के यिनीहरुलाई सरकारले नै ‘भिखारी’ बन्न पठाएको हो ? (पत्र यही भन्छ)

मंसिर ३  |   संजीव कुमार दाहाल

के यिनीहरुलाई सरकारले नै ‘भिखारी’ बन्न पठाएको हो ? (पत्र यही भन्छ)

magne

एक हातले कलिलो बच्चा च्याँपेकी छिन् । त्यस्तै, २०/२१ की देखिन्छिन् । अर्को हातमा एउटा थोत्रो कागज समाएकी छिन् । यसमा कुनै शंका छैन कि उनी गरिब नै हुन् । अलिकति धन हुँदासम्म र सहजै काम गरेर खान पाउने स्थितिसम्म त कसले हात फैलाएर माग्ने हिम्मत गर्ला र ? उनी चुपचाप मानिसहरुको भीडतिर जान्छिन् । कागज देखाउँछिन् । कागजमा उनलाई सहयोग गर्नुपर्ने व्यहोराका शब्द लेखिएका छन् ।
बुधबार बिहान १० बजे काठमाडौं सुन्धारास्थित बस बिसौनीमा देखिएको दृश्य हो यो । उनी यो संवाददातासम्म पनि आइन् र चुपचाप सेतो कागज देखाइन् ।
‘कसरी तपाईं यसरी माग्दै हिँड्नुपर्ने अवस्थामा आउनुभयो ?’ छातीमा च्याँपेको बच्चालाई मुसार्दै उनले भनिन्, ‘श्रीमानले दोस्रो बिहे गरे, मलाई छाडेर हिँडे । के गर्ने ? बच्चा सानो छ । कुनै मजदुरी काम त पाउँथे होला, तर बच्चा कसले हेरिदिन्छ ? त्यसैले यो बच्चाका लागि माग्न थालेकी हुँ ।’
घर कहाँ हो, किन घरमा नगएको ?
‘नेपालगन्ज’
किन घर नगएको भन्नेबारे उनी केही बोलिनन् ।
यो सिफारिस कागज नक्कली हो त ! कसले बनाइदियो ?
‘हजार रुपैयाँ तिरेपछि बन्छ, यसको त कुनै चिन्ता छैन ।’
अनि, यो कागज हेरेर मान्छेहरुले पैसा दिन्छन् त ?
‘दिन्छन्, दिनमा चार–पाँच सयजति हुन्छ ।’
०००
magne (5)त्यस्तै, आठ–दश वर्षका बालबालिका, फाट्टफुट्ट देखिन्छन् । हिँडिरहेका मानिसलाई कागज देखाउँछन् र हात थाप्छन् । वास्ता नगरी हिँडे खुट्टा नै समाउन पुग्छन् । हुलिया हेर्दा लाग्छ, असहाय हुन् । मानौँ, उनीहरुका कोही छैनन् । थोत्रा र मैला कपडा लगाएका छन्, कैयौँ दिन ननुहाएझैँ देखिन्छन् । दुई खुट्टामा दुई थरी चप्पल उनेका छन् । कतिका नांगै खुट्टामा छन् ।
दृश्य सुन्धाराकै हो ।
अकस्मात एक बालकले यो संवाददातालाई कागज देखाएर खुट्टा छुन पुगे ।
घर कहाँ हो तिम्रो ?
‘सुकुम्बासी हो हामी त ।’
magne (4)कहाँको ?
‘बल्खुको ।’
बाआमा छैनन् ?
‘हुनुहुन्छ बल्खुमै ।’
(उनी ६–७ वर्षका लाग्थे । सायद झुटो बोल्न सिकिसकेका छैनन् ।)
पैसा के गर्छौ ?
‘बाआमालाई दिन्छु ।’
बल्खुस्थित सुकुम्बासी बस्तीका एक बालकका बाबु जयलाल महत्तोलाई भेटेर यसबारे बुझ्दा उनले आफूले आफ्ना छोराछोरीलाई मजदुरी गरेर पालिरहेको बताए । तर उनले अरु परिवारका बच्चा भने त्यसरी माग्न जाने गरेको बताए । अरु अभिभावक भने बोल्न चाहेनन् ।
०००
यसरी मागिहिँड्ने सुन्धाराका केही बालबालिकालाई यो संवाददाताले पाँच–दश रुपैयाँ दिएर ती कागजातको तस्बिर लिन आग्रह गर्यो । फोटो खिच्न थालेपछि भने उनीहरु ‘पुलिस–पुलिस’ भन्दै कागजात छाडेरै भागे ।

के यो कामनपाकै सिफारिस हो त ?
यो पत्र लिने मान्छेको जिब्रो छैन । यसको नाम हरिराम पाण्डे हो । यो काठमाडौं कोटेश्वरमा बस्छ । यसको जात बाहुन हो । यसको पिताको नाम पण्डित श्रीराम हो र आमाको नाम श्री लक्ष्मीदेवी हो । यिनीहरु तीन भाई र चार बहिनी छन् । यिनीहरु कसैको पनि जिब्रो छैन । जेठीको सानो जिब्रो छ । दुईजना बहिनीको हातखुट्टा समेत छैन । उनीहरु दूध, चिनी, चामलको खिर खाएर जीवन निर्वाह गर्छन् । बुवाको स्वर्गबास भएपछि आमा दुःख सहन नसकेर आत्महत्या गरिहालिन् । यस विषयमा तपाईंहरुको सहायताबिना उनीहरुको कुनै सहारा छैन त्यसकारण उनीहरुलाई तपाईंहरुले सकेको जति रकम रु ५०, १००, २००, ३०० जे सकेको रकम दान गर्नु भएमा भगवानले तपाईंलाई सहयोग गर्नेछन् । यो रकम उनीहरुको उपचारका लागि लगानी गरिने छ । यदि तपाईंलाई इच्छा लागेमा २/३ किलो चामल, भाँडावर्तन पनि दान स्वरुप सहयोग गरिदिन हुन पुनः बिन्ति गर्दछौँ । बरु जोगी फकिरहरुलाई दान नगर्नुहोस् । बरु लुला लंगडा र अन्धाहरुलाई दान दिएर श्री पशुपतिनाथले तपाईंको बालबच्चालाई कल्याण गर्नुहुनेछ । यस्तो मान्छेलाई जो सताउँछ सो मान्छेलाई पाप लाग्ने छ । कृपया सबै महान् भावले निर्वाह रुपमा दान दिई पुन्य कमाउनुहोस र अरुलाई दिन प्रेरित गराउनुहोला ।

magne 22

magne (6) magne (1) magne (2)

यो सिफारिस अवश्य पनि कामनपाको होइन । तर, यस्ता सिफारिस काठमाडौंमै बन्छन् र बालबालिकालगायत महिला, वृद्धवृद्धाले बोकेर हिँड्छन् । सरकारले गरिबी हटाउने हो, गरिबहरुलाई होइन । यी बालबालिका, महिला यस्ता फन्टुस सिफारिस बोकेर राजधानीमा डुलिरहेका छन् । यहाँ बालअधिकार पनि त छ । के यी बालबालिकाले पढ्न पाउनुपर्दैन ? यी महिला किन र कसरी साना बालबालिका च्याँपेर भीख माग्दै हिँडिरहेका छन् ? के यिनीहरुलाई काम गरेर खान पाउने हक छैन ?
के यिनीहरु रहरले ‘भिखारी’ भएका होलान् र ? रहरले नै ‘भिखारी’ भए रे, सही । तर, सरकार के हेरेर बसिरहेको छ ? यसरी खुलेआम राज्यका निकायका नाममा झुटा सिफारिस बनिरहेका छन् ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल