धरानमा प्रतिवद्धता पत्र सार्वजनिक गर्ने होडबाजी : ‘स्मार्ट सिटी’ देखि एयरर्पोट निर्माणसम्म

धरानमा प्रतिवद्धता पत्र सार्वजनिक गर्ने होडबाजी : ‘स्मार्ट सिटी’ देखि एयरर्पोट निर्माणसम्म

सिजन श्रेष्ठ
सुनसरी, जेठ २२– असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि सुनसरीका राजनीतिक दलहरु आ–आफ्नो घोषणा–पत्र जारी गर्न व्यस्त छन् ।
स्थानीयस्तरका मुद्धालाई समेटेर दलहरुले प्रतिवद्धता–पत्र तथा घोषणा– पत्र जारी गरिरहेका छन् । दलहरुले घोषणा–पत्र जारी गर्दा धरानलाई ‘स्मार्ट सिटि’ बनाउने र पर्यटकीय क्षेत्र बनाउने योजना सवैको साझा योजनामा परेको छ । सबैभन्दा छिटो प्रतिवद्धता–पत्र सार्वजनिक गरेको नेकपा (माओवादी केन्द्र)ले धरानलाई नमुना सहरको रुपमा विस्तार गर्ने कुरा आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ ।
माओवादी केन्द्रले सार्वजनिक गरेको प्रतिवद्धता–पत्रमा धरानका सबै जनतालाई दश हजार लिटर खानेपानी र ५ युनिट विजुली निःशुल्क उपलव्ध गराउने उल्लेख छ । यसैगरी धरानमा रहेको सुकुम्बासीलाई घरजग्गा उपलव्ध गराउने, धरानमा एयरर्पोट निर्माण गर्ने र एक नं. प्रदेशको राजधानी धरान बनाउने प्रस्ताव अघि सारेको छ । माओवादीको यो प्रतिबद्धताले एक प्रकारको बहस नै सुरु भएको छ । पानीको हाहाकार र लोडसेडिङ मुक्त भएपछि माओवादीको प्रस्तावले मतदाताकोे ध्यान तानेको छ ।
यसैगरी नेकपा एमालेले सार्वजनिक गरेको प्रतिवद्धता–पत्रमा धरानलाई व्यस्थित र बसोबासयुक्त आवासीय सहर बनाउने उल्लेख छ । धरानको समृद्धिको आधार पर्यटन व्यवसाय मानेको एमालेले धरानमा पदयात्रादेखि, विभिन्न पार्कहरुको समेत व्यवस्था गर्ने जनाएको छ । धरानलाई शैक्षिक हवको रुपमा विकास गर्ने बनाएको एमालेले कृषि केन्द्र तथा व्यापारिक शहरको रुपमा विकास गर्ने प्रतिवद्धता पनि जनाएको छ ।
घोषणा–पत्र सार्वजनिक गरिनसकेपनि नेपाली कांग्रेसले धरान सबैले आफ्नो हो भन्ने अनुभुति दिलाउने शहरको रुपमा विस्तार गर्ने जनाएको छ । धरानलाई समृद्ध सहरको रुपमा विकास गर्ने र पर्यटकीय तथा शैक्षिक क्षेत्रको रुपमा समेत विस्तार गर्दे लगिने कांग्रेसको प्रतिवद्धतापत्रमा समेटिने जनाइएको छ ।
यसैगरी धरान उप–महानगरको उम्मेदवारहरुको टुंगो लगाईसकेकोराष्ट्रिय प्रजातन्त्र पार्टीले धरानलाई दुव्र्यसनीमुक्त शहर र भ्रष्ट्रचारमुक्त नगरको रुपमा विकास गर्ने जनाएको छ । पर्यटकीय क्षेत्रको समेत विस्तार गरी आयआर्जनमा वृद्धि गर्ने उसले जनाएको छ । यता संघीय समाजवादी फोरमले धरानका विभिन्न पुरातात्विक क्षेत्रको संरक्षणमा जोड दिदै बहुसाँस्कृतिक शहरको रुपमा विकास गर्ने जनाएको छ । मातृ भाषाको शिक्षामा समेत जोड दिएको समाजवादी फोरमले धरानदेखी विराटनगरसम्म रेल सेवा सञ्चालनमा पहल गर्ने जनाएको छ ।
त्यसैगरी नेकपा (क्रान्तिकारी माओवादी)को नेतृत्वमा रहेको देशभक्त जन गणतान्त्रीक मोर्चा नेपालले धरानमा एयरर्पोटको आवश्यकता रहेको बताउदै यसका लागि पहल गर्ने जनाएको छ ।
को को छन् धरान उपमहानगरपालिकाको मेयरका आकांक्षी ?
धरानमा हालसम्म चार दलले मात्र उम्मेदवार सार्वजनिक गरेका छन् ।
विषेशगरी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच प्रतिस्प्रर्धा हुने धरान उपमहागरपालिकाको लागि नेकपा (माओवादी केन्द्र)ले युवा नेता अइन्द्र विक्रम बेघालाई मेयर पदका लागि उम्मेदवार बनाएको छ । युवामाझ रुचाइएका बेघा माओवादी जनयुद्धको समयमा विभिन्न फौजी कारवाहीमा समेत सहभागि थिए । स्नातकसम्मको अध्ययन गरेका वेघा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय आयोजक समितिसदस्य साथै धरान उप–महानगरपालिका समितिका इन्चार्ज हुन् ।
उता, औपचारिक निर्णय नभए एमालेबाट धरान उप–महानगरका अध्यक्ष तारा सुब्बा मेयर पदका उम्मेदवार बन्ने पक्कापक्की छ । विद्यार्थी जिवनदेखी नै राजनीतिमा क्रियाशील रहेका उनी पार्टीका परिपक्क र तार्किक नेताका रुपमा चिनिन्छन् । २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा जिल्ला विकास समिति सुनसरीको इलाका सदस्य समेत भएका थिए सुब्बा । युवा संघ नेपालको सुनसरी जिल्ला अध्यक्ष हुदै केन्द्रीय सदस्य समेत भएका उनले स्नातकसम्म अध्ययन गरेका छन् ।
कांग्रेसबाट दुईजना नगर सभापति र निवर्तमान नगर सभापतिको नाम चर्चामा छ । धरान उप–महानगरको मेयर पदमा नेपाली कांग्रेस धरानका नगर सभापति तिलक राईले दावी गरेका छन् । किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष उनको पार्टीभित्र बलियो पकड भएको बताइन्छ । उनी कांग्रेस नेता रामचन्द्रपौडेल पक्षका मानिन्छन् ।
चुनावी मामलामा दख्खल राख्ने राईको नेतृत्वमा एमाले बर्चस्व रहेको धरानमा रहेको सुनसरी उद्योगवाणिज्य संघको निर्वाचनमा आफू समर्थक राजेन्द्र साहलाई जिताएर उनले आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् । धरानका निवर्तमान पार्टी सभापति किशोर राई पनि पार्टीले टिकट दिनेमा विश्वस्त छन् । अखिल नेपाल फुटवल संघ एन्फाको केन्द्रीय उपाध्यक्ष समेत रहेका राई धरानको युवाहरु माझ लोकप्रिय छन् । तर नगर, क्षेत्र र जिल्ला पार्टीमा उनि अल्पमतमा छन् । पार्टी सभापति देउवाको विश्वासपात्र मानिएका उनले १० वर्ष नेपाली कांग्रेस धरानको सभापति भएर नेतृत्व गरेका थिए । धरानमा हुने हरेक विकास निर्माणका काममा सक्रिय रहने राईले प्रमाणपत्रसम्म अध्ययन गरेको बताउछन् ।
यसैगरी राप्रपाले भने धरान उप–महानगरको मेयरमा तारा शाक्यलाई अघि सारेको छ । शाक्य धरानको विभिन्न सामाजिक संघ संस्थामा आवद्ध छिन् । एसएलसीसम्मको अध्ययन गरेकी शाक्य नेवार एकता समाज धरानको संस्थापक सदस्य समेत हुन । उनी अहिले नेपाल राष्ट्रिय महिला दवाव समुहको अध्यक्ष हुन ।
संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालले अहिलेसम्म मेयरको उम्मेदवार सार्वजनिक गर्न सकेको छैन् । दुवै दलले उपमेयर मात्र दावी गरेपछि मेयरको उम्मेदवार सार्वजनिक नगरीएको समाजवादी फोरमका एक नं. प्रदेश कमिटि सदस्य गजेन्द्र इस्वोले बताए । संघीय समाजवादी फोरमले उपमेयरमा भने पार्टीको नगर अध्यक्ष पारस काङमाङलाई अघि सारेको छ ।
लामो समय निर्वाचनमा सहभागि नहुने जनाएको मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले धरानका मेयरमा पेमा लामालाई अगाडी सारेको छ । देशभक्त जन गणतान्त्रिक मोर्चाका नाममा चुनाव लड्न लागेको लामा माओवादी जनयुददेखी नै पार्टीका आवद्ध भएको व्यक्ति हुन ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल