मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य


१–मेरो खाना

 मलाई सबैभन्दा मनपर्ने खाना दाल, भात, तरकारी हो । तर, अचेल मकै (च्याख्ला) को खाना बढी खान्छु । सबैभन्दा मन नपर्ने खाना भन्ने खासै केही छैन । रेस्टुरेन्ट जान्न । स्न्याक्स त्यति धेरै खान्न । कहिलेकाहीं सुगर फ्री बिस्कुटचाहिँ खान्छु । पकाउन खासै रुचि छैन, आक्कलझुक्कल पकाउँछु ।

२–मेरो पोसाक

धेरैजसो सर्ट, कोट, पाइन्ट नै लगाउँछु । गर्मी मौसममा चाहिँ सर्ट, पाइन्टमात्रै । ढाका टोपी सधैंजसो लगाउँछु ।
पोसाककै लागि नियमित बजेट छुट्याउने गरेको छैन । बजारका प्रायः सबैभन्दा सस्तो कपडा छान्छु । चार वर्षअघि एक सय २५ रुपैयाँको दरले १९ सर्ट किनेको थिएँ । केही आफूलाई राख्न भयो र केही प्रिजेन्ट गर्न पनि मिल्यो । त्यसबेला किनेको सर्ट अझै प्रयोग गर्दै छु ।

३– मेरो रोजाईको रंग
सामान्यतः सेतो रंग मलाई मन पर्छ । क्रिम कलर वा खैरो पनि लगाउँछु । तर, कालो रंगचाहिँ कहिल्यै मन पर्दैन । कालो कपडा कहिल्यै लगाएको छैन । पहिले–पहिले धेरैजसो रेडिमेड कपडा किन्ने गर्थें । कतिपय रेडिमेड कपडा शरीरमा नमिल्ने भएकाले सिलाएरै पनि लगाउने गर्छु । केही रेडिमेड र केही पछि सिलाएका कपडा छन् मसँग । ५०-५० प्रतिशतजस्तै होला । कपडा सिलाउनुपरेमा यही ठाउँ भन्ने छैन । फुर्सद भए आफैं जान्छु र समय नभए सही नापोको कपडा दिएर पठाइदिन्छु ।
ब्रान्डको विषयमा भने म कन्सस छैन । सकेसम्म नेपालको प्रडक्ट भयो भने त्यो छान्छु । नत्र यही ब्रान्डको कपडा भनेर रोजेको छैन । ढाका टोपीचाहिँ नियमितजस्तै लगाउँछु । गर्मी भयो भने कहिलेकाहीं ह्याट पनि लगाउँछु ।

lallbabu (2)
४–मेरो फिटनेस
नियमितजस्तै मर्निङवाक र इभिनिङवाक जाने गर्छु । बिहान र साँझ गरी कम्तीमा एक घन्टा र बढीमा दुई घन्टासम्म फिटनेसका लागि वाकिङ गर्छु ।
खानामा भने सधैं ध्यान दिन्छु । मलाई सुगर भएकाले त्योसँग मिल्ने खानामात्रै खान्छु । डाइटिङ गर्दिनँ । तर, खानामा भने विचार पुर्याउँछु । योगा गर्ने बानी पनि छैन । कहिलेकाहीं आक्कल–झुक्कल गर्छु तर नियमित भने गर्दिनँ ।

५–मेरो अध्ययन
समाज परिवर्तन तथा सामाजिक घटना परिवेशसँग जोडिएका पुस्तक पढ्ने रुचि हुन्छ मलाई । केही अनुसन्धानमूलक पुस्तक पनि पढ्ने गर्छु । आँखाको शल्यक्रिया गरेको हुनाले पछिल्लो समय धेरै पढ्न कठिन हुन्छ । त्यसैले अहिले केही पढेको छैन ।
लेखकमा यही विशेष भन्ने छैन । निश्चित लेखकको अनिवार्य पढ्नैपर्ने भन्ने पनि लाग्दैन । विषय वा पुस्तकको गहनता हेरेर पुस्तक छान्ने गर्छु । र, त्यस्तो लेख्ने बानी पनि छैन मेरो । कहिलेकाहीं पत्रपत्रिकामा लेखेको आलेखबाहेक अन्य कुरा लेखेको छैन । कहिलेकाहीं डायरी टिप्ने कुरा त अलग भयो । तर, लेखक वा साहित्यकारकै रूपमा लेख्ने गरेको छैन ।
पुस्तक संकलन भने म धेरै गर्छु । विराटनगरस्थित मेरो घरमा कम्तीमा आधा ट्रक पुस्तक छन् । काठमाडौंको डेरामा पनि उल्लेखनीय पुस्तक छन् । पुस्तक किन्नकै लागि भनेर वार्षिक खर्च भने छुट्याउने चलन छैन । तर, पुस्तक किन्दा प्रायः दुईप्रति किन्छु । र, कसैले उपहार दिए पनि दुईप्रति नै माग्छु । किनकि, एकप्रति काठमाडौंमा राख्छु । अर्को प्रति विराटनगरमा लैजान्छु । यस्तो गर्दा एउटा हराए पनि अर्को प्रति सुरक्षित हुन्छ ।

६–मेरो घुमफिर
मलाई घुमफिरमा रुचि छ, विभिन्न कामको सिलसिलामा पनि नेपालका ६८ जिल्ला घुमिसकेको छु । ७५ वटै जिल्ला घुम्ने चाहना छ । त्यस्तै जापान, थाइल्यान्ड, सिंगापुर र चीन गरी चार देश घुमेको छु । औपचारिक भ्रमण नै भए पनि त्यहाँको विकास र समृद्धिबारे सिक्ने र त्यसलाई आफ्नो ठाउँमा लागू गराउने चाहना हुन्छ मलाई । जहाँ पुगे पनि आफ्नै देश मन पर्दोरहेछ । यद्यपि, जापान र सिंगापुरको विकासबाट भने म प्रभावित भएँ ।
र, अन्य देश पनि जाने चाहना छ । खासगरी ती ठाउँको विकास र परिवर्तनबारे त्यहीं पुगेर थाहा पाउने र सिक्ने चाहना छ । त्यसबाट केही प्रेरणा पनि मिलोस् ।

७– मेरो फुर्सद
जोसुकैको पनि दैनिक कामबाहेक फुर्सद नै हुँदैन भन्ने त हुँदैन होला । अनुकूलअनुसार फुर्सद पनि निकालेकै हुन्छु् । नियमित कामबाहेक फुर्सदको समय बढी समाचार र इन्टरनेटमा बिताउँछु । कम्प्युटर र इन्टरनेटमा केही खोजिरहन मन लाग्छ । केही त्यस्तो राम्रो कुरा मिलोस्, जसले देश र समाजका लागि फाइदा हुन्छ । त्यस्ता कुरा खोजी गर्न मन लाग्छ ।
तर, आरामकै लगि भनेर केही दिन वा समय छुट्याएको भने छैन । नियमित काम पनि चलिरहेकै हुन्छ । र, आराम पनि सँगसँगै लिएकै हुन्छु । दैनिक १० बजेतिर सुत्छु र साढे पाँच वा ६ बजे उठ्छु ।
परिवारकै लागि विशेष समय दिने मौका भने मिलेको छैन । स्वाभाविक रूपमा रेस्ट समय परिवारकै लागि दिन्छु । श्रीमती र सन्तानसाथ घुम्न, रेस्टुरेन्टमा खान वा चलचित्र हेर्न भने गएको छैन । बरु कहिलेकाहीं औपचारिक कार्यक्रममा चाहिँ हामी सँगै जान्छौं । तर, कसैले भन्छन्– ‘परिवारलाई लिएर १०÷१५ दिनका लागि यस्तो ठाउँमा जाँदै छु ।’ मेरो जीवनमा त्यस्तो छैन ।

८– मेरो खेलकुद
मलाई सबैभन्दा मनपर्ने खेल फुटबल हो । सबैभन्दा मन नपर्ने खेल त छैन । तर, नबुझ्ने खेलचाहिँ क्रिकेट हो । यसको नियम नबुझेर होला क्रिकेट जटिल लाग्छ । हाइस्कुलमा पढ्दा फुटबल र भलिबल सामान्यतः खेल्थें । तर, म खेलप्रेमीका रूपमा भने कहिल्यै चिनिइनँ ।
स्वाभाविक रूपमा आफ्नो देशको खेल हुँदा समर्थन गरेकै हुन्छु । अन्यथा यही टिम फेभरेट हो भन्ने छैन । यही टिम वा देशले जित्नुपर्छ भन्ने मान्यता राख्दिनँ । राम्रो खेल्नेले जित्नुपर्छ जस्तो लाग्छ ।
अघिल्लोपटक सार्क फुटबल प्रतियोगिताको घटना सम्झना छ । नेपालको फुटबल प्रतिस्पर्धा भइरहँदा म साथीहरूसँग बसेर खाना खाइरहेको थिएँ । जब नेपालले हार्यो त्यसपछि मैले खाना खानै छाडिदिएँ ।

९–मेरो मोबाइल
पहिले धेरै समय मैले नोकियाको ११ सय मोडल प्रयोग गरें । त्यो सस्तो र सजिलो पनि थियो । अहिलेचाहिँ नोकियाको लेटेस्ट मोडेल र सोनीको अर्को चलाइराखेको छु । एकजना साथीले सोनीको मोबाइल उपहार दिनुभएको हो । कहिले चार्ज नहुने कारणले अहिले दुई मोबाइल बोक्दै आएको हुँ । तर, नयाँ मोबाइल फेरिरहने बानी छैन ।
कतिपय मानिस मनोरञ्जनका लागि पनि मोबाइल प्रयोग गर्छन् । तर, म सूचना र सन्देश ग्रहण गर्ने वा सम्पर्कका लागि मात्रै प्रयोग गर्छु । बरु सामाजिक सञ्जाल भने प्रयोग गर्छु । दुई फेसबुक आईडी छन् । मोबाइलबाटै फेसबुक चलाउँछु तर कमेन्ट गर्दिनँ । राम्रो कुरा लाग्यो भने त्यो बुझेर आफूले बोल्नेक्रममा प्रस्तुत गर्छु । नराम्रो कुराप्रति चासो राख्दिनँ । मोबाइलमा गेम भने कहिल्यै खेलेको छैन ।

lallbabu (1)१०–मेरो टेलिभिजन
मेरो कोठामा टेलिभिजनको छुट्टै सेट भने छैन । कम्प्युटरको मोनिटरमै टीभी हेर्छु । धेरैजसो समाचार, डिस्कभरी र एनिमल प्लानेटजस्ता विषयप्रति रुचि छ मलाई । तर, सिरियलचाहिँ हेर्दिनँ । सिरियल कहिलेकाहीं हेरिहालें भने सीआईडी हेर्छु ।
र, यही समयमा टीभी हेर्ने भन्ने तालिका पनि छैन । कहिले त हप्तौंसम्म हेरिदैन । कहिले पावर हुँदैन कहिले आँखाको समस्याका कारण पनि केही समय हेरिएन । कहिले समय पनि नहुने । समय मिलाएर साँझ, बिहान हेर्ने गर्छु । मलाई इन्द्र लोहनी खुबै मनपथ्र्योे । उहाँको अन्तर्वार्ता मन पथ्र्यो । अचेल खासै यही भन्ने छैन । यद्यपि, विजय कुमार र भूषण दाहालजी पनि मनपर्छ ।

११–मेरो चलचित्र
पछिल्लोपटक हेरेको चलचित्र ठ्याक्कै सम्झना छैन । पछिल्लो समय केही प्रिमियर शोमा गएंँ । तर, हलमै गएर नहेरेको धेरै भइसक्यो । बरु धेरै अघि हिन्दी सिनेमा ‘चिराग कहाँ रोशनी कहाँ’ धेरैपटक हेरेको थिएँ ।
त्यस्तै फिल्म हेर्दाहेर्दै हलबाटै उठेर हिँडेको पनि सम्झना छ मलाई । २०४८ सालमा हिन्दी सिनेमा ‘दिल’ हेर्न हल पुगें । तर, कास्टिङमै उठेर हिँडेको थिएँ । र, हलमा गएर हेरेको त्यही अन्तिम हिन्दी सिनेमा हो । असाध्यै मन परेको सिनेमा भए घरमै क्यासेट ल्याएर हेर्छु । हलसम्म जाने गरेको छैन ।
नेपाली सिनेमा भीमदत्त, सिन्दुर असाध्यै मन परेका फिल्म हुन् मलाई । भीमदत्त हेर्दा त म प्रिमियर शोमै क्वाँ–क्वाँ रोएँ । पछि क्याबिनेटमै पनि सो फिल्मका लागि ट्याक्स फ्री वा सहुलियत गरिदिन आग्रह गरेको थिएँ । सिन्दुर फिल्मको गीतचाहिँ विशेष मन पर्छ । त्यो गीत अहिले पनि कतै सुनें भने औधी खुसी लाग्छ । त्यस्तै हिन्दी फिल्म पीके पनि मनपर्ने फिल्म हो । हलिउडमा टाइटानिक र अवतार मनपर्छ । कलाकारमा यही भन्ने छैन । तर, भीमदत्तको पात्रले मन छोयो ।

१२–मेरो रोग
मलाई दीर्घ रोग छ । सुगर र ब्लड प्रेसर हाई छ । तर, सामान्यतः दिनचर्यामा खासै समस्या छैन । नियमित रूपमा चेकअप र फलोअप गरिराख्छु । औषधि सेवन पनि गर्दै आएको छु । खानामा विशेष ध्यान दिन्छु । यस्तो समस्या हुनुका कारण भने ठ्याक्कै यही हो भन्न सक्दिनँ । तर, जेनेटिक प्रोब्लम पनि हो कि जस्तो लागेको छ मलाई ।

१३–मेरो भाषण शैली
मेरो भाषणशैली अलि फरक छ जस्तो लाग्छ मलाई । मलाई भन्न मन लागेको कुरा कसैसामु बाँकी राख्दिनँ ।
विषय र परिस्थितिका आधारमा कहिले बौद्धिक किसिमको र कहिले आक्रामक पनि हुन्छ । यदि कसैले परिवर्तन र सामाजिक हितको मुद्दालाई कमजोर बनाउने कोसिस गर्न खोजेको छ भने त्यस्तो अवस्थामा आक्रामक रूपमा भाषण गर्छु ।
प्रायः स्टेजमै गएर भाषणको तयारी गर्छु । स्टेजमा पुगेपछि पब्लिकको अनुहार हेरिसकेपछि भाषण गर्नुअघि आयोजकलाई कति समय छुट्याइएको छ भनी सोध्छु । प्राविधिक समयबाहेक मेरा लागि छुट्याइएको समयभन्दा डेढ वा २ मिनेटभन्दा बढी पनि हुँदैन र त्यसभन्दा कम पनि हुँदैन । भाषणक्रममा अनावश्यक थेगो पनि प्रयोग गर्दिनँजस्तो लाग्छ । बरु कसैले औंल्याइदियो भने थाहा हुन्थ्यो होला । र, मेरा भाषण विवादमा परेको पनि याद छैन ।

madav lalbabu१४– मेरो मापसे
मादक पदार्थ अहिलेसम्म पिएको छैन । र, कहिल्यै गर्दिनँ पनि । जिन्दगीभरि अहिलेसम्म मापसे पनि गरेको छैन र कपडामा कालो कपडा पनि लगाएको छैन ।

१५–मेरो संगीत
म संगीत त्यति धेरै सुन्दिनँ । तर, कहिलेकाहीं समाजमा चर्चा भएका छन् भने त्यस्ता गीत–संगीतचाहिँ सुन्छु । मन परेको गायक–गायिका भन्ने पनि विशेष छैन । गीतअनुसार कोही मनपर्यो होला ।
मेरो मन छोएको र गुनगुनाउन मन लाग्नेजस्तो गीतचाहिँ ‘बनेको छ छहराले यो छाती मेरो’ हो । यो गीतले मेरो मन छुन्छ । राष्ट्रियगानजस्तै प्रिय लाग्छ यो गीत । गुनगुनाउनका लागि त मेरो गाउने स्वर छैन, बानी पनि छैन । गाउन पनि आउँदैन ।

१६–मेरो भूल
३८ वर्षको राजनीतिक जीवनमा सानातिना भूल त गरियो होला । तर, अरू कसैले आरोप लगाउने किसिमको भूल गरेको छैन । परिवारभित्र बस्दा सधैं मीठोमात्रै त हुँदैन नि । तीतो–मीठो दुवै हुन्छ । मैले ढिला बिहे गरें । यसका केही असर हुँदारहेछन् । सायद यही पो भूल हो कि । सानो छँदा स्कुलमा शिक्षकको पिटाइ त खाइयो होला तर भूल गरेबापत पाएको ठूलो सजाय छैन ।
काठमाडौं आएर थापाथली क्याम्पस पढ्दा अरू साथीले झैं मैले पनि पिटाइ खाएको छु । तर, गौरवसाथ सम्झन्छु– सरको पिटाइले मलाई राम्रो जीवन बनाउन मद्दत पुग्यो । त्यसबेला सरको पिटाइ मेरै हितका लागि थियो ।
म कालो भएकाले र मधेसबाट आएकाले थापाथली क्याम्पसमै पढ्नेक्रममा सामाजिक विभेदमा पर्थें । मधेसबाट आएको एकमात्र विद्यार्थी थिएँ । गल्ती नगरेरै पनि यस्तो विभेद भोग्नुपर्यो । तर, यो कसैको व्यक्तिगतभन्दा पनि सामाजिक विभेदको कुरा थियो । जीवनमा उतारचढाव त भइरहन्छन् । तर, पश्चाताप गर्नुपर्ने घटना भने छैन ।

१७– मेरो घर
२०५३ सालमा निर्वाचनक्रममा मलाई ‘टुरिस्ट क्यान्डिडेट’ भनेर आरोप लागेपछि विराटनगरमा दुईकोठे सामान्य घर बनाएको थिएँ । पछि माओवादी युद्धक्रममा सुरक्षाका लागि तीन कोठा थपेर पाँच कोठाको घर छ अहिले । त्यतिबेला साथी सुवोध प्याकुरेल
(मानावअधिकारवादी ) ले सस्तोमा एक कठ्ठा जग्गा दिनुभयो, त्यसपछि घर बनाएको थिएँ ।
वास्तुशास्त्रअनुसार लेखाजोखा गरेर घर बनाएको होइन । घर सामान्य किसिमको छ । सस्तोमै बनाएको हो । त्यसबेला दुई लाखमा घर सम्पन्न भयो । घर निर्माणक्रममा म आफैं उपस्थित थिइनँ ।

१८–मेरो राशि
मेरो राशि मेष हो । ग्रहदशा भने हेराउने गरेको छैन । यसप्रति विश्वास पनि छैन मलाई । शरीरका कुनै पनि अंगमा मणि माणिक्य वा औंठीलगायत केही पनि गहना लगाएको छैन ।
बरु सानैमा कान छेडिएको थियो । ग्रह र नक्षत्रको फलप्रति विश्वास लाग्दैन मलाई । किनकि ०५६ सालको निर्वाचनक्रममा ज्योतिषले महिना दिनअघि नै कुन निर्वाचन क्षेत्रमा कसको जित, कसको हार भनेर भविष्यवाणी गरेका थिए । मेरो निर्वाचन क्षेत्रमा मेरो हार भनेर भविष्यवाणी गरिएको थियो । त्यही आधारमा व्यापक प्रचार पनि गरियो । तर, मैले निर्वाचनमा जितें ।

१९–मेरो सौन्दर्य
सानैदेखि मेरो कपाल फुलेका कारण कालो रंग लगाउँछु । चाया वा कहिले फुस्रो भयो भने आवश्यकताअनुसार तेल लगाउँछु । जेल वा अन्य वस्तुको प्रयोग गर्दिनँ । फेसियल गर्ने बानी छैन । बरु दारी काटेपछि आफ्टर सेभ प्रयोग गर्छु । अन्य किसिमका क्रिम लगाउँदिनँ । शरीरमा सेन्ट वा प्रफ्युम प्रयोग गर्दिनँ ।

२०–मेरो सपना
नेपाललाई समृद्ध बनाउन तीन सपना छन् भनेर पहिले पनि भन्दै आएको छु । देशभक्तिको राष्ट्रियतासँग जोडिएको एजेन्डा । निराश युवालाई उत्साह भर्ने । श्रम ब्यांक अवधारणामार्फत सम्पूर्ण विदेशमा रहेका युवालाई स्वदेश फर्काउन सपना छ मेरो । यहाँको प्राकृतिक स्रोत साधन प्रयोग गर्दै युवालाई यहीं काम दिएर राख्ने र २० वर्षमा यो मुलुकलाई आत्मनिर्भर बनाउने सपना छ । युवालाई जेलमा राखेझैं राख्ने होइन । आकर्षक जिम्मा र काम दिएर स्वदेशमै राख्ने ।
मेरो व्यक्तिगत सन्दर्भमा भने मन्त्री वा प्रधानमन्त्री बन्छु भन्ने लोभ छैन । तैपनि राजनीतिमा लागेपछि हुन्न भनेर अस्वीकार गर्ने कुरा पनि आउँदैन । जस्तो ०४७ सालमा पहिलोपटक सांसद बन्ने बेला कसरी भाषण गर्ने भन्ने पनि थाहा थिएन । सामान्य प्रशासन मन्त्री पनि त पहिलोपटक बनेको हो । मलाई त केही थाहा थिएन । सिक्दै काम गरियो ।
आफ्नो ठाउँको सन्दर्भमा विराटनगरलाई प्रदेशको राजधानी र महानगरपालिका बनाउने प्रयास गर्नेछु । जिल्लाको सन्दर्भमा भने मेरो जिल्ला मोरङ हो । नयाँ संविधानको अवधारणाले केही फेरबदल भएको छ ।
म जन्मेको गाँउ सर्लाहीमा मेरा आफन्त, परिवार, सदस्य र मेरो जग्गा–जमिन पनि छ । त्यस ठाउँमा उपचार सहज होस् भनेर आयुर्वेद अस्पताल बनाउन म मन्त्री छँदा आफ्नै पहलमा बनेको थियो । म मन्त्री हुनुअघिसम्म त्यहाँ फोन लाग्दैनथ्यो, अहिले त्यसको सुविधा पनि छ ।
२१–मेरो नक्कल
म मन्त्री भएको बेला मेरो भाषण र बोलीको क्यारिकेचर (नक्कल) पनि गरियो । मनोज गजुरेलजी र कान्तिपुर टीभीका सन्दीप क्षेत्रीले क्यारिकेचर गर्नुभयो । मनोजजीको कार्यक्रममा म आफैं परिवारसाथ गएको थिएँ । मैले दिन खोजेको सन्देश मनोजजीले नक्कल गरेरै पनि प्रभावकारी रूपमा दिनुभयो । त्यस्तो देखेर खुसी लाग्यो ।
२२–मेरो मृत्यु
मृत्युबारे खासै सोचेर बस्दिनँ । जुनबेला म मन्त्री थिएँ, त्यतिबेला भने ठूला धम्की आएका थिए । प्रत्यक्ष रूपमै दुई घन्टापछि ज्यान जानेछसमेत भनिएको थियो । यदि विशेष कारणले मेरो मृत्यु भयो भने मुटु हुने साहसीले मात्रै मेरो शवमा झन्डा ओडाउनू, कायरहरूले मेरो शव नछुनू भनेको थिएँ । खोलाकिनारमा मेरो शव भेटिए पनि कसैले त फाल्ला भन्ने सोचेको थिएँ । त्यसबेला मैले जनताको हितमा राम्रै काम गर्दा पनि विभिन्न व्यक्तिबाट धम्की आएको थियो । मृत्युबारे सोच्न बाध्य भएको थिएँ ।
रमन पौडेलको प्रस्तुति

मेरो जिन्दगी कोलम, समाजका विभिन्न क्षेत्रका चर्चित व्यक्तिका निजी जीवनका विविध रंग पाठकसमक्ष लैजाने डिस्कबरी न्युज नेटवर्क डीएनएनको प्रयास हो । यही प्रयासअनुसार हामीले हरेक आइतवार ‘मेरो जिन्दगी’ कोलम सुरु गरेका हौं । हामी हरेक आइतवार नयाँ–नयाँ अनुहारका जीवनका नयाँ–नयाँ रंग खोज्नेछौं ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल