३२ लाखमा एक किलो सुन किन्न खोज्दा यसरी लुटिए ज्वेलर्स मालिक

३२ लाखमा एक किलो सुन किन्न खोज्दा यसरी लुटिए ज्वेलर्स मालिक

राजेश भण्डारी

काठमाडौं, जेठ २१– सुन ब्यवसायी हुन् नन्दकुमार विश्वकर्मा, सुनसरीको इटहरीमा रहेको ‘सिद्धार्थ ज्वेलर्स’ उनैको हो । सुनचाँदी ब्यवसायकै सिलसिलामा करिब चार महिनाअघि शम्भु पाण्डे र सुनील महर्जनसँग उनको चिनजान भयो । सुनील महर्जनले आफ्नो साथीसँग १ केजी सुनको बिस्कुट रहेको र उक्त बिस्कुट ३२ लाख पाएमा बिक्री गर्न चाहेको कुरा सुनाएसँगै नन्दको मन लोभिएको थियो । बजार मूल्य करिब ४२ लाख पर्ने सुनको डल्लो ३२ लाखमै पाउने भएपनि कुन चाँही सुन ब्यापारीको मन लोभिँदैन होला ?

नन्दकुमार र शम्भु पाण्डेको बीचमा पटक–पटक टेलिफोन संवाद भएपछि उनी सुन खरिद गर्न राजी भए । गत शुक्रवार (जेठ १९ गते) इटहरीबाट साथी रोशन बोगटीसँगै नन्दकुमार विश्वकर्मा काठमाडौं हानिए । रोशनको गाडी लिएर विहान सवेरै इटहरीबाट हिँडेका उनीहरु काठमाडौं आउँदा मध्यान्ह १२ बजेको थियो । ठमेलमा रोशनको दाजुको पसल थियो, त्यहा केहीबेर रेष्ट गरेपछि उनीहरु ‘सस्तोमा सुनको बिस्कुट दिन्छु’ भन्ने शम्भु पाण्डेलाई भेट्न गोंगबुको एक गेष्ट हाउसमा पुगे । त्यहाँ केहीबेर डिलिङ भयो, शम्भुले एक केजी सुनको बिस्कुट देखाएपछी नन्द र रोशन पैसा लिएर आउँछौं भन्दै बैंकतिर हिँडे ।

त्यसअघि रोशनले सुनमा लगानी गर्न भन्दै ठमेलमा पसल गर्ने दाइसँग ९ लाख ७५ हजार सापटी लिइसकेका थिए । ३२ लाख नगद रेडी भएपछि म्हैपीस्थित आशिर्वाद कलेज नजिकै रहेको एउटा घरमा आउन भन्दै शम्भु पाण्डेले एउटा घर समेत देखाएपछि नन्द र रोशन ढुक्क भए अनि पैसा निकाल्न एनएमबि बैंकको महराजगञ्ज शाखातिर लागे ।

पैसा निकालेर शम्भुले देखाएको घरअगाडि पुगेका मात्र के थिए, दुईओटा मोटरसाईकल आएका मानिसहरुले कालो झोलामा राखेर ल्याएको बत्तीस लाख जबर्जस्ती लुटेर भागे ।

त्यसपछि नन्द र रोशन छाँगाबाट खसेजस्तै भए । एक किलो सुनबाट १० लाख नाफा गर्ने उनीहरुको सपना बलेसीको पानीजस्तो क्षणभरमै प्याट्ट फुट्यो । घट्ना घटेको खबर पाउनासाथ एक्टिभ भएको महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले करिब २४ घण्टाभित्रै लुटपाटमा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धादिङ्ग त्रिपुरासुन्दरी गाउँपालिका–७ का सरोज श्रेष्ठ, बाग्लुङ्गका तारा भन्ने झम्क बहादुर बोहरा, गुल्मी घर भएका लक्कि भन्ने ज्ञान बहादुर पुरी, धादिङ्गकै अन्जान थापा, गोरखाका सिजन अधिकारी र सन्तोष बोहरा रहेका छन् । अञ्जान थापा र सिजन अधिकारी यसभन्दा पहिले पनि नम्क्कली धातु देखाएर लुटपाट गरेको अभियोगमा पक्राउ परेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रहरीका अनुसार ३२ लाख नगद लिएर आउनु भन्दै शम्भु पाण्डेले आफ्नै भनी देखाएको घर पनि उनको नभएको पाइएको छ । उक्त घरमा रुपेश भन्ने सुनील महर्जन पनि केहीबेरमा आईपुग्ने र सँगै सुन र पैसा साटासाट गर्ने उनीहरुबीच सहमति भएको थियो ।

काठमाडौंको बनस्थली र बोहोराटारबाट पक्राउ परेकाहरुबाट प्रहरीले ४ लाख १७ हजार नगद र उक्त घट्नामा प्रयोग भएको मोटरसाइकल बरामद गरेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल