एमालेमा फेरियो समीकरण : ओलीविरुद्ध माधव र झलनाथ

मंसिर ४

एमालेमा फेरियो समीकरण : ओलीविरुद्ध माधव र झलनाथ

काठमाडौं– पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपति चयन भएपछि एमालेभित्रको आन्तरिक समीकरणमा फेरबदल भएको छ । पार्टीका एउटै समूहका नेता प्रधानमन्त्री र राष्ट्रपति भएको तथा मन्त्रीपरिषद् गठनमा आफुहरुसँग उचित्त परामर्श नलिएको भन्दै बरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल एक ठाँउमा उभिएका छन् । त्यसो त प्रधानमन्त्रीमा चयनभएपछि ओलीले आफुलाई पनि महत्व नदिएको भन्दै उपाध्यक्ष बामदेव गौतम पनि असन्तुष्ट बनेको एमाले स्रोत बताउँछ ।

KP-madhav-jhalanath

आ–आफ्ना गुनासा

झलनाथको गुनासो

एमाले नवौँ महाधिवेशनमा अध्यक्षका लागि केपी ओली र माधव कुमार नेपाल मैदानमा उत्रेपछि निर्णायक शक्ति झलनाथ खनाल र वामदेव गौतमको हातमा पुगेको थियो । अध्यक्ष पदका लागि भएको दौडमा ओलीले खनाल र गौतमलाई ‘कन्भिन्स’ गर्न सफल भए । खनाल मौन बसेर ओलीको सहयोग गरे भने, गौतम खुलेर ओली गुटबाट उपाध्यक्षमा निर्वाचित भए ।

एमाले स्रोतका अनुसार महाधिवेशनमा ओलीले भावी सत्ता समीकरणमा एमालेको कोटामा राष्ट्रपति आए ‘तपाईंलाई अगाडि बढाउने’ भन्दै खनाललाई सके खुलेर लाग्न नभए मौन बसेर सहयोग गर्न आग्रह गरेका थिए । खनाल निकट एक सभासद् भन्छन्, ‘यसैका आधारमा जेएन कमरेडले मौन बस्नुभयो । उहाँको मौनताले नै ओली कमरेड अध्यक्ष बन्न सम्भव भएको हो ।’ ती सभासद्ले भने, ‘तर, अहिले पार्टीको भागमा राष्ट्रपति आउँदा जेएन कमरेडलाई अगाडि सारिएन ।’ ती सभासदका अनुसार अहिले खनालले आफूमाथि धोका भएको बताउन थालेका छन् । मन्त्रीपरिषद् गठनमा पनि आफ्नो चाहना सम्बोधन नभएकोमा पनि खनालको तिव्र असन्तुष्टि रहेको स्रोत बताउँछ ।

माधवलाई झट्का

प्रधानमन्त्रीमा चयन भएपछि पार्टीको नेतृत्व माधव नेपाललाई दिने गरी एमाले अध्यक्ष ओलीले भद्र–सहमति गरेको नेपाल निकट नेताको दाबी गरेका थिए । यसैअनुसार ओलीलाई प्रधानमन्त्री बनाउन नेपालले पूरै शक्ति लगाएको नेपाल समूहको दावी थियो । माधव नेपाल निकट एक नेता भन्छन्, ‘भद्र सहमति बनेको हो । यसैका आधारमा माधव कमरेड ओली कमरेडलाई प्रधानमन्त्री बनाउन पूरै शक्ति लगाएर लाग्नुभयो । मलाई प्रधानमन्त्री बनाउनुस् म अध्यक्षबाट राजीनामा दिन्छु । राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाएर अध्यक्ष बन्नुहोला । ओली कमरेडले भन्नुभएको थियो ।’ ती नेताले अहिले प्रधानमन्त्री ओलीले उक्त भद्रसहमति लागु गर्ने विषयमा कुनै चासो नदेखाएको तथा मन्त्रीपरिषद् गठनमा आफ्नो चाहना सम्बोधन नभएकोमा नेपालको असन्तुष्टि रहेको जानकारी दिए ।

वामदेवले धोका ठाने

खनालजस्तै उपाध्यक्ष वामदेव गौतमले पनि अध्यक्ष केपी ओलीबाट आफूलाई धोका भएको निश्कर्ष निकालेका छन् । प्रधानमन्त्रीमा गएपछि संसदीय दलको नेता र कार्यवाहक अध्यक्ष दिनेगरी ओलीले गौतमसँग भद्र–सहमति गरेको गौतम पक्षका नेताको दावी रहँदै आएको छ । ‘त्यसबेला सहमति भएको हो । अहिले कार्यान्वयन नहुनेजस्तो देखिन थालेको छ,’ वामदेव निटक एक केन्द्रीय सदस्यले भने, ‘अहिले अध्यक्ष कमरेडले कार्यवाहक दिने विषयमा केही भन्नुभएको छैन । ’ उनले संसदीय दलको नेता पनि हस्तान्तरण गर्ने भद्र–सहमति ओली र गौतमबीच भएको दाबी गरे । वामदेवले आफू नजिकका नेतासँगको भेटमा भनेको उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘दिन्छु भनेका हुन् । दिन्नन् त म के गरुँ ?’

असर : गठबन्धनलाई असहयोग

मधेशी मोर्चासँग वार्ता, नाकाबन्दी खोल्ने र संविधान लागु गर्ने जस्ता महत्ववूर्ण कार्यभारसहित गठन भएको ओली नेतृत्वको सरकारलाई असहयोग गर्ने नीति खनाल र नेपाललले लिएका छन् । मधेशी मोर्चासँगको वार्तामा होस् वा नाकाबन्दीका विषयमा भारतसँगको सम्बन्धका विषयमा नेपाल र खनालले गठबन्धनलाई असहयोग गर्ने नीति बनाएको एमालेको प्रधानमन्त्री ओलीपक्ष मानिने नेताहरुको बुझाई छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल