माओवादीबाट को–को छन् मन्त्री बन्ने लाइनमा ?

माओवादीबाट को–को छन् मन्त्री बन्ने लाइनमा ?

जेठ २२, काठमाडौं – शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बन्नका लागि माओवादीभित्र आन्तरिक गृहकार्य र दौडधूप शुरु भएको छ । तर, पार्टी अध्यक्ष प्रचण्डले औपचारिक रुपमा भावी मन्त्रीका विषयमा पार्टीभित्र छलफल चाहीँ शुरु गरेका छैनन् । देउवा प्रधानमन्त्रीमा चयन भएलगत्तै भावी मन्त्रीका विषयमा कुराकानी शुरु गजर्ने प्रचण्डको तयारी रहेको उनको निजी सचिवालयले जनाएको छ ।

मन्त्रीका आकांक्षी नेताहरुले भने प्रचण्डलाई भेटेर वा फोन मार्फत आफ्नो चासो व्यक्त गरेका छन् । सबैभन्दा ठूलो मुद्दा माओवादीमा मन्त्री दोहोराउने वा नदोहोराउने भन्नेमा छ । किनभने, मन्त्री नदोहोराउने नीति भएपछि यस अघि केपी ओली सरकारका पाला मन्त्री भएका नेताहरु प्रचण्ड नेतृत्वको सरकारमा जान पाएका थिएनन् । यद्यपी यसपाली मन्त्रीहरु दोहोरिने सम्भावना प्रवल छ । तर, चुनाव अगाडि सानो मन्त्रीपरिषद् बनाउने देउवाको तयारी रहेकाले शुरुमा दुई तीन जना मात्र माओवादीको तर्फबाट मन्त्री हुनेछन् ।

file photo

नेतृत्वमा पाँचको दावी

देउवा सरकारमा माओवादीका तर्फबाट कसले नेतृतव गर्ने टुंगिएको छैन । तर, पाँच नेता यो दौडमा छन् । अहिलेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, ओली सरकारका पाला उपप्रधान तथा उर्जा मन्त्री रहेको टोपबहादुर रायमाझीले देउवा सरकारमा माओवादीका तर्फबाट नेतृत्व गर्ने चाहना राखेका छन् । त्यसबाहेक नाराणकाजी श्रेष्ठ समूहले यसपाली सरकारको नेतृतव आफ्नो समूहका नेतालाई दिन भन्दै गिरिराजमणि पोखरेलको नाम अगाडि सारेको छ । यसै गरी अग्नि सापकोटा र हरिबोल गजुरेलले पनि अब उपप्रधानमन्त्रीसहित पार्टीको तर्फबाट देउवा सरकारमा आफुले नेतृत्व गर्नुपर्ने दावी पेश गरेका छन् ।

गृहमन्त्रीमा पनि यस्तै दावी
देउवा सरकारमा माओवादीले गृह मन्त्रालय पाउने करिव–करिव निश्चित छ । गृहका लागि कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, अग्नि सापकोटा, गिरिराजमणि पोखरेल र शक्ति बस्नेतको दावी छ । आफ्नो नेतृत्वको सरकारमा राम्रो काम गरेको भन्दै प्रचण्डले जनार्दन शर्मालाई गृहका लागि संकेत गरेको स्रोतको दावी छ । यस्तो भयो भने महरालाई परराष्ट्र मन्त्रालयमा पठाउने प्रचण्डको चाहना रहेको बालुवाटार स्रोतको भनाई छ ।

कुन प्रदेशमा को ?

प्रदेश नम्वर १ बाट शिवकुमार मण्डल अहिले मन्त्री बन्ने लाइनमा सबैभन्दा अगाडि छन् ।

प्रदेश नम्वर २ मा प्रभु साह, अशोक जयसवाल र अमर मण्डल मन्त्री बन्ने दौडमा छन् ।

प्रदेश नम्वर ३ बाट अग्नि सापकोटा र हरिबोल गजुरेल मन्त्रीको दौडमा सबैभन्दा अगाडि छन् ।

प्रदेश नम्वर ४ बाट हितराज पाण्डे र छमबहादुर गुरुङ चर्चामा छन् ।

प्रदेश नम्वर ५ बाट टोपबहादुर रायमाझी मन्त्रीको लाइनमा अगाडि छन् ।

प्रदेश नम्वर ६ बाट जनार्दन शर्मा, शक्ति बस्नेत, महेन्द्रबहादुर शाही र सीता नेपाली मन्त्री बन्ने दौडमा छन् ।

प्रदेश नम्वर ७ बाट हरि ज्ञवाली मन्त्री बन्ने लाइनमा अगाडि छन् ।

यसबाहेक रामनारायण विडारी, कृष्ण धिताल, टेकबहादुर बस्नेतले पनि मन्त्री बन्ने चाहना राखेका छन् ।

ओली सरकारका पाला रायमाझीबाहेक माओवादीका तर्फबाट गिरिराजमणि पोखरेल, अग्नि सापकोटा, शक्ति बस्नेत, हरिबोल गजुरेल, गणेशमान पुन, रेखा शर्मालगायतका नेताहरु मन्त्री भएका थिए । उनीहरुले अहिले पनि मन्त्री बन्ने दौडमा आफुलाई सहभागी गराईसकेका छन् । ओली सरकारमा पाला मन्त्री भएका नेताबाहेक प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री भएका नेताहरु पनि देउवा सरकारमा जान चाहेका छन् । प्रचण्ड सरकारमा माओवादीका तर्फबाट कृष्णबहादुर महरा, जनार्दन शर्मा, अजयशंकर नायक, दलजीत श्रीपाली, धनीराम पौडेल र गौरीशंकर चौधरी मन्त्री छन् । उनीहरु सवैले आफु सफल मन्त्री भएको भन्दै देउवा सरकारमा जान चाहेका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल