नयाँ शक्ति नेता पासाङ शेर्पाको जीवन : त्यसबेला बालबाल बाचेँ

नयाँ शक्ति नेता पासाङ शेर्पाको जीवन : त्यसबेला बालबाल बाचेँ

कम्युनिस्टले वर्गीयबाहेक जातीय कुरा गर्न मान्दैन,’ काठमाडौंको बबरमहलमा रहेको बाबर्ची रेष्टुरेन्टमा उत्साहित हुँदै केन्द्रीय कार्यकारीणी सदस्य एव्म १ नबर प्रदेश संयोजक  पासाङ शेर्पाले भने, ‘तर, मैले वर्गीय आन्दोलनको कार्यकर्ता भईकन पनि जातीय मुद्दा समातेर जनजाति आन्दोलनमा लागें ।’ एमालेमा रहेर जातीय मुद्दा समात्दा पासाङ शेर्पा सकिए, गोरेबहादुर खपांगीपथमा लागे भन्नेको कमी थिएन । शेर्पा विचलित भएनन् । अन्ततः उनी आफूले समातेको मुद्दाबाट स्थापित भए ।
एमाले छाडेर सामाजिक लोकतान्त्रिक पार्टीमा आबद्ध उनको दल वर्ष दिनअघि नयाँ शक्तिमा विलय भएको थियो । नयाँ शक्तिमा जोडिएका उनले डा. बावुराम भट्टराईको नाम लिँदै खुसी व्यक्त गरे, ‘मैले खोजेजस्तो नेता भेटेको छु ।’ आफूलाई अव्यवस्थित राजनीतिकर्मी भन्ने नयाँ शक्ति केन्द्रीय परिषद् सदस्य पासाङ शेर्पासँग रातोपाटीको मेरो जीवनका लागि नेत्र पन्थी र दीपेन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश :

मेरो खाना

गहुँको ढिँडो र सिस्नु असाध्यै मन पर्छ । घ्यु पटक्कै मन पर्दैन । घरमा खाने ठेगान छैन । घरमा बेलुकामात्रै खाना खान्छु । त्यसैले खानका लागि दैनिकजसो रेष्टुरेन्ट जाने गर्छु । रेष्टुरेन्ट जाँदा फिंगर चिप्स खान बिर्सन्न । पकाउन आउँदैन ।

मेरो पोसाक

प्रायः क्याजुअल पोसाक लगाउँछु । पोसाकमा वार्षिक खर्च १०/१५ हजार रुपैयाँ हुन्छ । धेरैजसो साथीहरूले उपहार दिने गर्छन् । मेरो रोजाइ ‘ब्ल्याक एन्ड ह्वाइट कलर’ हो । पोसाक सिलाएर लगाउने बानी त्यति छैन । कहिलेकाहीं ढाकाटोपी लगाउँछु ।

मेरो फिटनेस

फिटनेससम्बन्धी केही गर्दिनँ । तर, ब्याडमिन्टन खेल्छु । बर्खा लागेपछि स्वीमिङ खेल्छु । मर्निङवाक निस्कने समय ब्याडमिन्टन खेल्ने बानी छ ।

मेरो अध्ययन

पढ्ने त्यति बानी छैन । पार्टीको मुखपत्र पढ्छु । जीवनी पढ्न जाँगर चल्छ । ‘अविराम बावुराम’ पढ्ने सोच बनाएको छु । बीपीको आत्मवृत्तान्त पढेको छु । खगेन्द्र संग्रौलाको लेखनशैलीदेखि प्रभावित छु । यदाकदा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेबाहेक मलाई आलेख लेख्न आउँदैन । अभ्यास गरे पनि लेखाइ राम्रो छैन ।

मेरो घुमफिर

घुमफिरमा रुचि छ । ६० जिल्ला पुगेको छु । जापान, दक्षिण कोरिया, अमेरिका, अस्ट्रेलिया, फ्रान्स, थाइल्यान्डलगायत मुलुक घुमेको छु । घुमेकामध्ये अस्ट्रेलिया गज्जब लाग्यो । राराताल पुग्न पाए हुन्थ्यो भन्ने लागेको छ । र, दामन पनि जाउँजाउँ लागिरहन्छ ।

मेरो फुर्सद

म अव्यवस्थित राजनीतिकर्मी हुँ । व्यक्तिगत जीवन व्यवस्थित छैन । कहिले चार÷पाँच दिन फुर्सदमा हुन्छ, कहिले बिहानदेखि बेलुकासम्म भातपानी खान फुर्सद हुँदैन । खाना खाएको हो कि होइन भन्नेसम्म थाहा हुँदैन । तसर्थ, फुर्सद हुन्छ र हुँदैन पनि ।

कामको पूजा गर्ने भएकाले बिदा लिएर आराम गरौं भन्ने कहिल्यै लाग्दैन । फुर्सद भइहाल्यो भने डाँडाकाँडा घुम्न निस्कन्छु । ‘लङ ड्राइभ’ मा निस्कन मन पर्छ । मेरो कमजोरी भनेकै घरपरिवारलाई समय दिन नसक्नु हो । फुर्सद हुनसाथ घुमफिरमा निस्किहाल्छु ।

२० वर्षपछि चलचित्र ‘छक्कापन्जा’ हेर्न परिवारसहित हलसम्म पुगेको हुँ । तर, परिवारसहित खान रेष्टुरेन्ट गइरहन्छु ।

मेरो खेलकुद

फुटबल असाध्यै मन पर्छ । अनि स्वीमिङ पनि । मैले नबुझेको हकी, क्रिकेटजस्ता खेल मन पर्दैन । हिजोआज पनि फुटबल खेल्ने गर्छु । भेट्रान टिमसँग खेलेको छु । हिजोअस्तिमात्रै ‘नेसनल भेट्रान टिम’ सँग पोखरामा फुटबल खेलेको थिएँ । तर, हारें । राष्ट्रिय खेलाडीसँग स्वीमिङ खेल्छु । राष्ट्रिय खेलाडीसँग ब्याडमिन्टन खेल्ने मौका पाएको छैन ।

घरेलु स्वभाव भएकाले साथीभाइमा संसार देख्छु । फुटबल पनि त्यतिभित्रै खेल्छु । रमाउँछु । तर, विदेशी फुटबल क्लब बार्सिलोना मन पर्छ ।

मेरो मोबाइल
मसँग दुई मोबाइल सेट छन् । दुवै सामसुङ हुन् । एउटा नट फाइभ र अर्को सामान्य हो । नट फाइभलाई ८२ हजार पर्यो भने अर्कोलाई २ हजार ५ सय । मोबाइलमा सामाजिक सञ्जाल धेरै प्रयोग गर्छु । पहिले खेले पनि अहिले मोबाइलमा गेम खेल्न छाडेको छु ।

मेरो टीभी
टीभीमा समाचार, नेसनल जोग्राफी र एनिमल प्लानेट हेर्छु । राति सुत्ने बेला टीभी हेर्ने साइत जुर्छ भने काठमाडौं उपत्यकाबाहिर जाँदा होटलमा बास पर्दा टीभी हेर्ने गर्छु । १ लाख १० हजारमा किनेको कोठामा सामसुङ टीभी छ । साइज निकै ठूलो छ ।

मेरो चलचित्र

पछिल्लो समय हलसम्मै पुगेर ‘छक्कापन्जा’ हेरेको थिएँ । कामविशेषले उपत्यकाबाहिर जाँदा होटलमा बास बस्नुपर्छ । त्यतिबेला समय बिताउन टीभी र टीभीमा आउने फिल्म हेर्नैपर्यो । धेरै पहिले टीभीमा भारतीय फिल्म ‘अशोका’ हेरेको थिएँ ।

छक्कापन्जा, भाउजू र चिनो मलाई अत्यन्तै मन पर्यो । मलाई शारुख खान, राजेश हमाल र करिश्मा मानन्धर मन पर्छ ।

मेरो रोग

ज्यानलाई ठिकै छ । उच्चरक्तचाप र युरिक एसिडले समातेको छ । औषधि सेवन गरेपछि १४०/९० मा झरेको छ । औषधि सेवन नगर्दा १५०÷१०० हुन्छ । अहिलेसम्म एकपटक होल बडी चेकअप डा. युवराज लिम्बूसँग गराएको छु । फुटबल, ब्याडमिन्टन खेल्छु, स्वीमिङ गर्ने भएकाले ज्यान ठीकठाक देखिएको हो ।

मेरो भाषणशैली
सुन्नेले मेरो भाषणशैलीलाई मनपराउँछन् भन्ने लाग्छ । मदन भण्डारीको भाषण सुनेपछि मैले उहाँको शैली नक्कल गरेको थिएँ । आदिवासी जनजाति महासंघ अध्यक्ष भएपछि नेतृत्वमा आएँ । त्यसपछि आफ्नै शैलीको भाषणशैली अपनाएँ । मतलब मेरो भाषण सैद्धान्तिक, साहित्यिक नभएर जनशैलीको हुन्छ । आफूले गरेको भाषण सामान्य मानिसले बुझ्ने हुनुपर्छ भन्ने मान्यता छ ।

भाषण गर्दा विभिन्न कथा जोडेर आफूले भन्ने खोजेको प्रस्ट पार्ने बानी छ भने सञ्चारमाध्यमका लागि समाचारको शीर्षक बन्न सजिलो होस् भनेर ध्यान दिँदै भाषण गर्ने गर्छु । दर्शक/श्रोताको स्तर हेरेर भाषण गर्न मन पराउँछु । मलाई बौद्धिक र आक्रामक दुवै भाषण गर्न आउँछ । बौद्धिक क्षमता त्यो स्तरमा नभए पनि परिआउँदा बौद्धिक भाषण गर्न सक्छु । मसँग भावुक भाषण गर्ने कला पनि छ । कहिलेकाहीं जटिल अवस्थामा बोल्न पर्यो भने एक घन्टाअघि सामान्य तयारी गर्छु नत्र विषयवस्तु थाहा पाए पुग्छ ।

आफूले गरेको भाषणले विवादमा तानिएको छैन तर कहिलेकाहीं मैले बोलेका कुरा तोडमरोड गरेर सञ्चारमाध्यमले गलत ढंगले समाचार शीर्षक बनाइदिँदा विवादमा परेको छु । सामाजिक सञ्जाल प्रयोगकर्ताले समाचारको शीर्षक पढेर प्रतिक्रिया दिने बानी छ । तर, आफैंले गल्ती गरेर सच्याउनुपरेको छैन ।

मेरो मापसे

मापसे कहिल्यै गर्दिनँ । धूमपान, मद्यपानबाट टाढै छु ।

मेरो संगीत

गीत–संगीत धेरै सुन्छु । गायिका अञ्जु पन्त मन पर्छ । लोकदोहोरीमा स्वर्गीय मञ्जु महतको आवाज साह्रै मन पथ्र्यो । नारायणगोपालका अधिकांश गीत गुनगुनाउँछु । लोकदोहोरी पनि त्यत्तिकै गुनगुनाउँछु । गाउँछु । लोकदोहोरी धेरै गाउँछु ।

मेरो भूल

गतिशील मानिसले भूल गर्छन् । म आफूलाई गतिशील ठान्दिनँ तर मैले जति राम्रा काम गरेको छु, त्यति नै भूल पनि गरेको छु । सजाय पाउनेखालको भूल गरेको छैन । विद्यालय पढ्दा मफ्लर लगाउँथें । मिल्ने साथीले मफ्लरलाई श्रीपेच बनाएर लगाए । मेरो मफ्लरलाई श्रीपेच बनाउँदा मलाई झनक्क रिस उठेपछि साथीलाई थप्पड लगाएँ ।

बैठकमा नचाहँदा/नचाहँदै भूल गरें भने आत्मालोचना गर्न कन्जुस गर्दिनँ । राजनीतिक जीवनमा आफ्ना लागि गम्भीर पाइला चाल्दै आएको छु । कम्युनिस्टले वर्गीयबाहेक जातीय कुरा गर्न मान्दैन । तर, मैले वर्गीय आन्दोलनको कार्यकर्ता भईकन पनि जातीय मुद्दा समातेर जनजाति आन्दोलनमा लागें । त्यतिबेला पासाङ शेर्पा सकिए, गोरबहादुर खपांगीपथमा लागे भनेर आरोप लगाए । लगाउनेले आरोप लगाए पनि गर्नेले गाली गरे पनि मैले समातेको मुद्दाबाट म स्थापित भएँ ।
एमाले छाड्दा पनि पासाङ सकिए भने । फड्को मार्न एमाले छाडेपछि आफ्नो विचारसमूहको पार्टी गठन गरें । त्यतिबेला पनि मैले मुलुकमा अब नयाँ अभियान आवश्यक छ, त्यो अभियानमा लागे पनि मैले नेता पाएको छैन भनेको थिएँ । पछिल्लो समय नयाँ शक्तिसँग जोडिएपछि मैले नेता पाएँ भनेर लेखें । मेरो हरेक पाइलामा भन्नेले गलत गर्यो भन्छन् तर मेरो बुझाइमा मैले कहिल्यै गलत गरेको छैन ।

मेरो घर
काठमाडौंमा भाडाको घरमा बसेको छु । ताप्लेजुङको घर बाजेले बनाएका हुन् । चित्राको छाना लगाएको घर हो । काठैकाठले बनाइएको छ ।

मेरो राशी

मेरो नाम शेर्पा भाषाबाट राखिएकाले वृष हुन्छ । तर, ‘पा’ बाट उठेको नाम कन्या राशी हुन्छ । जन्मकुण्डलीअनुसार वृष हो । बुद्धिस्ट धर्मअनुसार घरमा पूजाआजा गर्छु । बिहान बेलुका म आफैं पाठ गर्छु । बुद्धिस्ट धर्मअनुसार विशेषतः तीन किसिमका पाठ हुन्छन् । पहिलो– भगवान्लाई प्रार्थना गर्ने, दोस्रो– मन पवित्र होस्, नराम्रो नसोचौं भन्ने पाठ र तेस्रो– मञ्जुश्रीको पाठ हुन्छ । म तीनै पाठ गर्छु । मञ्जुश्री सम्झेर पाठ गर्यो भने आफूले बोलेको अरूले मन पराउने, तर्क क्षमता वृद्धि हुने, शत्रु नाश गर्ने विश्वास गरिन्छ ।

मेरो सौन्दर्यचेत

कपालमा जेल लगाउँदै आएको छु । अनुहार राम्रो भएकाले केही लगाउँदिन । साउना र स्टीममा धेरै बस्छु । सातामा चार/पाँचपटकसम्म बस्ने गरेको छु ।

मेरो प्रेम
विद्यालयतहमा पढ्दा मभन्दा एक कक्षा तल पढ्ने बहिनीलाई साह्रै मन पथ्र्यो । मैलेमात्रै मन पराउँथे । मन परे पनि उसलाई भन्न सकिनँ । भन्न नपाई विद्यालयतहको कक्षा सकियो । त्यसपछि उनलाई आजसम्म भेटेकै छैन ।
भेट नभए पनि उनको सम्झना धेरै आउँछ । विद्यालय जीवन सम्झँदा उनलाई सम्झन्छु । ताप्लेजुङ सदरमुकाम फुङलिङ पुग्दा आफू पढेको विद्यालय देख्दासमेत उनलाई झल्झली सम्झन्छु ।
पहिलो मागी र दोस्रो प्रेम विवाह गरेको हुँ । पहिलो श्रीमतीको निधनपछि दोस्रो बिहे गरेको हुँ । पहिलो श्रीमतीबाट चार छोराछोरी भए । प्रेमलाई मागीमा रूपान्तरण गर्दै दोस्रो बिहे गरेको हुँ ।

मेरो सपना

म पुगेको छैन तर स्वीट्जरल्यान्डबारे धेरै सुनेको छु । नेपालसँग पनि मिल्दोजुल्दो छ । सिंगापुर घुमेको छु । स्केन्डिभियन कन्ट्री पनि सानो र भूपरिवेष्ठित नै हुन् । नेपाललाई पनि उल्लिखित मुलुकजस्तो बनाउने पाए हुन्थ्यो भन्ने लाग्छ ।
मेरो विचारमा सिद्धान्त भनेका साम्यवाद र पुँजीवादमात्रै हो । दुई विचारले मात्रै राजनीति टिकेकोजस्तो लाग्छ तर होइन रहेछ । संसारमा यस्ता पनि मुलुक छन्, जसले न साम्यवादलाई मान्छ न पुँजीवादलाई, त्यस्ता मुलुकका मानिस धेरै खुसी र सुखी छन् । त्यसैले साम्यवाद र पुँजीवाद बेकारको सिद्धान्त हो कि जस्तो लाग्छ ।

म कामलाई विश्वास गर्ने भएकाले पदीय भूमिकाप्रति लोभ छैन । ताप्लेजुङ उत्तरी क्षेत्र हिमाली दृश्यावलोकन गर्ने र पश्चिम क्षेत्र जैविक विविधतायुक्त पर्यटकीय क्षेत्र बनाउने सपना छ । तल्लो भागमा जडीबुटी खेती गरेरै समग्र जिल्लाको विकास गर्न सकिन्छ ।

मेरो मृत्यु

मृत्युप्रति त्यति संवेनशील छुइनँ । मृत्यु सामान्य कुरा हो । मृत्युलाई संवेदनशील ठान्नुभयो भने गन्तव्य पहिल्याउन गाह्रो हुन्छ । मृत्यु सोच्दा पनि सोच्दिनँ । मृत्युसँग डराएर छल्न पनि सकिँदैन । मोटरसाइकलमा गुड्दा धेरैपटक दुर्घटनामा परेको छु । मुग्लिनमा मेरो कारसँग ट्रक ठोक्किएको थियो । त्यतिबेला मृत्युलाई नजिकबाट नियालेको थिएँ । बालबाल बचेँ ।
काठमाडौंबाट नयाँदिल्ली जाँदा हावाको भुमरीमा पर्दा विमान धेरै हल्लिएको थियो, त्यतिबेला पनि मृत्युलाई नजिकबाट नियाल्न पाएको थिएँ । त्यतिखेर मरिन्छ कि जस्तो लागेको थियो । घरपरिवास सम्झें । मेरो मृत्यु यस्तै होस् भन्दिनँ तर मलामी धेरै आओस् भन्ने लोभ छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल