मधेस आन्दोलनको १०० दिन, समाधानभन्दा समस्या बन्दै : पत्रकार वीरेन्द्र केएमको मधेस डायरी

मधेस आन्दोलनको १०० दिन, समाधानभन्दा समस्या बन्दै : पत्रकार वीरेन्द्र केएमको मधेस डायरी

100-days-of-madhesh-protest
‘एबेर नाइ त कहियो नाइ’ अर्थात् यसपालि भएन भने कहिल्यै पनि हँुदैन । मधेसका सर्वसाधारणबीच पनि यो भनाइ चर्चामा छ । जारी मधेस आन्दोलन ‘वार या पार’को हो भन्ने मनोविज्ञान मधेसमा व्याप्त छ ।
सप्तरीको रूपनीमा नास्ता पसल चलाइरहेकी ६१ वर्षीया रत्नादेवी साहले भनिन्, ‘अहिलेसम्म हामी मधेसी पीडित भएर बस्यौं, अरुको दास बनेको धेरै भइसक्यो । तर, यसपालि वारपारको लडाइँ भइरहेको छ ।’ कुनै पनि राजनीतिक पार्टीमा सदस्य नरहेकी साहले भनिन्, ‘यो आन्दोलन जनताको आन्दोलन हो ।’ उनकै भनाइमा यसपालि पनि मधेसी जनताले अधिकार पाएनन् भने कहिल्यै पनि पाउने छैनन् ।
रिपोर्टिङका क्रममा सुनसरी, मोरङ, सप्तरी, सिरहा, धनुषासम्म पुग्दा सामान्य चिनेका सर्वसाधारणको एउटै जिज्ञासा रहन्थ्यो, ‘केना छै काठमाडौंवाला सब एहुबेर अधिकार देतै की नाइ ? यदि नाइ देतै त एहीबेर थाह भ जेतै मधेसके हैसियत कतेग छै ।’ अर्थात्, के छ, काठमाडौंले यसपालि पनि अधिकार दिन्छ कि दिँदैन ? दिँदैन भने यसैपटक थाहा हुन्छ कि मधेसको शक्ति कति छ ।
सम्पूर्ण मधेवासी यतिबेला आन्दोलित रहेको आभाष हुन्छ । लामो समयदेखि जारी आन्दोलनका कारण शिक्षण संस्थादेखि ठूला–साना कलकारखानासम्म ठप्प छ । तर, सर्वसाधारणमा यसबारे खासै गुनासो छैन । उनीहरू भन्छन्, ‘तीन महिना त के, वर्ष दिन पनि आन्दोलन गर्न तयार छाँै । तर, यो अन्तिम हुनुपर्छ ।’
३० साउनबाट औपचारिक रूपमा सुरु भएको मधेस आन्दोलन (तेस्रो) ले सय दिन पार गरिसकेको छ । तर, आन्दोलनबारे मधेस र राजधानी काठमाडौंको बुझाइ भने फरक पाइन्छ । फरक–फरक व्याख्यासमेत हुने गरेका छन् । सप्तरीको भारदहस्थित आन्दोलनकारी राजीव राउतको मृत्युसँगै चर्केको यो आन्दोलनकै कारण अहिलेसम्म ४९ जनाले ज्यान गुमाइसकेका छन् । आन्दोलनको सय दिन पूरा भए पनि सीमानाका केन्द्रित अवरोधात्मक आन्दोलन भने सुरु भएको ६३ दिन पुगेको छ । नयाँ संविधानको मस्यौदा आएलगत्तै त्यसमा असहमति राख्दै सुरु मधेस आन्दोलन संविधान बहिष्कार गर्दै अगाडि बढ्यो, सर्वसाधारण, सुरक्षाकर्मीसहित (सप्तरी घटनाबाहेक) ४६ नेपाली र एक भारतीय मारिएका छन् भने, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहनदेखि चीनले अनुदानमा दिएको पेट्रोलियम पदार्थसम्म देशमा भित्रिसकेको छ । सुशील कोइरालाको सरकार हँुदै केपी शर्मा ओली सरकारसम्म आइपुग्दा पटक–पटक कैयाँै अनौपचारिक–औपचारिक वार्ता भइसकेका छन् ।

birgunj protest dhoti julus (3)संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकार र प्रतिपक्षी दल वार्ताप्रति गम्भीर नभएको भन्दै आन्दोलनलाई अझै प्रभावकारी बनाउने निर्णय लिएका छन् । ३ असोजमा सीमानाका, राजमार्ग अवरुद्ध, उद्योग कलकारखाना बन्द गर्ने कार्यक्रमलाई निरन्तरता दिने मोर्चाको निर्णय आएपछि आन्दोलन फेरि हिंसात्मक बन्दै गएको छ । शनिबार मात्र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र पहिचान पक्षधर पार्टीको संघीय गठबन्धनले राजधानी र पूर्व–पश्चिम राजमार्गकेन्द्रित सभा तथा आन्दोलन सशक्त बनाउने निर्णयसमेत गरेको छ । योबीचमा शरत्सिंह भण्डारीदेखि जेपी गुप्तासम्मको अर्को नयाँ मोर्चासमेत निर्माण भइसकेको छ ।
००७ सालको आन्दोलन एक सय चार दिनमा सफल भएको बताउँदै नेपाल तराई बौद्धिक समाजका अध्यक्ष रामकिशोर सिंह भन्छन्, ‘यो आन्दोलन मधेसको पहिचान र अस्तित्वको लडाइँ हो ।’ उनले ठूला दलका प्रायोजित मिडियाले अंगीकृत नागरिकता, सीमांकनलगायत विषयलाई मात्र प्रचारबाजी गरिरहेको बताए । ‘यो मधेसले आफ्नो अस्तित्व पहिचानका लागि गरिरहेको लडाइँ हो । मधेसलाई भारतसँग जोडेर हेर्नेले २००७, ०१७, ०४६ र ०६२/६३ को आन्दोलनमा भारतको भूमिकालाई बिर्सने गरेका छन्,’ सिंहले भने, ‘कुमाउ गडवाल, सिक्किम, दार्जिलिङ, आसाम मणिपुरलगायत स्थानबाट आएका असली राष्ट्रवादी भनाउँदाभन्दा मधेसका भूमिपुत्र जनता कैयौँ गुणा राष्ट्रवादी छन् । मधेसी जनताको आन्दोलनलाई भारतसँग जोडेर हेरिनु नै मधेसीको कुनै अस्तित्व नदेख्नु हो । मधेसी जनता पटक–पटक आन्दोलित भए तर यसपटक अन्तिम लडाइँ लड्ने मुड बनाइसकेका छन् । यो आन्दोलनमा छिमेकी भारत पनि जोडिएको छ । काठमाडौं यस समय मधेस आन्दोलनको राजनीतिक समाधान खोज्नुभन्दा भारतविरोधी भड्काउ भाषणबाजी गर्नमै सीमित छ ।’
सुनसरीस्थित रामनगर भुटाहाका कौशलकिशोर कर्ण पनि राज्यले सदियौँदेखि मधेसी जनतालाई नागरिकको व्यवहार नगरेको बताउँछन् ।

siraha protest (3)
‘ठूला दलका नेता, मन्त्री र वरिष्ठ सरकारी कर्मचारीहरु जति भारतविरोधी गतिविधि गर्न व्यस्त छन्, त्यति गम्भीर भएर मधेसबारे चिन्तन गरेको भए आज यो स्थिति आउँदैनथ्यो । कागजमा नेपाली नागरिक भए पनि वास्तवमा मधेसी जनतालाई राज्यले नागरिक व्यवहार गरेन । यदि त्यस्तो होइन भने, राज्य अहिले रगतको होली खेल्दैनथ्यो होला,’ उनी भन्छन्, ‘आजभोलि भन्दाभन्दै सय दिन पुगिसक्यो, राज्यलाई कुनै वास्ता छैन, जिम्मेवार व्यक्तिले मधेसी जनताको सहादतलाई अपमान गर्दै आइरहेका छन् ।’
Sunsari basntpur Kalicharan Mehataसुनसरी वसन्तपुर सिसुवा धर्मपुरका शिक्षक कालीचरण मेहता पनि राज्यले मधेसको आवाज सुन्न नचाहेको र मधेसी जनतालाई दोस्रो दर्जाको नागरिक ठानिरहेको बताउँछन् । भन्छन्, ‘२/४ दिनको आन्दोलनकै भरमा ६ बाट ७ प्रदेश बनाउने प्रमुख शासक भनाउँदा नेताले मधेसीलाई जनता नै ठानेनन् । सय दिन भइसक्यो मधेसमा आन्दोलन भएको । काठमाडौंले मधेसी जनताको आन्दोलनलाई आन्दोलन नै स्विकारेको छैन ।’
मधेस आन्दोलनलाई काठमाडौंले बेवास्ता गरेको मोरङ पिछडाका तेजनारायाण यादवको बुझाइ छ । ‘शान्तिपूर्ण प्रदर्शनलाई ‘रेस्पोन्स’ गर्ने सरकारी तरिका ठीक हुँदै भएन । निहत्था मान्छेलाई कठोर प्रहार गरियो,’ उनी भन्छन, ‘कांग्रेस, एमाले, माओवादीसहित सत्ताधारी दलका कार्यकर्ताले आन्दोलनमा भिजिलान्तेको कार्य गर्न व्यस्त छन् । उता सिके राउतको आफ्नै खालको योजनात्मक कार्यसमेत यसै आन्दोलनका नाममा भइरहेको छ ।’
तर, पर्साका एसएसपी नारायणसिंह खड्का भने प्रहरीले दमन गरेको स्विकार्दैनन् । ‘हामीले त्यसरी नै व्यवहार गरेका हुन्थ्यौँ भने यतिखेरसम्म स्थानीय जनमत हाम्रो विरुद्धमा झन् उग्र हुनुपर्ने होइन र ? उनले टेलिफोन सम्पर्कमा भने, ‘हामीले हाम्रो कर्तव्य पालना गरेका मात्रै हौँ ।’
काठमाडौंमा व्यवस्थापन संकायमा अध्ययनरत सिरहाकी प्रेमलता जैसवालको टिप्पणी भने छुट्टै छ । ‘मधेसी समुदायको चित्त दुख्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका अभिव्यक्तिले नै परिस्थिति बिगारेको हो । हुलाकी सडकभरि लाखौँ मधेसीले मानवसाङ्लो बाँध्दा प्रधानमन्त्रीसमेत रहेका ओलीले माखेसाङ्लो भनेर मधेसलाई चिढ्याएका छन्,’ उनी भन्छिन्, ‘अधिकारका लागि युपी, बिहार जानुपर्ने सम्म ओलीले भने । २/४ आँप झर्दैमा सिगो मधेसको बगँैचा सुक्दैन भन्नु मधेसी जनताको कति अपमान हो ? ओलीकै बोलीले हो, मधेस आन्दोलनमा घिउ थप्ने काम गरेको ।’

birgunj protest (2)
राजधानीकेन्द्रित अखबार, टिभी, रेडियो र अनलाइनप्रति समेत मधेसी जनता आक्रोशित रहेको पाइन्छ । काठमाडौंमा ट्राभल्स एन्ड टुर्स व्यवसायमा सक्रिय सुनसरी स्थायी बासिन्दा तुफेल अहमद अन्सारीले काठमाडौंकेन्द्रित मिडियाले मधेसका नकारात्मक समाचारलाई मात्रै प्राथमिकता दिएको बताए । ‘मधेस आन्दोलनका नकारात्मक घटनालाई मात्रै मिडियाले ठाउँ दिएको देखिन्छ । तोडफोड, नाकाबन्दीका कुरा मात्रै आएका छन् । मधेस किन आन्दोलनमा छ, मधेस कसरी पाखा पर्यो ? भन्ने बताउँदैनन । यसको मतलब के ? मधेस आन्दोलनलाई आन्दोलन नै नमान्नु होइन ? उनी भन्छन्, ‘मधेसी जनता ज्यानसम्मको प्रवाह नगरी सीमानाकामा धर्ना बसिरहेका छन् । तर, यसलाई बंग्याएर भारतीय नाकाबन्दी मात्रै भनिएको छ ।’
यता, पूर्व–पश्चिम राजमार्गकेन्द्रित आन्दोलन थालेको मधेसी मोर्चा र प्रहरीबीच सप्तरीको भारदह र रूपनीमा शनिबार राति झडप भयो । यसले आन्दोलन फेरि हिंसाउन्मुख बनेको देखाउँछ । यो झडपमा चार आन्दोलनकारी प्रहरीको गोली लागेर मारिएको मोर्चाले जनाएका छन् । हिंसा भड्किन नदिन सप्तरी प्रशासनले आइतबार बिहानदेखि राजमार्ग क्षेत्रअन्तर्गत कोसी ब्यारेजदेखिको भारदह, कञ्चनपुर, रूपनी र कदमहा सडकखण्डसहित सदरमुकाम राजविराजमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ । तर, आन्दोलनकारीले निषेधाज्ञा तोडेका छन् । प्रहरीको गाडी जलाएका छन् । यसले तनाव बढाउने संकेत गरेको छ ।
आइतबार राजमार्गमा भएको घटनाले आन्दोलनमा आन्दोलनकारी र राज्यपक्ष दुवैले बल प्रयोगको नीतिलाई अगाडि सार्ने संकेत देखिएको छ । शनिबारको पत्रकार सम्मेलनमा नयाँशक्ति निर्माणको अभियानमा लागेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समयमै समस्या हल नगरे मधेस आन्दोलन नियन्त्रणबाहिर जाने चेतावनी दिएका थिए । उनले तराई मधेसको आन्दोलन आन्दोलनकारीको हातबाट गुम्दै जान थालेको भन्दै चिन्ता व्यक्त गरेका थिए । यद्यपि, सरकार बल प्रयोग गरेर भए पनि सीमानाका र राजमार्गलाई सुचारु गर्ने मुडमा देखिएको छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल