गुट बन्न सक्छ । राम्रो÷जायज कुरालाई मानिसले स्वागत गर्छन् ।
फेरि बलियो हुनकै लागि गुट निर्माण गर्ने कुरा त होइन । यद्यपि, विचार, दृष्टिकोण वा कार्यक्रमका आधारमा गुट निर्माण भयो भने त त्यसले सकारात्मक दिशा नै दिन्छ । विचारको जगमा उभिएको गुट वा कार्यक्रम र योजनाको जगमा उभिएको गुट भयो भने त्यसले पुरानो गुटलाई परास्त गरी पार्टीलाई नयाँ शिराबाट अघि बढाउन सक्छ ।
हामीसँग पनि वैचारिक अब्बलता नभएको हुन सक्छ । खासगरी युवा नेता पनि परम्परागत रूपमा मात्रै चल्यौँ । उमेरको हिसाबमा मात्रै सुविधा लिन खोज्यौँ । हामी नयाँ हौँ । युवा हौँ त्यसैले भूमिका पाउनुपर्छ मात्रै भन्यौँ ।
हामी नयाँ त अवश्य पनि हौँ । चेहरा नयाँ भएरमात्रै भएन । कार्यशैली, सोचाइ नयाँ हुनुपर्यो । हिजोको भन्दा नयाँ तरिकाले कार्यशैली बढाउनुपर्यो । विचारका आधारमा प्रतिस्पर्धा गर्ने वातावरण सिर्जना गर्न सक्नुपर्छ । हामी भयौँ भने यसो गर्छौं भनेर स्पष्टता देखाउन सक्नुपर्यो । त्यो नभएका कारणले नै अघि बढ्न नसकेका हौँ कि भन्ने लाग्छ ।

pradeep poudel (4)
राजनीतिमा गुटभन्दा गिरोह सक्रिय 
प्रदीप गिरी दाइले केही अघि भनेझैँ कांग्रेसमा मात्रै नभएर नेपालकै राजनीतिमा त्यस्तो गिरोह प्रवृत्ति छ भन्ने लाग्छ । सबै ठाउँमा बिचौलिया हाबी छन् । अब त्यस्तो कुराले कांग्रेसको भविष्य र दृष्टिकोण निर्धारण गर्नुहुँदैन । स्वार्थगत कुरामा अल्झियो भने वा कोही रिसाउँछ कि भनेर डराइयो भने केही खोसिन्छ कि भनेर डराइयो भने त भविष्यमा नेतृत्व गर्न सकिँदैन ।
नेपालको राजनीतिमा पार्टीको स्वार्थका निम्ति वा अभियान कार्यान्वयनका लागि पार्टीमा लाग्नेभन्दा पनि आफ्नो स्वार्थपूर्ति गर्न पार्टीमा लाग्ने समूह सक्रिय छ । कांग्रेस त ‘मास बेस्ड’ पार्टी पनि हो । यसमा नियमित आबद्धताको खासै आवश्यकता पनि छैन । सदस्यता कहिले लियो भन्नेजस्ता कुराका आधारमा मूल्यांकन हुनेवाला छैन ।
वैचारिक बहसका आधारमा मूल्यांकन हुने परिपाटी नहुँदा अन्य तरिकाबाट पनि नेतृत्वमा जाने कोसिस भएको हो । विचारगत, योजनागत पक्षबाट बहस हुने र विचार, बहस र योजनाका आधारमा नेतृत्वमा जाने परिपाटी भयो भने आवश्यकताअनुसारको नेतृत्व निर्माण हुन सक्छ ।
पार्टीमा यस्तो अभ्यास बलियो बन्न नसक्दा अन्य तरिकाले पनि नेतृत्वमा जाने बाटो खुलेका छन् । यस्तो भइरहँदा कर्पोरेट संस्था हो भनेर पनि टिप्पणी आइरहेका छन् । समग्र राजनीति नै यस्तो आलोचनामा मुछिएको छ । यी सबै कुरामा कांग्रेस अछुतो छ भन्न सकिँदैन ।
कांग्रेसका चुनौती :
मैले हाम्रो पार्टीका मुख्य दुई चुनौती देखेको छु ।
१. आन्तरिक व्यवस्थापन :
एक्काइसौँ शताब्दीमा आफैँ व्यवस्थित बन्न नसकेको पार्टीले देशको व्यवस्थापन कसरी गर्ला भन्ने प्रश्न स्वाभाविक रूपमा उठेको छ । यही अवस्थामा राष्ट्रको व्यवस्थापन गर्न सक्छ भन्ने कुरा पत्याउन सकिँदैन ।
आफूलाई चुस्त–दुरुस्त र तन्दुरुस्त बनाएर देखाइसकेपछि मात्रै अरूका अघि हुँकार गर्न सकिन्छ । आफूभित्र कमजोरी देखिनेगरी राख्ने, आलोचनाको जवाफ दिन नसक्ने अनि देशलाई राम्रो बनाउँछु भन्दा नपत्याउने अवस्था आउँछ ।
२. राष्ट्रमुखी एजेन्डा बनाउन नसक्नु
हामीले हाम्रा मुद्दा समाजमुखी वा समुदायमुखी बनाउन सकिरहेका छैनौँ । लोकतन्त्रलाई अनुभूतिमा बदल्न सक्नुपर्छ । नत्र यस्तै कुराहरू मात्रै गरेर कसैले भरोसा गर्न सक्दैन ।
नेपाली समाजमा जातीय छुवाछूत छैन । जातीय आधारमा विभेद छैन । धार्मिक आधारमा विभेद पनि छैन । लिंगीय वा भूगोलका आधारमा पनि विभेद छैन । पूर्ण रूपमा अन्त्य भयो म भन्दिनँ । तर, नयाँ शिराबाट विभेद आउन सक्छन् ।

नेतृत्वलाई गाली गरेर हामी विमुख हुन सक्दैनौँ । अरूले गरेनन् हामीले गर्न सक्यौँ भने हाम्रा लागि त्यो अवसर हो । हामीले नेतृत्वलाई गर्न बाध्य बनाउन सक्नुपर्यो । हामीले राम्रो योजना ल्यायौँ भने नेतृत्वले कसरी हटाउन सक्छ र ।

pradeep poudel (1)
जस्तै, अबको १० वर्षपछि कुनै किशोरी सर्टिफिकेट लिएर कर्पोरेट अफिसमा जागिर खान गइन् भने रिसेप्सनमै सोधिन्छ । ‘तपाईं सरकारी स्कुल पढेको कि प्राइभेट ? सरकारी कलेज कि निजी कलेज पढेको’ भनेर सोधिन्छ ।
उनले सरकारी विश्वविद्यालय वा स्कुल पढेको उत्तर दिइन् भने ‘तपाईं अन्तर्वार्ता वा लिखित परीक्षाकै लागि योग्य हुनुहुन्न कृपया बाहिर जानुस्’ भनेर निकालिनेछ । यस्तोखालको विभेद हुने अवस्था बढेको छ ।
सम्पन्न मान्छेले मात्रै स्वास्थोपचार गर्न सक्छ । विपन्नले मुटुमै प्वाल पर्यो भने पनि त्यसलाई पुर्न सक्ने क्षमता हुँदैन । ऊसँग नागरिकता हुन्छ । गरिब मान्छे उपचार गर्न नपाएर मर्न पर्यो भने ऊसँग भएको नागरिकतामा गर्व गर्छ कि घृणा गर्छ । त्यसैले यी नयाँखालका विभेद सिजना भएका छन् ।
हाम्रो भूमिका 
मैले यसअघि नै भनेको छु– हाम्रो देश जलस्रोतको धनी देश हो । घरको छेउमा खोलो बगिरहेको छ । एक दिन बिजुली बल्छ भनेर पर्खेर बस्न कोही पनि सक्दैन । यति राम्रो सुन्दर देश छ– कृत्रिमताले भरिएको फ्रान्स हेर्न लाखौँ मानिस जान्छन्, पर्यटन वर्ष घोषणा गर्दा पनि हाम्रो देश हेर्न १० लाख मान्छे आउँदैनन् ।
उत्तरको छिमेकी देशबाट ३० करोड पर्यटक चीन घुम्न जान्छन् । त्यसमध्ये ३० लाखमात्रै पनि ल्याउन सक्दैनौँ हामी । त्यसैले अब हाम्रो भूमिका भनेको राष्ट्रिय मद्दालाई कांग्रेसको एजेन्डा बनाउन सक्नुपर्छ । १५ वर्षमा नेपाललाई कांग्रेसले यस्तो स्पष्ट दृष्टिकोण दिन सक्नुपर्छ । अबको १५ वर्षपछिको नेपालको तस्बिर हाम्रा एजेन्डामा झल्किनुपर्छ ।
नेतृत्वलाई गाली गरेर हामी विमुख हुन सक्दैनौँ । अरूले गरेनन् हामीले गर्न सक्यौँ भने हाम्रा लागि त्यो अवसर हो । हामीले नेतृत्वलाई गर्न बाध्य बनाउन सक्नुपर्यो । हामीले राम्रो योजना ल्यायौँ भने नेतृत्वले कसरी हटाउन सक्छ र । यति धेरै मिडियाको विकास भएको छ, हाम्रा एजेन्डा साँच्चिकै राम्रा छन् भने नेतृत्व तयार नभए पनि तिनै एजेन्डाका आधारमा छवि बनाउन सकिन्छ ।
अबको राजनीति समाज, समुदाय र राष्ट्रसँग जोड्न सकिएन भने नेपालको राजनीतिसँग कसैको पनि भरोसा हुन सक्दैन । कांग्रेस अहिलेसम्म नेतृत्वकारी भूमिकामा रह्यो भने लोकतान्त्रिक मूल्य–मान्यतासँग यसले कहिल्यै सम्झौता गरेन ।
समन्वयकारी भूमिका देखायो । तर, अब यिनै विषयमा मात्रै सीमित रहेर कांग्रेस निर्विकल्प पार्टी रहन सक्दैन । आफूलाई विकास गर्न सकेन भने कांग्रेस पनि विस्थापिन हुन सक्छ । यस्तो चुनौती बुझेर यी विषयलाई प्रस्ट बनाउन सक्नुपर्छ ।
प्रधानमन्त्रीज्यू, विकल्प खोज्न बाध्य नबनाउनूस्
पछिल्लो अवस्थामा कांग्रेसले प्रतिपक्षीको भूमिका निर्वाह गर्न सकेन । अहिलेसम्म महाधिवेशनको तयारी भन्ने सुविधा थियो । तर, अब त्यो पनि छैन । सरकारले पेट्रोलियम पदार्थ उपलब्ध छ भन्छ । तर, लाइन उस्तै छ । प्रधानमन्त्री कसैले नपत्याउने कुरा गर्नुहुन्छ । अहिले ग्यास बाल्नै नसकेका गृहिणीले उहाँले भनेझैँ स्वीच थिचेर ग्यास बाल्ने कसरी पत्याउने । भूकम्पपीडितले कति पीडा भोगे होलान् । उनीहरूले सरकारको कुरा कसरी पत्याउने ।
यी विषयलाई हामीले प्रखर ढंगले उठाउन सकेनौँ । केही समय अघिसम्म नाकाबन्दी थियो । सरकार परिवर्तनको कुरा गर्दा पनि मन्त्री बन्न हतारो भयो भन्ने आलोचना हुन्थ्यो । हामीले धर्ना बसेनौँ । विरोध पनि गरेनौँ । हाम्रो प्राथमिकताको विषय संविधान कार्यान्वयन नै थियो ।
तर, सरकारले उठाउन नसकेका कुरा उठाउँदा सरकारको विकल्प खोज्नैपर्ने हुन्छ । म प्रधानमन्त्रीलाई भन्न चाहन्छु– तपाईंको विकल्प खोज्ने चाहना छैन । तर, विकल्प खोज्न बाध्य नबनाइदिनुहोस् ।

प्रस्तुती : रमन  पौडेल

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल