दम्भमा बाँचेको काठमाडौं

दम्भमा बाँचेको काठमाडौं

दीपेन्द्र राई

‘काठमाडौंको अहिलेको स्वरूप र संरचना उसको आफ्नै इतिहासको उत्पादन हो,’ मानवशास्त्री सुरेश ढकालको बुझाइ छ, ‘आफ्नै इतिहासको परिणाम अर्थात् परिणति हो । काठमाडौंको जुन चरित्र निर्माण भएको छ, त्यसको ऐतिहासिक कालक्रम छ ।’

काठमाडौंको समाजशास्त्रीय चरित्र बुझ्नलाई यसको मनोविज्ञान बुझ्नुपर्छ । समाजको संरचना कस्तो छ भनेर हेर्नुपर्छ । काठमाडौंको चरित्र बहुल छ । समाजशास्त्रीय विविधताजस्तै काठमाडौंमा सबै प्रकारका भिन्नता पाइन्छ ।

सांस्कृतिक परम्परा कायम रहे पनि काठमाडौं पर्याप्त मात्रामा खुल्न सकेको छैन । ‘बन्द समाजजस्तो छ,’ मानवशास्त्री ढकाल भन्छन्, ‘संघुलन हुन समय लाग्छ । संघुलन प्रक्रिया २,३०० वर्षअघिको हो । यसको विस्तार हुँदै गएको एक शताब्दीमात्रै भयो ।’


बाहिरको मानिस काठमाडौं पसेको सय वर्षमात्रै हुँदै छ । तर, कुनै पनि संस्कृति निर्माण गर्न हजारौं वर्ष लाग्छ । काठमाडौंको निर्माण उद्विकास बाहिरका मानिसको चाप बढेपछि भएको देखिन्छ । मुलुकको राजधानी राजनीतिक केन्द्रका रूपमा विकसित हुँदै जाँदा अहिलेको काठमाडौंको चरित्र निर्माण हुन थालेको हो ।

गाउँबाट आएकाले काठमाडौंमा घरबार जोडेपछि उसले आफू सफल भएको ठान्छ । गाउँबाट काठमाडौं पसेर घरबार जोड्नु भनेको गरिखाने हुनु हो । सम्पत्ति आर्जन गर्नु भनेको सम्बन्धित व्यक्तिले छाडेको समाजभन्दा उकासिनु होे ।

काठमाडौंको चरित्र बहुल/वैश्विक भए पनि उसले परम्परागत संस्कृति जोगाउँदै ल्याएको छ । वैश्विक र परम्परागत चरित्रबीचको अन्तरक्रिया कसरी भइरहेको छ, त्यसले काठमाडौंको समाजशास्त्रीय चरित्र निर्माण गरिरहेको हुन्छ ।

‘लामो समयदेखि शासकीय केन्द्र भएकाले काठमाडौंसँग भयंकर दम्भ छ,’ उनले सुनाए, ‘शासकमा त हुने नै भए, स्थानीय प्राचीनवासीमा पनि दम्भ छ । पछि काठमाडौं पसेर घरबार जोडेकासँग पनि त्यस्तै दम्भ छ ।’ समाज, समुदायको निर्माण प्राचीनतासँग जोडिएको हुन्छ । जरा नभएको पहिचानको दम्भ हुँदैन । इतिहाससँग जोडिने भनेको पहिचान हो । काठमाडौं उपत्यकाका प्राचीनवासीमा प्राचीनता छ । तसर्थ, इतिहासले दिएको सामथ्र्य छ । तसर्थ, उनीहरू दम्भ नहुने कुरै भएन ।


त्यतिमात्रै होइन, गाउँबाट आएकाले काठमाडौंमा घरबार जोडेपछि उसले आफू सफल भएको ठान्छ । गाउँबाट काठमाडौं पसेर घरबार जोड्नु भनेको गरिखाने हुनु हो । सम्पत्ति आर्जन गर्नु भनेको सम्बन्धित व्यक्तिले छाडेको समाजभन्दा उकासिनु होे । उसले गाउँका मानिससँग तुलना गरेर दम्भ गर्छ । सामाजिक चरित्र निर्माणसम्बन्धमा यस्ता कुराले भूमिका खेलेको हुन्छ ।

काठमाडौं भनेको सम्भावना र अवसरको सहर हो । सम्भावना र अवसरसँगसँगै डरलाग्दा चुनौती र होडबाजीको सहर पनि हो । मानवशास्त्री ढकाल मूल्यांकन गर्छन्, ‘तसर्थ, सम्बन्धित व्यक्तिले केही कुरा चाँडै प्राप्तमात्रै होइन उपभोग गर्नसमेत हतारिन्छ । ऊ पछाडि पर्न चाहँदैन । पछाडि धकेलियो भने धेरै पछि पर्छ । होडबाजीले ल्याउने मनोविज्ञानले काठमाडौंको चरित्र निर्धारण गर्छ । काठमाडौं उपत्यकाका मानिस प्राप्तिका लागि जहिल्यै दबाबमा हुन्छन् । तनावमा देखिन्छन् । गाउँघरको जस्तो फ्रेस देखिँदैनन् । सधैं असन्तुष्टजस्तो देखिन्छन् । यस्तो मनोविज्ञानले पनि काठमाडौंको चरित्र निर्माण गरेको छ ।’

‘सुकुम्बासी नभइदिएको भए काठमाडौं कति सुन्दर हुन्थ्यो भन्ने पनि छन्,’ उनले सुनाए, ‘तर, भव्य काठमाडौं निर्माणका लागि श्रम गर्ने मानिस सुकुम्बासी बस्तीबाट आइरहेका हुन्छन् । घरभाडा उठाएर खानेले श्रम गर्दैनन् । सहर निर्माणमा सुकुम्बासीको अहम् भूमिका रहेको काठमाडौंले बिर्सिदिन्छ ।’

‘होडबाजी गर्दा सबैले प्रतिस्पर्धा अर्थात् सोझो बाटोबाट मात्रै अघि बढ्न सक्दैनन्,’ त्यसो भएपछि वैकल्पिक बाटो (पछाडिको ढोका) बाट अपराध गरेरै भए पनि उसले प्राप्त गर्न खोज्छ,’ उनले थपे, ‘सहरले आपराधिक मनोवृत्तिसमेत विकास गर्छ । काठमाडौंमा बसोबास गर्नेमा पनि त्यो प्रवृत्ति जीवित छ । भ्रष्टाचार, घुसखोरी, जालझेल र दलाली त्यही प्रवृत्तिले निर्माण गरेको हो ।’


एउटा चरित्र र एउटा मनोविज्ञानलाई अलग्याएर काठमाडौं यस्तो छ भन्न सकिँदैन । यो एकदमै जटिल छ । जेलिएको छ । तर, रुचिकर पनि छ । कसरी ? उनको ठम्याइ छ, ‘सम्बन्धित मानिसले काठमाडौं बसेर सबै प्रकारका समाज, सामाजिक सम्बन्ध, परिणति र परिणामबारे अध्ययन गर्न सक्छ । उसलाई केही न केही विषयले चकित पारेकै हुन्छ ।’

काठमाडौं उपत्यकामा बसोबास गर्नेले विविध दबाबबीच जीविकोपार्जन गरिरहेका हुन्छन् । यहाँ केवल बाँच्नका लागि गर्ने/गरिने प्रयत्नका विविध रूप देख्न सकिन्छ । संसारका सबै राजधानीको चरित्र एकैप्रकारका हुन्छन् । सहर बन्नका लागि विविधप्रकारका मानिस चाहिन्छन् । ‘सुकुम्बासी नभइदिएको भए काठमाडौं कति सुन्दर हुन्थ्यो भन्ने पनि छन्,’ उनले सुनाए, ‘तर, भव्य काठमाडौं निर्माणका लागि श्रम गर्ने मानिस सुकुम्बासी बस्तीबाट आइरहेका हुन्छन् । घरभाडा उठाएर खानेले श्रम गर्दैनन् । सहर निर्माणमा सुकुम्बासीको अहम् भूमिका रहेको काठमाडौंले बिर्सिदिन्छ ।’


नेपालमा राजनीतिक शक्ति सीमित मानिसको हातमा छ । शक्तिकेन्द्र राजधानीमा सीमित रहेपछि काठमाडौं पस्नेको कमी छैन । मानवशास्त्री सुरेश ढकालले उदाहरण पेस गरे, ‘काँठका बासिन्दालाई सोध्नुभयो भने उनीहरूले पहिलेको काठमाडौं नै राम्रो भन्छन् । अहिले खत्तम भएको ठान्छन् । उनीहरू विगतको धङधङीमा बाँचिरहेका हुन्छन् । स्मृतिदंशले खेदिएर काठमाडौंका मानिस बाँचिरहेका छन् ।’

आर्थिक हैसियत र पेसागत अवस्थाले काठमाडौंमा तहगत संरचना निर्माण भएको छ । हुनेखाने र हुँदाखानेबीच विभेद छ । सरकारी वा राम्रो ठाउँमा जागिर खाइरहेका र जसोतसो जीविकोपार्जन गर्नेबीच नजानिदोपाराले विभेद भइरहेकै छ ।

‘कस्मोपोलिटन सिटी’ मा बसोबास गर्नेमा कुनै पनि कुरामा स्थायी विश्वास हुँदैन । उनीहरू विश्वासभन्दा अविश्वास बढी गर्छन् । उनीहरूले वैयक्तिक उन्नतिका लागि जे पनि गर्न जाँगर चलाउँछन् तर सामूहिक भाव कम हुन्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल