यसरी चुनाव उपयोग गर्दैछन् सीके राउत : फाइदा कसलाई ?

यसरी चुनाव उपयोग गर्दैछन् सीके राउत : फाइदा कसलाई ?

काठमाडौ जेठ २२–स्थानीय तह दोस्रो चरणको चुनाव जतिजति नजिक आइरहेको छ त्यसको तामक्रम त्यति बढ्दै गएको छ ।

तराई मधेशमा गर्मीसँगै चुनावको रौनक पनि उत्तिकै ताँतिएको छ । त्यसैबीचमा तराई मधेश अलग गर्ने अभियानमा लागेका डा.सिके राउतले चुनावसँग जोडेर छुट्टै अभियान चलाएका छन् । उनको अभियानवारे निर्वाचन आयोग र स्थानीय प्रशासनले कुनै प्रतिक्रिया जनाएका छैनन् ।
उनले पनि चुनाव प्रचारलाई तीब्रता दिएका छन् । उनका कार्यकर्ता पनि गाउँ–गाउँमा नमुना ब्यालेट पेपर लिएर घरघर पुगिरहेका छन् । अरुले पनि मतदान गर्न सिकाइरहेका छन् भने सिके राउतले पनि मतदान गर्न सिकाइरहेका छन् । तर, अरुको भन्दा राउतको तरिका अलि फरक छ ।

अरुले आ–आफ्नो चुनाव चिन्हमा मतदान गर्न सिकाइरहेका छन् भने सिके राउतको समूहले मतपत्रमा रहेको चुनाव चिन्हको बक्सभन्दा बाहिर मत हाल्न सिकाइरहेको छ । र, यस कार्यलाई उनको समूहले तीब्रता दिएको छ । उनले अरु मधेशवादी दल जस्तो आफ्नो संगठनले चुनाव बहिष्कार गर्ने होइन, मतदान केन्द्रमा गएर मत हालेर चुनावको विरोध गर्ने जनाएको छ ।

चुनाव चिन्हको बक्सभन्दा बाहिर मत हालियो भने एक त चुनाव बहिष्कार गरेको जस्तो पनि देखिन्छ र अर्को आफ्नो संगठनको पक्षमा कति जनता छन् त्यसको पनि यकिन हुने राउतको ठम्याई छ ।

तर, राउतको जे जस्तो ठम्याई भएपनि यो रणनीति मधेशवादी दलका लागि घातक हुने देखिएको छ । मधेशमा मधेशवादी दललाई आउने मत नै सिके राउतको मत हो ।

चुनाव चिन्हको बक्स बाहिर जति मत हालिन्छ ती सबै मधेशवादी दलको मत काटिने हो । यसले सिधै काँग्रेस, माओवादी केन्द्र र एमालेलाई फाइदा हुने सम्भावना रहन्छ ।
मधेशवादी दलका लागि खसने मतहरु बदर भयो भने त्यसले प्राप्त गर्ने मत कम हुन्छ र यसले ठूला दललाई फाइदा हुने मधेशवादी दलको बुझाई छ । संघीय समाजवादी फोरम नेपालका एक नेताले भने, सिके राउतले ठूला दललाई सहयोग गर्ने उद्देश्यले यो अभियान चलाएको हो र त्यहीँ भएर यही चुनावको बेला उनलाई जेलबाट रिहाई गरेको हो ।’

तर, यस विषयमा राउतको धारणा अलि फरक छ । उनी भन्छन्, ‘अब कोही मधेशवादी छैन, यहाँ सबैले आ–आफ्नो पार्टीबाट मधेश शब्द हटाएर राष्ट्रवादी पार्टी बनेको छ । जो मधेशी पहिचानका लागि लडे, आज उसैले आफ्नो पार्टीको नामबाट मधेश शब्द हटाएको छ भने त्यसलाई मधेशी दल कसरी भन्ने ?’

उनले आफ्नो संगठनमा मधेशवादी दलमा आवद्ध व्यक्ति मात्र लागेको होइन, अन्य दलका व्यक्तिहरु पनि लागेको दावी गरे ।

मधेशका सामाजिक अभियान्ता कासिन्द्र यादव भन्छन-राउतले अहिले यो चुनावलाई मतबदर अभियान द्वारा आफ्नो मुद्दामा जनमत संग्रह को रूपमा प्रयोग गर्न खोजेको देखिन्छ । तर, अहिले यस्को लागि सहि समय आइसकेको छैन । सानो प्रतिशतको मतबदर ले यो अभियानको समर्थकलाई आत्मविश्वास कमजोर र उनीहरु उच्च जनसमर्थन रहेको दावीलाई खण्डित गर्ने छ ।

के भन्छ निर्वाचन आयोग ?

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले गोप्य मतदानमा कसले कसरी मतदान गर्छ भन्ने आयोगको चासोको विषय नहुँने बताए ।
उनले भने -यो राजनीति हो । कसले के गतिविधि गरिरहेका छन् । सबैको पछि लागेर साध्य छैन । मतदान केन्द्रमा गएर गोप्य मतदानमा कसले कसरी मतदान गर्छ । त्यसमा हाम्रो चासो हुँदैन । त्यसरी मत हालेको छ भने त्यो बदर हुन्छ । त्यस्ता अभियानलाई आयोगले रोक्न मिल्दैन ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल