अमेरिकामा नेपाली प्रदर्शनीका लागि स्टल बुकिङ्ग जारी

७ जेठ

अमेरिकामा नेपाली प्रदर्शनीका लागि स्टल बुकिङ्ग जारी

काठमाडौं – नेपाली बस्तुको न्यूयोर्कमा हुने प्रदर्शनीका लागि स्टल दर्ता जारी छ । आगामी सेप्टेम्बर ३० देखि अक्टुबर २ सम्म हुने ‘नेपाल एक्जिबिसन एण्ड ईन्टरनेशनल ट्रेड शो’ का लागि विभिन्न नेपाली बस्तु उत्पादन कम्पनीले अनलाईनमार्फत स्टल बुकिङ्गका लागि आवेदन दिइरहेका छन् ।

विश्वबजारमा नेपाली उत्पादनको प्रवद्र्धन तथा नेपाल र अमेरिकाबीच व्यापार विस्तारका लागि नेपालीको संस्था वल्र्ड बिजनेशस म्यानेजमेन्ट एण्ड कन्सल्ट्याण्ट एलएलसीले मेला आयोजना गर्न लागेको हो ।

मेलाका लागि अहिलेसम्म डेढसय कम्पनीले दर्ताका लागि आवेदन गरेको आयोजकले बताएको छ । ‘रजिष्ट्रेसनका लागि आवेदन गर्ने क्रम तीब्र भएपछि व्यवस्थीत गर्न एकजना बोर्ड अफ डाईरेक्टर नेपाल पुगिसक्नुभएको छ भने प्रमोसनल डाईरेक्टर पनि नेपालमा हुनुहुन्छ’ एलएलसीका अध्यक्ष बुद्धि प्रसाद रेग्मीले रातोपाटीसँग भने ।

मेलामा नेपाल तथा विश्वभर रहेका ३ सय ५० भन्दा बढी उद्योगी व्यवसायीले सहभागिता जनाउने आयोजकको भनाई छ । नेपाल र अमेरिकाबीच व्यापार विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको व्यापार मेलामा ७० प्रतिशत नेपालभित्रका र ३० प्रतिशत नेपाल बाहिरका उद्योगी व्यवसायी सहभागी हुने जनाइएको छ ।

यो मेला विश्वबजारमा अहिलेसम्म भएका नेपाली सामानको प्रदर्शनीमध्ये अहिलेसम्मकै ठूलो प्रदर्शनी रहेको रेग्मीले बताए । ‘अहिलेसम्म नेपालीहरुले नै निजी क्षेत्रबाट अन्तराष्ट्रिय बजारमा यति ठूलो प्रदर्शनी गरेको जानकारीमा आएको छैन’ उनले भने, ‘अमेरीकामा हामीले यो काम सफल गर्न सक्यौँ भने नेपालीहरुले विश्वबजारमा आफ्नो प्रदर्शनी गर्ने र बजार निर्माण गर्ने खुट्कीलो हुन्छ ।’

भिसा सहज बनाउन छलफल तीब्र

मेलाका लागि नेपाली आवेदन गर्नेको क्रम बढेसंगै आयोजकले भने उनीहरुलाई भिसा प्रकृया सहज बनाउन अमेरिकामै छलफल तीब्र पारेको छ । गएको एक हप्ता विभिन्न राज्यका विभिन्न निकायमा छलफल चलाएको बोर्ड अफ डाइरेक्टर संजय थापाले बताए । ‘आवेदन दिनेमध्ये कतिपयको त भिसा छ, तर केहीको छैन’ उनले भने ‘त्यसैले उनीहरुको भिसाका लागि विभिन्न राज्यका सिनेटर, गभर्नर र कँग्रेसम्यानहरुलाई भेटघाट तीब्र पारिएको छ ।’

आयोजक एलएलसिका अध्यक्ष रेग्मी, सञ्चालक सदस्य थापा र कार्यकारी निर्देशक अमृत कँडेलले विभिन्न राज्यमा पुगेर छलफल चलाएका हुन् । क्यालिफोर्निया राज्यको सिनेटर डायना फिनेस्टाईनसंग मेलाको विषयमा समन्वयका लागि छलफल गरीएको छ । त्यस्तै मेरील्याण्डको सिनेटरको अफिस, कोलोराडो राज्यको कंग्रेसम्यान संग पनि कुरा गरीएको अध्यक्ष रेग्मीले बताए ।

पेन्सनभेनिया र मेरील्याण्डको अवैतानिक महावाणिज्य दुत प्रेमराजा महतको संयोजनमा ती राज्यमा पनि विभन्न निकायसंग छलफल गरेको छ । संस्थाले बाल्टिमोर, भर्जिनिया र डिसिल्याण्ड वरीपरी बस्ने नेपाली संघ संस्थासंग पनि मेला सफल बनाउने विषयमा छलफल गरेको छ । छलफलमा चितवनका सांसद रामकृष्ण घिमिरे सहभागी थिए ।

मेरिल्याण्ड राज्यमा यूएसएआईडिमार्फत नेपालमा प्रजातन्त्र व्यवस्थापन र पूनर्निमार्णको काम गर्ने ‘नेपाल रिकभरी एक्ट’ पारित गर्नका लागि छलफल चलिरहेकोले त्यसका विषयमा पनि पनि सिनेटर कार्यालय र विभीन्न काँग्रेस म्यानहरुसंग छलफल भएको थियो । उक्त ऐन पारित भएमा नेपालमा नेपालको पूनर्निमाणका लागि ठूलो सहयोग पुग्ने भएकोले सो मार्फत समन्वयका लागि छलफल गरीएको रेग्मीको भनाई छ ।

पहिलो एकहप्ताको यात्रा अमेरीकाका विभीन्न ठाउँमा सकेर न्यूयोर्क फर्केको र अव भोलीदेखि विभीन्न निकायमा छलफलका लागि जाँदै गरेको रेग्मीले बताए ।

मेला सम्पन्न भएपछि नेपाल–अमेरिका बीचको व्यापारमा नयाँ युगको सुरुवात हुने अध्यक्ष रेग्मीले बताए । एलएलसीले काठमाण्डौमा उद्योगमन्त्री लगायत सरोकारवाला नियकालाइ यसबारे जानकारी गराइसकेको छ । नेपालबाट अमेरिका निर्यात हुने विभिन्न वस्तुहरुमा हालै अमेरिकाले भन्सार छुट दिएको उल्लेख गर्दै रेग्मीले त्यसको उचित फाइदा लिन मेला फलदायी हुने बताए ।

‘हामीले यस्तो महत्वपूण बेलामा यो अवसर सिर्जना गरेका छौँ कि फेब्रुअरी २५ मा अमेरीकी राष्ट्रपतिले नेपाली ६६ वस्तुहरु नेपालबाट अमेरीका ल्याउँदा भन्सार नलिने एउटा सन्धिमा हस्ताक्षर गर्नुभएको छ’ उनले भने ‘यो आजको लागि मात्र होईन १० वर्षको लागि हो, त्यसैले अमेरीकामा हामीले यो काम सफल गर्न सक्यौँ भने नेपालीले विश्वबजारमा आफ्नो प्रदर्शनी गर्ने र बजार निर्माण गर्ने खुट्किलो हुन्छ ।’

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल