आज संसदबाट नयाँ प्रधानमन्त्री चयन हुने

आज संसदबाट नयाँ प्रधानमन्त्री चयन हुने

काठामाडौं, जेठ २३ – अन्ततः नेकपा एमाले भरतपुर प्रकरणमा सर्वोच्च अदालतको निर्णय मान्न तयार भएपछि आज बस्ने संसद बैठकमार्फत नयाँ प्रधानमन्त्रीको निर्वाचन हुने भएको छ ।
आज दिउँसो १ बजे बस्ने पहिलो बैठकमा प्रमुख दलका शीर्ष नेताले सम्बोधन गर्ने र त्यहि बैठकमा सभामुखले राष्ट्रपतिले पठाएको पत्र संसदमा पढेर सुनाउने कार्यतालिका तय भएको छ ।
त्यसपछि आजै बस्ने दोस्रो बैठकमा प्रधानमन्त्रीको निर्वाचन प्रकृया सुरु हुनेछ । प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकोमात्र उम्मेदवारी परेपनि संसदमा मतविभाजन गर्नुपर्दछ ।
दोस्रो बैठकमा समर्थक र प्रस्तावकले बोलेपछि निर्णायर्थ प्रस्तुत गरिनेछ । देउवाको समर्थनमा झण्डै दुई तिहाईको संख्यामा सांसदहरुको समर्थन गर्ने निश्चित भएको छ । योसँगै देउवा चौथो पटक प्रधानमन्त्रीका रुपमा निर्वाचित हुने छन् ।
उनी गणतन्त्र स्थापनापछिको दशौं तथा नेपालको ४० औं प्रधानमन्त्रीका रुपमा झन्डै दुई तिहाई बहुमतका साथ प्रधानमन्त्रीमा निर्वाचित हुदैछन् ।
सोमबार साँझ सभामुख ओनसरी घर्ती मगरसहित बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा भएको सहमतिपछि प्रमुख प्रतिपक्षी दल एमाले संसदको अबरोध हटाउन तयार भएपछि देउवा मंगलबार (आज) प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।
गत आइतबार नै प्रधानमन्त्रीको निर्वाचन हुने कार्यतालिका रहेपनि भरतपुर महानगरपालिकामा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय अस्वीकार गर्दै एमालेले संसद चल्न नदिने बताएपछि एमालेकै आग्रहमा संसद बैठक मंगलबार १ बजे बस्ने गरीस्थगित गरेकी थिइन् ।
कांग्रेस सभापति देउवालाई कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, अखण्ड नेपाल पार्टी, समाजवादी जनता पार्टी, नेकपा संयुक्त लगायतका गरी झन्डै दुई तिहाई सांसदको समर्थन छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल