किन फेरि हिंसात्मक बन्न थाल्यो मधेश आन्दोलन ?

मंसिर ६

किन फेरि हिंसात्मक बन्न थाल्यो मधेश आन्दोलन ?

morcha bartaकाठमाडौं –आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकार र प्रतिपक्षी दल वार्ताप्रति गम्भीर नभएको भन्दै आन्दोलनलाई अझै प्रभावकारी बनाउने निर्णय लिएको थियो । मंसिर ३ गते सीमानाका, राजमार्ग अवरुद्ध, उद्योग कलकारखाना बन्द गर्ने कार्यक्रमलाई निरन्तरता दिने मोर्चाको निर्णय आएपछि आन्दोलन फेरि हिंसात्मक बन्दै गएको छ । हिजोमाज्ञ संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र पहिचान पक्षधर पार्टीहरुको संघीय गठबन्धले राजधानी र पूर्वपश्चिम राजमार्ग केन्द्रीत सभा तथा आन्दोलन सशक्त बनाउने निर्णय समेत गरेको थियो ।
आन्दोलन, नाकाबन्दी हुँदै वार्ताको तहमा पुगेको भएपनि मधेशका माग सम्बोधन गर्ने विषयमा प्रमुख दलबीच रहेको मतभेदले समस्या बल्झाईरहेको छ । मधेश समस्याका विषयमा प्रधानमन्त्री ओली, उच्चस्तरीय राजनीतिक संयन्त्र एव्म एमाओवादीका अध्यक्ष प्रचण्ड र काग्रेस नेताहरुका आ–आफ्ना सुत्र छन् । उनीहरुबीच एकरुपता नहुँदा मधेशका माग सम्बोन गर्ने विषय जटिल बन्दै गएको छ ।

सत्तापक्ष र प्रतिपक्षको ‘मधेश कार्ड’
शनिवार तराई मधेशको समस्या हल गर्न भन्दै विपक्षी काग्रेस बोलाएको उच्चस्तरीय वैठकमा प्रधानमन्त्री केपी ओली सहभागी भएनन् । जवकि मंसिर ४ गते काग्रेसले सत्तारुढ दलहरुद्धारा प्रचण्डको नेतृत्वमा गठित उच्चस्तरी राजनीतिक संयन्त्रले बोलाएको छलफलमा सहभागी नुहने निर्णय गरेको थियो । विपक्षी काग्रेसको यस्तो निर्णय आएको दोस्रो दिन प्रधानमन्त्री ओली काग्रेसले बोलाएको वैठकमा सहभागी भएका होइनन् । सत्तापक्ष र प्रतिपक्ष समस्याको समाधान खोज्न भन्दा पनि ‘मधेश कार्ड’ राजनीति गर्न उद्धत बनेका छन् । यसले पनि मधेश आन्दोलनलाई हिंसात्मक बनाउन मछत पुराएको छ ।
congress uml maobadi meetingगत आइतवार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेशमा आन्दोलनरत दलहरुलाई वार्ताका लागि आव्हान गरेको थिए । ‘तराई मधेसमा आन्दोलनरत दलहरूसँगको समझदारीका आधारमा संविधान संशोधन विधेयकलाई अगाडि बढाउन र प्रादेशिक सीमाका बारेमा छलफल र राजनीतिक सहमतिका आधारमा संविधानमा व्यवस्था गर्न सरकार तयार छ । अतः जारी वार्तालाई छिटोभन्दा छिटो सार्थक परिणाममा पु¥याउन आन्दोलनरत पक्षलाई म पुनः आह्वान गर्दछु ।’ प्रधानमन्त्रीले सम्बोधनमा भनेका थिए । तर, एक सातासम्म कुनै प्रगति भएको छैन् ।
आन्दोलनकारी र सरकार दुवै कठोर हुने मुडमा
पूर्वपश्चिम राजमार्ग केन्द्रित आन्दोलन थालेको मधेसी मोर्चा र प्रहरीबीच सप्तरीको भारदह र रूपनीमा शनिवार राती भएको झडपले आन्दोलन हिंसाउन्मुख बनेको देखाउँछ । यो झडपमा दुई आन्दोलनकारी प्रहरीको गोली लागेर मारिएका छन् ।
हिंसा भड्किन नदिन सप्तरी प्रशासनले आइतवार विहानदेखि राजमार्ग क्षेत्रअन्तर्गत कोसी ब्यारेजदेखिको भारदह, कञ्चनपुर, रूपनी र कदमहा सडकखण्डसहित सदरमुकाम राजविराजमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ । तर, आन्दोलनकारीले निषेधाज्ञा तोडेका छन् । प्रहरीको गाडी जलाएका छन् । यसले तनाव बढाउने संकेत गरेको छ ।
आइतवार राजमार्गमा भएको घटनाले आन्दोलनमा आन्दोलनकारी र राज्यपक्ष दुवैले बल प्रयोगको नीतिलाई अगाडि सार्ने संकेत देखिएको छ । शनिवारको पत्रकार सम्मेलनमा नयाँ शक्ति निर्माणको अभियानमा लागेका पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले समयमै समस्याको हल नगरे मधेश आन्दोलन निययन्त्र बाहिर जाने चेतावनी दिएका थिए । उनले तराई मधेशको आन्दोलन आन्दोलनकारीको हातबाट गुम्दै जान थालेको भन्दै चिन्ता व्यक्त गरेका थिए । उता सरकार बल प्रयोग गरेर भएपनि सीमा नाका र राजमार्गलाई सुचारु गर्ने मुडमा देखिएको छ ।

मोर्चाको तयारी नै हो
केही समयदेखि यता भएका वार्ताहरु परिणाममुखी नभएको भन्दै मोर्चाले आफ्नो आन्दोलन थप सशक्त पार्ने निर्णय लिएको थियो । मोर्चाले सरकार र प्रतिपक्षी दल वार्ताप्रति गम्भीर नभएको भन्दै आन्दोलनलाई अझै प्रभावकारी बनाउन सीमानाका राजमार्ग अवरुद्ध, उद्योग कलकारखाना बन्द गर्ने कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको थियो । आइतवार मोर्चाका सभासद्ले संसदमा नाराबाजी नै गरेका छन् । आन्दोलन, नाकाबन्दी हुँदै वार्तामा जाँदा पनि माग सम्बोधन तर्फ प्रमुख दलहरु गंभीर नभएको मोर्चाको नेताको निर्णय छ । मोर्चाका नेतालाई माग पुरा नभएसम्म आन्दोलन फिर्ता नगर्न कार्यकर्ताको चर्को दवाव पनि परेको छ ।

फेरि पनि प्रश्न, आन्दोलन नेताको नियन्त्रणमा छ कि छैन ?

मोर्चाको अत्यावश्यक बस्तुमा उदारतमा देखाउने निर्णय आएकै दिनदेखि तराई मधेशको आन्दोलन तनावपूर्ण बन्दै गएको छ । यसले मधेश आन्दोलन नेताहरुको नियन्त्रणमा छ वा छैन भन्ने प्रश्न उब्जाएको छ । औषधि बोकेको गाडी जलाइएको विषयमा सदभावनाका अध्यक्ष राजेन्द्र महतोले भनेका थिए, ‘हामीले औषिधिका गाडी दिउँसो चलाउन भनेका थियौँ । तर, वीरगंजमा राती ट्रक चलेको रहेछ । मोर्चाका कार्यकर्ताले राती ट्रक मात्र देखे, त्यहाँ के लोड भएको छ भन्ने थाहा पाएनन । हतार–हतार जलाए जस्तो देखिन्छ ।’

मंसिर ३ गतेदेखि ६ गतेसम्म भएका हिंसाका श्रृखला

असोज ६ गते मोटरसाइकलमा आगजनी

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रूपनीमा आज आन्दोलनकारीहरूले एउटा पलसर मोटरसाइकलमा आगो लगाएर जलाएका छन् । गाईघाटबाट राजविराजतर्फ आउँदै गरेको स४प ५३११ नं को पलसर मोटरसाइकलमा प्रदर्शनमा उत्रेका आन्दोलनकारीहरूले आगो लगाएको प्रहरीले जनाएको छ । आगलागीबाट मोटरसाइकल पूर्णरूपमा क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरीसँगको झडपका क्रममा गएराति सप्तरीको भारदह र रूपनीमा दुईजना मधेसी मोर्चाका कार्यकर्ताको मृत्यु भएपछि आज सिरहाको लहानसहितका स्थानमा विरोध प्रदर्शन भएको छ । सप्तरीमा भएको घटनालगत्तै संयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरूले बिहानैदेखि लहानस्थित सहिद चोक, अस्पताल चोक, हुलाक चोकलगायतका स्थानमा टायर बालेर प्रदर्शन गरेका छन् । यस्तै सिरहाको गोलबजार, मिर्चैयालगायतका स्थानमा समेत प्रदर्शनकारीहरूले टायर बालेर प्रदर्शन गरेका छन् ।
मोर्चाका कार्यकर्ताले भारतबाट तस्करी ल्याएको पाँच लिटर पेट्रोल नष्ट गरेका छन् । सिरहाको पश्चिमबर्ती बनिनियामा पेट्रोल कब्जामा लिई पोखेर नष्ट गरेका थिए । व्यत्तिगत प्रयोजनमा लागि ल्याइएको पेट्रोलियम पदार्थ मोर्चाका कार्यकर्ताले खोस्ने गरेको सर्वसाधरणको गुनासो छ ।

असोज ५ गते राती झडप, दुईको मृत्यु
पूर्वपश्चिम राजमार्ग केन्द्रित आन्दोलन थालेको मधेसी मोर्चा र प्रहरीबीच सप्तरीको भारदह र रूपनीमा राती भएको झडपमा दुईजना आन्दोलनकारीको मृत्यु भयो । पूर्वपश्चिम राजमार्गको भारदह र रूपनी सडकखण्डमा आन्दोलनकारीले बाटो अवरुद्ध गरेपछि बाटो खुलाउने क्रममा प्रहरीले बल प्रयोग गर्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएको बताइएको छ ।
झडपमा परी प्रहरीले चलाएको गोली लागेर सप्तरीको भारदह सडकखण्डमा जिल्लाको बलिया बतनाहा गाविस– १ का १५ वर्षीया नरेन रामको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै रूपनी सडकखण्डमा प्रहरीले चलाएको गोलीबाट सप्तरीको जोमनी मधेपुरा गाविस– ९ निवासी २५ वर्षीय नागेश्वर यादवको मृत्यु भएको बताइएको छ ।
प्रहरीले भारदहमा सयौँ राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो भने रूपनी र विसनपुर सडकखण्डमा समेत सयभन्दा बढी राउन्ड गोलीका छर्रा प्रहरीले प्रहार गरेको मोर्चाका कार्यकर्ताले जनाएका छन् । प्रहरीको गोली लागेर भारदह र रूपनीमा एक दर्जनभन्दा बढी मोर्चाका कार्यकर्ता घाइते भएका छन् । घाइतेमध्ये आधा दर्जनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर रहेकाहरूको हात, खुट्टा, टाउको र छातीमा गोली लागेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइतेलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको न्युरो अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । सो क्षेत्रमा शनिबार राति १० बजेदेखि मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । सप्तरी प्रशासनले आज विहानदेखि राजमार्ग क्षेत्रअन्तर्गत कोसी ब्यारेजदेखिको भारदह, कञ्चनपुर, रूपनी र कदमहा सडकखण्डसहित सदरमुकाम राजविराजमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ ।

IMG_8504५ गते राती ट्रक र मोटरसाइकलमा आगजनी

धनुषाको ढल्केवरमा आन्दोलनकारीले दुईवटा सवारी साधनमा आगजनी गरेका छन् । गएराति पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको ढल्केवरमा आन्दोलनकारीले एउटा ट्रक र एउटा मोटरसाइकलमा आगजनी गरेका हुन् । धनुषाको महेन्द्रनगर सखुवा बजारबाट राँगा लिएर काठमाडौँका लागि छुटेको ज४ख ६२६ नंको ट्रकमा राँगा झारेर आगजनी गरेको मोर्चाले जनाएको छ । यस्तै मोर्चाका कार्यकर्ताले इन्धनको तस्करी गर्ने गरेको भन्दै ज४प ६६६८ नंको मोटरसाइकलमा आगजनी गरेका हुन् । शनिबारदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै ट्रक र मोटरसाइकल जलाएका हुन् ।

असोज ५ गते एम्वुलेन्स तोडफोड

मोर्चाका कार्यकर्ताले सुनसरीको दुवहीमा बिरामी बोकेको एम्वुलेन्स तोडफोड गरि चालकलाई कुटेर घाइते बनाए । मोर्चाका कार्यकर्ताले को १ च ४६१५ नम्वरको एम्बुलेन्समा तोडफोड गरेका थिए । गंभीर विरामी भएका संखुबासभाका सारध्वज तामाङलाई उपचारका लागि विराटनगरतर्फ लैजादै गर्दा मोर्चाका कार्यकर्ताले आक्रमण गरेका थिए । आक्रमणमा एम्वुलेन्सका चालक आनन्द विक पनि घाइते भए ।
जनकपुरमा टिफन क्यारियरमा राखेको बम बिस्फोट हुँदा एक जना गंभीर घाइते भए । घाइतको उपचार जनकपुर अंचल अस्पतालमा हुन नसकेपछि धरान पठाइएको थियो । जनकपुरमो पिपरिया– ४ माइस्थानस्थित नरेश यादवको घरमा डेरा गरी बस्ने सिराह गौरीपुर–९ का १८ बर्षीय श्रवणकुमार यादवको कोठाबाहिर रहेको टिफन क्यारियरमा रहेको बम विस्फोट भएको थियो । विस्फोटमा परी श्रवणकुमार यादव घाइते बनेका थिए ।

असोज ४ गते एम्वुलेन्समा आक्रमण
विराटनगरमा विरामी बालिका र उनकी आमा बसेको एम्वुलेन्समा आक्रमण गरियो । रौतहतमा सत्तारुढ एमालेका वरिष्ठ नेता एव्म पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको पुख्र्यौलीघरमा तोडफोड गरियो । आफ्ना वरिष्ठ नेताको घरमा तोडफोड भएपछि एमालले विवेक नगुमाउन मोर्चालाई आग्रह गरेको थियो । रौतहटको गौर नगरपालिका – ३ स्थित नेपालको घरमा शुक्रवार तोडफोड भएपछि एमाले सचिव प्रदीप ज्ञवालीले विज्ञप्ती निकालेर यस्ता आक्रमणले परिस्थितिलाई खझन खराव बनाउने बताएका थिए । सोही दिन सर्लाहीमा एउटा सवारी साधनमा तोडफोड र प्रहरी चौकीमाथि आक्रमणको प्रयास भयो ।

असोज ३ गते राती औषधी बोकेको ट्रकमा आगजनी
medcine truck vandalized in birgung (3)झन्डै तीन महिनादेखि जारी आन्दोलन शुक्रवार तनावपूर्ण र हिंसापूर्ण बन्यो । वीरगंजमा अत्यावश्यक औषधि बोकेको ट्रकमा आन्दोलदनरत मोर्चाका कार्यकर्ताले आगजनी गरेका थिए । ओम आश्रममा रहेको शिवरात्रि फर्मास्युटिकलस्को गोमामबाट लोड गरिएको सलाइन पानी बोकेको ट्रकलाई मोर्चाका कार्यकर्ताले विहिवार राती नियन्त्रणमा लिई आगजनी गरेका थिए । आगजनी गर्द सम्पूर्ण सामग्री नष्ट भएका थिए । वीरगंजबाट जनकपुरतर्फ जान लागेको ना २ ख ८२९२ नम्वरको ट्रकमाथि आन्दोलनकारीले अगाजनी गरेका थिए ।

असोज ३ गते मोर्चाको निर्णय
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जारी आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको थियो । मोर्चाको विहिवार दिउँसो सिंहदरबारमा बसेको बैठकले सरकार र प्रतिपक्षी दल वार्ताप्रति गम्भीर नभएको भन्दै आन्दोलनलाई अझै प्रभावकारी बनाउन सीमानाका राजमार्ग अवरुद्ध, उद्योग कलकारखाना बन्द गर्ने कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको थियो ।
मोर्चाले बिरामीको स्वास्थ्य उपचारलाई गम्भीरतापूर्वक लिई मानवताको नाताले औषधि, अक्सिजन र स्वास्थ्यसम्बन्धी उपकरणलाई दिनको समयमा मात्र विराटनगर सीमानाकाबाट ल्याउन दिने र सो कार्यलाई सहयोग गर्ने निर्णय गरेको थियो । तर, यस्तो निर्णय भएको केही घण्टामै वीरगंजमा औषिधि बोकेको गाडी जलाइएको थियो । मोर्चाको बैठकले विद्यालय÷क्याम्पसलाई बिहानको समयमा कक्षा सञ्चालन गर्ने गरी पठनपाठन सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल