राज्यले दार्जिलिङलाई आफ्नै ठान्छ, मिथिलालाई पराइ

  |   रमेश रञ्जन, प्राज्ञ, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान

राज्यले दार्जिलिङलाई आफ्नै ठान्छ, मिथिलालाई पराइ

ramesh ranjan ppमधेसी जमिन्दार नै छैनन्
‘मधेस आन्दोलन त्यहाँका जमिन्दारले चलाएको हो !’ मधेस आन्दोलनले सय दिन पार गरिसक्दा पनि काठमाडौंका चिया पसलमा यस्तो बहस हुन छाडेको छैन । मधेस आन्दोलनको विरोध गर्ने नाउँमा गरिएको यो तर्क मलाई एकदम गलत छ ।
मधेसमै जन्मे हुर्केर त्यहीँ कलासाधनामा लामो समय बिताउँदा मैले देखेको सत्य हो– मधेसका ठूला जमिन्दार मधेसी छैनन् । त्यहाँका जमिन्दारमा बढीजसो राणा, ठकुरी र उपाध्याय छन् । जसलाई राजा महेन्द्रले जमिन दिएर मधेस पठाएका थिए ।
मेरो जन्मजिल्ला धनुषामा एकजना पन्त छन्, उनको १५ सय विघाहा जग्गा छ । त्यहाँ ०४६ सालको आन्दोलनका शिखर व्यक्तित्व गणेशमान सिंहको जग्गा सयौं विघाहा छ । त्यहाँको जमिन्दार भएकै कारण उहाँको नाउँमा एउटा नगरपालिकाको नामाकरण गरिएको छ । आन्दोलनमा गरेको योगदानका आधारमा त्यो नामाकरण भएको होइन । त्यसो हुन्थ्यो भने काठमाडौं महानगरपालिकालाई उहाँको नाम दिइन्थ्यो होला ।
उहाँमात्रै होइन, मिनेन्द्र रिजालदेखि हेमबहादुर मल्लसम्मको नाम मधेसका जमिन्दारको रूपमा आउँछ । त्यसैले मधेसका खास जमिन्दार पहाडी मूलकै छन् । केही मधेसीसँग अलि बढी जग्गा होला । केहीले आफूलाई सामन्त, राजा वा राणाको ‘एजेन्ट’को बक्सिस पाएका होलान् । त्यतिमात्रै हो । त्यसैले अहिलेको आन्दोलनलाई जमिन्दारको भनेर आरोपित गर्नुको अर्थ छैन । यो मधेसी जनताको आन्दोलन हो । पहाडी जमिन्दारले मधेसको लागि आन्दोलन गरिदिने भन्ने कुराको त कल्पना गर्न कसैले पनि सक्दैन नै ।
भागेका पहाडियाले मधेसबारे घृणा फैलाए
जनकपुरबाट पाँच किलोमिटर टाढाको परवाहा गाउँमा म जन्मेँ, हुर्किएँ । बाल्यकालमा गाउँमा देखेको दृश्य सम्झन्छु । यदि कुनै गाउँमा एउटा पहाडी समुदायको मानिस छ भने सबै राजनीतिक शक्ति उसैसँग हुन्थ्यो । उसले त्यो शक्ति प्रशासकहरूको सम्पर्कबाट प्राप्त गथ्र्यो । किनकि सिडियो, डिएसपी र थानाहरूमा पहाडी मूलकै मानिस हुन्थे । कर्मचारी पनि पहाडिया नै हुन्थे ।
मलाई अहिले पनि सम्झना छ, त्यसरी राजनीतिक शक्ति प्राप्त गरेको पहाडियाको आँगनमा बिहानैदेखि दर्जनौं मधेसीको भीड लाग्थ्यो । उसले तिनका समस्या सुन्थ्यो र केही आश्वासन पनि दिन्थ्यो । आफ्नै गाउँमा मधेसी त्यसरी निरीह हुनुपरेको दृश्य निकै दयनीय देखिन्थ्यो ।
जब, पहिलो मधेस विद्रोह भयो । त्यतिबेला धेरै पहाडी समुदायका मानिस मधेसबाट घरखेत बेचेर भागे । जब उनीहरू भागेर गए, त्यसपछि मधेसप्रति घृणा फैलाउने कार्य गरे । उनीहरूले भने, ‘हामीलाई त्यहाँ धम्क्याए, जनधनको असुरक्षा भयो ।’ तर उनीहरू भाग्नुको खास कारण त्यो थिएन ।

स्वार्थवश मधेसबाट भागेका पहाडियाले मधेसप्रति घृणा फैलाएका हुन् । मधेस आन्दोलनपछि आफ्नो वर्चश्व समाप्त हुने देखेपछि कतिपय पहाडिया मधेसबाट भागे । उनीहरूले मधेसबारे नकारात्मक हल्ला फैलाए ।

उनीहरू दुई कारणले भागेका थिए । एक, जुन गाउँमा एक्लो पहाडी मूलको मानिस भएर पनि मधेसीमा शासन गरिरहेका थिए । आन्दोलनले त्यसलाई समाप्त गरिदियो । त्यही गाउँका बासिन्दा नेतृत्वमा आउन थाले । त्यो उनीहरूलाई सह्य भएन र गाउँ छाडे ।
अर्को, यस्तो माहोल पैदा भएपछि त्यसलाई व्यापारिक फाइदामा परिणत गर्न केही जग्गा दलाल सक्रिय भए । उनीहरूले अब मधेसीले पहाडी मूललाइ बस्न दिँदैनन् भन्ने हल्ला फैलाए । मनोवैज्ञानिक त्रास सिर्जना गरे । त्यसैकारण कतिले सस्तोमा घरजग्गा बेचेर हिँडे । फाइदा दलालहरूलाई भयो ।
तर यी कारणबारे कतै पनि चर्चा भएन । परिणाम चाहिँ के भयो भने मधेसमै बसिरहेका पहाडी समुदायले मधेसप्रति घृणा फैलाउने कार्य गरे । त्यसले मधेस र पहाडको दूरी बढाउने काम गरिरहेको छ ।

राज्यले दार्जिलिङलाई आफ्नै ठान्छ, मिथिलालाई पराइ
भारतसँग हाम्रो खुल्ला सिमाना छ । उत्तर प्रदेशसँग त सामाजिक सांस्कृतिक सम्बन्ध छ । त्यहाँ हुने कार्यक्रममा हामीलाई बोलाउँछन्, हामीले आयोजना गरेको कार्यक्रममा उनीहरू आउँछन् । हामीले बोल्ने मैथिली उनीहरूले बोल्छन् । त्यही भाषामा लेख्छन् । तर हाम्रो राज्यलाई लाग्छ– दार्जिलिङका कसैले नेपाली भाषामा लेख्छ भने त्यो आफ्नै हो । तर मैथिलीमा लेख्ने नेपालीलाई नै पनि पराइ ठान्छ । मैथिलीमा लेख्ने भारतीयलाई त नेपालमा कतै पनि स्थान दिइन्न । त्यसैले परस्पर सम्बन्ध पनि राज्यको विभेदपूर्ण नीतिको सिकार भएको छ ।
मैले व्यक्तिप्रति अनादर व्यक्त गरेको होइन । तर केही नाम लिन्छु । जस्तो कि, राज्यले दार्जिलिङका अम्बर गुरुङ, इन्द्रबहादुर राई, पारिजातचाहिं सम्मानित नेपाली संगीतकार र साहित्यकार मान्यो । तर मैथिली भाषामा काम गर्ने कसलाई स्वीकार ग¥यो ? राज्यले नै एउटा समुदायको भाषामा लेख्नेलाई चाहिं सम्मानित गर्ने र अरू समुदायको भाषामा लेख्नेलाई वास्ता नगर्ने गर्न मिल्छ ? विभेद यसरी देखिन्छ । यो मनोविज्ञानले धेरै बुद्धिजीबीको दिमागमा घर गरेको छ ।

राज्यले खस नेपाली भाषाको सेवा गर्ने भारतीयलाई पनि नेपाली नै ठान्छ, सम्मान गर्छ । गोपाल योञ्जन, वैरागी काइँला, पारिजातलाई सम्मान गरेको छ । तर मैथिली बोल्ने नेपालीलाई पनि भारतीय ठान्छ ।

वास्तवमा सिर्जनात्मक श्रेष्ठता भाषाले हुने होइन । भाषा भनेको त सम्पे्रषणको माध्यम न हो । तर यहाँ राज्यले नै त्यस्तो बनाइदिएको छ । मैथिलीमात्रै होइन, अरू भाषामाथि पनि राज्यले यस्तो विभेद गरेको । वैरागी काइँला, भूपी शेरचन, श्रवण मुकारुङले नेपाली भाषामा जति राम्रो कविता लेखे । आफ्नो भाषामा पनि लेख्न सक्थे । तर के उनीहरूले आफ्नो मातृभाषामा लेखेको भए यही रूपमा राज्यले सम्मान गथ्र्यो ? यो प्रश्न निकै पेचिलो छ । नेपाली भाषामा लेखेचाहिँ सम्मानित हुने, नत्र नहुने भन्ने मनोविज्ञानमा आधारित राष्ट्रवाद अहिलेको ठूलो समस्या हो ।

बुद्धिजिवी र मिडियामा बुझाइ नै गलत छ

म काठमाडौं आउन थालेको ०४३देखि नै हो । ०४६को आन्दोलनपछि म मिथिला नाट्यकला परिषद्को महासचिवको हैसियतमा तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई ज्ञापनपत्र दिन आएको थिएँ । जसमा हामीले मिथिला कलासाहित्यको विकासमा राज्यले ध्यान दिनुपर्छ भन्ने बिषय उठाएका थियौं । किनकि त्यसअघि मिथिला भाषामा काम गर्नु निकै कठिन काम थियो । हामीले ०३६ सालको विद्यार्थी आन्दोलनदेखि नै मिथिला नाट्यकला परिषद्को नामबाट नाटक गर्न थालिसकेका थियौं । तर नाटक सेन्सर गरेरमात्रै देखाउन सकिन्थ्यो । मैथिली भाषा बुझ्ने कर्मचारी नै हुँदैनथे । त्यसैले मैथिली भाषामा लेख्नेबित्तिकै राजाविरुद्ध लेखिएजस्तो मानिन्थ्यो । अपराधजस्तो मानिन्थ्यो । त्यस्तो अवस्थासँग संघर्ष गर्दा हामीलाई लागेको थियो– सरकारी निकायमा हाम्रो प्रवेश अनिवार्य छ । त्यो कुरालाई पनि हामीले उठाएका थियौं ।
ज्ञापनपत्र बुझाउन आउने क्रममा काठमाडौमा सक्रिय रंगकर्मीसँग भेट भयो । उहाँहरूले हामीले पनि नाटक गरिरहेका छौं भन्दा अचम्म मान्नुभयो । त्यसरी सम्बन्ध टुटेको थियो राजधानी र बाहिरको । पछि राजधानीमा मैथिली नाटक देखाउन पनि हामीले निकै संघर्ष गर्नुप¥यो । तैपनि हामीले गरेको नाटकबारे राजधानीमा निकै चर्चा भयो । त्यसपछि राजधानीसँग म नियमित सम्बन्ध छु । ०६६मा प्राज्ञ बनेपछि काठमाडौंमै बसिरहेको छु ।
यस क्रममा मैले मधेसी समुदायलाई गरेको विभेद निकै देखेको छु । भुजावालाहरूको भुजा जबर्जस्त खाइदिएको देखेको छु । पानीपुरीवालालाई गरेको दुव्र्यवहार देखेको छु । शिशाबोत्तल संकलन गर्न आउनेलाई दुव्र्यवहार गरेको पनि देखेको छु । तरकारी र फलफूलवालासँग गरेको व्यवहार देखेको छु । फलफूल खाइदिने अनि बोल्यो भने उल्टै पिट्ने गरेको देखेको छु । यो मैलेमात्रै देखेको होइन, सबैले देखेको व्यवहार हो । जसले मधेसलाई हेप्ने काठमाडौंको मनोविज्ञान स्पष्ट पार्छ । यो सबैले देखेको व्यवहार हो ।

गायक हिरण्य भोजपुरेले मसँग भन्नुभएको थियो, ‘मधेसी जति राष्ट्रवादी अरू कोही भेटिनँ ।’ त्यो सही कुरा हो । राज्य र शासकले यो कुरा नबुझेजस्तो गरिरहेका छन् । तर जनता भने यो आन्दोलनलाई ‘वार कि पार’को सोचेर आफ्नो जीवनशैली बनाइसकेका छन् ।

तर मैले यसपाली जे देखिरहेको छु, जे भोगिरहेको छु । त्यो मनोविज्ञान झनै डरलाग्दो छ । मलाई लागेको थियो, एउटा वर्गले मधेसलाई हेपेपनि बुद्धिजिवी र पढेलेखेको वर्गलेचाहिं विस्तारै सम्मानको भाषा सिक्दैछ । अझ हाम्रो सांस्कृतिक, साहित्यिक क्षेत्रमा त त्यस्तो विलकुलै छैन होला भन्ने सोचेको थिएँ । तर पछिल्ले समय म छाँगाबाट खसेजस्तो भएको छु । एउटा उदाहरण प्रस्तुत गर्छु– एकसाँझ म काठमाडौंका साहित्यिक सांस्कृतिक क्षेत्रका व्यक्तिबीच बसेको थिएँ । राम्रै छलफल भइरहेको थियो । तर एकजनाले भन्नुभयो, ‘तपाईंहरूले जे गरे पनि, जे बोले पनि, हो त अन्ततः गजेन्द्रनारायण (मधेसी) नै ।’ यसरी मधेसीलाई हेप्ने मनोविज्ञान त्यहाँ पनि प्रकट भयो । त्यो कुरा म कहिल्यै बिर्सन सक्दिनँ । मेरो अनुहार र छालाकै कारण मलाई क्षमताहीन देख्ने यो मनोविज्ञान त्यति विद्वत् वर्गमा पनि छ भने अरूमा के होला ?
अहिले यस्तो मनोविज्ञान बुद्धिजिवी र मिडियामा पनि पाइन्छ । जब राज्यको गलत क्रियाकलापको आलोचना गर्नुपर्ने यो वर्ग नै राज्यको पक्षमा र उत्पीडितको अपमानमा उत्रन्छ भने राज्य निरंकुश बन्छ नै । यदि बुद्धिजिवी र मिडिया मधेसको उत्पीडनको पक्षमा उभिदिएको भए यो आन्दोलन यति लामो समयसम्म गरिरहनुपथ्र्योजस्तो मलाई लाग्दैन ।

देशका रक्षकलाई वेवास्ता गरिदैंछ
गायक हिरण्य भोजपुरेले एकदिन भन्नुभयो, ‘म बोर्डर एरियामा खुब घुमेको छु । हामी त महेन्द्रको लागि काम गर्ने मान्छे । महेन्द्रको राष्ट्रवादी नीतिको प्रचार गर्ने कामै थियो । तर मलाई सबैभन्दा राष्ट्रवादी त मधेसीहरू लागे ।’
उहाँको कुरा मननयोग्य छ । मधेसी समुदाय आफ्नो दैनिक गुजाराकै लागि भए पनि राष्ट्रको रक्षा गर्न लडिरहेका छन् । केही गरी देशको सीमा तलमाथि भयो भने आफ्नो दैनिक गुजारा गर्ने खेलखलियान नै आफ्नो रहन सक्दैन भन्ने उनीहरूलाई राम्ररी थाहा छ । यसरी आफ्नो देशको लागि लडिरहेका जनतालाई भारतीयको व्यवहार गर्नु त घोर अपराध नै हो । तर राज्य त्यही गरिरहेको छ । वास्तवमा यदि जनताले रक्षा नगर्ने हो भने सीमामा नेपाली सेना पनि बस्न सक्दैनन् । वास्तविक सेना त मधेसी हुन् । उनीहरूको विशिष्टता र पहिचान स्वीकार गर्न राज्यले अस्वीकार गर्नु पर्ने कुनै कारण नै छैन ।

वार या पारको मूड
मधेस आन्दोलन सय दिन पार गरेर पनि निरन्तर अघि बढिरहेको छ । यत्रो लामो समय आन्दोलन हुँदा पनि राज्य संवेदनशील नदेखिनु अचम्मलाग्दो छ । ज्ञानेन्द्रजस्तो अढाइसय बर्षदेखि निरंकुश शासनको विरासत बोकेका राजाले त १९ दिनमा आन्दोलनको भावना बुझे । तर प्रजातन्त्र र जनताको लागि लडेका भनिएका ओली, कोइराला र प्रचण्ड यतिसाह्रो क्रुर छन् भन्ने कसरी पत्याउने ? निकै मुश्किल भइरहेको छ । अझै पनि समस्या समाधानतिर उहाँहरूको ध्यान गएको देखिँदैन । वार्ताका नाममा नाटकमात्रै भइरहेको छ ।
नाकाबन्दीको नाममा आन्दोलनलाई विषयान्तर गर्ने कोशिस भइरहेको छ । जनताको दिमाग कहिले चीनतिर, कहिले भारततिर, कहिले चिनतिर, कहिले अमेरिकातिर त कहिले संयुक्त राष्ट्रसंघतिर मोडिदिने काम भइरहेको छ । उहाँहरू अहिले पनि जसले जतिसक्दो उत्तेजित र आक्रामक रुपमा मधेसलाई गाली गर्न सक्छ भन्ने प्रतिष्पर्धामा उत्रिरहनुभएको देखिन्छ । यसमा पनि भोट राजनीति जोडिएको छ । उहाँहरूलाई लागेको छ– मधेसको विरोध गरेपछि पहाडको समर्थन भइहाल्छ, तराई त के छ र ? केही पैसा खर्च गरुँला, भइहाल्छ ।
त्यसैले उहाँहरू जतिसक्दो आक्रामक भएर पहाडको भोट तान्ने मनस्थितिमा देखिनुहुन्छ । यो निकै संवेदनशील अवस्था हो । जिम्मेवार राजनेताको व्यवहार यस्तो हुँनुहुँदैन । किनकि अहिलेको आन्दोलन वार या पारको ‘मूड’मा छ । म दशैंमा घर गएँ । त्यहाँ धेरैसँग प्रत्यक्ष कुराकानी पनि भयो । यो कुनै पार्टीको आन्दोलन बनिरहेको छैन त्यहाँ । जनता स्वतःस्फूर्त आन्दोलनमा गइरहेका छन् । आन्दोलनमा निस्किन कसैले कसैलाई भन्न जानुपर्दैन । दैनिक कामजस्तो भएको छ त्यहाँ आन्दोलन । बिहान खाजा खान्छन् अनि निस्किहाल्छन् घरबाट ।
यसपाली हामी चुक्यौं भने हामीले कहिल्यै पनि अघिकार पाउँदैनौं भन्ने मनोविज्ञान छ त्यहाँ । त्यसैले यो आन्दोलन निष्कर्षमा नगइ सुखै छैन । राज्यले मधेसीको भावनालाई बुझ्नुको विकल्प नै छै । यदि त्यसलाई राज्यले सम्बोधन गरेन भने स्थिति बडो संवेदनशील हुन्छ ।
केही छिटपुटका घटनाबाहेक अहिलेसम्म आन्दोलन शान्तिपूर्ण नै देखिएको छ । तर आन्दोलनलाई सम्बोधन गर्न अझै ढिला गरे अनियन्त्रित हुने, हिंस्रक हुने, हतियार बन्द हुनेलगायतका सम्भावना बढिरहेको छ । त्यतिबेलासम्म यो आन्दोलन नेपालमै रहेर संघीयता लिने आन्दोलनमात्रै रहिरहन्छ भन्न पनि सकिँदैन । त्यसैले आन्दोलनको आवाज सुन्नु र मधेससँग सम्झौता गर्नुको विकल्प राज्यसँग छैन ।

प्रस्तुति : कला अनुरागी

twitter@kalaanuragi

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल