भारतीय राजनीतिमा नयाँ बहस : जेएनयू देशद्रोहीको गढ !

  |   कृष्णकान्त

भारतीय राजनीतिमा नयाँ बहस : जेएनयू देशद्रोहीको गढ !

कांग्रेसी राजकुमारको हैसियतमा राहुल गान्धी सन् २००९मा जवहरलाल नेहरु विश्वविद्यालय पुगेका थिए । उत्तरप्रदेशको एक दलित वस्ती भ्रमण गरेर उनी सिधै त्यहाँ पुगेका थिए । दलितवस्तीमा विना तामझम गएका राहुललाई जेएनयूमा कडा सुरक्षाव्यवस्था थियो । यसबारे बिबिसीले लेखेको थियो, ‘राहुललाई जेएनयूका बुद्धिजिवीबाट खतरा त थिएन ? उनीजस्ता नेतालाई जेएनयूमा सधैं खतरा हुन्छ । ज्यानको होइन प्रश्नको । र त्यो खतराको सामना राहुलले गर्नुप¥यो ।’
राहुललाई जेएनयूमा त्यसैगरी कालो झण्डा देखाइयो जसरी पूर्व प्रधानमन्त्री मनमोहन सिंह या उनीभन्दा पहिले पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीलाई देखाइएको थियो । राहुल भाषण रोकेर मञ्चबाट तल झरे र विद्यार्थीलाई प्रश्न सोध्न भने । विद्यार्थीले उनलाई प्रश्नको बर्षा गरे । कर्पोरेट क्षेत्रलाई कर छुट, विदेश नीति, किसान आत्महत्या, गुटनिरपेक्षता, ल्याटिन अमेरिकामाथि भारतको नीति र कांग्रेसमा रहेको वंशवादबारे चोटिला प्रश्न थिए । त्यो संसदको समय बिताउने खालको बहस थिएन । हरदिन माक्र्स, एंगेल्स, गान्धी, एडम स्मिथ र गलब्रेथ पढ्ने युवाको प्रश्न थियो । राहुल गान्धी विद्यार्थीको प्रश्नको उचित जवाफ दिन सकेनन् ।
यो जेएनयूको परम्परा नै हो, जहाँ राजनीति र लोकतान्त्रिक प्रतिरोधको एक स्वस्थ धारा निस्कन्छ । देशदुनियाँका विद्यार्थी यहाँ पढ्न आउँछन् । र, एसियामा यसलाई प्रतिष्ठित विश्वविद्यालय मानिन्छ । तथापि जेएनयूमाथि विभिन्न आरोप लागिरहेको छ । हालै राष्ट्रिय स्वयंसेवक संघको मुखपत्र ‘पाँचजन्य’मा जेएनयूलाई ‘विखण्डनको गढ’ भन्ने शिर्षकमा कभर स्टोरी प्रकाशित गरेको छ । जसमा आरोप छ, ‘जेएनयूलाई वामपन्थीको गढ भनिन्छ । यहाँ भारतीय संस्कृतिलाई तोडमोड गरेर गलत तथ्य प्रस्तुत गर्नु सामान्य हो । यहाँका मानिस हरेक प्रकारका देशविरोधी मुद्दाको वकालत गर्छन् । यहाँका बुद्धिका हिमालहरुलाई कसरी भारतीय संस्कृतिसँग द्रोह वा द्वेष, भारतीय मूल्यको विरोध, हिन्दू विरोध, देशविरोधी कार्य र समाजविरोधी काम गर्ने भन्ने कुराको पिलाइन्छ ।’ जेएनयू परिसरमा देश टुक्राउनेहरुको क्याम्प नै चलेको हुन्छ भन्ने आरोपसमेत ‘पाँचजन्य’मा लगाइएको छ । ‘पाँचजन्य’को यो आरोप गम्भीर छ । यसप्रति ध्यान दिनु आवश्यक छ कि के जेएनयूमा केवल नक्सली वा देश टुक्राउने मानिसमात्रै पाइन्छन् ? यहाँ वामपन्थ, दक्षिणपन्थ, समाजवाद, गान्धीवाद, अम्बेडकरवाद आदि सबै धारा मान्ने मानिस छन्, के आरएसएस यी सबैलाई नक्सली वा समाजमा विखण्डन ल्याउने मान्छ ? यदि जेएनयू नक्सल र देशद्रोहीको गढ भए किन बन्द गरिदैन ?
Jawaharlal-Nehru-University‘पाँचजन्य’मा छापिएको लेखमा भनिएको छ, ‘जेएनयूको नीति निर्माण एकाईमा नव–वामपन्थीको गहिरो घुसपैठ छ । परिणामस्वरुप पाठ्यसामग्रीमा उनीहरुको पूरा हस्तक्षेप छ । यतिमात्रै होइन, यहाँ मानवअधिकार, महिला अधिकार, विचारको स्वतन्त्रता, भेदभाव र निषेध, लैंगिक न्याय र निरपेक्षताले ओतप्रोत पाठ्यक्रमलाई बढावा दिइन्छ । साथै यहाँ एक षड्यन्त्रकै रुपमा भेदभाव र निषेध अध्ययन केन्द्र, पूर्वोत्तर अध्ययन केन्द्र, अल्पसंख्यक एवं मानवजातीय समुदाय र सिमान्त क्षेत्रको अध्ययन केन्द्रसहित अरु कयौं अध्ययन केन्द्र स्थापना गरिएको छ । तर यसमा नव–वामपन्थी विद्यार्थी तथा छद्म इशाई मिसिनिरी शिक्षक भरिएका छन् । यी सारा कुरामार्फत जेएनयूबाट शिक्षित पिंढीलाई वैचारिक रुपमा भ्रष्ट बनाइएको छ ।’ उक्त लेखका अनुसार, जेएनयूको छात्र र शिक्षक दुवै मिलेर ‘देश र समाज’ विखण्डन गर्दैछन् ।
सोचनीय कुरा यो हो कि मानवअधिकार, महिला अधिकार, वैचारिक स्वतन्त्रता, भेदभाव र निषेध, लैंगिक न्याय र निरपेक्षता जस्ता मूल्यको अध्ययन गर्ने पिंढी भ्रष्ट हुन्छ ? के मानवअधिकारको उल्लंघन, महिला उत्पीडन, भेदभाव, लैंगिक अन्याय र सांम्प्रदायिकताले राष्ट्र बलियो हुन्छ ? यी आधुनिक मूल्यप्रति युवामा जागरुकता फैलाउनु राष्ट्र विखण्डन गर्नु हो ? उक्त सबै मूल्यको विरोध गर्नु के राष्ट्रलाई मध्ययुगमा लैजाने प्रयास गर्नु होइन ?
जेएनयूका प्रोफेसर मणीन्द्र ठाकुर यी आरोपको जवाफमा भन्छन्, ‘यो वेवकुफी आरोप हो । कुनै समय जेएनयू उग्रपरिवर्तनकारी थियो, अहिले त त्यस्तो पनि छैन । यो चाहिं हो कि ६०/७० प्रतिशत विद्यार्थी पिछडिएका वर्गका हुन्छन् । उनीहरु देख्छन् कि यो व्यवस्था धनीको लागि हो र पूरा भारतीय गणराज्य कर्पोरेटको लागि खुल्ला गरिएको छ । उनीहरु वामपन्थसँग प्रभावित हुन्छन् किनकि उनीहरु समावेशी र सामाजिक न्यायको कुरा गर्छन् । तपाईं माओवादीको लडाइँको तरिकासँग मतभेद राख्न सक्नुहुन्छ, तर जसले गरिब जनताको लागि न्यायको लडाइँको कुरा गर्छन्, त्यसको समर्थन गर्नु गलत हो र ? यो सही हो कि केही व्यक्तिको नक्सल आन्दोलनप्रपति सहानुभूति छ, तर यी विद्यार्थीलाई नक्सली भन्नु अन्याय नै हो । कर्पोरेट व्यवस्थाप्रति प्रश्न उठाउनु कसरी देशद्रोह हुन्छ ? कर्पोरेट हाम्रो लागि राष्ट्र कसरी हुन सक्छ ? यो भाजपा, संघ र सुब्रमण्यम स्वामी जस्ता मानिसको निजी गुनासो हो ।’

राष्ट्रिय स्वयंसेवक संघको मुखपत्र ‘पाँचजन्य’मा लेखिएको छ– जेएनयूको नीति निर्माण एकाईमा नव–वामपन्थीको गहिरो घुसपैठ छ । परिणामस्वरुप पाठ्यसामग्रीमा उनीहरुको पूरा हस्तक्षेप छ ।

जेएनयूकी प्रोफेसर अर्चना प्रसाद ‘पाँचजन्य’को यो हमलालाई राजनीतिक हमलाको रुपमा हेर्छिन् । उनी भन्छिन्, ‘जेएनयू छात्रसंघ नन नेट फेलोसिप समाप्त गर्ने र शिक्षाको निजीकरणको विरोध प्रदर्शनको अगुवाई गरिरहेको छ । विश्वविद्यालयमा दक्षिणपन्थबाट प्रभावित कोर्स लागू गर्ने प्रयासको विरोध गरियो । जेएनयूका विद्यार्थी र शिक्षकको आन्दोलनलाई लेखक, वैज्ञानिक र कलाकारले समर्थन गरे, जो साम्प्रदायिकताको विरुद्ध र बोल्ने स्वतन्त्रताको पक्षमा चलाइँदै छ । आरएसएसको मुखपत्रको हमला यही राजनीतिक सन्दर्भमा हेर्नुपर्छ । जेएनयू सधैं नै प्रचलित संस्थापनको विरुद्ध र प्रगतिशीलताको समर्थनमा रहँदै आएको छ । यहाँका अध्यापक र विद्यार्थी सधैं राजनीतिक अडान लिन्छन् र सत्ताधारी वर्गको शोषणविरुद्ध आवाज उठाउँछन् ।’
जेएनयू त्यो क्याम्पस हो, जहाँ सन् १९७५ मा संकटकालको शक्तिशाली विरोध गरिएको थियो । यहाँका विद्यार्थीले सन् १९८४ मा सिखविरोधी दंगाका साथै बाबरी ध्वंस र गुजरात दंगाको पनि विरोध गरेका थिए । मनमोहन सिंह र राहुल गान्धीका साथै प्रणव मुखर्जीले पनि जेएनयू आउँदा पेचिला प्रश्नको सामना गर्नुप¥यो । नवउदारवादी नीतिको सबैभन्दा खुल्ला विरोध जेएनयू क्याम्पसमै हुने गरेको छ । हालै मुजफ्फरनगर दंगामा बनेको वृत्तचित्रको छायांकन पुलिसले रोक्यो । तर जेएनयूका विद्यार्थीले त्यो छायांकन गराएरै छाडे ।
जेएनयूमा एबीबीपीका सभापति भइसकेका डा. मनीषकुमार भन्छन्, ‘जेनएनयूबारे पाँचजन्य र अर्गनाइजरमा यस्ता कुरा लेखिएको यो पहिलोपटक होइन । सन् २०१३ मा पनि अर्गनाइजरले लेखिसकेको छ कि जेएनयू नक्सलवादको बुद्धिजीवी मखुण्डो हो । कसैले त्यो कुरालाई महत्व दिएन । तर यसपटक पाँचजन्यको लेखचाहिं असहिष्णुताको आन्दोलनसँग जोडिएको छ । जेएनयूका विद्यार्थी हरेक विचारधारामा जोडिएका छन् । यहाँ आरएसएसका विद्यार्थी पनि परिषद चुनाव लड्छन् । यसपटक उनीहरुको पनि सिट आएको छ । निश्चय पनि यहाँको विभागमा संघको विचारधारावालालाई निषेध छ । तर जेएनयूलाई देशद्रोहीको अड्डा भन्नु अर्धसत्य हो । यो एक वैचारिक दृष्टिकोण हुनसक्छ । ठीक त्यस्तै गरी जसरी भाजपा–संघ वामपन्थी फासिस्टलगायत के के भन्छन् । दुवै एक अर्कालाई नीच देखाउनमा कम छैनन् ।’
यहाँका विद्यार्थी र शिक्षकलाई नक्सलवादी र विखण्डनकारीप्रति सहानुभूति राखेको आरोप मनीषकुमार पनि लगाउँछन् तर उनी भन्छन्, ‘विचारधारा छान्ने स्वतन्त्रता हुनुपर्छ । नक्सलवाद एउटा समस्या हो । जो यसलाई एक सामाजिक–आर्थिक समस्या मान्छन्, उनीहरुका लागि यी विद्यार्थी देशभक्त हुन् । र, जो नक्सलवादलाई देशद्रोह मान्छन्, उनीहरु यिनीहरुलाई देशद्रोही भन्न स्वतन्त्र छन् । भारतमा विचारधारा छान्ने स्वतन्त्रता छ । विश्वविद्यालयका विद्यार्थीले वैचारिक आदर्शवादको आनन्द नलिए कसले लिन्छ ? जेएनयूका धेरै वामपन्थी विद्यार्थी पढाईपछि प्रशासन र अन्य क्षेत्रमा जान्छन् या यूरोप–अमेरिका गएर जेएनयूको नाम चम्काउँछन् । त्यसैले जेएनयूलाई देशद्रोहीको अड्डा भन्नु ठीक होइन ।’
जेएनयूका कुलपति सुधिरकुमार सोपोरीलाई एकपटक सोधियो कि जेएनयूमा खास के छ ? उनको जवाफ थियो, ‘यहाँको माहोल र खुला सोच विश्वविद्यालयको तागत हो । भन्ने र सुन्ने क्षमता मिल्छ । यहाँका शिक्षक र विद्यार्थीबिच एक सम्बन्ध छ । कयौंपछि परेको क्षेत्र र वर्गका विद्यार्थीसँग भेट्नु निकै भावनात्मक हुन्छ । कयौं विद्यार्थी भन्छन् कि जेएनयू नभएको भए त हामी पढ्न नै पाउँदैनथ्यौं । शान्ति नबिथोलिकन यहाँ तपाईं जे विचार–विमर्श गर्नुहुन्छ, गर्नुस् । हामीलाई कुनै समस्या छैन । हामीले विभिन्न अनुशासनको ढोका फोर्नुपर्छ, बल्ल नयाँ धारणा अगाडि आउँछ र नयाँ प्राज्ञिक लहर बन्छ ।’
जेएनयूका विद्यार्थी वा शिक्षकबाहेक पनि धेरै छन् जो यहाँ हुने चर्चापरिचर्चाबाट प्रभावित हुन्छन् र यहाँको बहसको आनन्द लिन आउने–जाने गर्छन् । जेएनयूमा दक्षिणपन्थी हमलाबारे साहित्यकार अशोककुमार पाण्डेय भन्छन्, ‘जेएनयू एक आधुनिक र लोकतान्त्रिक शैक्षणिक माहोलको सिर्जनाको प्रतिक हो । देशका बाँकी सबै विश्वविद्यालयमा भन्दा यहाँ सामाजिक, सांस्कृतिक र राजनीतिक चेतना विकसित गर्ने प्रयास लगातार भइरहेको छ । जसको परिणाम यस विश्वविद्यालयले केवल ज्ञान–विज्ञानको क्षेत्रमा मौलिक तथा जनपक्षधर योगदानमात्रै दिएको छैन, करियरिज्मले ग्रस्त हाम्रो शिक्षा व्यवस्थासमक्ष एक समावेशी तथा लोकतान्त्रिक मोडल पनि विकसित गरेको छ । जेएनयूका विद्यार्थी सही बिषयमा वैश्विक चेतनाले लैस हुन्छन् तथा देश–दुनियाँका सबै बिषयमा हस्तक्षेपको कोशिश गर्दछन् । जो सत्ता र नागरिकको द्वन्द्वबाट उब्जन्छ । धर्मनिरपेक्षता, जाति र लैंगिक समानताको संवैधानिक मूल्य यहाँको शिक्षा व्यवस्थामा मात्रै होइन, दैनिक व्यवहारमा गहिरोसँग जोडिएको छ । यहीकारण संविधानविरोधी, कट्टरपन्थी, प्रतिगामी र असहिष्णु शक्तिलाई जेएनयू सँधै समस्या बन्छ । उनीहरुको विनाशकारी मनसुवाविरुद्ध यो विश्वविद्यालय सधैं चुनौति दिन्छ । शिक्षाको निजीकरणदेखि लिएर जल, जंगल र जमिनको लूटविरुद्ध आवाज उठाउने संस्थान उनीहरुलाई कसरी पच्छ ? यो राष्ट्रको होइन, हिन्दू राष्ट्रविरोधी संस्थान हो, जसमा संविधानको नाममा मनुस्मृति लागू गर्ने घृणित इच्छा लुकेको छ ।’

(तहल्काहिन्दी डट कमबाट)

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल