बहस : के नेपालका कार धनीले इन्धन अभावका बेला लिफ्टको नयाँ बिधि ‘स्लगिङ’ अपनाउन सक्छन् ?

  |   सुनिलमणि दाहाल

बहस : के नेपालका कार धनीले इन्धन अभावका बेला लिफ्टको नयाँ बिधि ‘स्लगिङ’ अपनाउन सक्छन् ?

sunil profileभारतको नाकाबन्दीका कारण अहिले नेपालमा इन्धन अभाव भएको छ । ग्यास र मट्टीतेल अभावले बजार र सहर क्षेत्रमा चुलो बल्न सकेका छैनन् । यातायातका साधन चल्न सकेका छैनन् । यातायातका साधन चल्न नसकेपछि देशको समग्र आर्थिक क्षेत्रमै असर परेको छ । यही इन्धन समस्याका बेला दीर्घकालीन समाधानका विविध उपाय पनि खोजिँदै छ ।
चाडपर्वका बेला सहर–बजार क्षेत्रमा विकल्पका लागि विद्युतीय इन्डक्सन कुकटपको प्रयोग एक्कासि बढेको पाइयो । त्यस्तै, कार्यालय आवतजावतका लागि केही सेयर एन्ड राइड गरेको पनि देखियो । यस्ता मितव्ययी कार्य फेसनका लागि नभएर आवश्यकताका लागि भइरहनु आवश्यक छ । यसै सन्दर्भमा इन्धन समस्यामा स्लगिङको सवारी प्रयोग एक मितव्ययी विधि हुन सक्ने विचार यस लेख मार्फत प्रस्तुत गरेको छु ।

स्लगिङ के हो ?
अमेरिकाको वासिंगटन डीसी महानगरीय क्षेत्रका सडक कार्यालय समयमा अत्यधिक व्यस्त रहन्छन् । यसैले उत्तरी भर्जेनिया र वासिंगटन डीसीबीच क्षेत्रमा कार्यालय समयमा सहज आवतजावस होस् भन्ने हेतुले हाई अक्युपेन्सी भेइकल (एचओभी) लेनको स्थापना गरिएको छ । यस लेनमा गाडी चलाउन कम्तीमा तीनजना आवश्यक हुन्छ । त्यसैले आफ्नो गन्तव्य स्थानमा जान वा फर्कनका लागि तोकिएको संख्याका मान्छेहरू गाडीमा राखी सवारी लिएर एचओभी लेनको प्रयोग गर्नुलाई स्लगिङ भनिछ । यो विधि स्वस्फूर्त रूपमा स्थानीय जनताबाट सुरु गरिएको हो । यो लेन एक प्रकारको एक्सप्रेस लेनजस्तै हो । यस विधिको सवारीमा गाडीवालालाई एचओभी लेनमा तोकिएका यात्रु चाहिने हुनाले गाडी चढ्ने व्यक्ति (स्लगर) ले गाडीवालालाई पैसा तिर्नुपर्दैन, यो निःशुल्क हो । यस विधिलाई सञ्चालन गर्न स्लगरहरूले आफ्नै शिष्टाचार र नियम बनाएका छन्, जसमा मुख्य नियम यस प्रकार तोकिएको छ :

१) एचओभी लेन प्रयोगका लागि गाडीमा तीनजना वा सोभन्दा बढी हुनुपर्नेछ ।
२) सबै स्लगरहरू लाइन लागेर सवारी कुर्नुपर्ने, पहिला जो उभिएको छ, उसैले पहिला गाडी चढ्न पाउँछ ।
३) स्लगरहरूले गाडीभित्र खाना खान, धूमपान गर्न निषेध गरिएको छ ।
४) गाडीचालक बाहेक गाडीमा बस्ने स्लगरहरूले झ्याल–ढोका खोल्न पाउने छैनन् ।
५) गाडीमा फोन गर्न पाइनेछैन, तर अत्यन्त आवश्यक भएमा गाडी चालकलाई जानकारी दिएर फोन गर्न पाइन्छ ।
४) गाडीभित्र राजनैतिक, धार्मिक तथा सेक्सबारे कुराकानी तथा छलफल गर्न पाइनेछैन ।
६) सिट बेल्ट सबैका लागि अनिवार्य हुन्छ ।
७) गाडीभित्र फोहोर गर्न मनाही छ ।
८) गाडीमा सवार भएबापतको शुल्क वा पैसा लिनदिन पाइनेछैन ।
९) गन्तव्यमा पुगेपछि एकापसमा धन्यवादको आदानप्रदान गर्ने ।

स्लगिङको सुरुवात
सन् १९७० को दशकको खाडी युद्धताका खाडीका पेट्रोलियम निर्यात गर्ने देशहरु (ओपेक) ले तेल निर्यातमा अमेरिकालगायत नेडरल्यान्डमाथि प्रतिबन्ध लगाएपछि अमेरिकामा इन्धन खपतमा मितव्ययिता अपनाउन स्लगिङको अवधारणा सुरु भएको अनुमान गरिन्छ । वासिंगटन र उत्तरी भर्जिनिया क्षेत्रमा करिब ४० वर्षअघि अर्थात् सन् १९७५ तिर कारपोल र भ्यानपोलका लागि एचओभी लेन सुरु भएलगत्तै स्लगिङ पनि सुरु गरिएको अनुमान गरिन्छ । तथापि, सरकारसँग स्लगिङको आधिकारिक अध्ययनबारे रेकर्ड नभएको हुँदा स्थानीय जनतासँगको प्रत्यक्ष अन्तर्वार्ताका आधारमा स्लगलाइनस् डट कमले स्लगिङको सुरुवाती इतिहास केलाएको छ ।

Slug_Lineसिर्ले हाइवे जहाँ स्लगिङ सुरु गरियो
वासिंगटन डीसी महानगरीय क्षेत्रको सिर्ले हाइवे (आई–९५/आई ३९५) नै अमेरिकाको पहिलो फ्री–वे एचओभी लेन हो, जुन १९६९ मा सुरु गरियो । त्यसताका यस लेनमा बस मात्र चलाउने अनुमति थियो । सुरुवातको ४.८ माइल लामो एकतर्फी बस मात्र चल्ने यस फ्री–वेलाई सन् १९७५ मा बढाएर नौ माइल लामो दुई लेनको रिभर्सेबल फ्री–वे बनाइयो । यस लेनमा सवारी गर्न सुरुमा कम्तीमा चारजना हुनुपर्ने नियमलाई घटाएर सन् १९८९ मा तीनजना सवारी भए पुग्ने गरी संशोधन गरियो । सन् १९७५ मा जब यस सिर्ले हाइवेमा कार्पोलिङ र भ्यान पोलिङ सुरु भयो, तब गाडी चालकलाई तोकिएको संख्याका मान्छे गाडीभित्र राख्न गाह्रो पर्न थाल्यो । यस हाइवेमा तीनजनाभन्दा कम मान्छे राखी गाडी चलाएमा कडा जरिवाना तिर्नुपर्ने नियम भएकाले उत्तरी भर्जिनियाबाट डिसी आवतजावत गर्ने मान्छेले तोकिएको यात्रु पु¥याउन स्लगिङ विधिको सुरुवात गरेको कुरा स्थानीय बताउँछन् ।

पहिलो स्लग लाइन : बब, स्प्रिङफिल्ड
सन् १९८९ मा अर्बन नामक संस्थाले गरेको एक अध्ययनका अनुसार भर्जिनिया राज्यको स्प्रिङफिल्ड सहरअन्तर्गत बब भन्ने स्थानमा मात्र आधिकारिक स्लग लाइन भएको देखाएको छ । तर, यो अध्ययन हुनुअगावै स्थानीयले सन् १९८२ देखि आफू स्लगिङ गर्दै आएको बताएको स्लगलाइन डट कमले लेखेको छ । पछि, अर्बनको अध्ययनले सन् १९७० को दशकमै स्लगिङ सुरु भएको हुन सक्ने अनुमान गरेको छ ।

अमेरिकामा स्लगिङ गर्दा स्लगरलाई हुने मुख्य फाइदा

० प्रदूषण र वातावरण सन्तुलन राख्न मद्दत ।
० इन्धन आयातमा बचत र मितव्ययिता ।
० समयको बचत र आवतजावतमा सुविधा ।
० कार्यालय समयमा हुने अत्याधिक ट्राफिकको नियन्त्रणमा योगदान ।

स्लगिङ र कार्पोलिङमा भिन्नता
स्लगिङमा प्रत्येक दिन लिफ्ट लिने र दिने फरक–फरक हुन्छन् भने कार्पोलिङमा प्रत्येक दिन लिफ्ट लिने र दिने एउटै व्यक्ति हुन्छन् । स्लगिङमा गाडीवालालाई एचओभी लेनमा गाडी चलाउन तोकिएको यात्रु चाहिने हुँदा निःशुल्क सवारी हुन्छ भने कार्पोलिङमा आपसी समझदारीअनुसार आलोपालो गाडी चलाइन्छ र खर्च पनि दामासाहीले बाँडफाँड गरिन्छ । अतः एचओभी लेनको प्रयोगका लागि मात्र स्लगिङ गरिन्छ भने कार्पोलिङ कुनै पनि स्थानमा नियमित आवतजावतका लागि निश्चित व्यक्ति मिलेर गरिन्छ ।

नेपालमा स्लगिङ सम्भव छ
नेपालजस्तो भूपरिवेष्टित मुलुकका लागि स्लगिङ विधिको सुरुवात अत्यन्त लाभकारी देखिन्छ । वर्तमान इन्धन समस्यालाई नै हेर्ने हो भने पनि नेपालका राजमार्ग तथा काठमाडौंभित्र प्रवेश गर्ने ठूला सडकहरूमा निश्चित समय तोकी रिभर्सेबल लेनमार्फत स्लगिङको सुरुवात गर्न सकिन्छ । यसमा, जनताले नै स्वस्फूर्त रुपमा स्लग लाइन स्थापना गर्न सक्छन्, तर सरकारी नीति र अनुगमन पनि आवश्यक पर्छ । उदाहरणका लागि काठमाडौं उपत्यकाका सूर्यविनायकदेखि कोटेश्वर, कोटेश्वरदेखि माइतीघर, थानकोटदेखि त्रिपुरेश्वर, बुढानिलकण्ठदेखि नारायणगोपाल चोक आदिका लागि एउटा लेनलाई कार्यालय समयका बेला एचओभी लेन बनाएर स्लगिङ प्रयोग गर्न सकिन्छ ।
माथि वर्णन गरिएझैँ अमेरिकामा सञ्चालित स्लगिङको उपलब्धि र त्यसबाट हुने फाइदालाई मध्यनजर गरी नेपालमा पनि स्लगिङको व्यवस्थापन कसरी गर्न सकिएला, यसमा छलफल हुनु, अध्ययन गर्नु र योजना बनाउन ढिलो गर्नु हुँदैन । जसरी अमेरिकालाई खाडी युद्धताका तेल निर्यातमा अवरोध भयो र उसले त्यही समयदेखि मितव्ययिताका विभिन्न उपाय अवलम्बन गर्यो, त्यसैगरी आज नेपालले स्लगिङ, कार्पोलिङजस्ता विधि अपनाउन आवश्यक छ । विदेशी इन्धनमा पूर्ण रुपमा भर पर्ने नेपालजस्तो सानो र सीमित स्रोत र साधन भएको देशका लागि इन्धनमा गरिने खर्चमा बचत गरी भुइँचालो र गरिबीले थला परेका जनतालाई मलम लगाउनु आजको आवश्यकता र सरकारको पहिलो प्राथमिकता हुनुपर्छ ।

नेपालमा स्लगिङ भए कति बचत गर्न सकिएला ?
नेपालमा स्लगिङ र यसबाट हुने आर्थिक, सामाजिक र वातावरणीय फाइदाबारे अध्ययन नभएका कारण बचत यति नै हुन सक्छ भनेर अहिले नै ठोकुवा गर्न सकिन्न । तर, अमेरिकाको उदाहरणलाई आधार मान्ने हो भने, एक व्यक्तिले दैनिक २० किमि आफ्नो गाडीबाट कार्यालय आवतजावत गर्छ भने, उसले कम्तीमा तीन लिटर पेट्रोल, प्रतिदिनको औसत मर्मत, बिमा तथा गाडीको डिप्रिसिएसनको हिसाब गर्दा करिब दैनिक एक हजार, मासिक २५ हजार तथा वार्षिक तीन लाख रुपैयाँसम्म बचत गर्न सक्छ । त्यस्तै, इन्धन आयातबाट पनि सरकारले ठूलो धनराशि बचत गर्न सक्छ । यसको अलाबा राजधानीभित्र देखिएको प्रदूषणको नियन्त्रण, सहरभित्र गाडीको चापमा नियन्त्रण, पार्किङ समस्याको समाधान, जलवायु तथा वातावरणीय सन्तुलनको लाभ त अनगिन्ती छँदै छ ।

निष्कर्ष
इन्धनको प्रयोग र अत्मनिर्भरतामा नेपालले निर्णय गर्ने बेला भएको छ । इन्धनको मितव्ययी प्रयोगका लागि यस भूपरिवेष्टित देशले अवलम्बन गर्नुपर्ने धेरै उपायमध्ये माथि औँलाइएको स्लगिङ एक भरपर्दो उपाय हुन सक्छ, जसमा सरकारले अध्ययनमा विलम्ब नगरी आफ्नो धारणा अगाडि ल्याउनुपर्छ । निश्चित समय तोकी काठमान्डु आउने–जाने बाटोमा यो विधिको प्रयोग गरिएमा अहिले देखिएको इन्धन अभावलाई धेरै मात्रामा नियन्त्रण गर्न सकिन्छ ।

(वासिंगटन डिसीबाट)

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल