गायिका रेखा शाहको जीवन : भूल नगरी ११ दिन कष्टडीमा

गायिका रेखा शाहको जीवन : भूल नगरी ११ दिन कष्टडीमा

२३ वर्षअघि ‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा’ भन्ने गीत रेकर्ड भएको हो । २३ वर्षपछि पनि यो गीत त्यत्तिकै गाइन्छ/गुनगुनाइन्छ । सयभन्दा बढी गीत गाइसके पनि ‘सिमसिमे पानीमा’ भन्नसाथ रेखा शाह र रेखा शाह भन्नसाथ ‘सिमसिमे पानीमा’ को चर्चा चल्छ/चलाइन्छ । ‘जेन्डर स्टडी’ मा मास्टर्स डिग्री गर्दै गरेकी गायिका रेखा शाहसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :

मेरो खाना
नेपाली, चाइनिज, कन्टिनेन्टल र इन्डियन खाना मन पर्छ । चिल्लो र गुलियो बार्ने गरेकी छु । दैनिकजसो खान रेष्टुरेन्ट पुग्छु । रेष्टुरेन्टमा नखाएको दिन छैन । हायात गएँ भने स्मोक सालमोन खान्छु । सामान्य रेष्टुरेन्टमा गएँ भने तन्दुरी पनि मन पर्छ । प्राउन पनि मन पर्छ । पकाउन रुचि छ । म मटन, चिकेन, फिस, गाँजरको हलुवा, बारा मीठो पकाउँछु । छोयला पनि बनाउँछु ।

मेरो पोसाक
भन्नेले जे लुगा लगाए पनि सुहाउने मानिस हौ तिमी भन्छन् । ‘फेसन सेन्स’ भएको पनि भन्छन् । जिन्स ज्याकेट, सर्ट, स्कट, वान पिस पनि लगाउँछु । लुगामा वार्षिक खर्च कति होला हिसाब÷किताब गरेको छैन । असाध्यै धेरै खर्च हुन्छ । एक लाख त थोरै हो । एउटा लुगालाई १० हजार पर्यो भने १० वटा त आउँछ । त्यतिले त पुग्दै पुग्दैन ।
सबै रङका लुगा मन परे पनि पछिल्लो समय डार्क लाइट, ह्वाइट, ब्ल्याकलगायत मन पर्छ । ब्रान्डेड र नन ब्रान्डेड रेडिमेड लुगा पनि लगाउँछु । सिलाउन परे वुटिक जान्छु । ब्रान्ड भएपछि लुगा टिकाउ हुन्छ, भुवा आउँदैन, फिनिसिङ आउँछ । ब्रान्ड नै लगाउनुपर्छ भन्ने छैन, म आफैं ब्रान्ड हुँ, मैले लगाएपछि जे पनि ब्रान्डेड हुन्छ । घामबाट बच्न कहिलेकाहीं क्याप लगाउँछु ।

मेरो फिटनेस
पछिल्लो समय स्वास्थ्यप्रति सचेत छु । क्लब ‘ज्वाइन’ गरेकी छु । ‘वर्कआउट’ गर्छु । ट्रेडमिल, हाइकर र साइक्लिङ गर्छु । ‘डाइटिङ कन्ट्रोल’ गर्छु । अस्वस्थकर खानेकुरा खान्न । ‘ब्राउन सुगर’ मात्रै खान्छु । खाना एक छाकमात्रै खान्छु । ‘ब्राउन कलर’ कै चामल प्रयोग गर्दै आएकी छु । राम्रो भए पनि योगा गर्दिनँ । बिहान आठ÷साढे आठ बजे सुत्ने भएकाले ‘मर्निङवाक’ निस्कन्न ।

मेरो अध्ययन
‘जेन्डर स्टडी’ को परीक्षा भर्खर सकिएकाले तत्काल केही पढ्न मन लागेको छैन । ‘द सेकेन्ड सेक्स’ एक साथीले ल्याइदिएका थिए । पढ्नु छ । त्यो ‘कोर्स’ मा पनि पढ्नुपर्छ । प्रेरणा मिल्ने किताब पढ्न जाँगर चल्छ । जीवनी पढ्न मन पर्छ । लेख्ने रहर पलाएको छ । लेखें भने अटोबायोग्राफी र लिंगीय भेदभावबारे लेख्ने मन छ । घरको पुस्तकालयमा एक/डेढ सय किताब छन् । सालिन्दा १०/१५ हजार खर्च गर्छु ।

मेरो घुमफिर
घुमफिरमा त्यति रुचि छैन । हत्तपत्त मानिससँग घुलमिल पनि हुन्न । मुलुकका १०/१५ जिल्ला पुगेकी छु । अमेरिका, मलेसिया, दुबई, हङकङ र कतारसम्म पुगेकी छु । तर, नेपालजस्तो सुन्दर देश अरू लागेन । ‘युरोपियन कन्ट्री’ घुम्न असाध्यै मन लागेको छ । प्रस्ताव पनि आएको थियो तर परीक्षा परेकाले जान सकिनँ । अस्ट्रेलिया पनि जान मन लागेको छ ।

मेरो फुर्सद
फुर्सद छँदै छैन । भइहालेमा ‘सपिङ’ गर्न निस्कन्छु । चलचित्र हेर्छु । पढ्न मन लाग्छ । ‘गुगल सर्च’ गरेर मन परेको शीर्षकमा पढ्ने गरेकी छु । कहिलेकाहीं मोबाइल बन्द गरेर आनन्दसँग बसौंजस्तो पनि लाग्छ । तर, आजसम्म त्यसो गरेकी छैन । घरपरिवारलाई समय दिन सकेकी छैन । कहिलेकाहीं परिवारसँग रेष्टुरेन्ट जान्छु । तर, फिल्म हेर्न र घुम्न जान पाएकी छैन ।

मेरो खेलकुद
खेलप्रति त्यति रुचि छैन । फुटबल, क्रिकेट मन पर्छ । बक्सिङ मन पर्दैन । नौ कक्षा पढ्दा रिलेदौडमा पहिलो भएर पुरस्कृत भएकी थिएँ । कहिलकाहीं ब्याडमिन्टन खेल्ने गर्छु । ब्राजिलको रोनाल्डो मन पर्छ ।

मेरो मोबाइल
सामसुङ सिक्स एज र आइफोन सेभेन प्लस बोक्दै आएकी छु । दुवै उपहार हुन् । मोबाइल फेरीफेरी बोक्ने बानी छैन । भाइबर, वी च्याट र फेसबुक प्रयोग गर्छु ।

मेरो टीभी
हिजोआज इन्डियन आइडल प्रसारण भइरहेकाले हेर्छु । गीत प्रसारण हुने च्यानल पनि हेर्दै आएकी छु । समाचार हेर्नैपर्यो तर अनलाइनमा बढी हेर्छु । बेलुका टीभी हेर्ने साइत जुर्छ । एलजी र सोनीको टीभी छ । एउटा ५२ र अर्को ३२ वा ४२ इन्चको छ, ठ्याक्कै थाहा भएन ।

मेरो चलचित्र
पछिल्लो समय हेरेको फिल्म ‘काबिल’ हो । छनोटमा परेको फिल्म हलमै गएर हेर्ने गर्छु । जापानी फिल्मलाई अंग्रेजीमा अनुवाद गरिएको फिल्म ‘हाची’, ‘वीरजारा’, ‘रामतेरे गंगा मेली’ मन पर्यो । आमिर खान, विद्या बालनको अभिनय मन पर्छ ।

मेरो रोग
ज्यानले बेलाबेलामा बेइमान गर्छ । असाध्यै बिरामी हुन्छु । पानी पर्यो, चिसो बढ्यो भने पनि रुघा लाग्ने, गर्मी हुनासाथ टाउको दुख्ने गर्छ । तर, दीर्घरोग छैन । दुई÷चारपटक ‘होलबडी चेकअप’ गराएकी छु । तुरुन्त गर्दै छु । म सधैं सकारात्मक सोच्छु, मानिस छद्म हुन्छन्, त्यसले सन्तुष्टि दिँदैन होला, म त्यस्तो छैन । पछिल्लो समय खानामा नियन्त्रण गर्छु । सुत्ने कोसिस गर्छु । सकारात्मक मानिससँग संगत गर्छु । नकारात्मकमात्रै सोच्नेसँग भेट्दा पनि भेट्दिनँ ।

मेरो मापसे
गर्दिनँ भन्दा झुटो ठहरिएला । मेरो घरमा बेलिज छ । वाइन हुन्छ । पिउन मन लाग्यो भने कहिलेकाहीं बढीमा ३० एमएल पिउँछु । त्यो भनेको केही पनि होइन । पहिलेपहिले पार्टी, रिसेप्सनमा अति कर गरेका बेला शोभाका लागि भए पनि लिएजस्तो गर्छु । बार नै छैन तर आउने मानिसलाई खुवाउन रेडलेबल, ब्ल्याक लेबल, भोड्कालगायत छन् ।

मेरो संगीत
गीत असाध्यै सुन्छु । नारायणगोपाल, भक्तराज आचार्य र शान्ति ठटाल मन पर्छ । एउटा तारा डाँडावारि, अर्को डाँडापारि, नेटो काटिगए पनि दिल हाराहारी’, तिमीले पनि मजस्तै माया दिएर हेर, मायालुको सम्झनामा आफूलाई बिर्सिदिएर हेर’ लगायत गीत गुनगुनाउने गर्छु ।

मेरो भूल
मानिस भएपछि जान/अन्जानमा धेरै भूल गरेकी छु । भूल मानवीय स्वभाव हो । गल्ती गरेन भने ऊ मानिस नै होइन । गल्ती गरेर सुधारेन भने ऊ पनि मानिस होइन । मैले जीवनमा धेरै गल्ती गरें होला तर असाध्यै खराब मानिसबीच म कम खराब मानिस हुँ । भूल नगरी पाएको सजाय धेरै छ । गत वर्ष ११ दिन कष्टडी बसेकी थिएँ, त्यो भूल नगरी पाएको सजाय थियो । राज्यले दिएको सजाय हो, त्यसको जवाफ राज्यले नै दिनुपर्ने हो तर दिएको छैन । भूल गरेपछि आत्मालोचना गर्नुपर्छ, मैले पनि गर्ने गरेकी छु ।

मेरो राशी
मेरो राशी मेष हो । भाग्यमा पनि विश्वास गर्ने भएकाले ज्योतिषीकहाँ पनि जाने गरेकी छु । मानिसले जति नै दुःख, मिहिनेत गरे पनि त्यही मिहिनेतले धेरै माथि पुग्छ भने कतिपय सफल हुन सक्दैन । ग्रहदशा राम्रै छ । मन्दिर जान्छु । तर, धार्मिक व्यक्ति होइन । परम्परा, संस्कृति आत्मसात् गर्ने गर्छु ।

मेरो सौन्दर्यचेत
कपाल स्वस्थ बनाउन कहिलेकाहीं तेल लगाउँछु । बाहिरबाट मगाइएको सिरम पनि लगाउँछु । फेसियल कहिल्यै गर्दिनँ । ल्यानकम, म्याक, सिसेडो क्रिम लगाउँछु । जारा, डियोर, कोकोसियनललगायत धेरै किसिमका पफ्र्युम प्रयोग गर्छु । स्टिम बस्छु, कहिलेकाहीं साउना पनि बस्छु । धेरै समय बस्न सक्दिनँ ।

मेरो प्रेम
प्रेम बिहेअघि पनि हुन सक्छ र बिहे गरेकै मानिससँग पनि हुन सक्छ । बिहेपछि पनि हुन सक्छ । अहिले पनि मेरो कसैसँग प्रेम हुन सक्छ । बिहेअघि प्रेम गरेको हेक्का छैन । विपरीत लिंगप्रति आकर्षण हुन्थ्यो तर ‘लभ’ होइन । प्रेमको परिभाषा गहिरो हुन्छ तर मानिसले सामान्य रूपमा लिन्छ । प्रेम भनेको ‘नट लाइक ड्याट’ । ‘लभ’ गरेर ‘ट्र्याजिडी’ परेको अनुभव छैन । कसैले कसैलाई मन पराउन सक्छ । के थाहा मेरो ‘लभ’ गर्ने समय आउँदै पो छ कि । हामी एक/अर्कालाई पहिल्यैदेखि चिन्थ्यौं । हामीले ‘लभ’लाई ‘एरेन्ज’मा परिणत गरेका हौं ।

मेरो सपना
संसारभरि भेदभाव देखिन्छ । हिलारी र ट्रम्पबीचको राष्ट्रपति निर्वाचनमा देख्यौं । भेदभाव, वर्गरहित मुलुक बनाउने सपना छ । त्यसोभन्दा म कम्युनिस्ट होइन । म दलविशेषको सिद्धान्त आत्मसात् गरेर हिँडेकी छैन । नेपाल एयरलाइन्स र थाई एयरवेज एकै दिन उडान भर्न थालेको हो भनिन्छ । थाईले संसारभरि उडान भर्छ तर नेपाल एयरलाइन्सले त्यसो गर्न सकेको छैन । नेपालजस्तो देश संसारमै पाइँदैन । विदेश जाँदा नेपालको नागरिकता, पासपोर्ट हेर्दै आदर गर्ने मुलुक होस् भन्ने लाग्छ । नेपाललाई स्वीट्जरल्यान्डजस्तो बनाउन पाए हुन्थ्यो ।

मेरो मृत्यु
मृत्यु सत्य हो । वर्गरहित, भेदभाव र द्वन्द्वरहित समाज देखेर मर्न पाए हुन्थ्यो । मृत्युसँग डर लाग्छ तर त्यति धेरै होइन । मानिसले मृत्यु सँगै बोकेर हिँडेको छ । मर्छु भन्ने थाहा छ । मृत्यु जीवनको सुन्दर पक्ष हो । मेरो मृत्यु यस्तै होस् भन्ने सोचेकी छैन । म धेरैपटक मृत्युनजिक पुगेकी हुनाले पीडाडायी मृत्यु नहोस् भन्ने लाग्छ । आनन्दसँग मन पाए हुन्थ्योजस्तो लागेको छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल