कतारलाई एक्ल्याइँदाका यस्ता छन् पाँच असर

कतारलाई एक्ल्याइँदाका यस्ता छन् पाँच असर

बीबीसी / साइमन एत्किन्सन

जेठ २३ – साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स, लिबिया, यमन र माल्दिभ्सले कतारसँगको कूटनीतिक सम्बन्धको अन्त्य गरेका छन् ।

तर यसले कतारको अर्थतन्त्र र त्यहाँ व्यवसाय गरेर बसिरहेकामाथि कस्तो असर पुर्याउला ?

अरेबियन प्रायद्वीपको उत्तर पूर्वी तटमा रहेको २७ लाख जनसंख्या भएको उक्त देश विभिन्न कारणवश संसारसामू परिचित छ ।

कतार आफ्नो राष्ट्रिय एयरलाइन्स (कतार एयरवेज), अन्तर्राष्ट्रिय समाचार स्टेशन (अल जजिरा) का कारण चर्चित छ । पछिल्लो समयमा सन् २०२२ मा विश्व कपको आयोजना गर्ने देशको रुपमा पनि यो देश परिचित छ ।

साथै, देशको राजधानी कतारमा विभिन्न बहुराष्ट्रिय कम्पनीको स्थापनाका कारण पनि यो देश चर्चामा छ । यी विकासको अर्थ यहाँ थुप्रैको साथ छ ।

उडानः

साउदी अरबको सिभिल एभिएसन प्रशासनले कतारको विमानमाथि आफ्नो हवाई अड्डामाथि ल्याण्ड गर्न र आफ्नो वायुक्षेत्र नाघ्न पनि प्रतिबन्ध लगाएको छ ।

इजिप्टले पनि कतारबाट आउने उडानका लागि ढोका बन्द गर्दै दुबै देशबिचको उडान मंगलबार ४ बजेबाट अर्को सूचना जारी नभएसम्म रोकिने जानकारी दिएको छ ।

बहराइनको गल्फ एयर, इतिहाद एयरवेज र इमिरेट्ससमेत प्रभावित देशका थुप्रै एयरलाइन्स कम्पनीले मंगलबार बिहानबाट कतारको राजधानी दोहाबाट आवत–जावत गर्ने उडानलाई रद्द गर्दैछ ।

नेशनल एयरलाइन्स र कतार एयरवेजले पनि साउदी अरबको उडानलाई रद्द गरेको छ ।

बीबीसीका साइमन एटकिंसनले उडानमाथिको रोक एयरलाइन्सका लागि ठूलो समस्या पैदा गर्न सक्ने बताएका छन् । उनका अनुसार फ्लाइटको रुट परिवर्त गर्नुपर्ने हुन्छ जसका कारण उडानको समय बढ्न सक्छ । यसका लागि इन्धनको बिल पनि बढ्न सक्छ जसले यात्रुलाई नै समस्यामा पार्न सक्छ ।

कतार एयरवेजले आफूलाई ‘हब एयरलाइन्स’ को रुपमा स्थापित गर्न सफल भएको छ जसले दोहामार्फत एसिया र युरोपसँग जोड्ने गर्दछ ।

‘यदि युरोप जानलाई ६ घण्टा लाग्छ भने अब ८ देखि ९ घण्टा लाग्ने भएको छ किनभने यसले रुट परिवर्तन गर्नुपर्नेछ । यसले यात्रुलाई नै मर्कामा पार्ने गर्दछ,’ घानेम नुसैबे, एड्भाइजरी फर्म कर्नरस्टोनका निर्देशकले बताए ।

यद्यपी, ब्रिटिश एयरवेजले दोहा भएरै आफ्नो उडानलाई निरन्तरता दिने जानकारी दिएको छ ।

खानाः

मरुभूमी भएकाले कतारमा पर्याप्त खाना फलाउन सकिन्न । साउदी अरेबियाको सीमा पार गर्दै सयौंको संख्यामा खाद्य सामग्री बोकेका माल गाडी यहाँ भित्रिन्छन् । कतारका लागि ४० प्रतिशत खाना यही रुट हुँदै भित्रिने गर्दछ ।

साउदी अरेबियाले मालगाडी रोकिएलगत्तै उक्त सीमा पनि बन्द गर्ने बताएको छ । त्यसपछि कतार हवाई र समुन्द्री ढुवानीमा निर्भर हुनुपर्छ ।

‘यसले तत्कालै साधारण कतारी जनतालाई प्रभावित तुल्याउँछ,’ नुसैबेले बताए ।

‘यदि उपभोग्य वस्तुको मूल्यमा चर्को वृद्धि भए कतारी जनताले राजनीतिक दबाब दिन सुरु गर्नेछन् । नेतृत्व र नीति–नियमको परिवर्तनको माग गर्नेछन् ।’

उनका अनुसार कतारका गरिब नागरिकले सामान सस्तो पाइने भएकाले साउदीमा किनमेलका लागि जाने गर्दथे । सीमा बन्द भएपछि यो सम्भव नहुने बुझिन्छ ।

निर्माणः

नयाँ बन्दरगाह, मेडिकल जोन, मेट्रो परियोजना र सन् २०२२ को विश्व कपका लागि आठवटा स्टेडियमको निर्माण कार्य अहिले कतारमा भइरहेको छ ।

यसका लागि महत्वपूर्ण सामग्री जस्तै कंक्रिट र स्टिल जहाजबाट आउँछन् तर छिमेकी साउदी अरबबाट पनि आउने गर्दछ ।

सीमा बन्द भएपछि खाना जस्तै यी सामग्रीमा पनि चर्को मूल्यवृद्धि हुने र निर्माण कार्यमा ढिलाइ हुने निश्चित छ ।

कतारको निर्माण उद्योगमा सामग्रीको अभाव पहिले नै एक चुनौतीको रुपमा खडा भइसकेकाले यसको स्थिती अझै खस्किने खतरा छ ।

जनताः

साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स, लिबिया र यमन मिलेर कतारसँगको आवत जावतको सबै बाटो बन्द गरेर कूटनीतिक सम्बन्ध तोड्ने निर्णय गरेको हो ।

यी देशका नागरिकहरु यदि दोहाबाट यात्रा गरिररहेका छन् वा कतारमा बसिरहेका छन् भने उनीहरुलाई देश छोड्नका लागि १४ दिनको समय दिइएको साउदी अरबको सरकारले बताएको छ ।

साथै, साउदी अरब, संयुक्त अरब इमिरेट्स र बहराइनमा भएका कतारी नागरिक र पर्यटकलाई दुई हप्तामा आफ्नो देश फर्किन आदेश दिएको छ ।

इजिप्टका १ लाख ८० हजार नागरिक कतारमा इन्जिनियररिङ, औषधी र कानून क्षेत्रमा कार्यरत छन् । कतारमा यदि यी जनशक्तिको अभाव भए यसले यहाँ स्थापित स्थानीय र अन्तर्राष्ट्रिय कम्पनीमा ठूलै क्षती पुर्याउने छ ।

व्यापार र व्यवसायः

कतारको अनिश्चित अवस्थाका कारण सोमबार सेयरमा ७ प्रतिशतको कमी आएको छ ।

‘कतारमा विभिन्न संस्थाको उपस्थिती छ । उक्त संस्थाहरु बन्द हुने निश्चित छ कम्तिमा पनि अस्थायी रुपमा,’ नुसैबेले भने ।

साउदी फुटबल समूह अल–अहलीले कतार एयरवेजको प्रयोजन गर्ने व्यापार सम्झौता खारेज गरिसकेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल