एसएलसी दिन जाँदा सामूहिक बलात्कारमा परेकी युवतीको दर्दनाक डायरी : न्यायको भीख मागेकी छु

एसएलसी दिन जाँदा सामूहिक बलात्कारमा परेकी युवतीको दर्दनाक डायरी : न्यायको भीख मागेकी छु

सोमबार दिउँसो लैनचौरमा भेटिइन्, पूजा बोहोरा । बैतडीको दुर्गम गाउँमा जन्मेकी पूजा एसएलसी दिने क्रममा चार वर्षअघि सामूहिक बलात्कारको सिकार भएकी थिइन्, ९ चैत ०६८ मा ।
तर, अहिलेसम्म न्याय पाउन सकेकी छैनन् । आफूमाथि भएको सामूहिक बलात्कारको पीडा सुनाउँदासुनाउँदै उनी आजित छिन् । रक्षा नेपाल नामक सामाजिक संस्थाको संरक्षणमा रहेकी पूजा अहिले १२ कक्षामा अध्ययनरत छिन् ।
उनीमाथि जबर्जस्ती करणी गरेको अभियोगमा मुद्दा चलाइएका सागर भट्ट र अमर अवस्थीलाई जिल्ला अदालतले दोषी ठहर गरेको थियो ।
बैतडी अदालतका न्यायाधीश हिमालय पाठकको इजलासले ०६९ फागुन २२ मा भट्ट र अवस्थीलाई दोषी ठहर गर्दै जनही १३ वर्ष कैद र पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।
तर, पुनरावेदन अदालत महेन्द्रनगरले उनीहरुलाई सफाइ दियो । १५ वैशाख ०७१ मा न्यायाधीशद्वय रमेशप्रसाद राजभण्डारी र नरबहादुर शाहीको इजलासले फैसला उल्टाएको थियो ।
न्यायाधीशद्वयले सफाइ दिँदा प्रहरीले फितलो अनुसन्धान गरेको, प्रमाणका रूपमा लिइएको शुक्रकीटको डीएनए परीक्षण नगरिएको, पीडितले घटनास्थल यकिनसाथ भन्न नसकेको, सिलसिलेबार बयान नदिएको, अभियुक्तले प्रहरी र अदालती बयानमा कसुर इन्कार गरेको आधार लिएका छन् ।
त्यसपछि १ पुस ०७१ मा पूजाले सर्वोच्चमा अपिल गरिन् ।
तर आजसम्म पूजाले न्याय पाउन सकेकी छैनन् ।
आफ्नो अस्मिता लुटिएको चार वर्षपछि पूजाले रातोपाटीसँग कुरा गरेकी छन् । उनको भनाइ उनकै शब्दमा :

पीडा सुनाउँदासुनाउँदै थाकेँ तर न्याय पाइनँ

मैले एसएलसी दिँदै थिएँ, ०६८ मा । बैतडीको पाटनमा परीक्षा केन्द्र थियो । केन्द्र घरदेखि टाढा भएकाले नाताले दिदी पर्नेको घरमा बसेर एसएलसी दिँदै थिएँ ।
पहिलो दिनको परीक्षा सकेसँगै गणितको गेसपेपर नभएकाले किन्न नजिकैको स्टेसनरीमा गएकी थिएँ ।
चैत महिना थियो, गर्मीले गर्दा प्यास लागेको थियो । पानी पिउन एउटा होटलमा पसेँ । होटल स्टेसनरीको नजिकै थियो । होटलमा एकजना पुरुष थिए । मैले पानी मागेँ । उनले भित्रबाट पानी ल्याएर दिए । उनले दिएको पानी खानेबित्तिकै उकुसमुकस बनायो र बान्ता होला–होला जस्तो भयो । पिसाब लागेजस्तोे भयो । मैले होटलकै पानी दिनेसँग ट्वाइलेटबारे सोधेँ । उनी ट्वाइलेट देखाउन भन्दै मेरो अघि हिँडे । म उनको पछिपछि गएँ । उनले मलाई स्टेसनरीको बाटो भएर लगे । स्टेसनरीवालाले सँगै रहेको फोटो स्टुडियो सञ्चालक अमर अवस्थीलाई बोलाएको मलाई अलिअलि थाहा छ । त्यसपछि उनीहरुले मलाई समाउन थाले । म अलिअलि होसमा थिएँ, सकेसम्म प्रतिकार गर्न खोजेँ, तर सकिनँ । म लुटिएँ । त्यसपछि म पूर्ण बेहोस भएँ ।
होसमा आउँदा दिदीको घरमा थिएँ । म कसरी दिदीको घरसम्म पुगेँ भन्ने मलाई नै थाहा थिएन । मेरो शरीरको विभिन्न भागमा काटिएको पनि थियो । म शारीरिक र मानसिक रुपमा थाकेकी थिएँ । म राति घरमा पुगेको दिदीले बताइन् । अनि मैले सम्झन थालेँ, के–के भयो भनेर । मैले अलिअलि सम्झँदै घटनाबारे आफन्तलाई सुनाएँ ।
भोलिपल्टको परीक्षा दिन भनेर परीक्षा केन्द्र गएँ । तर, परीक्षा दिन सकिनँ । परीक्षा नदिईकनै दिदीको घरमा फर्किएँ । त्यसपछि दिदी र स्थानीय मानिसहरु मिलेर प्रहरीमा उजुरी गरे । उजुरीसँगै प्रहरीले अपराधीलाई पक्राउ गर्यो– होटलवाला सागर भट्ट र फोटो स्टुडियोवाला अमर अवस्थीलाई ।
मलाई त्यहीँको मेडिकलमा सामान्य उपचार भइरहेको थियो । म बेलाबेला बेहोस भइरहन्थेँ । त्यसपछि बुवाले थप उपचारका लागि काठमाडौं ल्याउनुभयो ।

‘एउटी चेलीको अस्मिता लुट्ने बलात्कारीलाई किन, कसरी, केले गर्दा दिइयो उन्मुक्ति ?’ मेरो मनमा यही प्रश्न सदा दोहोरिरहन्छ ।

दुई वर्षसम्मको उपचारपछि म सामान्य अवस्थामा फर्किएँ । उता, मेरो अस्मिता लुट्नेहरुलाई बैतडी जिल्ला अदालतले १३–१३ वर्षको जेल सजाय र ५०–५० हजार रुपैयाँ जरिवानाको फैसला गर्यो, २२ फागुन ०६९ ।
मैले भोगेको पीडाको अगाडि त्यो सजाय निकै कम थियो । हुन त अस्मिता लुटिनुको क्षतिपूर्ति के नै हुन सक्छ र ? तर पनि उनीहरुलाई कानुनको दायरामा ल्याएकामा केही भए पनि सन्तुष्ट थिएँ ।
योबीचमा रक्षा नेपाल नामक एक सामाजिक संस्थामा आश्रय लिएर बस्दै आएकी थिएँ ।
२०७१ वैशाख १५ गते समाचार सुनेर म छाँगाबाट खसेजस्तै भएँ । रेडियो–टिभीमा ‘बलात्कारीलाई सफाइ’ भन्ने समाचार आएका थिए ।
उनीहरु जिल्ला अदालत बैतडीको फैसलाविरुद्ध पुनरावेदन गएका रहेछन् । हामीलाई पुनरावेदन अदालतले पत्तै नदिई १५ वैशाख ०७१ मा फैसला गर्यो ।
कञ्चनपुर पुनरावेदन अदालतका मुख्य न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठ र न्यायाधीशद्वय नरबहादुर शाही र रमेशराज भण्डारीले मेरो अस्मिता लुट्ने अपराधीलाई निर्दोष घोषणा गरेर उन्मुक्ति दिएका रहेछन् ।
यो कस्तो न्यायालय हो ? म ०६८ सालदेखि निरन्तर न्यायको भीख मागिरहेकी छु । न्याय दिन बसेका व्यक्तिले नै अपराधीको पक्षमा फैसला गर्छन् भने कसको विश्वास गर्ने ?
मैले भोगेको कहालीलाग्दो पीडा धेरै सञ्चारमाध्यमका हेडलाइन बने । कठै भन्ने र मसँगै आँसु बगाउने धेरै देखेँ ।
मेरो पक्षमा वकालत गर्नेहरु भन्छन्, ‘एउटी चेलीको अस्मिता लुट्ने बलात्कारीलाई किन, कसरी, केले गर्दा दिइयो उन्मुक्ति ?’ मेरो मनमा यही प्रश्न सदा दोहोरिरहन्छ ।
मेरो विषयमा सुदूरपश्चिममा ठूलैै चर्चा चल्यो । पीडा सुनाउँदासुनाउँदै हैरान भइसकेँ । आश्वासन सुन्दासुन्दा आजित भइसकेँ । तर आजसम्म न्याय पाउन सकेकी छैन ।
मेरो अस्मिता लुट्नेहरु स्वतन्त्र भएर हिँडेका छन् । मेरो अस्मिता लुट्नेहरुलाई उन्मुक्ति दिने कञ्चनपुरका तत्कालीन मुख्य न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठ अहिले सर्वोच्च अदालतमा न्यायाधीश छन् रे ।
मेरो कथा तत्कालीन सरकार प्रमुखहरुले पनि सुनेर भावुक भए । टाउको हल्लाए, आँसु झारुँला जस्तो गरेर भने, ‘छोरी, चिन्ता नलिउ, न्याय पाउँछ्यौ ।’
तत्कालीन कानुनमन्त्री नरहरि आचार्यले भनेका थिए, ‘यो पूजामाथि मात्रै भएको हमला होइन, सारा नेपाली चेलीमाथि भएको हमला हो । चिन्ता नलिनु अपराधी कसैगरी पनि उम्कन पाउँदैन ।’
पुनरावेदन कञ्चनपुरको फैसलापछि मैले कानुनमन्त्री आचार्यको नाममा कान्तिपुर पत्रिकामार्फत चिठी लेखेँ । चिठीको प्रतिउत्तरमा उनले भने, ‘यो सरकारी मुद्दा हो । तिमीले नै न्याय पाउँछ्यौ, चिन्ता नलिनु ।’
पुनरावेदनको फैसलाविरुद्ध मैले सर्वोच्चमा अपिल गरेँ । मेरो पेसी कहिले पर्छ, कहिले स्थगन गरिन्छ, मलाई नै थाहा हुँदैन ।
म बलात्कृत भएकी हुँ । मैले न्याय पाउनुपर्ने हो । तर, किन पाउन सकिरहेकी छैन, मैले बुझ्न सकेकी छैन ।

रातोपाटीकर्मी संजीवकुमार दाहालसँग गरेको कुराकानीमा आधारित

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल