लोकगायक कुमार बस्नेतको अनुभवः उनीहरूकै भाषाको गीत सुनाउँदा माओ र किम इल सुङ दंग परे

लोकगायक कुमार बस्नेतको अनुभवः उनीहरूकै भाषाको गीत सुनाउँदा माओ र किम इल सुङ दंग परे

कुमार बस्नेत नेपाली लोकगायनमा चर्चित नाम हो । जीवनको ७२ वसन्तमा हिँडिरहेका उनले रातोपाटीमार्फत आफ्नो गिती–यात्राका केही महत्वपूर्ण सम्झना बाँडेका छन्ः

लोकगीतको भोक
काठमाडौं कमलपोखरीमा जन्मिए पनि बाल्यकालको केही समय पुख्र्यौली घर दोलखाको मकैबारीमा बित्यो । बुबा सरकारी जागिरे, काठमाडौंमै बस्नुहुन्थ्यो । आमाचाहिँ अक्सर दोलखामै बस्नुहुन्थ्यो । गाउँको खुल्ला वातावरण, साथीसंगत र मेलापातले लोकगीत र नृत्यमा रस बस्यो । विद्यालय भर्नाको उमेर घर्कनै लागेपछि आमाले पढ्न भनेर काठमाडौं पठाउनुभयो । kumar basnet (1)
स्कुल पढ्दाताका नै त्यतिबेलाको चर्चित सांस्कृतिक टोली भैरव नृत्य दलमा सामेल हुने मौका पाएँ । मेरो राम्रो नृत्यलाई सह्राउँदै दलमा सामेल गरिएको थियो । केही बर्ष भैरव दलको कार्यक्रममा सक्रिय भएपछि बुबाको सरूवा तौलिहवा भयो । त्यहाँ त कसैले पनि नेपाली गीत गाउँदैनथे । रेडियोमा नेपाली गीत सुन्दा आनन्द लाग्थ्यो । र, मलाई नेपाली गीतको कति महत्वपूर्ण रहेछ भन्ने थाहा भयो ।
पछि, नाटककार बालकृष्ण समको सिफारिसमा कार्यक्रमका साथ भारतका विभिन्न स्थानमा जाने मौका पाएँ । त्यहाँ त विभिन्न बाजा प्रचलनमा थिए– गितार, मेन्डोलिन, भ्वाइलिन, ड्रमसेट आदि । हाम्रोमा थिएन । मैले ती बाजा सिकें र त्यसैको तालमा नेपालकै पहिलो ‘रक एण्ड रोल’ गीत गाएँ । त्यसको बोल थियो– ‘दिउँला, यो जोवन तिमीलाई दिउँला ।’ गीतले बजार चर्चा पायो । तर त्यहाँका विभिन्न दुतावासका मान्छेले भने, ‘यस्तो गीत त हाम्रो देशमा जति पनि गाइन्छन् । तिम्रो आफ्नो मौलिक गीतचाहिँ गाऊ न !’
त्यो कुराले मलाई छोयो । त्यसपछि म नेपाली लोकगीतको खोज्नतिर लागेँ ।kumar basnet (2)

अपरिचित आमाको गीत
मैले दोलखामै छँदा गीतको एउटा टुक्रा सुनेको थिएँ– कुखुरा काटी भोग दिउँला कालिन्चोके माई ।
त्यसको भाका मन परेको थियो । तर गीत विस्तार गर्न सकिरहेको थिइनँ । एक दिन दोलखाबाट काठमाडौं फर्किंदै थिएँ । बलेफी नजिकै आइपुग्दा मध्यदिन भइसकेको थियो । निकै भोक लाग्यो । त्यसैले एउटा घरमा गएर सोधेँ, ‘साह्रै भोक लाग्यो । केही खान दिनुस् न ।’
‘हामीले त खाइसक्यौं । तेरो लागि छुट्टै पकाएर खान दिने कुरा भएन । पिठो दिन्छु, पकाएर खान्छस् त ?’, त्यस घरकी आमाले भन्नुभयो ।
उहाँको कुरा सुनेर मलाई अचम्म लाग्यो । एक्लै ढिँडो मस्काएर खान पनि मन लागेन । सोधेँ, ‘ढिँडो त के पकाउनु यतिबेला, अरू खानेकुरा केही छैन र ?’
‘के खान्छस् त ? छ्या¬ङ खान्छस् ?’
‘हुन्छ’, मैले भनें ।
उहाँले एक डबका छ्याङ् दिनुभयो । त्यो सिनित्त पारेपछि आँगन–डिलको पर्खालमा ओछ्याएको गुन्द्रीमा आराम गरें । छ्याङ्ले रमरम लागेपछि गीत गुन्गुनाउन थालेछु– कुखुरा काटी भोग दिउँला कालिन्चोके माई ।
निकैपटक त्यहीमात्रै गीत भनेको सुनेर आमाले भन्नुभयो, ‘धत्, के गीत गाइरहेको त्यस्तो ?’
‘हँ’, मैले झसंग भएर भनें, ‘अनि के त आमा ?’
आमाले गीत सुनाउनुभयो–
‘कुखुरा काटी भोग् दिउँला कालिन्चोके माई
छोरी दिने सासुलाई मोहोर राखी ढोग् दिउँला कालिन्चोके माई’
आमाको गीत सुनेपछि त म फुरुंगै भएँ र ‘जय होस्’ भनेर ढोगें । गीत बनिहाल्यो । त्यो गीत चर्चित भयो । मलाई चिनायो पनि ।kumar basnet (4)

बहुलाहा लप्टनको ‘ओइ नाना’

दोलखातिरको लप्टन थियो । मुद्दा हारेर हो कि, के भएर हो बहुलाजस्तो भएर ज्ञानेश्वरको पाटीमा बस्थ्यो । एक रात दश बजेतिर घर फर्किदै गर्दा उसले मीठो गीत गाइरहेको सुनेँ । मैले नजिकैको पसलबाट चिया र बिस्कुट किनेर उसलाई दिएँ । र, भनें, ‘ल, अघिको गीत गाऊ त ।’ उसले गायो, ‘ओइ नाना, ओइ नाना ।’
मलाई असाध्यै राम्रो लाग्यो । उसले गीत गाउँदै गर्दा चुरोटको बट्टामा शब्द टिपें । नजिकै कलाकार साथी कोकिल गुरुङको घर थियो । उहाँकोमा गएँ र रातभरि गाएर गीत बनाएँ । त्यहाँ दिदी गंगा गुरूङले भन्नुभयो, ‘मेरो अगाडि के गीत गाइरहेको ?’
उहाँलाई मैले हाँस्दै सोधें, ‘अनि के तपाईंलाई पनि गाउन मन लाग्यो ?’
उहाँले गाउने इच्छा प्रकट गर्नुभयो । हामीले नाचघरमा त्यो गीत गायौं । निकै चर्चित भयो ।

माओलाई पनि सुनाइयो गीत

०२२ सालदेखि चाहिँ नाच्न छाडेर गीतमात्रै गाउन थालेँ । त्यसअघि पनि धेरै गीत गाइसकेको थिएँ । ०१४ सालतिरै ‘धानको बाला झुल्यो हजूर देशै रमाइलो’ भन्ने गीत गाएँ । ०१९ सालमा भारतको सप्रो हाउसमा गीत गाउँदा निकै चर्चा भएको थियो । त्यतिबेला नातिकाजी, पुष्प नेपालीलगायतले हार्मोनियम बजाएर गीत गाउनुहुन्थ्यो । मैले भने डम्फू बजाउँदै नाच्दै गाएँ । भोलिपल्ट त म बसेको ठाउँमा दशौं हजार स्रोता अटोग्राफ लिन आएका थिए । मैले अटोग्राफ दिन नै भ्याइनँ । त्यो चर्चा सुनेर दूरदर्शन टेलिभिजनले मलाई गाउन बोलाएको थियो । kumar basnet (5)
मैले विश्वचर्चित धेरै नेतालाई गीत सुनाउने मौका पाएँ । तत्कालिन भारतीय प्रधानमन्त्री जबहरलाल नेहरू नेपाल आउँदा मैले गीत गाएको थिएँ । उनले ‘अच्छा कुमार, अच्छा’ भनेर थपथपाएको सम्झना छ । त्यस्तै क्विन एलिजाबेथलाई पनि गीत सुनाएको थिएँ । भारतका धेरै कलाकारलाई भेट्ने मौका पनि गीतले नै जुरायो ।
सन् १९६५ मा सरकारको ‘अफिसियल’ कार्यक्रममा चीन लगिएको थियो । त्यतिबेला माआ–त्से–तुङलाई भेट्ने र गीत सुनाउने मौका पाएँ । त्यतिबेला चिनियाँ भाषामै गीत गाएर सुनाउँदा माओ दंग परेका थिए । त्यस्तै पछि उत्तर कोरियामा जाँदा राष्ट्रप्रमुख किम इल सुङलाई कोरियन भाषामै गीत सुनाएको थिएँ ।

नेपाल चिनाउने ध्याउन्न

मैले विश्वका धेरै देशमा जाने मौका पाएँ । जहाँ गएपनि नेपाललाई चिनाउने ध्याउन्न हुन्थ्यो मेरो । यस सन्दर्भमा जर्मनीको यात्रा सम्झन्छु । सन् १९७४ मा हामी ‘इन्टरनेसनल फोक डान्स फेस्टिभल’ मा भाग लिन भैरवबहादुर थापाको नेतृत्वमा जयनन्द लामा, मिरा राणालगायत १९ जना जर्मनी गएका थियौं । एक सय १२ देशका सहभागी कलाकार त्यहाँ जम्मा भएका थिए ।
नेपालको प्रस्तुति संयोजनको जिम्मा मलाई आयो । त्यत्रा कलाकारबीच नेपाललाई कसरी चिनाउने भन्ने चिन्ता मलाई पर्यो । सबैभन्दा फरक प्रस्तुति गरेरमात्रै सबैबिच चिनिन सकिन्छ भन्ने मेरो मनमा थियो । त्यतिबेलै एउटा गीत सम्झें–
हाई हाई सानोमा सानुमा सानु शिर सानु सानुमा सानु
हाई हाई सकिनँ मैले बिर्सनु, सकिनँ मैले
हाई हाई गहुँबारीमा बसेर, गहुँबारीमा
हाई हाई चोलोको जु्म्रा हेरेको, चोलोको जुम्रा
सोचें– यसको शब्दले पनि सबैलाई आकर्षण गर्छ । ‘हाई’ भन्ने शब्द त जता पनि प्रचलित छ । टिप्न सजिलो पनि हुन्छ ।
मैले त्यही गीत प्रस्तुत गर्ने निर्णय साथीहरूलाई सुनाएँ । उहाँहरू पनि सहमत हुनुभयो । मिरा राणा र मैले गीत गायौं । ओहो ! मेरो तरिकाले काम गर्यो । हाम्रो प्रस्तुति त पहिलो बन्यो । छुट्ने बेला रेल–वे स्टेशनमा त्यहाँ सहभागी हज्जारौं कलाकारले त्यही गीत गाए । त्यतिबेला मेरो आँखाबाट खुशीको आँशु तरर झर्यो । त्यो क्षण म कहिल्यै बिर्सन्नँ ।

गीतको गुणस्तर खोजी

एकदिन कवि श्यामदास वैष्णवले भन्नुभयो, ‘यही पाराले तिमीहरू कलाकार भएर बाँच्न सक्दैनौ । तिमीहरूको गीत पनि चल्दैन ।’
मैले सोधें, ‘किन र ?’
उहाँले भन्नुभयो, ‘भारत, अमेरिकाको संगीत सुन । त्यसको तुलनामा हामी कहाँ छौं ? त्यसैले संगीतमा मादल, मुर्चुंगा, सारंगी, डम्फूमात्रै भनी बसेर हुँदैन ।’
उहाँको कुरा ठिक लाग्यो । त्यसको केही समयपछि गीत रेकर्ड गर्न कलकत्ता गएँ । त्यहाँ हेरेको त धेरै पुरानो प्रविधिको टेप पो प्रयोग हुँदोरहेछ, हातैले घुमाउनुपर्ने । त्यो तुलनामा त रेडियो नेपालमा निकै आधुनिक टेप थिए । उनीहरूले त्यस्तैमा रेकर्ड गर्दा पनि बेपत्तै राम्रो आउँथ्यो । हाम्रोमा नहुने । त्यसपछि मैले वैष्णवले भनेको अझ राम्ररी बुझें । त्यसपछि लोकगीत गाउने साथीभाइहरूलाई बोलाएर भनें, ‘गीत नेपालीपनले गाऔं । नेपालीपनले बजाऔं । तर बाजा प्रयोगलाई विस्तार गरौं ।’
त्यसपछि नेपाली गीतको गुणस्तरमा आकास–जमिनको फरक आयो ।

गीत संकलनमा दुःखै बढी

लोकगीत लोकजीवनको सम्पदा हो । त्यहीँबाट संकलन गर्ने हो । तर अहिले निकै गाह्रो छ । मैले धेरै गीत संकलन गर्न सकें । यस सन्दर्भमा आफूलाई भाग्यमानी ठान्छु ।
मैले गाएका हरेकजसो गीत चर्चित भए । केही गीत गाउँदै मलाई धेरैले चिनिसकेका थिए । गाउँका मानिसले असाध्यै माया गर्थे । ढोका बनाएर स्वागतसमेत गर्थे । कतिपय बेलामा राजपरिवारको भ्रमण हुन्थ्यो । हामीलाई पनि गीत गाउन लगिएको हुन्थ्यो । त्यस्तोबेला राजपरिवारतिरभन्दा मतिर जनता उल्टिएर आएको सम्झन्छु । कारण, म साधारण मान्छे थिएँ । कोदाको ढिँडो र गुन्द्रुक खान्थेँ । डाँडाकाँडा सहजै चढ्थेँ ।
त्यस्तो बेला म गीत सुनाउँदैनथेँ मात्र, उनीहरूबाट पनि सिक्थेँ । बीरेन्दसँग सुर्खेत गएको बेला मैले त्यहीँको भाका टिपेर ल्याएँ–
‘सुर्खेतको सालीना बुलबुले ताल,
मन तरुनो सालीना ज्यान बूढो यो साल’
गीत संकलनका लागि मलाई त केही सुविधा थियो । सञ्चय कोषमा जागिर थियो । अफिसबाट ‘टिएडिए’ पाउँथेँ । तैपनि गीत संकलन सजिलै हुँदैनथ्यो । कति दिन खानै पाइदैनथ्यो । कसैले गाएको गीत मन पर्यो भने त्यसको भाका टिप्न समय लाग्थ्यो । उसलाई त्यत्तिकै बारम्बार गाउन लगाउन पनि गाह्रो हुन्थ्यो । उसको फुर्सद, मूड मिल्नुपथ्र्यो । त्यसको लागि पैसा पनि खर्च गर्नुपथ्र्यो । कतिलाई रक्सी खुवाउनुपथ्र्यो । कतिलाई खाना नै खुवाउनुपथ्र्यो । साथी बन्नुपथ्र्यो । कति ठाउँमा त्यसरी बस्दा पैसा सकिन्थ्यो । कति ठाउँमा गाई चराइदिएर, घाँस काटिदिएर पनि गीत सिक्नुपर्यो ।
अहिले त लोकगीत संकलन झनै गाह्रो छ । पुराना मान्छे मरेर गइहाले । नयाँ पुस्ताले रेडियोमा जुन गीत आउँछ, त्यहीमात्रै गाउँछ । त्यसैले महिनौं डुल्दा पनि एउटा गीत पाउन गाह्रो छ ।

गीत यात्राका थक्क–थक्क

गीत खोज्न जाँदाको दुःख त एउटा कुरा, गीत खोजेर फर्किसकेपछि थक्क–थक्क लागेका घटना पनि निकै छन् ।
एउटा घटना सम्झन्छु– सिन्धुपाल्चोकको कोदारीमाथि डाँडाको गाउँमा गीत संकलन गर्ने सोचले पुगेको थिएँ । त्यहाँ मैले ‘काठमाडौकी नेवार्नी’ बोलको गीत सिकेँ । शब्द र भाका टिप्न केही दिन बस्नुपर्यो । त्यही घरमा बास बसेँ । कोदाको ढिडो र रायोको साग खाएँ । मसँग पैसा सकिइसकेको थियो । अन्तिममा दुःख पोखेँ, ‘यति दिन बसेँ, तर मसँग दिनलाई केही पनि छैन । के गर्ने होला ?’
त्यसबेला त्यो घरकी भाउजूले भनेकी थिइन्, ‘केही छैन बाबु, फेरि आउँदा कपालमा लगाउने किलिप र लालबम चुरा ल्याइदिनू न काठमाडौँबाट । साह्रै रहर ला’को छ लाउनलाई ।’
म ‘हुन्छ’ भनेर उम्किएँ । तर त्यहाँ कहिल्यै पनि फर्केर जान सकिनँ । गीत ल्याएर गाएँ, चर्चित पनि भयो । तर ५० रुपैयाँको कुरा पनि दिन सकिनँ । थक्क–थक्क लाग्छ । kumar basnet (6)
त्यस्तै गीत रेकर्ड गर्न जाने बेलाको घटना सम्झँदा पनि थक्क–थक्क लाग्छ । कलकत्ता गति रेकर्ड गर्न गएको थिएँ । मैले ‘भ्वाइस टेस्ट’ दिएको थिइनँ । गायक हो भन्ने अरू कुनै प्रमाण पनि थिएन । रेकर्ड गर्ने संस्था ‘हिज मास्टर्स भ्वाइस’मा सोधियो, ‘तिमी गायक हो भनेर हामी कसरी पत्याउने ?’
आफ्नो स्तर कायम गर्न सोधिनु पनि स्वाभाविक थियो । तर मसँग कुनै प्रमाण थिएन ।
त्यसपछि बुद्धि लडाएँ । सोधें, ‘यहाँ काम गर्ने नेपाली छन् कि छैनन् ?’
‘छन्’, उनीहरूले भने ।
‘त्यसो भए उनीहरूलाई अगाडि राख्नुस् । म मेरा गीत गाउँछु । उनीहरूले हो भनेमात्रै मलाई गीत गाउन दिनुस् न त ।’
उनीहरूले सर्त माने । त्यसपछि नेपालीलाई बोलाए । मैले ‘ओई नाना’ गीत गाइदिएँ । त्यसपछि त सबैले ‘यो त चर्चित गायक हो’ भनेर भनिदिए । मैले गीत रेकर्ड गर्न पाएँ ।
तर मैले रेकर्ड गरेको गीत न उनीहरूलाई सुनाउन पाएँ । न पछि भेट्न जान नै सकेँ । सार्वजनिक जीवन हुँदा यस्ता भावनात्मक कुरामा चाहिँ थक्क–थक्क लाग्ने घटना हुँदा रहेछन् ।

उसै त थोरै कमाइ, त्यहीँमाथि खाइदिने !

मैले गीत रेकर्ड गर्दा धेरै पैसा खर्च गरें । गीतमा खर्च गरेको पैसा जोड्ने हो भने अनामनगरको सबै जग्गा मेरो हुन्थ्योजस्तो लाग्छ ।
उसै त जागिरे जीवन अभावै–अभाव थियो । हामी ठट्टा नै गथ्र्यौं, ‘महिलाको दश गतेसम्म पूँजीवादी, २० गतेसम्म समाजवादी, ३० गते पुग्दा त साम्यवादी !’ त्यसमा पनि म गीत रेकर्डमा पैसा सक्थेँ । कहिले त डेराभाडा तिर्न पनि हम्मे हुन्थ्यो ।
मैले गीत गाउन सुरु गर्दाताका एउटा गीतको सात रुपैयाँ दिन्थ्यो रेडियो नेपालले । त्यो पनि हामीलाई दिँदैनथे । त्यहीँका कर्मचारीले खाइदिन्थे ।
सञ्चय कोषमा जागिर खानुअघि म नेपाल बैंकमा थिएँ । एक दिन रेडियो नेपालको लेखापाल पैसा साट्न आयो । रूबी जोशी पनि त्यहीँ हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, ‘ए कुमार, चेक त तेरो नामको पनि छ, मेरो नामको पनि छ त !’
उसलाई पाले लगाएर समात्यौं । तर पछि उसको जागिर नै जाला भनेर त्यत्तिकै छाडिदियौं । त्यसरी खाइदिन्थे पैसा ।
अहिले पनि रेडियो नेपालले कलाकारलाई सम्मानपूर्वक ‘रोयल्टी’ दिन सकेको छैन । यो नेपाली कलाकारको दुःख हो । त्यसैले मैले यस बिषयमा संस्थागत रूपमा लडाइँ गरेँ । अहिले नियम त बनेको छ । तर कार्यान्वायन उस्तै छ ।

कलाकारको दुःखै चर्कोkumar basnet (7)

असाध्यै दुःख झेलेर पनि नेपाललाई चिनाउन लागि पर्ने कलाकारलाई राज्यले नचिनेको देख्दा मलाई निकै दुःख लाग्छ । गरीबीमै गायक लालबहादुर खातीको निधन भयो । लोग्नेको लास जलाउन नसकेर उहाँकी श्रीमतीले पशुपतिमा खास्टो ओछ्याएर चन्दा मागेर लास जलाउनुपर्यो । झलकमान गन्धर्व ‘मैले खान पाइनँ, मलाई बचाऊ’ भन्दै हुनुहुन्थ्यो मैले रेडियो नेपालमा भेट्दा । त्यतिबेला म रेडियो नेपालको अध्यक्ष पनि थिएँ । उहाँको कुरा सुनेर मलाई आँखाबाट आँशु आयो । उहाँ पोखराबाट काठमाडौं आउँदा मैले हेरविचार पनि गरेँ । तर चित्त दुख्दो कुरा, म अमेरिकामा गएको उहाँको निधन भयो । उहाँले भनेको कुरा अहिले पनि कानमा गुञ्जिरहन्छ ।
वास्तविक कलाकारको अवस्था अहिले पनि उस्तै छ । कसैले मान मर्यादा गर्दैनन् । दुई पैसाको मानिस ठान्दैनन् । हाम्रोमा राजनीति बढी भयो, सबै सत्ताको पछि लागे । गीतसंगीतजस्तो संसारमै परिचय दिन सकिने क्षेत्रलाई वेवास्ता गरिएको छ । यो सम्झँदा दुःख लाग्छ ।

कुमार बस्नेत त कति–कति !

जीवनमा अनेक संघर्ष गरियो, दुःख भोगियो । तर आफ्नै मनले भनेको सुनियो र गाइने बनियो । त्यसैले दुनियाँले चिनेको छ । यसैमा खुशी छ । नत्र त कुमार बस्नेत त कति छन् कति नै ।
एकपटक मलाई इलाम, फिक्कलमा सम्मान गर्ने कार्यक्रम राखिएको थियो । त्यसैदिन कान्तिपुरमा समाचार आएछ, ‘बौद्ध बस्ने कुमार बस्नेतलाई आफ्नै घरमा पाँच सय र हजारका नक्कली नोट बनाउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।’
दिउँसो कार्यक्रममा जाँदा त सबै मेरो मुखमा हेरेर खासखुस गर्छन् । त्यसपछि मैले कार्यक्रममै भन्नुपर्यो, ‘त्यो कुमार बस्नेत को हो थाहा छैन । तर मचाहिँ गाइने कुमार बस्नेत हुँ हजूर । मलाई त्यस्तो काम गर्नुपरेको छैन ।’
यता काठमाडौं आउँछु, सोध्छन्, ‘तपाईं कहिले छुट्नुभएको ?’
म स्पष्टिकरण दिँदा–दिँदा हैरान भएँ ।
त्यस्तै अर्कोपटक कान्तिपुरमा कुमार बस्नेतको बुबाको श्रद्धाञ्जली छापिएछ एक पेज नै । मान्छेहरू मलाई पो फोन गरेर भन्छन्, ‘तपाईंको बुबा बित्नुभएछ । दुःख लाग्यो ।’ मेरो बुबा जिउँदै हुनुहुन्थ्यो, तर मानिसहरूले मलाई समवेदना दिइरहेका थिए ।
यी घटनाले पनि भन्छन्– कुमार बस्नेत धेरै छन् । मैले आफूलाई अरूभन्दा केही फरक बनाएको छु भन्ने सोच्छु र गर्व लाग्छ । यही खुशीले अहिले पनि सक्रिय छु ।

प्रस्तुति : कला अनुरागी
तस्बिर : अशोक दुलाल

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल