५० बोट स्याउको आम्दानी ५ लाख

५० बोट स्याउको आम्दानी ५ लाख

दीपेन्द्र राई

हिमालपारिका जिल्ला भनेर चिनिएको मुस्ताङलाई स्याउको राजधानी मानिन्छ । मुस्ताङलाई स्याउको राजधानी बनाउने भूमिका कृषिविद् मदन राईले निर्वाह गरेका हुन् भन्न स्थानीय किसान कत्ति पनि हिच्किचाउँदैनन् । स्थानीय किसानले त्यसो भनिदिँदा कृषिविद् राई आफू सफल भएको ठान्छन् ।

रासायिक मल, बीउ बाँड्ने र प्रचार/प्रसार गर्दै आएका उनलाई मुस्ताङ पठाइयो । ‘सरकारले मुस्ताङको मार्फा स्याउ फार्मको प्रबन्धक बनाएर पठायो,’ उनले सुनाए, ‘पठाएपछि जानैपर्यो । मलाई स्याउखेतीबारे थाहा थिएन । पढेको पनि थिइनँ । त्यतिबेला बीएस्सी गरे पनि स्याउको बुटामात्रै देखेको थिएँ । मुस्ताङ पुगेपछि त्यहींका साथीहरूसँग सिक्दै, पद्दै र गर्दै गएँ ।’


स्याउबाजे भनेर कहलिएका स्थानीय बुद्धिरत्न शेरचनले मार्फा स्याउ फार्मको प्रबन्धक हुँदा धेरै काम थालेका थिए । शेरचनपछि पुगेका कर्मचारीले त्यसलाई निरन्तरता नदिएपछि कृषिविद् राईले धेरै काम एकैपटक थाले । उनको मान्यता थियो, ‘म लटरम्म स्याउ फलाउनमात्रै मुस्ताङ पुगेको थिइनँ । स्याउबाटै स्थानीय किसानको आम्दानी बढाउन चाहन्थें ।’

गर्दा हुँदोरहेछ । उनले किसानलाई स्याउ लगाउन उत्साहित गरे । स्याउ बिकेन भने के गर्ने भनेर किसान सोध्थे । उनले भन्थे, ‘बिकेन भने मलाई भन्नुस् । मलाई झुन्ड्याउनुस् । म जिम्मा लिन्छु ।’ त्यसपछि किसान ‘कन्भिन्स’ हुन थाले ।

सुरुताका स्याउको बिरुवा भारतको कास्मिरबाट ल्याएर रोपियो । पछि मुस्ताङमै स्याउको बिरुवा उत्पादन गर्न थालियो । ‘सुरुको पाँच वर्ष स्याउको बिरुवा उत्पादन गर्दै बाँडें,’ राईले अतीत सम्झे, ‘मुस्ताङका करिब ८० प्रतिशत स्याउ मेरै हातले रोपेको हुँ । र काँटछाँट पनि गरें ।’ उनले सातामा आधा समय फार्म र आधा समय किसानकहाँ पुगेर काम गर्थे । गर्दा हुन्छ है भनेर विश्वास दिलाउन उनले त्यस्तो उपाय सुझाएका थिए । त्यतिमात्रै होइन, उनले मुस्ताङमा जग्गा किनेर फार्मसमेत सञ्चालनमा ल्याए । स्याउ खेती गर्न अनुदान बाँडे । उनले विश्वास दिलाउन आफैंले फार्मसमेत सञ्चालनमा ल्याएपछि स्थानीय किसान तीनछकमात्रै परेनन्, स्याउ खेतीमा लाग्न उत्साहित भए ।


‘हिजोआज एक किसानले स्याउबाटै करोड आम्दानी गरेका छन्,’ कृषिविद् मदन राईले खुसी व्यक्त गरे, ‘चार/पाँच लाख कमाउने त प्रशस्त छन् । ५० बोट स्याउ भए सालिन्दा पाँच/सात आम्दानी हुन्छ ।’ राईको १० रोपनीको फार्ममा ५० बोट स्याउ छन् । ४० वर्षअघि एक सय बोट स्याउ लगाइए पनि बूढो भइसकेकाले पुनः लगाउनुपर्ने भएको छ ।

२,७०० हेक्टरमा फैलिएको मुस्ताङको ५० प्रतिशत जमिनमा स्याउ उत्पादन हुन्छ । झन्डै ५०० हेक्टरमा स्याउ उत्पादन भइरहेको छ । ‘स्याउलाई कृषि पर्यटनसँग जोड्न सकिन्छ,’ उनको तर्क छ, ‘मानिसको इन्द्रियलाई प्रभाव पारेर आम्दानी गर्न सकिन्छ । बजारसम्म पुर्याएर एक किलो स्याउ बेच्दा एक सय रुपैयाँ हात लाग्ला । तर, कृषि पर्यटनको सदुपयोग गर्न सके एक किलो स्याउबाट एक हजार आम्दानी गर्न सकिन्छ ।’

‘मुस्ताङका विकासे राई’ भनेर कहलिएका मदन राईले तत्काल ‘भ्यालु चेन्ज’ गर्ने उपाय निकाले । ५० पैसामा नबिक्ने गाँजरको हलुवा बनाएर बेच्दा दुई सयमा बिक्री भयो । बिक्री नभएर त्यत्तिकै खेर गइरहेको बन्दाको सलाद बनाएर बेच्दा सय रुपैयाँ । त्यसो गर्दा पर्यटक पनि खुसी । होटल सञ्चालक झन् खुसी ।

कसरी ? ‘त्यही स्याउ देखाएर, आहा कति राम्रो भन्ने पारेर तीन सय रुपैयाँ लिन सकिन्छ । पर्यटक स्वयम्लाई स्याउ छुवाउँदै टिपाएको एक सय लिन सकियो,’ उनले उदाहरण दिए, अर्को सुँघाएर । त्यही स्याउ सुँघाएर एक सय हात पार्न सकिन्छ । चखाएको पाँच सय लिनुस् ।’ स्याउबारे सुनाएर, फार्ममा विभिन्न किसिमका चराचुरुंगीको आवाज सुनाएर पनि शुल्क लिन सकिन्छ । त्यो त स्याउको मात्रै भयो । पर्यटकले सुतेको तीन हजार रुपैयाँ तिर्छ । स्याउ बगैंचा राम्रो भयो भने प्रतिकिलो पाँच हजार रुपैयाँ हात पार्न अप्ठ्यारो नहुने राईको विश्वास छ ।

त्यसो गर्न सकिएन भने अन्य उपाय पनि हुन्छ । त्यतिबेला मुस्ताङमा ५० पैसामा गाँजर बिक्दैनथ्यो । स्याउ पनि त्यस्तै । यो २०३४/०३५ सालको कुरा हो । ‘मुस्ताङका विकासे राई’ भनेर कहलिएका मदन राईले तत्काल ‘भ्यालु चेन्ज’ गर्ने उपाय निकाले । ५० पैसामा नबिक्ने गाँजरको हलुवा बनाएर बेच्दा दुई सयमा बिक्री भयो । बिक्री नभएर त्यत्तिकै खेर गइरहेको बन्दाको सलाद बनाएर बेच्दा सय रुपैयाँ । त्यसो गर्दा पर्यटक पनि खुसी । होटल सञ्चालक झन् खुसी । केवल खाने मानिस बोलाउनमात्रै जान्नुपर्ने रहेछ ।

मुस्ताङमा रहँदा उनले मार्फा चौडापात नामक रायो साग, दुईखालको मुला र दुईखालकै बन्दाको नयाँ प्रजाति विकास गरे । मुस्ताङमा उत्पादित साग विदेशसम्म पठाइएको थियो । स्याउ र तरकारी बीउका लागि मुस्ताङ त्यत्तिकै प्रसिद्ध मानिन्छ । दशकअघिसम्म फकाइ÷फुलाइ स्याउ बेच्नुपर्ने बाध्यता थियो । समय परिवर्तनसँगै अहिले एक किसानले स्याउबाटै करोड आम्दानी गरेको सुन्दा कृषिविद् मदन राईलाई कम्ती आनन्द लागेको छैन ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल