बिदाई कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘बिदाई मात्र होइन, फेरि स्वागतको पनि तयारी गर्नुहोला’

बिदाई कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘बिदाई मात्र होइन, फेरि स्वागतको पनि तयारी गर्नुहोला’

काठमाडौँ, जेठ २२ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक नेतृत्व आउने जाने क्रम जारी रहने बताउँदै मुख्य सचिव, सचिव तथा प्रधानमन्त्री कार्यालयका कर्मचारीहरुलाई आफूलाई फेरि स्वागतको लागि पनि तयार रहन बताएका छन् ।

आज आयोजित विदाई कार्यक्रममा मुख्य सचिव, सचिव तथा प्रधानमन्त्री कार्यालयका कर्मचारीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

राजनीतिक सहमतिलाई पालना गर्ने संस्कार बसाउन आफूले राजीनामा दिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले अन्त्यमा ठट्यौली पारामा भने, ‘तपाईंहरु भनेको स्थायी सरकार हुनुहुन्छ । राजनीतिक नेतृत्व भनेको आउने जाने गरी रहन्छ । अहिले बिदाई गर्नुभयो फेरि स्वागतको लागि पनि तयारी गर्दै गर्नुहोला ।’


कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गरेकोमा सबैलाई धन्यवाद दिए ।

आफू प्रधानमन्त्री बन्दा सरकारसामु धेरै प्रश्न तथा चुनौतीहरु तेर्सिए पनि १० महिनाको अवधि धेरै प्रगतिहरु हासिल गर्न सफल भएको बताए । ‘तपाईंहरुको सहयोग नभएको सम्भव हुने थिएन । यसको लागि सबैलाई धन्यवाद दिन चाहन्छु’ प्रधानमन्त्रीले भनेका थिए ।

प्रधानमन्त्री प्रचण्डले संविधानको स्वीकार्यता बढाउने र कार्यान्वयनमा सरकारले सफलता हात पारेको जिकिर गरे । स्थानीय तहको पहिलो निर्वाचन संविधान कार्यान्वयनको आधारशीला बनेको र यसलाई अब कसैले रोक्न नसक्ने बताए ।


उनले नयाँ व्यवस्थामा चुनौतीहरु आउने भए पनि त्यसलाई सामाना गर्न सबै तयार रहनुपर्ने बताए । जनतालाई अधिकारसम्म र शक्तिशाली बनाउन गुणात्मक काम भएकोमा प्रधानमन्त्रीले त्यसलाई सरकारको सफलतारुपमा व्याख्या समेत गरे ।

मोदीसँग वान टु वान, विदेश नीति सन्तुलित

प्रधानमन्त्रीले अहिले बल्ल सन्तुलनाकारी विदेश नीति लागु हुन शुरु भएको पनि बताए । ‘मोदीजीसँग मैले वान टु कुरा गरेँ । हाम्रोमा कामभन्दा धेरै गफ बढी भयो भनेको थिएँ । कामहरु रोकिएको छ अब त्यसलाई अघि बढाउनु पर्ने कुरा राखेँ ।,’ प्रधानमन्त्रीले भने, ‘महाकालीमा पूल, हुलाकी मार्ग अब बन्ने सुनिश्चित भएको छ ।’

त्यस्तै छिमेकी राष्ट्र चीनसँग ओबिओआरमा हस्ताक्षर गरेर सरकारले सन्तुलित विदेश नीति अपनाएको प्रष्ट पारे ।

मुख्य सचिवको तारिफ

प्रधानमन्त्रीले सम्बोधनको क्रममा मुख्य सचिव सोमलाल सुवेदीको पनि तारिफ गरे । उनको विज्ञताको कारण कर्मचारीहरुलाई परिचालन गर्न सफल भएको पनि बताए ।


प्रधानमन्त्रीले कहिलेकाहीँ मुख्य सचिव र मन्त्रिहरु बीच ‘पिटौँ–पिटौँ’ जस्तो स्थिति पनि पैदा हुने कुरा सुनाउँदै आफूले बेलाबेला समन्वयकारी भूमिका खेलेको पनि कुरा सुनाए ।

बिदाई कार्यक्रममा प्रधानमन्त्रीलाई कर्मचारीहरुले बुद्धको मुर्ति उपहार दिएका थिए ।

आज नै वातावरण दिवसको अवसर भएकाले प्रधानमन्त्रीले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यलय परिसरमा वृक्षारोपण गरेका थिए ।

फोटो : दिनेश श्रेष्ठ

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल