काठमाडौंबाट हिँडेर जुम्ला पुग्न २६ दिन लागेको उनले बिर्सेका छैनन् । हिँड्नुको मज्जा शब्दमा व्यक्त गर्न सकिँदैन रे । त्यतिबेला हिँडेर पुगेका अधिकांश ठाउँमा हिजोआज सवारीसाधन गुड्ने गर्छन् । पहिले पुगेका ठाउँ अहिले कस्ता भए होलान् भनेर उनलाई हेर्ने तीव्र इच्छा छ । इच्छा पूरा गर्ने साइत कहिले जुर्ला त्योचाहिँ भन्न सक्दैनन् । त्यतिबेलाकै नेपाल भइदिएको भए हुन्थ्यो भन्ने आकांक्षी वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :
मेरो खाना
सामान्यतः दालभात, तरकारी नै मन पर्छ । पहिले खाइआएको अहिले खान नपाएकोचाहिँ थुप्रै छन् । निङ्गुरो, कोइरालाका फूललगायत एक मौसममा साता दिनसम्म खान पाइन्छ, त्यसपछि पाइँदैनन् । सजीवन पनि असाध्यै मीठो हुँदोरहेछ । मैले त खाएको थिइनँ । तराईतिर मात्रै पाइन्छ । बहिनीहरू तराईतिर छन्, उनीहरूले पठाइदिन्थे ।
खानुसँग हाम्रो जीवन जोडिएको छ । हाम्रा ढोगभेट खानासँगै सम्बन्धित छन् ।
रेष्टुरेन्ट गएर खानेभन्दा ‘अर्डर’ गरेर घरमै ल्याएर खाने बानी छ । घरमा आफ्नै माहोल हुन्छ । हिजोआज रेष्टुरेन्टमा पनि दालभात, तरकारी, गुन्द्रुकको अचार खान पाइन्छ तर त्यही खाना थोरै खर्चमा घरमै खान सकिने भएकाले रेष्टुरेन्टमा गएर नेपाली खाना खान चित्त दुख्छ । तसर्थ, कहिले कोरियाली, कहिले चिनियाँ खाना खाने गरेका छौं ।
रेष्टुरेन्ट पुगेर खाने स्न्याक्स या त पक्कै मासुका परिकार, कि त भेजिटेबलमात्रै हो । पकाउन र भाँडा माझ्न अल्छी लाग्दैन ।
मेरो पोसाक
विद्यार्थीकालमा खुकुलो पाइन्ट र कमिज लगाउन मन पथ्र्यो । पाइन्ट लगाउँदा काँग्रेस भइने भएकाले बुवालाई मन पर्दैनथ्यो । सरकारी जागिर खाँदा दौरासुरुवाल पनि लगाएँ । हिजोआज त पाइन्ट, टी/सर्ट लगाउने गर्छु ।
हिजोआज पोसाकमा खर्च त्यति हुँदैन । आफन्त, शुभचिन्तकले उपहारस्वरूप पोसाक ल्याइदिने भएकाले पछिल्लो समय किनेकै छैन । एकताका कफी ‘कलर’ को पोसाक असाध्यै मन पथ्र्यो । त्यसपछि सेतो रङको सर्ट/पाइन्ट पनि लगाएँ । हिजोआजचाहिँ खरानी रङको मन पर्छ । पहिले कपडा किनेरै सिलाउने गरे पनि २० वर्षयता ‘रेडिमेड’ नै लगाउँदै आएको छु । ‘क्वालिटी’ र ‘ब्रान्ड’ प्रति सचेत छु ।
मेरो फिटनेस
मैले जुन कार्यालयमा काम गरें, त्यो काम पैदल नहिँडी सुखै थिएन । मेरो फिटनेस भनेको ‘वाकिङ’ नै हो । मेरो फिटनेस अभियान भनेको ट्याक्सी खर्च जोगाउने हो । हिँडेर पुगिने ठाउँमा सवारीसाधन चढ्दिनँ । बिहानभरि ‘मर्निङवाक’ गर्ने अनि बाहिरफेर निस्कँदा ट्याक्सी चढ्नुको अर्थ हुँदैन । म त हिँडेरै भत्ता खाने पूर्वकर्मचारी हुँ । हिँडेरै पैसा कमाउन पाए हुन्थ्यो भन्ने लाग्छ ।
योगा भनेर योगा नै गरेको छैन । सुरु गरे पनि निरन्तरता दिन सकिनँ । तर, ध्यान गर्ने कोसिस गर्छु । पछिल्लो समय ‘मर्निङवाक’ लाई निरन्तरता दिन सकेको छैन ।
मेरो अध्ययन
हिजोआज किताब पढेको छैन । अखबारमात्रै पढ्ने गरेको छु । साहित्यिक किताब पढ्न जाँगर चल्छ । साहित्यकार भूपी शेरचन र माधव घिमिरे मन पर्छन् । पहिले/पहिले विज्ञानसँग सम्बन्धित आलेख अंग्रेजी भाषामा लेख्ने गर्थें । प्रज्ञाप्रतिष्ठानमा १० वर्ष रहँदा नेपाली पाठकसम्म पुग्न नेपाली भाषामा लेखिएको आलेख उत्तम रहेछ भन्ने ज्ञान भयो ।
सात÷आठ वर्षदेखि शिक्षक र विद्यार्थीलाई उपयोगी आलेख शिक्षक मासिकमा लेख्दै आएको छु । शिक्षकमा लेख्दा सन्तुष्ट छु । दस काम छाडेर पनि शिक्षक मासिकमा लेख्न समय निकाल्छु ।
मेरा किताब अस्तव्यस्त छन् । अन्दाजी चार/पाँच हजार किताब छन् । सालिन्दा १०/१५ हजारको किताब किनेकै हुन्छु ।
मेरो घुमफिर
त्यतिबेला जागिर नै घुम्ने थियो । पहिले हिँडेर पुगेका ठाउँमा अहिले सवारीसाधन गुडेका छन् । पहिले काठमाडौंबाट हिँडेरै जुम्ला पुगेको थिएँ । काठमाडौंबाट पोखरा पुग्न १० दिन लाग्यो । पोखराबाट जुम्ला पुग्न १६ दिन लागेको थियो । पहिले हिँडेर पुगेका ठाउँ अहिले कति परिवर्तन भए भनेर हेर्ने धोको छ ।
पुग्ने इच्छा हुँदाहुँदै पनि मनाङ पुग्न सकेको छैन । मनाङको छेउछाउ त पुगेको छु । जुन जिल्ला पुगेर रात बिताउँदिनँ, त्यो जिल्ला पुगेको ठान्दिनँ । ७४ जिल्लामा रात बिताएको छु । युरोप, अमेरिका, जापान, अफ्रिकालगायत देश घुमेको छु ।
घुमेकामध्ये प्राकृतिक र मानिसका आत्मीयताका हिसाबले पूर्वी नेपालको कञ्चनजंघा आसपास मन पर्छ । त्यहाँ उन्नति छ । अनिकाल छैन । त्यही भएर रसिलो लाग्छ ।
मेरो फुर्सद
जागिरबाट अवकाश लिएको २० वर्ष बितिसक्यो । फुर्सदै फुर्सद छ । लेखपढ गरेरै फुर्सदको समय सदुपयोग गर्ने गरेको छु ।
मेरो खेलकुद
फुटबल मन पर्छ । बक्सिङ, रेस्लिङ मन पर्दैन । भारतको अलिगढमा एमएस्सी पढ्दासमेत म फुटबल खेल्थें । म बार्सिलोनाको समर्थक हुँ ।
मेरो मोबाइल
नोकियाको सामान्य मोबाइल सेट प्रयोग गरेको छु । यसलाई तीन हजार रुपैयाँ परेको थियो । फोन गर्ने, उठाउने र एसएमएस गर्नेबाहेक मोबाइलका ‘एप्लिकेसन युज’ गर्दिनँ ।
मेरो टेलिभिजन
टेलिभिजन हेर्ने समय पाए ‘एनिमल प्लान्ट’ हेर्छु । नेसनल जोग्राफी हेर्न पनि मज्जा लाग्छ । बीबीसी हेर्छु÷सुन्छु । नेपाली समाचार हेर्न परिगो । साँझ सात र नौ बजेबीच टीभी हेर्ने समय जुर्छ । घरमा भएको सामसुङको टीभीको आकार ३६ इन्च छ ।
मेरो चलचित्र
पछिल्लोपटक पाटनढोकामा रहेको यलमाया केन्द्रमा चलचित्र ‘कालोपोथी’ हेरेको थिएँ । कहिलेकाहीं टीभीमा समेत चलचित्र हेर्ने गर्छु । हेरेकामध्ये ‘क्याराभान’, ‘अवतार’ र ‘कालोपोथी’ मन पर्यो ।
मेरो रोग
स्वास्थ्य ठिकै छ । वर्षमा दुईपटक ‘होलबडी चेकअप’ गराउँदै आएको छु । रक्तचापको औषधि सेवन गरेको २० वर्ष भयो । शारीरिक अभ्यास हुने तरिकाले हिँडडुल गर्ने हो भने स्वस्थ रहन सकिन्छ । म ८० वर्ष पुगे पनि एक÷दुई किलोमिटर हिँड्न समस्या छैन । स्वस्थ रहन चिन्तामुक्त पनि हुनुपर्छ ।
मेरो मापसे
मादक पदार्थ पिउने गर्छु । पहिले/पहिले त घरेलु नै पिउने गरे पनि पछिल्लो समय मार्फाको ब्रान्डी पिउन मन पर्छ । अधिकतम तीन पेगसम्म पिउने गर्छु ।
मेरो संगीत
पहिले/पहिले गीत/संगीत अत्यधिक सुने पनि हिजोआज कम भएको छ । लता मंगेशकर, महम्मद रफी, किशोरकुमार, अरूणा लामा, नारायणगोपाल, रामकृष्ण ढकालका गीत युटुबमा सुन्ने गर्छु । युनिभर्सिटी पढ्दासम्म पनि म राम्रै गाउँथें । भान्सा, बाथरुमतिर पस्दा अरूणा लामाका गीत गुनगुनाउने गर्छु ।
मेरो भूल
मानिस हो, जानअन्जानमा भूल गरिन्छ । मैले पनि भूल नगर्ने कुरै भएन । भूल गरेबापत अरूले नदिए पनि परिस्थितिले सजाय दिएको छ । त्यतिबेला कक्षामा खोक्दासमेत शिक्षकले पिट्थे । शिक्षक देख्नसाथ डर लाग्थ्यो । भूल नगरी पनि सजाय पाएको छु । मलाई टाइफाइड भएको थियो । पूर्ण रूपमा स्वस्थ नभए पनि २०÷२२ दिनसम्म विद्यालय गएको पहिलो दिन नै सोधेको विषय नआएको भनेर अमरबाबु सरले पिटेका थिए ।
मेरो घर
बसिरहेको घर आफ्नै आर्जनले संवत् २०३० मा बनाएको हुँ । घर बनाउँदा ५० हजार रुपैयाँ खर्च लागेको थियो ।
मेरो राशी
मेरो राशी तुला हो । ग्रहदशा हेराउँदिनँ । तर, अखबार पढ्दा सबैभन्दा पहिले राशिफल हेर्ने गर्छु । ग्रहशान्तिको नाममा मनको शान्ति हुन्छ भने ग्रहशान्ति गर्न पछि पर्दिनँ ।
मेरो प्रेम
मैले प्रमेविवाह गरेको हुँ । प्रेमप्रस्ताव मैले नै राखेको थिएँ ।
मेरो सपना
अहिलेको नेपाल नभइदिएको भए हुन्थ्यो भन्ने मेरो मान्यता छ । पहिले म जहाँ÷जहाँ पुगें, त्यहाँ ए दिदी, ए भाउजू, ए काका बास दिनुपर्यो भन्दा उनीहरूले हार्दिकतासाथ दिन्थे । खालि किन्नुपर्ने भनेको दाल, चामल, तरकारी हो । उनीहरूसँग भएका चीज सित्तैमा दिन्थे, किन्नै पर्दैनथ्यो । त्यस्तो आत्मीयता जताततै पाएँ । सबैलाई दाजुभाइ, दिदीबहिनी भन्न सक्थें । उनीहरूले आफ्नै परिवारको सदस्य सम्झेर बास दिन्थे । खान दिन्थे । अहिले त्यस्तो अवस्था छैन । त्यस्तो अवस्था फर्किदिए हुन्थ्यो भन्ने लाग्छ ।
मेरो परिवार
घरमा श्रीमान् श्रीमती छौं । छोरी अमेरिकामा पढ्दै छिन् । छोरो पनि अमेरिकामै छन् ।
मेरो मृत्यु
मृत्यु प्राप्ति हो जस्तो लाग्छ । मृत्युसँग डराउनु भनेको सम्बन्धित व्यक्तिले जीवनलाई माया गर्नु हो । जीवनको प्यार मृत्युसँग डराउनु होइन । एक÷दुईपटक दुर्घटनामा परेको थिएँ । त्यतिबेला मरेको भए के हुन्थ्यो भन्नेसम्म सोचें । मृत्यु यस्तै होस् भनेर परिकल्पना गर्नुहुँदैन । जीवन यस्तो होस् भनेर परिकल्पना गर्नचाहिँ हुन्छ ।
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..