विप्लव माओवादीको एक बर्ष : के पायो, के गुमायो ?

मंसिर ८  |   नेत्र पन्थी/डिएनएन

विप्लव माओवादीको एक बर्ष : के पायो, के गुमायो ?

Netra_Bikram_Chand_Biplavकाठमाडौं –मोहन वैद्य किरण नेतृत्वको नेकपा–माओवादीसँग सम्बन्ध विच्छेद गरेर हिडेका नेत्रविक्रम चन्द विप्लव एक बर्ष पुरा भएको छ । एकीकृत क्रान्तिको सैद्धान्तिक जगमा ‘सशस्त्र युद्ध’ मा जाने रोडम्यापसहित वैद्य माओवादीको मुख्यालय बुद्धनगरमा पुगेर ७०६१ मंसिर ८ गते विप्लव र खड्कबहादुर विश्वकर्माले सम्बन्ध विच्छेदेको पत्र बुझाएका थिए ।
वैद्य र बादलले क्रान्तिकारी कदम चाल्न नसकेको आरोप लगाएर सम्बन्ध विच्छेद गरेका विप्लवले एक बर्षमा आफ्नो रोडम्याप अनुसारको कदम भने चाल्न सकेनन् । बरु उनले पार्टीभित्रको सैन्य रणनीतिसँग जानकार मानिने केही नेताहरुसँग सशस्त्र युद्धका लागि अहिले ‘आत्मगत परिस्थिति’ अनुकुल बन्न नसकेको निश्कर्ष सुनाएका छन् ।
जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा समातेको वैद्य माओवादीले पार्टी गठनदेखि नै विद्रोहका लागि बस्तुगत अबस्था अनुकुल भएपनि आत्मगत अबस्था अनुकुल हुन नसकेको बताउँदै आएको छ । हिजो वैद्य–बादलले विद्रोहका लागि आत्मगत परिस्थिति अनुकुल नभएको बताउँदा विप्लवले ‘बुढाहरु’ जोमिख मोल्न तयार नभएको प्रतिक्रिया दिन्थे, तर आज विप्लव त्यही ठाँउमा आएका छन्, जुन वैद्य–बादलले उठाउँदै आएका छन् ।
वैद्यमा रहँदा सचिवको पद मात्र पाएका विप्लवले नयाँ पार्टीको कमान्डर बन्ने मौका पाए । राजनीतिक उचाईका हिसावले यो उनको उपलब्धी हो । नयाँ पार्टीको नेतृत्व हातमा लिएसँगै उनले राष्ट्रिय–अन्तराष्ट्रिय शक्तिकेन्द्रसँग भेटघाट गर्ने अवसर पाए । माओवादी आन्दोलनमा क्रान्तिकारी धारको नेतृत्व आफुले गर्ने सन्देश दिन उनी सफल भए । तर, जे भनेर पार्टी गठन गरेका थिए,त्यो अनुसारको कार्यक्रम नल्याएपछि पार्टी भित्रैबाट उनको आलोचना भयो ।

माओवादी आन्दोलन कमजोर भएको बेला पुन : विभाजनको नेतृत्व लिएर आन्दोलनलाई थप कमजोर बनाएको उनीमाथि आरोप लाग्यो । पार्टी र जनवबर्गी संगठनभित्र अन्तरविरोध पैदा भयो । आर्थिक केन्द्रीकरण गर्न विप्लव सफल भए । सैन्य रणनीतिको खोजी गर्न उनले ‘राष्ट्रवादी’ शक्तिसँग पनि संवाद चलाए । एक बर्षमा संगठन निर्माण र सामन्य तालीमबाहेक सशस्त्र क्रान्तिको लागि केही भएको देखिएन ।

भ्रष्टचारीमाथि ‘कारवाही’ गरेर विप्लव चर्चामा आए । कालोबजारी गरेको भन्दै ललितपुरमा हिमाल ग्यासको डिपो कब्जा, चितवनमा दुई सय ३० बिघा जग्गा कब्जाको घोषणा, लगानी बोर्डका सिइओ राधेश पन्तको घर घेराउ र वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीलाई कालोमोसो दलेर विप्लव माओवादीले चर्चा बटुल्यो । केन्द्रीय तहका नेतालाई शारीरिक तालिम, सेल कमिटिसम्म यस्तो तालीम दिएर पार्टीलाई सैन्यकरण गर्ने उनको रणनीति अहिले कार्यन्वयमा छ । एक केन्द्रीय सदस्यका अनुसार जिल्लातहका नेताहसम्मको तालीम सकिएको छ ।
राष्ट्रियता, जनजीविका र भष्टचारको मुद्धामा अगाडि बढने, ‘भस्टचारी’ को विल्ला भिराउँदै कारवाही गर्ने, समान्तर संविधान र समान्तर सत्ता निर्माण गर्ने तथा राज्यले दमन गरे प्रतिरोधमा उत्रने योजनासहित अगाडि बढने नीति लिएर कार्यकर्तापंक्तिमा विप्लवले उत्साह भर्न खोजे । शुरुमा विप्लवको यो भनाई आत्मसाथ गरेपनि अहिले भने कार्यकर्तापंक्तिबाट उनको यो नीतिमाथि प्रश्न उठाउन थालिएको छ ।
विप्लव माअ‍ोवादीले मंसिर ८ गते भृकुटीमण्डपमा पार्टी स्थापना तथा जनमुक्ति सेना दिवसको आयोजना गर्दैछ । यो राष्ट्रियतासम्बन्धी सन्देश दिने कार्यक्रम भएको सो पार्टीका नेताहरुको दावी छ । २०५८ मंसिर ८ मा तत्कालीन माअ‍ोवादीले आफ्नो लडाकु शक्तिलाई जनमुक्ति सेनाको रुपमा घोषणा गरेको थियो ।

Mani-Thapaक्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापा भन्छन् : आशा गरेजस्तो देखिएन
विप्लव नेतृत्वको नेकपा माओवादी वैचारिक रुपले जुन उदेश्यका साथ गठन भएको थियो, त्यो उदेश्य पुरा भएको देखिएन । त्यसले क्रान्तिकारी प्रक्रियाको नेतृत्व गर्छ, समाजमा उठेका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषय अहिले विद्यमान कम्युनिष्ट पार्टीहरुले भन्दै क्रान्तिकारी तरिकाले उठाउँछ भन्ने अपेक्षा गरिएको थियो । क्रान्तिकारी हस्तक्षेप गर्छ भन्ने मानिसको परिकल्पना थियो । जनयुद्धको नयाँ संस्करणका रुपमा आक्रमण ढंगले राष्ट्रिय राजनीतिमा देखा पर्छ भन्ने अनुमान थियो । यो एक बर्षको अवधिमा सोचे जस्तो आक्रमकपन देखिएन । कुनै नयाँ पार्टीको निरन्तरता भन्दा क्रमभंग देखा परेन ।

ram-Karkiएमाओवादी नेता राम कार्की भन्छन् : असन्तुष्टि मात्र देखियो
उहाँहरुले जे गर्नुभएको थियो, त्यो माओवादी आन्दोलनको असन्तुष्टि देखियो । कहिलेकाही पुराना पनि नयाँ हुन्छ । ढाकाको खास्टो ओडेकी एक महिलालाई स्टेजमा राख्ने हो भने उनी नयाँ पुस्ताका लागि नयाँ लाग्छिन् । हुन त पुरानै पोशाक हो । उहाँहरुले एक बर्षमा विगतका भातृत्व, न्यायोपन सम्झनु भयो । क्रान्तिका लागि क्रान्तिकारी सोच पहिला चाहिन्छ । उहाँहरुको इमान्दारीतामा शंका गर्न सकिदैन ।

ramdip acharyaनेकपा क्रान्तिकारी माओवादीका नेता रामदीप आचार्य भन्छन् : उहाँहरुले आत्मसमीक्षा गर्नुपर्छ
संविधान जारी गर्नुअधि क्रान्तिकारी हस्तक्षेप अगाडि बढाउने भनेर पार्टी विभाजन गर्नुभएको थियो । तर, त्यो हस्तक्षेप देखिएन बरु संविधान बन्यो । पुरानै गोलचक्करमा फसेजस्तो देखिन्छ । क्रान्तिकारी शक्तिको विभाजनले जनता, कार्यकर्ता, शुभचिन्तकलाई निराश बनायो । प्रतिक्रियावादी, साम्राज्यवादी र असवरवादीलाई खुसी बनायो । घटनाक्रमले यो विभाजनको परिघटनाल सही थिएन भने पुष्टी भयो । क्रान्तिकारी क्रान्तिकार वीचको विभाजन थियो । क्रान्तिकारी र अवसरवादीको विभाजनले मात्र क्रान्तिलाईफाइदा पुराउने हो । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषय अहिले चरम संकटमा छ । यो बेला क्रान्तिकारी शक्तिले हस्तक्षेप गर्न सक्नुपर्ने हो । तर, क्रान्तिकारी शक्ति कमजोर भए । उहाँहरुले आत्मगतपक्षलाई अतिरंजित तरिकाले विश्लेषण गर्नुभयो । त्यो मनोगत विश्लेशण बन्यो । अव सवै क्रान्तिकारीहरुले सोच्नुपर्छ । क्रान्तिकारी एकताबद्ध भएर मात्र समस्याको हल हुन्छ । सके पार्टी एकता, नभए कार्यकता एकतामा जानुपर्छ उहाँहरु । आफ्नो कदमको बस्तुनिष्ठ समीक्षाको खाँचो देखियो ।

नेता अर्धभूमिगत
पार्टी नीति भन्दै विप्लव नेतृत्वको नेकपा माओवादीका केन्द्रीय नेताहरु अहिले अर्धभूमिगत छन् । अर्धभूमिगत शैलीमा पार्टी चलाएका विप्लवले पूर्ण भूमिगत बनाउने रोडम्याप पनि तयार पारेका छन् । पार्टीलाई अर्धभूमिगत राखेर उनले आफु र पार्टीको रहस्य बचाईराख्न सफल भएका छन् ।
वैधानिक हुँदै अवैधानिक संघर्ष, क्रमश: भूमिगत हुने तयारी र संगठनलाई फौजीकरण गर्ने उनको रोडम्याप देखिन्छ । नयाँ पार्टी गठनदेखि नै विप्लवले पार्टीका धेरै कामलाई अर्धभूमिगत शैलीमा चलाएका छन् । नयाँ पार्टी गठनको एक बर्ष हुँदा पनि केन्द्रीय कार्यलय खुलेको छैन् । सम्पर्क कार्यलय मार्फत काम चलाइएको छ । काठमाडौंभन्दा बाहिर नै नेताहरूलाई परिचालन गर्ने नीति लिइएको छ ।
उनले पार्टीलाई क्रमश: भूमिगत र काठमाडौंबाहिर केन्द्रित गर्ने, सैन्य बलद्वारा राज्यसत्ता ध्वंस पार्ने नीति पनि लिएका छन् । बलियो र नियमित सेना निर्माण उनको सैन्य रणनीतिमा छ । केन्द्रीय राज्यसत्तालाई केन्द्रमा राखेर सशस्त्र संघर्ष र जनसंघर्षलाई अगाडि बढाउने तथा वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिसँग संयुक्त मोर्चाको अवधारणा पनि अगाडि सारेका छन् ।
Biplab1कम्युनिस्ट पार्टीहरूसँग भाइचारा सम्बन्ध, कम्युनिस्ट सरकारसँग सन्तुलित सम्बन्ध तथा पूँजीवादी देशहरूसँग संघर्ष र सन्तुलनको नीतिलाई पनि विप्लवले आफ्नो रोडम्यापमा समेटेका छन् । संघर्षको चरित्र एकीकृत क्रान्ति हुने भन्दै यसको उद्देश्य दलाल पूँजीवाद तथा सामन्ती राज्यसत्तालाई विघटन गरेर जनवादी राज्यसत्ता स्थापना गर्नु रहेको सो पार्टीको नीति देखिन्छ । यसका लागि केन्द्रीय सत्ताको उद्देश्यसहित गाउँ र सहरबाट आ–आफ्नो विशेषताअनुरूप राज्यसत्ता निर्माणको नीति पनि विप्लवले अगाडि सारेका छन् ।
संघर्षको रोडम्यापसँगै सो पार्टीले चन्दा अभियान पनि जारी राखेको थियो । सो पार्टीले ‘क्रान्तिका लागि’ भन्दै देशभर चन्द संकलन गरेको थियो । देशैभर उद्योगी–व्यवसायीलाई चन्दा लिन आग्रह गर्दै पत्र दिएको थियो । ‘राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा जनताको बलिदनबाट प्राप्त भएका उपलब्धीहरुको रक्षा गर्दै जनताको आफ्नै संविधान प्राप्त गर्ने अभियान प्रारम्भ गरेका छौँ’, पत्रमा भनिएको छ’, ‘विगतमा जस्तै यसपटक पनि यहााको संस्थाबाट आर्थिक/भौतिक सहयोगको अपेक्षासहित हामीले यो अनुरोधपत्र प्रस्तुत गरेका छौँ ।’

संविधान अस्वीकार
आपुलाई परम्परागत राजनीतिक शक्ति र नेता नभएको सन्देश दिने विप्लवको योजना देखिन्छ । यसका लागि उनी सकेसम्म अरु दलका नेताहरु सहभागी भएको कार्यक्रममा जाँदैनन् ।
विप्लवले आफ्नो पार्टीले नयाँ संविधान अस्वीकार गर्ने बताइसकेका छन् । संविधान आएलगत्तै उनले ‘तीन दलले ल्याएको संविधान जनविरोधी भएको’ भन्दै त्यसलाई अस्वीकार गर्ने बताएका हुन् । ‘जबर्जस्त नेपाली जनतामाथि लादेको संविधान जनयुद्ध, जनआन्दोलन, माओवादी र संसदवादी दलबीच भएको विस्तृत शान्ति सम्झौताको विरुद्ध छ । यस संविधानले जनयुद्ध र शान्ति सम्झौताले अस्वीकार गरेको संसदीय व्यवस्थालाई नै पुनस्र्थापना गर्ने काम गरेको छ । यो सीधा अग्रगमन, परिवर्तन र जनअधिकारको विरुद्ध छ । यसलाई हाम्रो पार्टी पूर्ण रुपले अस्वीकार गर्दछ ।’ संविधान जारी भएपछि विज्ञप्ती निकालेर विप्लवले भनेका थिए । उनले मधेसवादी पार्टीहरुको मोर्चा जनजाति, दलित, महिला, उत्पीडित जनसमुदायको पूर्ण असहमति र प्रतिरोध सङ्घर्षका बाबजुद तीन दलले जनविरोधी, प्रतिगामी, प्रतिक्रान्तिकारी संसदीय व्यवस्थाको संविधान नेपाली जनतामाथि लादेका आरोप लगाएका थिए ।
विप्लवले नयाँ संविधानले जनसत्ताका लागि ढोका खुला भएको निश्कर्ष निकालेका थिए । ‘शान्ति प्रक्रिया र शान्ति सम्झौतालाई व्यक्त गर्नसक्ने राजनीतिक सहमतिसहित राज्यलाई नयाँ बनाउने र माओवादीसहित राज्य सञ्चालन गर्ने आफुहरुको प्रस्तावलाई पूरै अस्वीकार गरी सहअतित्व, सहकार्य, साझेदारीतालाई लत्याउँदै संसदीय व्यवस्थाको संविधान लाद्ने कदमले माओवादी र संसदवादीबीच सहमति भई प्रक्रियामा रहेको संक्रमणकाललाई अन्त्य गरिदिएको छ ।’ विप्लवले भनेका थिए, ‘यो संविधानले संसदवादीलाई संसदीय व्यवस्था संचालन गर्ने ठाउामा पुर्‍याएको छ भने माओवादी र जनतालाई पनि जनसत्ता निर्माण गर्ने वाध्यकारी ढोका खोलिदिएको छ ।’

राष्ट्रियताको मुद्धामा अडिग
नेकपा माओवादीले नेपालमाथि भारतले कुनै पनि हस्तक्षेप गरे त्यसको प्रतिरोध गर्ने बताउँदै आयो । असोज पहिलो साता पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवले जारी गरेको विज्ञप्तीमा नेपालको अखण्डतामाथि वाधा पुर्‍याउने उद्देश्यकासाथ भारतको शासकवर्गले दबाब र हस्तक्षेप गरेको दावी गरेका थिए । ‘नेपालको शासक वर्ग र जनताको बीचमा चलिरहेको सत्तासङ्घर्षबाट गलत फाइदा उठाउने नेपालमाथि आफ्नो प्रभुत्व अझ मजबुत बनाउने, नेपालको अखण्डतामाथि वाधा पुर्‍याउने उद्देश्यकासाथ भारतको शासकवर्गले जुन दबाब र हस्तक्षेप नेपाली राजनीतिमा बढाएको छ ।’ विज्ञप्तीमा छ, ‘पार्टीले भारतीय निर्लज्ज हस्तक्षेपलाई पर्दाफास गर्दछ । नेपाली दलालहरुको कमजोरीमाथि खेल्दै हाम्रो देशको स्वाधीनतामाथि जारी कुनैपनि हस्तक्षेप अतिक्रमण हामीलाई स्वीकार्य नभएको स्पष्ट गर्दछौं । यदि भारतले जनतालाई सङ्कट पार्नेगरी नाकाबन्दी गरेमा त्यसको प्रतिरोध गरिने जानकारी गर्दछौं ।’
IMG_4017कार्तिक अन्तिम सातातिर सो पार्टीले दाङमा भारतीय गाडी पनि जलाएको थियो । विप्लव माओवादीले राष्ट्रिय स्वाधीनता संकटमा परेको भन्दै साउनको पहिलो नेपाल बन्दको आयोजना गरेका थिए । उक्त नेपाल बन्द नेपाली भूमि लिपुलेकलाई व्यापारी प्रयोजनका लागि प्रयोग गर्ने गरि भारत–चीनवीच भएको सम्झौताका विरुद्धमा गरिएको थियो । यो सम्झौतामा नेपालका दलहरुले चुप बसेको भन्दै विप्लव माअ‍ोवादीले आलोचना समेत गरेको थियो । त्यस अगाडि सो पार्टीले ९ असारमा भारत र चीनबीच भएको व्यापार सम्झौतामा समेटिएको लिपुलेक नाका विस्तार सम्झौताको विरोधमा प्रदर्शन गरेको थियो ।
पार्टी महासचिव विप्लवले मंसिर १ गते जारी गरेको विज्ञप्तीमा पनि भारतीय हस्तक्षेपको विरुद्ध संघर्षमा उत्रने उल्लेख थियो । नोभेम्वर १२ का दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री डेभिट क्यामरुङद्वारा प्रेसित संयुक्त विज्ञप्तीमा नेपालको सन्दर्भमा दिइएको अभिव्यक्ति विषयमा विप्लवले विज्ञप्ती जारी गरेका थिए । ‘भारतीय शासक वर्गले नेपालमाथि थोपरेको नाकाबन्दी, नेपाली भूभागमाथिको अतिक्रमण, नेपालको आन्तरिक मामिलाको सुक्ष्म व्यवस्थानमाथिको हस्तक्षेपका विरुद्ध सशक्त संघर्ष उत्रिने घोषणा गर्दछ । साथै सम्पूर्ण देशभक्त, बामपन्थी र जनवादी शक्तिलाई राष्ट्रिय प्रतिरोध संघर्षमा सहभागी हुन हार्दिक अपिल पनि गर्दछ । ’ विज्ञप्तीमा भनिएको थियो ।

कारवाहीको चर्चा
यो एक बर्षमा विप्लव माओवादी केही कारवाहीले पनि चर्चामा आयो । प्रमुख दल संविधानमा केन्द्रित भएका बेला नेकपा माओवादी भने राष्ट्रिय स्वाधीनताको मुद्धा र आफै घोषणा गरेका ‘भष्टचारी’ माथि कारवाहीमा उत्रेको थियो । संविधान जारी पछि भने उसका कारवाही देखिएका छैनन् ।
सो पार्टीले पछिल्लो पटक वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीमाथि ‘कारवाही’ गरेको थियो । महानिर्देशक सुवेदीमाथि कारवाही गर्नुपूर्व विप्लव माओवादीले काठमाडौंबाहिर विभिन्न जिल्लामा आरोपित कर्मचारीमाथि कालोमोसो दलेका थिए ।
विप्लव माओवादीले गतबर्षको ५ माघमा ललितपुरको ग्वार्कोस्थित हिमाल ग्यासको मुख्य डिपो नियन्त्रणमा लिएर सर्वसाधारणलाई वितरण गरेका थिए । कालोबजारी गर्न ग्यास लुकाएको आरोप थियो, जुन विप्लव माओवादीको पहिलो कारबाही थियो ।
त्यसबाहेक ३१ फागुनमा युद्धकालमा पार्टीले कब्जा गरेको जग्गा प्लटिङ गरेको भन्दै चितवनका विभिन्न स्थानका दुई सय ३० बिघा जग्गा कब्जाको घोषणा गरेको थियो । खेतीयोग्य जमिन प्लटिङ गरेर भूमाफियाहरूले चलखेल गरेको आरोप लगाएको थियो ।
७ चैतमा काठमाडौंमा लगानी बोर्डका सिइओ राधेश पन्तको घर घेराउ गरेर विप्लव माओवादीका नेता तथा कार्यकर्ताले कालो झन्डा गाडेका थिए । उनीमाथि राष्ट्रिय हितविपरीत विभिन्न जलस्रोत परियोजना विदेशी कम्पनीलाई दिएको आरोप लागको थियो ।
पहिलो चरणको कारबाहीमा आफौले तय गरेका ‘भ्रष्ट, माफिया र तस्करहरू’को घर घेराउदेखि झन्डा गाड्नेसम्मका कार्यक्रम हुने, दोस्रो चरणमा उनीहरूमाथि भौतिक कारबाहीका रूपमा सम्पत्ति तोडफोडका कार्यक्रम तय गर्ने सो पार्टीका नेताहरु बताउँछन् । राष्ट्रियता र भ्रष्टाचारसँग सरोकार राख्ने मुद्दाहरूमा उसले सामाजिक बहिष्कारदेखि भौतिक कारबाहीसम्मको नीति तय गरेको थियो ।

कारवाहीका सूचिले हंगामा
अर्धभूमिगत शैलीमा पार्टी संरचना चलाइरहेको विप्लव नेतृत्वको नेकपा माओवादीले भ्रष्टाचारविरुद्ध अभियानको घोषणा १८ माघ २०७१ मै गरेको थियो । भ्रष्टहरूले तयार गरेको संरचनाले भ्रष्टाचारीमाथि कारबाही हुन नसकेको भन्दै जनस्तरबाट कारबाही गर्ने घोषणा सो पार्टीका नेताहरूले गरेका थिए ।
सो पार्टीले १८ माघमा अख्यिार दुरुपयोग अनुसन्धान आयोग पुगेर भ्रष्टाचारीमाथि कारबाही गर्न माग गर्दै घेराउसहित ज्ञापनपत्र दिएको थियो । पर्चा वितरण गरेर अख्तियारले कारबाही नगरे आफौ कारबाही अगाडि बढाउने चेतावनी सो पार्टीले दिएको थियो ।
भ्रष्टाचारले समाज तहसनहस पारेको, भ्रष्टाचार संस्कृतिका रूपमा मौलाएको, भ्रष्टहरूले देशको राष्ट्रियता नै दाउमा लगाएको भन्दै कारबाही अनिवार्य भएको जनाएको थियो । सो पार्टीले आफ्नो कारबाही सूचीमा भ्रष्ट नेता, उद्योगी–व्यापारी, कर्मचारीसहित विदेशी बैंकमा रकम जम्मा गर्ने व्यक्ति, देशका प्राकृतिक साधनस्रोत कब्जामा राख्ने तथा भ्याट छल्ने व्यक्तिलाई राखेको छ ।
०४६ पछि आएका प्रतीत–पत्र घोटला, धमिजा काण्ड, लाउडा काण्ड, चाइना एयर, नेपाल वायुसेवा निगम, माथिल्लो तामाकोसी, कृषि मल, वन फाडानी, डार्फर काण्ड, जनक शिक्षा सामग्री किताब, पशुपति, पेट्रोलियम पदार्थ, अपरकर्णाली, अरुण तेस्रो, मेलम्ची खानेपानीलगायतमा भ्रष्टाचार भएको भन्दै आफ्नो कारबाहीमा पर्ने पनि सो पार्टीले संकेत गरेको थियो । ति काण्डसाग जोडिएका व्यक्ति र अहिले भष्टचारको काण्डमा मुछिएका वा विवादमा आएकाहरुमाथि कारवाही गर्ने सो पार्टीका नेताहरुको दावी छ । यो सूचिले एक खालको तरंग नै पैदा गरेको थियो ।
कमजोर हेडक्वाटर विप्लवको समस्या
मोहन वैद्य किरण नेतृत्वको नेकपा–माओवादीसँग सम्बनध विच्छेद गरेर आफ्नै नेतृत्वमा नेकपा माओवादी गठन गरेका नेत्रविक्रम चन्द विप्लव आफु जति चर्चामा छन्, उनले त्यहि अनुसारको हेडक्वाटर बनाउन भने सकेनन् । चितवन वैठकपछि उनले आफु भन्दा जुनियर नेताहरुलाई समेटेर सात सदस्यीय हेडक्वाटर बनाएपनि धेरै जसो अनुहार राष्ट्रिय राजनीतिमा त्यति परिचित छैनन् ।
एकीकृत क्रान्तिको सिद्धान्त अगाडि सारेर भ्रमगत संघर्षको समेत तयारी गरेका विप्लवलाई केन्द्रीय राजनीति, योजना निर्माण र कार्यन्वयनसम्ममा सहयोग गर्ने सचिवालयका सदस्यहरुले नै हुन । यद्यपी हेडक्वाटर मार्फत औपचारिक छलफल र निर्णय प्रक्रिया गरेपनि विप्लवले अन्य जुनियर तर आफ्नो विवासिला नेताहरुसँग समेत निरन्तर भेट र सल्लाह लिन्छन् । स्रोतका अनुसार विप्लवले राजनीतिक र सैन्य दुवै विषयमा आफ्ना विश्वासिला नेताहरु मार्फत सुझाव लिने गरेका छन् ।
भौगोलिक हिसावले विप्वललाई मधेश र पूर्वी नेपालमा बलियो नेताको अभाव छ । उनलाई मिथिला, भोजपुरा, लिम्ुवान, थारुवान, तमुवाङ जस्ता राज्यबाट विप्लवलाई फिल्डमै जनस्तरमा पत्ताइने नेताको अभाव छ ।

विशेषता र कमजोरी
सिद्धान्तमा जति दृढ र कठोर स्वभाव छ र त्यत्तिनै ‘क्रान्तिकारी’ देखिन्छन् । कुशल संगठक र आफुलाई गतिशिल नेतृत्वको रुपमा स्थापित गर्न चाहन्छन् । कार्यकर्तासँग निरन्तर जोडिने र जोखिम मोल्न नडराउने स्वभाव छ । सामान्य जीवनशैली र कार्यकर्तासँगको सहज पहुँच छ । विचार, सिद्धान्त र राजनीतिमा कठोर भनिएपनि विप्लव कार्यकर्तामाझ सरल र मिजाशिला मानिन्छन् । विशेषता सिद्धान्त र व्यवहारवीच तालमेल गराउने प्रयास गर्छन । यी उनका विशेषता मानिन्छन् ।
यसबाहेक उनका केही कमजोरीवारे पनि चर्चा हुन्छ । धेरैले उनलाई एउटा महत्वकांक्षी नेताका रुपमा बुझ्ने गर्दछन् । अचानक विदेश भ्रमण र अपारदर्शी भेटघाटले उनीमाथि बेला–बेला प्रश्न उठने गरेको छ । शान्ति प्रक्रियापछि पनि उनले राष्ट्रवादीशक्तिको नाममा पूवपंचदेखि सेनाका अवकासप्राप्त अधिकारी र दरवार निकट व्यक्तिहरुसँग पनि भेट गरेको आरोप छ ।

बुढाहरुले क्रान्ति गर्न सक्दैनन भन्ने विप्लवको भनाईको वैद्यले यसरी काउन्टर गरेका थिए

आफुलाई क्रान्ति गर्न नसक्ने ‘बुढा’ को सज्ञा दिएपछि वैद्यले विप्लवका विषयमा आफ्नो प्रतिवेदनमा केही कुरा उठान गरेका थिए । विप्लवले आफुसँग सम्बन्ध विच्छेद गरेपछि वैद्यले यस्तो निश्कर्ष निकालेका थिए, जुन प्रतिवेदनमै समेटिएको थियो ।

१–लेनिनको विचारमा अवसरवादीपक्षले क्रान्तिकारीपक्षका विरुद्ध विद्रोह गर्नु खराव कुरा हो । विप्लव समूहले क्रान्तिकारीपक्षसित जुन सम्बन्ध विच्छेद वा विद्रोहको कुरा गरेको छ, त्यो खराव कुरा हो । वास्तवमा यो विद्रोह होइन, फुटवाद हो ।
२–बौद्धभेला (२०६२ आसर २) देखि सातौ महाधिवेशन (२०६९ पुस) सम्म पार्टीभित्र संघर्षको उठान र नेतृत्वको प्रश्नमा आधारित थियो । यस अवधीमा गुटबन्दीको लक्षण देखिन थालेका थिए । यसको नेतृत्व विप्लवले गरेका थिए ।
३–सातौ महाधिवेशनपछि पारित कार्यदिशामा विप्लवसहितका नेताहरुले प्रश्न उठाए । संविधानसभा–२ को चुनाव सम्म आउदा विप्लवहरु तत्काल सशस्त्र संघर्षमा जाने सोचमा थिए ।
४–केन्द्रीय समिति र पोलिटव्यूराका निर्णयहरुको उल्लङ्घन र विरोध गर्ने कामलाई अन्त्यन्तै तिव्र पारियो । यस्ता गतिविधि पार्टी एकताको विरोध, गुटवाद र फुटवादमा आधारित थिए । विप्लवले पार्टीका महत्वपूर्ण वैठक पनि वहिस्कार गरे ।
५–कपिलबस्तुमा आफ्नो समूहका नेता–कार्यकर्ता जम्मा गरेर राष्ट्रिय भेला गर्न लागेका विप्लवलाई कार्यक्रम रोक्न पार्टीले निर्देशन दिएपनि उनले त्यसको अवज्ञा गरे । त्यहाँ उनले आफ्नो प्रस्ताव नै अनुमोदन गराए ।
६–सामान्यत सातौ महाधिवेशनको आसपासदेखि नै समान्तर गतिविधि संचालन गर्दे आएकोमा सम्बन्ध विच्छेदको आसपाससम्म आउदा गोप्य भेला मार्फत पार्टीभित्र पार्टी, संगठनभित्र संगठन र संघर्षभित्र संघर्षको कार्यक्रम विप्लवले चलाएका थिए ।
७–केन्द्रीय समिति र पोलिटव्यूरोको निर्णयको वैठक विपरित भिन्न मतको प्रस्तावको नारा विप्लवले सार्वजनि गरे र भिन्न मतको प्रस्तावलाई छपाएर समेत बाँडे । पार्टीले अगाडि बढाएको सात महिने कार्यक्रममा उनले असहयोगको नीति अगाडि सारे ।
८–पार्टीको मुल नेतृत्वको विरोधमा आन्तरिक र बाह्य रुपमा अभियान चलाएर विभाजनका लागि माहौल बनाउदै लगे ।
९–पार्टी निर्णय विपरित पत्रकार सम्मेलन गरे, त्यसपछि उनलाई स्पक्ष्टीकरण सोधियो । तर, जवाफ दिएनन् । बरु अर्को पत्रकार सम्मेलन आयोजना गरेर उनले ‘पार्टी नेतृत्वको सल्लाहमा कपिलबस्तुमा भेला गरेको’ झुठो कुरा गरे ।
१०–आफ्नै प्रस्ताव अनुसार बोलाइएको केन्द्रीय समितिको विस्तारित वैठकमा अन्तिमसमयसम्म धर्य गरेर बस्न नसक्नु, विभिन्न राजनीतिक प्रस्ताववारे महाधिवेशनबाट निश्कर्षमा पुग्ने निर्णय भएकै बेला पाँच/सात महिना पर्खन नसक्नुले विप्लव विचारधारात्मक वहस र जनवादी अभ्यासबाट पलायन भएको पुष्टी गर्छ । यसलाई राजनीतिक रुपमा हददर्जाको अदुरदर्शी चिन्तन र गैरजिम्मेवारीपन भन्न सकिन्छ ।
११–खुला र स्पष्ट होउ, छलछाम र षडयन्त्र नगर भन्ने माओको भनाई विपरित विप्लवले काम गरे । उनको उदेश्य स्पष्ट र खुलस्त रुपमा संगठन, नेतृत्व र कार्यदिशाको प्रश्नमा आफ्ना धारणा नराख्ने, बरु गलत ढंगले नेतृत्व र संगठन कब्जा गरेर आफ्नो काम अगाडि बढाउने कोशिष गरे ।
१२–आन्तरिक र बाह्य रुपमा पार्टी नेतृत्वको विरोध गरेर आफुलाई फरक देखाउन कोशिष गरे, उनले नेतृत्व असक्षम छ, बुढाहरु केही गर्न सक्दैनन्, नेतृत्व छद्म अवसरवाद, दक्षिणपन्थी अवसरवादको भासमा फस्दै छ भन्ने आरोप लगाएर दुस्प्रचार गरे ।
१३–पार्टीभित्र गुटबन्दी तथा समान्तर गतिविधि गरेका विप्लवले पार्टी जिम्मेवारीको दुरुपयोग गरे । उनी पार्टी सचिव हुँदा पार्टीले दिएको काम, जिम्मेवारी पुरा गरेनन् । सामुहिक ढंगले जानुभन्दा व्यक्तिकेन्द्रित तरिकाले काम र गुटबन्दीलाई बढवा दिने उनको विशेषता रह्यो ।
१४–पार्टीमा रहदा उनले अनुशासन र सांगठनिक मापदण्डलाई मिचिरहे । कार्यदिशा फरक भएपछि अनुशासन लाग्दैन भन्ने सम्मको गैरलेनिवादी चिन्तन देखाए ।
१५–विप्लव समूहले षडयन्त्रमुल रुपमा गोप्य र खुला दुईलाइन संघर्ष चलाउदा पनि त्यसलाई बैलैमा नियन्त्र गर्ने पहल गरिएन । त्यसो त उनले नेपालभित्र र बाहिर गएर पनि अपारदर्शि भेटघाट गरे ।
१६–विप्लवका गतिविधि सांगठनिक रुपमा अराजकतावादी व्यक्तिवाद, दार्शनिक रुपमा निषेधात्मक द्धन्द्धवाद तथा अनुभववाद र राजनीतिक रुपमा पूश्चगामी सत्ता साझेदारीको रणनीतिमा आधारित थिए । उनको प्रस्ताव अति नै भा्रमक, अस्पष्ट र रहस्यमुलक छन् । उनको प्रस्तावमा राष्ट्रिय स्वाधीनताप्रतिको संवेदनशिलतामा कमी तथा भारतयि विस्तारवादपरस्तका लक्ष्क्षण देखिए । समग्रमा उनी बामजस्तो देखिएपनि सारमा दक्षिणपन्थी अवसरवाद उन्मुख छन् ।
१७–विप्लवले दुई लाइन संघर्षमा वाद तथा विवादमा मात्र जोड दिए । संवाद र रुपान्तरणको स्तरमा जान सकेनन् । दार्शनिक क्षेत्रमा यो निशेधात्मक द्धन्द्धवादी चरित्र हो । उनको एकीकृत क्रान्तिको सिद्धान्त नयाँ जनवादप् क्रान्तिको राजनीतिक तथा फौजी कार्यदिशाको विरोधमा छ ।
१८–राजनीतिक अर्थशास्त्रको क्षेत्रमा पनि विप्लवमा समस्या छ । उनले एकातिरि नेपाली जनवादी क्रान्तिका लागि मजदुर, किसान बर्गको भूमिकालाई गौण स्थानमा राखी मध्यम बर्गको भूमिकामाथि विशेष जोड दिएका छन् भने अर्कोतिर अन्तराष्ट्रिय क्षेत्रमा यसले साम्राज्यवाद र विस्तारवादसितको प्रश्नलाई नकारेका छन् । वैज्ञानिक समाजवादको क्षेत्रमा पनि उनीमा समस्या छ ।
१९–विप्लवमा निम्न पुँजीवादी मानसिकता, चरम व्यत्तिवादी महत्वकाक्षा, क्रान्तिकारी र्धयको अभाव, सिध्र विजयको मानसिकता, अस्थिरता तथा ढुलमुलपन जस्ता लाक्षणिक विशेषता मायन्छन् । यो चिन्तन तथा अभिव्यक्तिलाई बामरुपमा अभिव्यक्त दक्षिणपन्थी विलचनका रुपमा बुझ्नु राम्रो हुन्छ ।
२०–विप्लवले नेकपा–माओवादीका कार्यदिशा सारसंग्रवादी छ, जनयुद्धको जग स्पष्ट छैन्, नेतृत्व गंभीर रुपमा जनविद्रोहको तयारीमा लागेन, जनयुद्धको जग भत्तिइकसेको छ, पार्टी फुटको औचित्य पुष्टी गर्न सकिएन जस्ता आरोप माथिमाथि लगाउने गरेका छन् । यो उनको कार्यदिशा बुझाईको अभाव हो ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल