दीपेन्द्र राई
‘कम्युनिस्ट पार्टी धेरै भए,’ माओवादी केन्द्र हेडक्वार्टर सदस्य टंक राईले भने, ‘कम्युनिस्ट मन पराउने जनमत ६६ प्रतिशत छ । परिवर्तनका लागि कम्युनिस्ट प्रतिबद्ध हुन् भने एउटै फोरम/झन्डामुनि बस्न किन नसक्नु ?’
कम्युनिस्ट पार्टीलाई महासंघीय ढाँचामा लगेर एउटै फोरम/झन्डामुनि अटाउन सकिन्छ । महासंघीय ढाँचामा जाँदा कसले कति हिस्सा लिने भनेर आचारसंहिता बनाएर अघि बढ्न अप्ठ्यारो छैन । ‘सबैलाई आ/आफ्नै पार्टी मजबुत बनाऊँ, अघि बढाऊँ भन्ने लोभ छ,’ चार दशकदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय राईले सुझाए, ‘आफ्नो पार्टी आफ्नो ठाउँमा छ, सानो होस् वा ठूलो । तर, सबैलाई जोडेर पब्लिक मुभमेन्ट क्रियट गर्न सकिन्छ । कम्युनिस्टले साँच्चैको अग्रगमन, प्रगति, समृद्धि चाहेका हुन् भने ।’
कम्युनिस्टका विवाद तत्काल समाधान हुने देखिँदैन । ‘माक्र्सिस्ट फिलोसोफी भनेको सबैभन्दा नयाँ हो,’ उनको बुझाइ छ, ‘यसको प्रामाणिक प्रयोग कहीं कतै भइसकेको छैन । यसको प्रयोग क्रमिक रूपमा हुँदै जाँदा विवादित पाटा क्लियरेन्स हुँदै जाला । आ÷आफ्नै तरिकाले माक्र्सवादको प्रयोग र व्याख्या गर्ने हुँदा सैद्धान्तिक विमति देखिएका हुन् । लामो छलफल, प्राज्ञिक बहस गरेर सैद्धान्तिक विमतिलाई सहमतिमा रूपान्तरण गर्न सकिन्छ । त्यसो गर्नका लागि समेत महासंघीय प्रणालीमा जान आवश्यक देखिन्छ ।’ एकैठाउँमा रहेको खण्डमा छलफलमात्रै होइन, नजिकपनासमेत बढ्ने उनको भनाइ छ ।
सबै कम्युनिस्टलाई समेटेर महासंघीय प्रणालीमा जाँदाको सुन्दर पक्ष पनि छन् । संवत् २०४८ र ०५१ मा खोटाङबाट एमाले सांसद बनेका राईको विश्वास छ, ‘अन्य शक्तिलाई क्रस गरेर अघि बढ्न सहज हुन्छ । कालान्तरमा कम्युनिस्ट एकता र सबै कम्युनिस्टको एउटै पार्टी बन्न सघाउ पुग्छ ।’
‘एउटै बन्न नसके पनि कम्तीमा चार फोरम बन्ने सम्भावना देख्छु,’ उनले उदाहरण पेस गरे, ‘जस्तो जनताको बहुदलीय जनवाद चाहनेहरू एमालेमा छन् । नयाँ जनवाद सम्पन्न भइसक्यो, समाजवाद चाहिन्छ, समाजवादी क्रान्ति गर्नुपर्छ भन्ने नारायणमान बिजुक्छेलगायत छन् । त्यस्तै, अहिले पनि मुलुक अर्धसामन्ती, अर्धऔपनिवेशिक छ । तसर्थ, जनवादी क्रान्ति गर्नुपर्छ भन्नेहरू पनि नभएका होइनन् । अर्को माओत्सेतुङ विचारधाराका नयाँ जनवादी क्रान्ति गर्नुपर्छ भन्नेहरू एकठाउँमा हुन सक्छन् । माओवादलाई अबको नेपाली क्रान्तिको आधारभूत सिद्धान्त मानेर जानुपर्छ भन्नेहरू पनि छँदै छन् ।’
मुख्यतः कम्युनिस्टहरूमा चार सैद्धान्तिक विमति देखिएका छन् । कम्युनिस्टको चारवटा मात्रै ‘फोरम’ भइदिए पनि त हुन्थ्यो भन्ने उनको चाहना छ ।
नेता राईले सबै कम्युनिस्टलाई समेटेर महासंघीय प्रणालीमा लैजाऊँ भनेर केही दलसम्बद्ध नेतासँग प्रस्ताव नराखेका पनि होइनन् । अहिले नै त्यो तहको अभ्यास गरिहाल्न नसकिने र नेता, कार्यकर्ता र सम्बन्धित पार्टीमा लोकतान्तिक प्रवृत्ति विकास भइनसकेको प्रतिउत्तर पाए । उनको भने, ‘विकास गर्नकै लागि पनि कसै न कसैले अभ्यास त थाल्नुपर्यो नि । अभ्यास नै नगरी विकास कसरी हुन्छ ?’
दक्षिण अफ्रिकामा अफ्रिकन नेसनल कंग्रेसभित्रै कम्युनिस्ट पार्टीसमेत अटाएको छ । दक्षिण अफ्रिकालाई उदाहरण मानेर हामीले पनि गर्दा हुनेरहेछ भनेर अभ्यास गर्न सकिन्छ । त्यहाँ कम्युनिस्ट र गैरकम्युनिस्ट एउटै ‘फोरम’ मा छन् भने नेपालको सन्दर्भमा कम्युनिस्टहरू मात्रै एकठाउँ हुने कुरा न हो ।
‘कतिपय साथीले असम्भव भनेको छन्,’ उनले प्रस््याए, ‘साना पार्टीको अस्तित्व नै रहँदैन भन्ने चिन्ता छ । हाम्रो पार्टी भए हाम्रैखालको काम गर्न सकिन्छ भन्नेले घर गरेको छ । एउटा ध्येयका लागि संगठित हो भने एकठाउँ उभिन तयार हुनुपर्ने हो । जसले मुलुकलाई रूपान्तरणको दिशामा लैजान्छ ।’ तत्काल सबै कम्युनिस्ट पार्टी एक हुन नसके पनि महासंघीय प्रणालीमा गएर भए पनि एकठाउँ हौं भन्ने उनको अभीष्ट हो ।
समान ध्येय राख्नेबीच तानातान र छिनाझप्टी छ । स्थानीय तहअन्तर्गत पहिलो चरणको निर्वाचनमा अप्राकृतिक गठन्धनसमेत देखियो । ‘एमाले र राप्रपाबीचको गठबन्धन कुनै हालतमा प्राकृतिक होइन । त्यसरी निर्वाचनमा जिते पनि राजनीतिक सन्देश सकारात्मक जाँदैन,’ उनको दाबी छ, ‘०६२/६३ आन्दोलनका सहयात्री कांग्रेस, माओवादी केन्द्र र एमालेबीच गठबन्धन गर्दा फरक पर्दैन । संविधान कार्यान्वयन नगरुन्जेल तीन पार्टीबीच जहाँसुकै गठन्धन गर्दा अप्राकृतिक हुँदैन तर हिजोको प्रणालीविरुद्ध लाग्ने र त्यही प्रणाली पुनर्जीवित गर्नुपर्छ भन्ने पार्टीबीच गठबन्धन गर्नु भनेको सत्ता र शक्तिका लागि मरिहत्ते गर्नुमात्रै हो ।’ एमालेले आफूलाई असुरक्षित अनुभूति गरेर न अप्राकृति गठबन्धन गरेको हो । हामीले भनेजस्तो मोर्चा भइदिएको भए त एमालेले कमजोर अनुभूति गर्नै पर्दैनथ्यो । काठमाडौंमा एमालेले हार्दा माओवादी केन्द्र वा कांग्रेसले जित्थ्यो । ०६२/६३ को आन्दोलनले प्रतिगामी भनेको शक्तिसँग गठबन्धन गर्नु भनेको राप्रपालाई ‘स्पेस’ दिनु हो । त्यस कार्यले एमालेको पतन त होला तर अन्य कम्युनिस्ट पार्टीले खुसी मनाउनु भनेको आफैंलाई हानि पुर्याउनुमात्रै हो ।
नेता राईको जिकिर छ, ‘खासगरी संसदीय संघर्षलाई बुस्टअप गर्न गैरकम्युनिस्टलाई पनि यो फोरममा ल्याउन सकिन्छ । त्यसो भयो भने कम्युनिस्ट र सम्भव भएसम्म गैरकम्युनिस्ट मिलाएर अघि बढ्दा नेपालमा बीसौं वर्ष कम्युनिस्टले शासन गर्न सक्छ ।’
महासंघीय प्रणालीमा जाँदा निर्वाचनमा प्रतिस्पर्धा गर्न अप्ठ्यारो छैन । एउटै चिह्नमा निर्वाचनमा जान सकिन्छ । कसरी ? संसदीय व्यवस्थामा के गर्न सकिन्छ, के गर्न सकिँदैन भनेर प्रयोग पनि गर्न सकिन्छ । उम्मेदवार उठाउँदा कसको पार्टीको उठाउने भन्ने सन्दर्भमा जो सक्रिय छ, जसले तलबाट जितेर आउँछ, उसैलाई अघि बढाए भइगयो । नेताभन्दा जनताले टिकट दिने परिपाटी स्थापित गरे हुन्छ । कार्यकर्ताबीच को लोकप्रिय छ, को छैन । कसले सदस्यता बनायो ? कसले बनाएन ? लाई आधार बनाउन सकिन्छ ।
अमेरिकामा उम्मेदवारी दिनलाई गाउँतहबाट अधिवेशनदेखि चुनिदै/चुनिदै आएपछि सम्बन्धित उम्मेदवारले राष्ट्रपतिको उम्मेदवारी दिन पाउँछन् । हामी पनि त्यस्तो अभ्यास गर्न सक्छौं । उनले जानकारी गराए, ‘हामी पार्टीभित्रै प्राइमरी इलेक्सन गर्न सक्छौं । मोर्चाभित्र गर्न सक्छौं । त्यतिमात्रै होइन, आमनागरिकमा पनि गर्न सक्छौं । हाम्रो पार्टीबाट यी÷यी व्यक्ति आकांक्षी छन्, तपाईंहरूले नै चुन्नुस् है भन्न सक्छौं । यसरी सम्बन्धित आकांक्षीको लोकप्रियता थाहा पाउन सकिन्छ ।’
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..