सय वर्षमा १ लाख बाघ लोप, ३५ सयमात्रै बाँकी

सय वर्षमा १ लाख बाघ लोप, ३५ सयमात्रै बाँकी

दीपेन्द्र राई

सय वर्ष अघिसम्म संसारभरि १ लाख बाघ थिए । सय वर्षपछि ३५ सयको हाराहारीमा मात्रै रहेका छन् । हिजोआज दक्षिण एसियाको १३ देशमा मात्रै बाघ पाइन्छन् । उल्लिखित देशमध्ये झन्डै भारतमा २३ सय र नेपालमा १ सय ९८ बाघ पाइन्छन् । नेपालको सबैभन्दा बढी बाघ चितवनमा पाइन्छ । त्यहाँ १२५ को हाराहारीमा बाघ रहेका छन् ।

नेपाल, भारत, भुटान, बंगलादेश, कोरिया, ताजकिस्तान, थाइल्यान्ड, श्रीलंका, चीन, मलेसिया, रूस, म्यानमार र साइबेरियामा बाघ पाइन्छन् । वासस्थान क्षेत्र ठूलो भएकाले भारत बाघको उर्वर भूमि मानिन्छ । बाघ ‘ट्रपिकल’ र ‘सब ट्रपिकल’ सँग जोडिएका ठाउँमा पाइन्छ ।

विश्वमै बाघ लोप हुँदै गएको अवस्थामा नेपालमा बाघ बढ्दै गएको छ । १२ जिल्लामा मात्रै पाइए पनि संख्यात्मक हिसाबले नेपालमा बाघ वृद्धि हुँदै गएकोमा बाघविद् डा. झमक कार्कीले खुसी व्यक्त गरे ।

वातावरण सन्तुलन राख्ने मुख्य भूमिका बाघको हुन्छ । ‘इकोसिष्टम’ अन्तर्गत सबैभन्दा माथि रहने जनावर बाघ हो । उसले किसानलाई दुःख दिने मृग, हरिण, बँदेल आदिलाई नियन्त्रण गर्छ । बाघको आहारा बालीनाली होइन । भारतबाट बाघमा पीचएडी गरेका कार्कीले सुनाए, ‘बाघ पाइने जंगलमा मानिस आवतजावत गर्न डराउने भएकाले जंगल अतिक्रमण रोकिन्छ ।’ त्यतिमात्रै होइन, पर्यटकीय हिसाबले समेत बाघले फाइदा पुर्याइरहेको छ । उनले भने, ‘थोरै देशमा पाइने भएकाले बाघ नभएका देशका मानिस भएका देशमा बाघ हेर्न पुग्छन् । तसर्थ, बाघले पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याएको छ ।’

बाघ हुँदा सम्बन्धित स्थानको प्राकृतिक सन्तुलन स्वतः स्वस्थ रहन्छ । त्यो ज्ञान नहुँदा दुःख पाउनुपरेको थुप्रै उदाहरण छन् । त्यस्तो समस्या मुख्यतः हिमाली र मध्यपहाडी क्षेत्रमा देखिएका छन् । हिमाली र मध्यपहाडी क्षेत्रका बासिन्दाले गाईबस्तु मारिदियो भनेर बाघ मारे । बाघ मारेपछि बँदेल बढेर गयो । बँदेलले किसानका बालीनाली सखाप पार्न थाले । बाघ मारिए पनि बँदेल हत्तपत्त मार्न सकिँदैन । बँदेल मार्न नसकेपछि स्थानीयले सरकार गुहारे । सरकारले सिकारी पठाए । निश्चित समयसम्म रहँदा सिकारीले एक÷दुई बँदेल मारे भने बाँकीलाई तर्साए । सिकारी फर्केपछि समस्या फेरि दोहोरियो । कार्कीको बुझाइ छ, ‘कहिलेकाहीं प्राकृतिक नियन्त्रण अप्राकृतिक ढंगले गर्दा उनीहरूले दुःख पाएका हुन् । जंगलमा बाघ भएन भने उसको भूमिका अन्य जनावरले निर्वाह गर्नुपर्छ । निर्वाह गर्ने संख्या भएन भने अन्य प्रजाति ठूलो संख्यामा वृद्धि भई अनिष्ट निम्त्याउँछ । हिमाली र मध्यपहाडी भेगमा त्यही भएको हो ।’

सन् १९७०/८० सम्म ‘जाभा’, ‘बाली’ र क्यास्पियन प्रजातिका बाघ पाइएका थिए । उल्लिखित बाघ पूर्ण रूपमा लोप भइसकेका छन् भने अहिले ‘साउथ चाइना टाइगर’, ‘साइबेरियन टाइगर’, ‘सुमात्रान टाइगर’, ‘बेंगाल टाइगर’, ‘मलायन टाइगर’ र ‘इन्डो चाइनिज टाइगर’ अस्तित्वमा रहेका छन् । १० देखि १५ वर्षसम्म बाँच्ने बाघ खोरमा थुनेर राखिए २० वर्षसम्म बाँच्न सक्छ ।

पृथ्वीमा पाइने जनावरमध्ये बाघ प्रसिद्ध हिंस्रक जंगली जनावर हो । ‘बाघ बूढो र स्याउ तन्नेरी एउटै हुँदैन’, ‘बाघको मुख खाए पनि रातै, नखाए पनि रातै’ लगायत उखान÷टुक्कामात्रै होइन, प्राचीन धर्मग्रन्थ, लोककथामा बाघको प्रसंग भेटिन्छन् । त्यस्तै, नेपाली साहित्य र चलचित्रमा बाघको सफल प्रयोग गरिएको छ । तर, मानिस र बाघबीचको समस्या कम गर्न सकिएको छैन । बाघविद् कार्कीको सुझाव छ, ‘बाघको ठाउँमा मानिस नजाने, मानिसका ठाउँमा बाघ नआउने गर्न सके समस्या हल हुँदै जान सक्छ । मानिस भएको क्षेत्र र आहारा पाइए पनि सानातिना जंगलमा बाघ बस्न रुचाउँदैन ।’

बाघ लजालु स्वभावका हुने भएकाले मानिस र बाघबीच घुलमिल हुन कठिन भएको हो । मानिस आवतजावत गरिरहने ठाउँमा ऊ बस्न रुचाउँदैन । मानिस बाघको प्राकृतिक आहारा पनि होइन । तर, बाघ बस्ने क्षेत्रमा जाँदा कहिलेकाहीं दुर्घटना हुने गरेको छ ।

सानो संख्याका लागि नेपाल बाघको उर्वर भूमि मानिन्छ । पहिले पूर्वी नेपालमा समेत बाघ पाइन्थे । चारकोसे झाडी हुँदा पूर्वाञ्चलमा बाघ पाइन्थ्यो । पूर्वाञ्चलका विभिन्न वनजंगलमा पाइने भनेको बाघ प्रजातिका चरीबाघ, निगालेबाघ, चितुवामात्रै हुन् । जुन बाघ प्रजातिमा परे पनि बाघ होइनन् । नेपालमा ‘बेंगाल टाइगर’ अर्थात् पाटेबाघमात्रै पाइन्छ । पाटेबाघ भारत, भुटान र बंगलादेशमा पनि पाइन्छ ।

सन् २०१२ मा बाघको संख्या ३ हजार रहेको थियो । सन् २०२२ सम्ममा दोब्बर पार्ने लक्ष्य लिइएको छ । बाघको संख्या दोब्बर पार्न विभिन्न मुलुकमा विभिन्न अभियान जारी छ । काठमाडौं फरेस्ट्री कलेज भाइस प्रिन्सिपलसमेत रहेका कार्कीले जानकारी गराए, ‘बाघ बढाउनेक्रममा प्रगति गर्दै गएको देश नेपालमात्रै हो ।’

मुख्यतः तराईका साल वन, सालमिश्रित वन, विभिन्न उचाइ भएका घाँसेमैदानदेखि बर्दियाको १४ सय मिटर उचाइसम्म बाघ पाइन्छ । बाघ होचोखालको घाँस भएको ठाउँमा बस्न रुचाउँछ ।

बाघको प्राकृतिक आहारा जोडिएको जंगलसँग अर्को जंगल जोडिएको छ भने ऊ आफ्नो क्षेत्रबाट बाहिर निस्कन्छ । बाघ बसोवास गर्दै आएको जंगलमा प्राकृतिक आहारा कम हुँदै गएमा कहिलेकाहीं जंगलसँग जोडिएको गाउँघर पस्ने गर्छ । त्यतिबेला अनिष्ट भएको समाचार सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण हुने गरेका छन् ।

तीव्र विकासले बाघमात्रै होइन, वन्यजन्तु जोगाउन अप्ठ्यारो परेको हो । विकासले कम असर पारेको ठाउँमा बाघ धेरै पाइन्छन् । ‘मानिसकै कारण बाघ लोप हुँदै गएका हुन्,’ कार्कीले प्रस्ट्याए, ‘चोरी सिकार, अवैध व्यापार र वासस्थान कम हुँदै जानाले बाघ लोप हुँदै गएको हो । बाघ पाइने देशबाट नपाइनेमा बाघको अवैध व्यापार भइरहेको छ ।’

देवीको वाहन मानिएको बाघको रोचक पक्षसमेत रहेको छ । बाघले आफूभन्दा दोब्बर ठूलो जनावर सिकार गर्न सक्छ । उसले समूहमा कहिल्यै सिकार गर्दैन । जहाँ बाघ हुन्छ, त्यहाँ सिंह पाइँदैैन । बाघको छाला ओछ्याउँदा सम्बन्धित व्यक्तिलाई ऊर्जा मिल्ने पुरातन मान्यता छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल