रातोपाटी गेस्ट रुममा अभिनेत्री सरिता लामिछाने : जो एकछत्र नेपाली टेलिभिजन च्यानलमा छाइन्

रातोपाटी गेस्ट रुममा अभिनेत्री सरिता लामिछाने : जो एकछत्र नेपाली टेलिभिजन च्यानलमा छाइन्

sarita lamichhane (5)हाम्रो घरमा एउटा ब्ल्याक एन्ड ह्वाइट टिभी थियो, ब्याट्रीबाट चल्थ्यो, बिजुली थिएन । गाउँमा पहिलोपटक टिभी राख्ने पनि हाम्रै परिवार हो । आमाले मलाई पहिलोपटक टिभीमा मुक्ति सिरियलमा हेर्नुभयो, झापा सुरुंगामै ।
०५७/५८ सालतिर नेपाल टेलिभिजनबाट मुक्ति आउँथ्यो, मंगलबार । म मुक्तिमा खेलेको कुरा परिवारलाई थाहा थियो । मेरो भाइले दुई–चार दिन अघिदेखि नै मंगलबारका लागि ब्याट्री चार्ज गरेर राख्थ्यो रे । गाउँभरिका मान्छे जुटेर मुक्ति हेर्थे रे ।
पछि मेरी आमा काठमाडौं आउनुभयो । आएको दिन मलाई धेरैबेर अनुहारमा हेर्नुभएको थियो । ‘आमा, के भयो ?’ भनेर सोधेँ, केही बोल्नुभएन । मैले बुझेँ– छोरीलाई गाउँमै टिभीमा हेर्न पाएकोमा उहाँलाई हर्ष थियो ।
गहना सिरियल चल्दै थियो । त्यतिबेला आमा उपचारका लागि काठमाडौं आउनुभएको थियो । उता गाउँमा छिमेकी महिलाहरुले कुरा गर्दै थिए रे, एउटीले भनिछन्, ‘पाण्डेनी किन काठमाडौं गइन् भन्ने मैले पत्ता लगाएँ नि !’ मेरी आमाको नाम मीरा पाण्डे, गाउँमा सबैले पाण्डेनी भन्थे ।
‘किन त ?’ अर्कीले सोधिछन् ।
‘छोरी जेल परिछे, त्यही भएर, छोरीलाई भेट्न गाकी रैछन् ।’
गहना सिरियलमा म जेल पर्ने कथा पनि छ । उनीहरुले गाउँमा हेरेर यस्तो कुरा गरेछन् । पछि मेरो भाइले मलाई सुनायो, हामी हाँसेका थियौँ ।

sarita lamichhane (1)काठमाडौं यात्रा
झापाको गरामणि गाविसमा जन्मेकी हुँ, अहिले त नगरपालिका भइसकेको छ । हाम्रो ठूलो संयुक्त परिवार थियो । हजुरबा–आमा र उहाँहरुका ६ भाइ छोरा र तीन बहिनी छोरी ।
मैले ६ कक्षासम्म अनारमणिको महेन्द्ररत्न मावि पढेँ । अनारमणि र गरामणि नजिकै पर्छ । बुवाआमा परिवारसँग छुट्टिएर सुरुंगा आउनुभयो । सुरुंगा पनि गरामणिदेखि नजिकैपर्छ । अनि, सात कक्षा सुरुंगाको लालपानी माविमा पढेँ ।
त्यसपछि काठमाडौं आएँ, ०४६ सालतिर । लगत्तै नेपाल आदर्श माविमा भर्ना भएँ, गणवहालको । त्यति बेला काठमाडौं आएर पढ्ने चलन पनि थियो । फेरि मेरो मामा, फुपूहरु काठमाडौंमा हुनुहुन्थ्यो । धेरै आफन्त काठमाडौंमा भएकाले पनि काठमाडौं आएँ । एसएलसी आदर्श माविबाटै दिएँ, ०४९ सालमा । त्यसपछि पद्मकन्याबाट इन्टर र ब्याचलर गरेँ । हामी दुई दिदीबहिनी, दुई दाजुभाइ । म जेठी हुँ, कान्छी बहिनी सविता झापामा छे । ठूलो भाइ रुद्र पाण्डे, कान्छो भाइ प्रकाश दुवै झापामै छन् । भाइबहिनी पनि सानोमा त काठमाडौंमै पढ्न आए । पछि झापा नै फर्कन मन गरे ।

हजुरबा–हजुरआमाकी प्यारी
मलाई हजुरबा–हजुरआमाले असाध्यै माया गर्नुहुन्थ्यो । मेरा बुवाआमा परिवारसँग अंशबन्डा गरी छुट्टिने बेला हजुरबा–हजुरआमाले मलाई आफूसँगै राख्न भन्नुभयो । म केही समय हजुरबुवा–हजुरआमासँगै बसेकी थिएँ ।
हाम्रो हजुरबुवाको प्रशस्त जमिन थियो । कोही गाई हेर्ने, कोही घाँसदाउरा गर्ने, कोही हलो जोत्ने, भाँडा माझ्ने गरी हाम्रो घरमा काम गर्ने सहयोगी तीन–चारजना हुनुहुन्थ्यो । हाम्रोमा एकजना सानो केटाले बाख्रा हेर्थे । उनी मजत्रै थिए । म कहिलेकाहीँ उनीसँग बाख्रा हेर्न जान्थेँ, तर परिवारले दिनुहुन्नथ्यो, खासगरी हजुरबुवाले ।
म सानै छँदाको कुरा हो, एकपटक धान रोपिसकेपछि बँचेको धानको बिउ घाँसको रुपमा काट्नुपर्ने थियो । म पनि काट्न गएँ । तर, मैले हात काटेँ । हजुरबाले गाली गर्नुभयो । मैले सानोमा काम गर्ने रहर गर्थें तर पाउँदिनँथेँ । जहोस् म सुखैमा हुर्किएँ ।
हजुरबा ०४६ सालतिर खस्नुभयो, त्यतिबेला म काठमाडौं आइसकेकी थिएँ । हजुरबुवा निकै रेडियो सुन्नुहुन्थ्यो । हाम्रो घरमा ल्यादरको कभर भएको नेसनल पानासोनिक रेडियो थियो । हजुरबुवासँग धेरै बस्ने भएकाले मैले पनि रेडियो सुन्न पुगेँ । चार–पाँचमा पढ्दा मैले रेडियोमा आएका समाचारको नक्कल पनि गर्थें । यो सम्झँदा लाग्छ, ममा केही न केही प्रतिभा सानैदेखि थियो ।

मलाई जीवन नै रंगमञ्च जस्तो लाग्छ । हामी उमेरसँगै विभिन्न भूमिका निर्वाह गर्दै जान्छौं, जीवन र मृत्युजस्तो सत्यलाई भुलेर । कर्तव्य, जिम्मेवारी, के–के भन्यो, वास्तवमा हामीले अभिनय गरिरहेका हुन्छौँ । त्यसैले सबैजना भ्रममा बाँचे जस्तो लाग्छ मलाई ।

जानकी र कोदोको रोटी
हाम्रो जग्गा अरुले अधियाँ पनि गर्थें, हाम्रो जग्गामा खेती गरेर उब्जनी हामीलाई आधा दिने । यसरी अधियाँ गर्नेकी छोरी थिइन्, जानकी दास । जानकीले मेरा हजुरबा–हजुरआमालाई ‘मालिक, माल्किन’ भनेको सुन्थेँ । जानकी पनि मजत्रै थिई । हामी सानैदेखिका खास साथी हौँ । हामी हाम्रो ग्वालीको सिलिङमा गएर खेल्थ्यौँ । हाम्रोतिर गोठलाई ग्वाली भनिन्छ । हामीले खानेकुरा लगेर बाँडेर खान्थ्यौँ ।
मधेस भएकाले पनि हामीले सधैँजसो चामलकै भात खान्थ्यौँ । मलाई कोदोको रोटी निकै चाखको कुरा थियो । जीवनमा पहिलोपटक कोदोको रोटी मलाई जानकीले चखाएकी हो । उसले आफ्नो लुगाको खल्तीमा निकै जतनका साथ कोदोको रोटी ल्याएकी थिई । उसले त्यो रोटीलाई आफ्नो खल्तीबाट यसरी झिक्दी, समाउँथी कि त्यो मूल्यवान चिज हो । मैले फेरि उसका लागि भनेर घरबाट चिनी लगिदिन्थेँ । उसले ल्याएका खानेकुरा किन–किन मलाई मीठो लाग्थ्यो ।
त्यस्तै, १२–१३ वर्षकै उमेरमा जानकीको बिहे भयो । बिहेपछि मैले उसलाई एकपटक मात्रै भेटेकी छु । उसको सानैमा बिहे भएको कुराले मेरो कलिलो मस्तिष्कमा पनि केही प्रभाव पारेको थियो । किन उसको सानैमा बिहे भयो ? बिहे कुन उमेर गर्ने हो ? बिहे गर्नलाई कस्तो हुनुपर्छ ? यस्ता प्रश्नले मलाई सताएका थिए ।

sarita lamichhane (2)अभिनय एक संयोग
म अभिनय क्षेत्रमा आउनु एउटा संयोग हो । बच्चामा कलाकार हुने कुनै त्यस्तो प्रतिभा वा लक्षण देखाएजस्तो मलाई लाग्दैन । ०५४ सालमा बिहे भयो, ऋषि लामिछानेसँग । उहाँलाई पहिलेदेखि नै चिन्थे । मेरो एकजना दिदी पर्ने हुनुहुन्थ्यो । दिदी र ऋषिजी कलेजमेट हुनुहुँदो रहेछ । यही माध्यमबाट हाम्रो चिनजान थियो । यही चिनजान पछि बिहेमा बदलियो ।
ऋषिजी पहिलेदेखि नै सिने क्षेत्रमा हुनुहुन्थ्यो । एसएलसीपछि ०५१ सालतिर मैले एउटा प्रोजेक्टमा काम गर्थें, पाटनढोकामा रहेको नेपाल बायो इलेक्ट्रिक कम्पनीमा । कम्पनीले माइक्रो ट्रान्सफर्मरहरु बनाउँथ्यो । त्यहाँ म सिनिअर टेक्निसियन थिएँ । बिहेपछि जागिर छोड्नुपर्यो । जागिरचाहिँ माइक्रोस्कोपले सामानहरु चेकजाँच गर्नुपथ्र्यो । यो कामले मलाई ब्याकपेनको समस्या भयो । त्यसैले ऋषिजीले मलाई जागिर छोड्न भन्नुभयो ।
जागिर छोडेर घरमै बसेकी थिएँ । ०५६ सालतिरको कुरा हो, तुलसी घिमिरेले सिरियल बनाउन लाग्नुभएको रहेछ । तुलसीदाइ र ऋषिजीबीच राम्रो चिनजान थियो । कुरा मसम्म आइपुग्यो, एकजना नयाँ कलाकार चाहिएको रहेछ । ऋषिजीले मलाई तुलसीदाइलाई भेट्न जान भन्नुभयो । अभिनयमा रुचि र रहर भएर त होइन, तुलसीदाइलाई भेट्न गएँ । किनभने, मैले तुलसीदाइका सबैजसो फिल्म हेरेकी थिएँ । उहाँलाई भेट्नु खुसीकै कुरा थियो । तुलसीदाइले सोध्नुभो, ‘बहिनी, सिरियलमा खेल्छ्यौ ?’ मैले नखेल्ने बताएँ । ‘नखेल्ने मान्छे किन आको त ?’ भन्नुभयो । मैले ‘हजुरलाई भेट्न आको नि ।’ भनेँ ।
‘साँच्चै नखेल्ने त ?’ उहाँले अलि गम्भीरतापूर्वक सोध्नुभयो । मैले हार्न सकिनँ र ‘खेल्छु’ भनेँ । मेरो विश्लेषणमा, तुलसी घिमिरे नेपाली सिनेमाको अग्लो मान्छे हो । उहाँको सिरियलमा काम गर्नु मेरा लागि सौभाग्यकै कुरा थियो ।

मुक्तिले नयाँ जीवन दियो
तुलसीदाइले मेरो नाम सोध्नुभयो, मैले ‘सरिता’ भनेँ । उहाँ हास्नुभो । मेरो नाम त्यस्तो हाँसोलाग्दो छ र ? मैले यस्तै सोचिरहेकी थिएँ । केहीबेरमा फेरि भारती भाउज्यू आएर नाम सोध्नुभयो । उहाँ पनि मेरो नाम सुनेर हाँस्नुभयो । म छक्क परेँ, केही भनेकी थिइनँ ।
तुलसीदाइले भन्नुभयो, ‘भारती, भगवानले हामीलाई सरिता पठाइदिए ।’ भरे त उहाँले लेखेको सिरियल ‘मुक्ति’को स्क्रिप्टमा पात्रको नाम सरिता रैछ । मुक्तिको प्रधानपात्र सरिताको भूमिकामा काम गरेँ । मुक्ति नेपाल टेलिभिजनबाट प्रसारण भयो । यो २० भागसम्म आयो । मुक्तिले मलाई नयाँ जन्म दियो भन्न रुचाउँछु ।
तुलसी घिमिरेको सिरियलमा लिड रोल गर्ने भनेपछि मलाई ऋषिजीले एकदमै इन्करेज गर्नुभयो ।
मैले अहिलेसम्म अभिनय सिकेकी छैन । पहिलो दिन मुक्तिको सुटिङमा गएँ । पहिलो सिनबारे तुलसीदाइले बताउनुभयो । बलात्कारपछि गर्भवती हुन पुगेकी नारीले भगवानको तस्बिरसँग मनोवाद गर्नुपर्ने हुन्छ । आफ्ना पीडा र पुकार व्यक्त गर्नुपर्ने हुन्छ । बोल्नुपर्ने, रुनुपर्ने थियो । आँसु झार्नका लागि ग्लिसरिन दिनुभयो । आँखामा ग्लिसरिन राख्यो, नाकबाट पानी बग्छ । मलाई त बिरामी भएजस्तो लाग्यो । आठ–नौ टेक गर्दा पनि सिन ओके भएन । मैले काम नगर्ने भनेँ । दाइ र भाउजुले सम्झाउनुभयो । मलाई ग्लिसरिनको बारेमा थाहा थिएन । म बिरामी भएको होइन रहेछ, कमाल त ग्लिसरिनको रहेछ । ग्लिसरिनले मलाई एलर्जी पनि भयो । अचेल भने आँसु झार्ने सिनमा ग्लिसरिनको प्रयोग गर्नैपर्दैन । जहाँ, जतिखेर, जति भन्यो त्यति आँसु झार्न सक्छु ।

sarita lamichhane (4)

०५४ सालमा बिहे भयो, ऋषि लामिछानेसँग । उहाँलाई पहिलेदेखि नै चिन्थे । मेरो एकजना दिदी पर्ने हुनुहुन्थ्यो । दिदी र ऋषिजी कलेजमेट हुनुहुँदो रहेछ । यही माध्यमबाट हाम्रो चिनजान थियो । यही चिनजान पछि बिहेमा बदलियो ।

एक समय एकछत्र नेपाली च्यानलमा छाएँ
मुक्तिपछि मैले स्पेस टाइम नेटवर्कमा काम गर्न थालेँ । स्पेस टाइमअन्तर्गत च्यालन नेपाल स्थापित भयो । च्यालन नेपाल नेपालको पहिलो स्याटलाइट टिभी बन्यो । केबल जोड्नेहरुलाई एउटा आधा घन्टाको कार्यक्रम दिनुपथ्र्यो । स्पेस टाइमको नेपाली कार्यक्रममा पहिलोपटक माइक समातेर बोल्ने म नै हुँ । च्यालन नेपालमा गोरेटो, सिनेमा संसार, सप्तरंगी, सिने बाइट, सूर–सिनेमा लगायत सात–आठवटा कार्यक्रम मैले नै हेर्थें । गोरेटो कार्यक्रमलाई मैले सिनेमाको गोरेटो भन्थेँ म, त्यसमा सिने क्षेत्रका व्यक्तिलाई बोलाउँथेँ । सप्तरंगीमा नेपाली चलचित्रका गीत बज्थे । कतिमा म प्रिजेन्टर थिएँ, कतिमा प्रोड्युसर । यसरी ०६१ सालसम्म काम गरेँ ।
स्पेस टाइम नेटवर्कमा जागिरका लागि अन्तर्वार्ता दिँदा मैले सिरियलमा खेलेको बताएकी थिएँ । सिरियल प्रसारण भइसकेको थिएन । मलाई ऋषिजीले भन्नुभएको थियो, ‘सिरियल प्रसारण भइसकेपछि तिमी जानेर वा नजानेर अभिनय क्षेत्रमै आउँछ्यौ । त्यसैले अन्तर्वार्ता दिँदा यो कुरा पनि बताउ । जागिरमा केही टम्र्स एन्ड कन्डिसन होला । भोलि तिमीले जागिरको नियुक्ति लिइसकेपछि अभिनय क्षेत्रमा आउन अप्ठेरो होला ।’
मलाई जागिरका बीच पनि सिरियल गर्न गाह्रो परेन । छिटो आफ्नो काम सकेर सिरियलका लागि समय निकाल्थेँ । हप्ताको तीन दिनजसो दिनरात खटेर च्यानल नेपालमा काम गर्थें । बाँकी दिन सिरियल गर्थें ।
मुक्तिपछि लगत्तै मैले स्वास्थ्य मन्त्रालयको बनाएको आधा घन्टाजतिको चेतनामूलक टेलिफिल्म ‘चेतनाको दियो’ मा काम गरेँ । जसलाई मोहन मिश्रले निर्देशन गर्नुभएको छ । यो नेपाल टेलिभिजनबाट प्रसारण भयो । त्यसपछि मैले श्याम भट्टराईको सिरियल गहनामा काम गरेँ, ०५८ सालतिर । गहना ९४ एपिसोडको छ । गहनामा मैले बिनाको भूमिका निभाएकी छु, यो पनि लिड रोल नै हो । त्यसपछि रमेश बुढाथोकीको निर्देशन रहेको सिरियल ‘दुई दिनको जिन्दगानी’मा काम गरेँ । यो ५२ शृंखलाको थियो । यसमा लिड रोल नै गरेँ । सौभाग्य ठान्छु, मैले आजसम्म सहायक रोल गर्नुपरेको छैन । यसपछि चाहना मनको, सीता, जानकी, अचानक, हराएको साइनो, परिचयमा काम गरेँ ।
परिचय हाम्रो होम प्रोडक्सन हो, मेरो निर्माण र ऋषिजीको निर्देशन । परिचय ०६१ पुसबाट नेपाल टेलिभिजनबाट प्रसारण भयो । यो पाँच वर्षसम्म निरन्तर चल्यो । मुक्तिले मलाई नयाँ जीवन दियो भने परिचयले नयाँ परिचय दियो । परिचयमा सरिता भन्ने पात्रको भूमिका निभाएकी छु ।
sarita lamichhane (3)परिचयको थिम नै राखेका थियौँ, रियल आइडेन्टिफिकेसन्स अफ ओमन भनेर । एउटा छोरी जन्मिसकेपछि उसले परिवार–समाजमा पाउँदै जाने छोरी–बुहारीजस्ता परिचयलाई परिचयमा उधुन्ने कोसिस गरेका छौँ । अर्को सौताको परिचय पनि यसमा छ ।
यसपछि सिरियल ‘भूमिका’मा काम गरेँ, भूमिका १५ एपिसोडको छ । भूमिका बालबालिकामाथि हुने विभिन्न दुव्र्यवहारबारे छ ।
यसबीचमा केही विज्ञापन पनि खेलेँ । यसरी म एकछत्रजस्तो नेपाली टेलिभिजन च्यानलमा देखिएँ । इमेज, एनटिभी, च्यानल नेपाल, कान्तिपुर टिभीमा कतै कार्यक्रम प्रस्तोताको रुपमा, कतै विज्ञापनमार्फत र कतै सिरियलमार्फत मेरो अनुहार आउँथ्यो । परिचय मात्रै पाँच वर्ष आयो । गहना तीन वर्ष, दुई दिनको जिन्दगानी एक वर्ष, चाहना मनको एक वर्ष टेलिभिजनमा आयो । यसरी यो १५–१६ वर्षको बीचमा अझ भनौँ एक समय म निकै टेलिभिजनमा छाएँ । आम नेपालीमाझ चिनिएँ । मलाई चिन्ने एउटा मास थियो र छ, यो आफ्नै ठाउँमा छ । अहिले त अर्को मास अझ भनौँ जनेरेसन आइसकेको छ ।

फिल्मी यात्रा
मुक्तिपछि मलाई थुप्रै फिल्मका लागि अफर आएको थियो । अफर आएका १८ वटा फिल्म खेलिनँ । पछि १९औँ अफर सन्तानको माया भन्ने चलचित्रका लागि आयो, ०५८ सालतिर । यसमा निर्देशक किशोर राना हुनुहुन्छ । उहाँ मलाई मन पर्ने निर्देशक हुनुहुन्छ । त्यसैले उहाँको फिल्ममा काम गरेँ । यसमा मैले बुहारीको भूमिका निभाएकी छु ।
यसपछि पनि मलाई फिल्मका लागि धेरै अफर आए, तर गरिनँ । मुक्ति सिरियलमा मैले निकै ठूलो रोल पाएकी रहेछु । सुरुमै मुक्तिमा लिड रोल गरेपछि मलाई सानातिना रोलमा काम गर्न मन लागेन । त्यसैले फिल्म खेलिनँ । अर्कोतिर म जागिरे थिएँ, फिल्मका लागि समय दिन पनि गाह्रो थियो ।
त्यसपछि एकैचोटि ०६८ सालतिर आएर श्रीमान–श्रीमती फिल्ममा अभिनय गरेँ । यसमा ऋषिजीकै निर्देशन रहेको छ । श्रीमानको फिल्म भनेर होइन कि राम्रो भूमिका भएकाले काम गरेँ । यसका निर्माता मुनाल घिमिरेले ‘यदि सरिता भाउजू खेल्नुहुन्छ भने मात्र मैले यो फिल्म गर्छु’ भनेर ऋषिजीलाई भन्नुभएको रहेछ । भूमिका पनि राम्रो भएकाले खेलेँ ।
पछिल्लो समय आएर ऋषिजीको ‘हवल्दार सुन्तली’ मा दुई सिन अतिथि भूमिका निभाएकी छु, वकिलको भूमिकामा । यो फिल्ममा मेरो रोलको महत्त्व नै बेग्लै छ ।
पछिल्लो समय मेरा सिरियल, फिल्म आएका छैनन् । जीवनका डेढ दशकजति अभिनयम क्षेत्रमा बिताएँ । अब मैले यो क्षेत्रबाट अलग हुन सक्दिनँ । अब छिटै सिरियलमार्फत नै आउँदै छु ।

एउटा यस्तो वर्ग छ, जसले सरितालाई चिन्न मन पराउँदैन
हामीले बजेटका कारण पनि एउटा पर्फेक्ट सिरियल बनाउन गाह्रो हुन्छ । वास्तवमा हामीले सुदूरबस्ती, त्यहाँको अवस्था, त्यहाँको संस्कृति–विकृतिलाई पनि सिरियलमा उतार्नुपर्छ । यसका लागि उही बजेटकै कुरा आउँछ । हो, सिरियलमार्फत समाज बदल्न सकिन्छ । हामीले त्यस्तो कोसिस गरेका पनि छौँ र अझ बढी कोसिस गर्नुपर्छ । मैले जे–जति सिरियलमा खेलेँ, त्यसमा लगभग एउटी मध्ययम वर्गीय नारीकै चरित्र छ । मैले त्यस्तै रोल पाएँ । तर, मैले जेजति रोल खेलेकी छु, त्यसमा एउटी नारीका दुःख, पीडालाई उतार्ने र त्यसमा सुखका केही झिल्का देखाउने प्रयत्न अवश्य नै रहन्छ । त्यस्तै, सामाजिक विभेदलाई देखाउने र त्यसमा विरोधको आवाज पनि थप्ने हो ।
हामीले गरेको कामले एक प्रतिशत मात्र भए पनि समाजमा प्रभाव पार्छ भने, म खुसी हुन्छु । सबैले आफ्नो ठाउँबाट गर्दै जाँदा चेतनाको फराकिलो घेरा बन्ने हो । अब हामीले सिरियलमा निम्न वर्ग र सदूर समाजलाई पनि ल्याउने कोसिस गर्नुपर्छ । मेरो कुरा गर्दा, आमनेपालीलाई हेरेर सिरियल बनाउने कोसिस गर्छु, गरेकी छु भनौँ ।
sarita lamichhane (7)अहिले हामीले बनाउन लागेको सिरियलमा घरको जिम्मेवारी निभाउँदानिभाउँदै बिहे गर्न बिर्सेका, नभ्याएका महिलाको कथा–व्यथा छ । एउटी नारी बाबुआमा, भाइबहिनीलाई हेर्दाहेर्दै बिहे गर्न भ्याउँदिनँ, पाउँदिनँ । तर, यसको चिन्ता उसलाई भन्दा बढी समाजलाई हुन्छ, यो पनि एउटा महिला मुद्दा हो ।
हामीकहाँ के छ भने, बढी इन्डियन सिरियल हेर्ने र त्यसको क्वालिटी नेपाली सिरियलमा खोज्ने एउटा मास पनि छ । मैले कस्तासम्म दर्शक भेटेकी छु भने, एउटी नेपाली छोरी–बुहारीको रुपमा मलाई असाध्यै माया गर्ने दर्शक पनि भेटेकी छु । कोही यस्ता दर्शक पनि भेटेकी छु— जसले मुक्ति, परिचय, गहना हेर्नुभएको छ, मेरो इन्टरभ्यु पनि हेर्नुभएको छ, तर उहाँ मलाई चिन्नुहुन्न । किनभने, मलाई चिन्छु भन्दा उहाँलाई लाज हुन्छ । उहाँहरु बलिउड, हलिउड, हिन्दी सिरियलका कलाकारलाई चिन्दा इज्जत बढेको ठान्नुुहुन्छ ।

अभिनयले सिकाएको जीवन र आमनेपाली महिलाको जीवन
मलाई जीवन नै रंगमञ्च जस्तो लाग्छ । हामी उमेरसँगै विभिन्न भूमिका निर्वाह गर्दै जान्छौं, जीवन र मृत्युजस्तो सत्यलाई भुलेर । कर्तव्य, जिम्मेवारी, के–के भन्यो, वास्तवमा हामीले अभिनय गरिरहेका हुन्छौँ । त्यसैले सबैजना भ्रममा बाँचे जस्तो लाग्छ मलाई ।
अझ नेपाली आममहिलाका त जिम्मेवारी नै बढी हुन्छन् । म आफूलाई नेपाली आममहिला भन्छु । महिला अधिकारका कुरा गर्दा, पीडाका प्रकृति फरक छन्, गाउँ–सहर सबैतिर महिला हिंसा छ । महिलामाथि विभेद छ । सहरका पढे–लेखेकाले पनि विभेद गर्छन् । गाउँमा अनेक किसिमले पीडित छन् । यसको समाधान शिक्षा नै हो । यताउता गर्यो, सोच्यो, अन्तिममा शिक्षामै गएर ठोकिन्छ । विगतका कमजोरी सच्याउँदै अघि बढ्नुपर्छ ।
वास्तवमा परिवारमा आमा शिक्षित हुनुपर्छ । यसो भएपछि घरै सुन्दर हुन्छ, सबै आफैँ मिल्दै गएजस्तो हुन्छ । आमाले छोरीलाई पनि पढाउन जोड गर्छिन् । घरमा लैंगिक विभेद हुँदैन । छोरीलाई लैंगिक विभेदबारे बुझाउँछिन् । अर्कोतिर पढेपछि धेरथोर दुनियाँको बारेमा ज्ञान हुन्छ । अन्य विकसित देशका समाजको विश्लेषण हुन्छ । जागिर, आत्मनिर्भरताका आवाज उठ्न थाल्छ । त्यसैले सबै कुरा शिक्षा नै हो जस्तो लाग्छ । अब शिक्षामै जोड दिनुपर्छ ।
तर, शिक्षा सबैको पहुँचमा छैन । देशका सबै भागमा स्कुल–कलेज पर्याप्त छैनन् । त्यसैले सरकारले नै विशेष प्याकेज ल्याएर शिक्षा सबैको पहुँचमा पुर्याउनुपर्छ ।
अर्कोतिर सरकारले मात्रै गर्छ भन्नु पनि हुँदैन । शिक्षा त मान्छेको अधिकार नै हो । त्यसैले जो सक्षम छन्, उनीहरुले पनि यसबारे सोच्नुपर्छ । आफूले सकेको सहयोग गर्नुपर्छ ।

दिदीको बिहे गरिदियौँ, बहिनीलाई पढाउँदै छौँ
अहिले बालअधिकारका कुरा छ कि, १५–१६ वर्ष मुनिकालाई घरमा काम गर्न राख्दा पढाउनुपर्छ । यो अति नै राम्रो हो । हामीले पनि घरमा सहयोगीको रुपमा एउटी बहिनी राखेका थियौँ, ओखलढुंगाकी शान्ता बस्नेत । मेरोमा आउँदा शान्ता सत्र वर्षकी थिई । मैले उसलाई भनेँ, ‘स्कुल जाऊ, पढ्नुपर्छ ।’ अहिले पढ्न छुटेकाहरुका लागि अल्टरनेटिभ स्कुल पनि रहेछ । अल्टेरनेटिभबाटै चार वर्षमा एसएलसी दिन पाइँदो रहेछ । मैले उसलाई त्यहीँ पढ् भनेकी थिएँ । बालअधिकारको कुरालाई भन्दा पनि मेरो आफ्नो दायित्व र उसको जीवनलाई ख्याल गरेकी थिएँ । तर, उसले मानिनँ । ‘उमेर ढल्किसक्यो दिदी, पढ्दिनँ भो’ भनी ।
ऊ पाँच वर्ष मकहाँ बसी । त्यसपछि उसले बिहे गर्छु भनी । हाम्रो घर छोड्ने कुरा आयो । विवाहका लागि कुरा चलेको केटालाई हामीले पनि बुझ्यौँ । मलेसियाबाट काम गरेर आएका रहेछन् । केटा राम्रै लाग्यो ।
बिहे कसरी गछ्यौ त, म पनि सकेको सहयोग गर्छु भनी मैले भनेँ । उसले भनी, ‘दिदी, काठमाडौं आउने बेला मेरो समाजले मलाई जसरी सोचेको थियो, त्यसलाई मैले मनमा लिएकी छु । सबैले गरिबकी छोरी, पढेकी छैन, यो काठमाडौं गएर बिग्रन्छे, गति छाड्छे, भनेका थिए । अरु केही गर्न नसके पनि मैले घरजम गर्छु । यहीँ काठमाडौंमा बिहे गर्छु र यहीँ भएका मेरा गाउँ–छिमेकका केही मान्छेलाई बोलाएर भोज खुवाउँछु ।’
घरजम गर्ने एउटी नारीको प्राकृतिक अधिकार त भइहाल्यो । त्यसमाथि उसको सानो इच्छा रहेछ, त्यो इच्छालाई पनि हामीले पुर्याइदियौँ । दुई वर्षअघि हाम्रै घरमा सानो भोजसहितको बिहे गरिदियौँ । हामीले नै उसलाई बहिनी मानेर अन्माएर पठायौँ । ज्वाइँलाई फेरि मलेसिया पठाउने व्यवस्था मिलाइदियौँ ।
अहिले ऊ ओखलढुंगामा छे, छोरो पाएकी छे । मलाई उसले अहिले पनि ‘दिदी, आज सपना नराम्रो देखेँ’ भनेर फोन गर्छे । हामीसँग भावनात्मक नाता राखिराख्न पनि होला, उसले आफ्नी बहिनी शोभालाई सहयोगीको रुपमा मकहाँ पठाएकी छे । बहिनी पनि अहिले सत्र वर्षकी छे । उसलाई हामीले अल्टरनेटिभ स्कुलमा पढाएका छौँ ।
प्रस्तुति : ध्रुवसत्य परियार
तस्बिर : अशोक दुलाल

रातोपाटी गेस्ट रुममा डा. योगी विकासानन्द : नाकाबन्दी किन भयो र अब हामी कसरी अघि बढ्नुपर्छ ?

रातोपाटी गेस्ट रुममा अभिनेत्री पूजना प्रधान : क्यासिनोमा नाच्दानाच्दै यसरी बनिन् नायिका

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल