देउवा–प्रचण्ड सम्बन्धका ती दिन र यी दिन

देउवा–प्रचण्ड सम्बन्धका ती दिन र यी दिन

२१ जेठ, काठमाडौँ– २०५८ मा शेरबहादुर देउवा प्रधानमन्त्री थिए । सरकार–माओवादीबीच वार्ता चलेको थियो । माओवादी सुप्रिमो प्रचण्ड दाङमा थिए । बालुवाटारबाट देउवाले प्रचण्डलाई स्याटेलाइट फोनमा सम्पर्क गरेँ । शान्ति प्रक्रियालाई कसरी निष्कर्षमा पुर्याउने भन्नेमा दुई नेताबीच कुराकानी भयो ।

प्रचण्डसँग टेलिफोनमा संवाद भएको एक–दुई दिनपछि तत्कालीन प्रधानमन्त्री देउवा बोले, ‘प्रचण्ड एक बहादुर नेता हुन् ।’ देउवा आफ्नो नेतृत्वको सरकारले वार्ता सफल पार्ने आश्वस्त थिए र यस्तो अभिव्यक्ति दिएका थिए । तर, राजनीतिक घटनाक्रम त्यसरी अगाडि बढेन । प्रचण्डलाई बहादुर नेता भनेको १६ वर्षपछि प्रचण्डकै प्रस्तावमा देउवा प्रधानमन्त्री हुँदैछन् ।


देउवा र प्रचण्डबीच झन्डै २६ वर्ष अगाडि भेट भएको थियो । यो बीचमा यी दुई नेताबीच मर्ने–मार्ने खेलदेखि राजनीतिमा नयाँ जीवन दिनेसम्मको सहयोग भएको छ । जतिबेला देशमा माओवादीले जनयुद्ध सुरु गरेको थियो, त्यसबेला प्रधानमन्त्री देउवा नै थिए । ०५२ देखि ०७४ सम्म आउँदा देउवा–प्रचण्डले एकअर्काको हित र अहितका लागि गर्न मिल्ने र नमिल्ने सबै काम गरेका छन् र धेरै राजनीतिक पण्डितहरुलाई ‘हिसाब खोज्न’ गाह्रो बनाइरहेका छन् ।

‘राजनीतिमा स्थायी शत्रु र साथी हुँदैनन्’ आम मान्यता जस्तो छ । यसको सबैभन्दा बलियो उदारण हो– माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र काङ्ग्रेस सभापति शेरबहादुर देउवा । कुनै बेला एकले अर्कालाई सिध्याउन जायज–नाजायज सबै कदम चाल्न पछाडि नपर्ने देउवा र प्रचण्डको दोस्ती अहिले लोभलाग्दो ठाउँमा छ । यो दोस्तीले विपक्षी एमालेको त पसिना नै निकालिदिएको छ । केपी ओलीको ‘दम्भ’ देउवा–प्रचण्ड निकटताको अर्को कारण पनि बन्न गयो ।

विगतका अनेकौँ उतार–चढावकाबीच देउवा–प्रचण्डबीच गत वर्ष केपी ओली नेतृत्वको सरकार विस्थापन गर्ने अवस्थामा नाटकीय तरिकाले निकटता बढेको थियो । त्यही निकटका जगमा २०७३ साउन १९ मा संसदको सबैभन्दा ठूलो दल काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भए ।


आलोपालो नेतृत्वको भद्र सहमतिमा प्रचण्ड प्रधानमन्त्री भएका थिए र त्यसैका जगमा उनले जेठ ९ गते राजीनामा गरेर देउवाका लागि बाटो खुला गरिदिए, जसलाई प्रचण्डले राजनीतिमा नयाँ संस्कृतिको सुरुवात भनेर टिप्पणी गरे । एमालेको अवरोध हट्नेवित्तिकै देउवा संसदबाट प्रधानमन्त्रीमा निर्वाचित हुनेछन् ।

देउवा र प्रचण्डलाई नजिक लैजाने सबैभन्दा ठूलो रसायन उनीहरुको स्वभाव हो । ‘राजनीतिमा तत्काल निर्णय लिन सक्ने’ नेताका रूपमा देउवा र प्रचण्डलाई चिनिन्छ । उनीहरुको यही क्षमता नै आपसी सहकार्यका लागि सहज बनेको छ । सीधा–सीधा कुरा गरेर जटिलता फुकाउन चाहन्छन् उनीहरु । विषयवस्तुलाई पृष्ठभूमिसहित राखेर प्रचण्ड अगाडि बढ्ने बाटो तयार गर्छन् ।

आफ्नो निर्णयले भविष्यमा पार्ने प्रभावमाथि देउवा–प्रचण्ड अग्रिम चिन्तित हुँदैनन्, जुन धेरै नेताले गर्न सक्दैनन् । जोखिम मोल्न जुनसुकै बेला तयार हुने र आवश्यक परे जस्तोसुकै कठोर निर्णय लिन सक्ने समान क्षमता छ, देउवा र प्रचण्डमा । त्यही कारण त बामपन्थी शक्तिहरुबीचको सहकार्य गर्नुपर्ने आवाज उठिरहेका बेला प्रचण्डले संविधान कार्यन्वयन र शान्ति प्रक्रिया पूरा गर्नका लागि १२ बुँदे समझदारीको मुख्य घटकसँग सहकार्य गर्ने सोच बनाए । देउवाले पनि एउटा पूर्व विद्रोही नेतासँग काँधमा–काँध मिलाउन कुनै कन्जुस्याइँ गरेनन् । दुई नेताको स्वभावको असर भन्दा हुन्छ ।

सुरुमा काम गर्ने र कामको नतिजा राम्रो नभए पछुताउने दुवै नेतामा क्षमता छ । तर मिडियामा प्रचण्ड र देउवाको प्रस्तुति मिल्दैन । देउवा कम बोल्छन् । प्रचण्डलाई बोल्नमै मजा लाग्छ । देउवा अरुका कुरा सुन्न चाहन्छन्, धेरै । प्रचण्ड र देउवा आफ्नो अडानमा बसिरहन चाहन्नन् । विषयवस्तु बुझाई र राष्ट्रिय आवश्यकता हेरेर देउवा–प्रचण्ड दुवैले अडानमा हेरफेर गर्न सक्छन् । झलनाथ खनालको भाषामा भन्दा ‘चट्टानी’ अडान लिएर देशलाई बन्धन बनाउनु हुँदैन भन्नेमा उनीहरु समेत छन् । पोजिसन फेर्न नमान्ने ‘रिजिड’ स्वभाव दुवैमा छैन् । यसका कहिले नाफा कहिले घाटा पनि व्योहोरेका छन् देउवा र प्रचण्डले ।


०५२ सालमा ४० बुँदे मागपत्र बुझाउँदा जनमोर्चाका संयोजक डा. बाबुराम भट्टराईले तत्कालीन प्रधानमन्त्री देउवालाई भेटेका थिए । प्रचण्ड भूमिगत नै थिए । तर, पनि देउवा र प्रचण्डबीचको चिनजान झन्डै २६ वर्ष पुरानो हो । तत्कालीन जनमोर्चाले २०४८ मा संसदको चुनावमा भाग लिएको थियो । त्यही बेला देउवा र प्रचण्डबीच भेट भएको बताइन्छ । त्यसपछि उनीहरुबीच प्रत्यक्ष–अप्रत्यक्ष विभिन्न तरिकाले कुराकानी भएको इतिहास छ ।

प्रचण्डका अनुसार द्वन्द्वकालमै पनि देउवासँग टेलिफोनमा कुराकानी हुने गरेको थियो । देउवा प्रधानमन्त्री भएका बेला प्रचण्ड दाङमा आएका रहेछन् । त्यसबेला देउवा–प्रचण्ड फोनमा कुराकानी भएको थियो, जसलाई प्रचण्डले ‘सम्बन्धमा आइसब्रेक’ मान्छन् । शान्ति प्रक्रियामा आउन त्यसबेला देउवाले धेरै जोड गरेको प्रचण्डले बेला–बेला सम्झने गरेका छन् ।

त्यहीँ टेलिफोन संवादपछि देउवाले ‘प्रचण्ड एक बहादुर नेता हुन्’ भनेर बोलेका पनि थिए । उक्त फोनपछि देउवा युद्धको व्यवस्थापनमा अलि संवेदनशील भएको मानिन्छ । यद्यपि देउवा प्रधानमन्त्री हुँदा भएको वार्ता संविधनासभाको चुनावमा जाने विषयमा कुरा नमिलेपछि भाँडिएको थियो । त्यसपछि युद्ध थप चर्किएको थियो ।

टेलिफोनमा कुराकानी भए पनि युद्धकालमा प्रचण्ड र देउवाबीच भेट भएको थिएन । भेट एकै पटक २०६३ को शान्ति प्रक्रियापछि मात्र भयो । युद्धकालमा एमालेका शीर्ष नेताहरुले प्रचण्डसँग भेटे पनि देउवा–प्रचण्ड भेटको संयोग मिलेको थिएन । बरु देउवालाई माओवादीका वार्ता टोलीका नेता कृष्णबहादुर महराले भेट गरेका थिए । त्यसो त देउवाले माओवादी नेताहरूको सबैभन्दा माथिल्लो नेतालाई भेटेको भनेको कृष्णबहादुर महरालाई नै हो । २०५८ सालमा सरकार–माओवादीबीच चलेको पहिलो वार्तामा प्रचण्डले महराको नेतृत्वको वार्ता टोली बनाएर पठाएका थिए ।

शान्ति प्रक्रियापछि प्रचण्ड–देउवा भेट बाक्लो भयो । एकअर्काको घरमा जाने भइरहन्छ । दुई परिवारले सँगै डिनर लिएका छन् । प्रचण्डले कहिलकोहीँ मिडियासँगको अन्तरङ्ग कुराकानीमा देउवासँगको सम्बन्धलाई लिएर भन्ने गर्छन्, ‘मेरो राजनीतिक विषयको छलफल मात्र नभएर पारिवारिक सम्बन्ध पनि बढ्दै गएको छ । मेरो र उहाँको परिवारबीच आपसमा भेटघाट गर्ने, सँगै खाना खाने क्रम बढ्न थाल्यो ।’

नेताहरुबीच हुने यस्ता पारिवारिक भेटघाटले खुलेर कुराकानी गर्ने वातावरण बनाउँछ । यसको उपयोग देउवा र प्रचण्ड दुवैले गरे । यस्ता कुराले समझदारी बनाउन र सहकार्यका लागि बाटो खालेको मानिन्छ ।

अवस्था कस्तोसम्म थियो भने गिरिजाप्रसाद कोइरालाको निधनपछि काङ्ग्रेसमा सुशील कोइराला सभापति भए । तर, पनि प्रचण्डले देउवासँगको भेट र छलफललाई महत्वका साथ लिन्थे । पटक–पटक भेट गर्थे । ती दुई नेताको विहानको भेट गफ कफी गफमै वित्थ्यो र साँझको भेट डिनरमा । यस्तै भेटको असर थियो–काङ्ग्रेस–माओवादी गठबन्धन, आलोपालो सरकारको नेतृत्व र चुनावी गठबन्धन । देउवा र प्रचण्ड मिलेर ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि प्रचण्ड–देउवा सम्बन्धले थप नयाँ मोड लिएको थियो ।

संविधानका केही अन्तरवस्तु र सङ्घीयताका विषयमा देउवा–प्रचण्डका फरक सोच थिए । देउवा अखण्ड सुदूरपश्चिको मागमा थिए । प्रचण्ड थारूवान प्रदेशको पक्षमा । तर, दिन बित्दै जाँदा काङ्ग्रेस–माओवादी सत्ता सहयोगीका रुपमा सँगै आए ।

०५२ देखि ०६३ सम्म भएका द्वन्द्वका घटनालाई देउवा र प्रचण्डले आजका दिनमा कसरी हेर्छन् ? यो यकिन छैन । तर, मान्ने गरिन्छ, उनीहरु ती घटनालाई तेस्र्याएर अगाडि बढ्न चाहन्नन् । त्यसबेलाको घटना सम्झने हो भने देउपा–प्रचण्ड दूरी कहिले भेट नहुने हुने थियो । जस्तो कि २०५८ मङ्सिरमा सरकार–माओवादी वार्ता भङ्ग भएपछि देउवा–प्रचण्डबीच ठूलो टकराव भयो । माओवादी सक्न देउवाले सङ्कटकाल लगाए ।

माओवादीलाई आतङ्ककारी घोषणा गरे । २०५९ वैशाखमा माओवादी नेताहरूको टाउकाको मूल्यसमेत तोकिदिए । इन्टरपोलले रेड कर्नर नोटिससमेत जारी गर्यो । प्रचण्डसहित वरिष्ठ नेताको ५० लाख, पोलिटब्युरो सदस्यहहरूको ३५ लाख र केन्द्रीय सदस्य तथा अन्य प्रभावशाली नेताहरूको २५ लाख मूल्य तोकियो । देउवा सरकारका गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले भनेका थिए, ‘जसले मारेर ल्याए पनि हुन्छ, झोलामा टाउँको ल्याउनुहोस्, त्यही झोलाभरि पैसा लिएर जानस् ।’ यो घटनापछि देउवाप्रति माअ‍ोवादी अलि बढी आक्रमक भयो । जवाफ दिन थाल्यो । ललितपुर कुसुन्तीमा १२ भदौ २०६० मा माओवादीका सात कार्यकर्ताले कँडेलमाथि गोली प्रहार गरे । त्यसको असर पछिसम्म देखियो । माओवादीले देउवाविरुद्ध एम्बुस थापे । डोटीबाट फर्किंदै गर्दा देउवाको गाडीलाई लक्षित गरी एम्बुस थापिएको थियो ।

२०५२ देखि ०५४ सालसम्म काङ्ग्रेसबाट देउवा प्रधानमन्त्री थिए । बुझाएको ४० बुँदे मागको सुनुवाइ नभएको भन्दै माओवादीले जनयुद्धको घोषणा गर्यो । माओवादी जनयुद्ध सुरु गर्दा देउवा प्रधानमन्त्री थिए । कृष्णप्रसाद भट्टराईले आफू प्रधानमन्त्री हुँदा २०५६ मा माओवादी समस्या समाधानका लागि ‘माओवादी समस्या समाधान उच्च स्तरीय सुझाव समिति’ गठन गरका थिए । देउवाले यो समिति मार्फत माओवादीसँग सम्बन्ध स्थापित गरेका थिए । देउवा–प्रचण्ड पत्र आदान प्रदान भएको थियो ।

२०५८ सालमा देउवा फेरि प्रधानमन्त्री बने । युद्ध सुरु भएको ६ वर्षपछि फेरि देउवा प्रधानमन्त्री भए । देउवा माओवादी समस्या हल गर्न अग्रस भए । शपथ नलिई माओवादीलाई वार्ताका लागि आह्वान गरे । सेनालाई रुसबाट दुईवटा हेलिकोेप्टर किन्न अनुमति दिने र बेल्जियमबाट हातहतियार किनेर भित्र्याउने सरकारी कदमपछि माओवादी झस्कियो । माओवादीले युद्धविराम भङ्ग गर्यो । माओवादीले दाङ, स्याङ्जालगायतका ठाउँमा सेना, प्रहरीलगायत सरकारी कार्यालयमाथि आक्रमण गर्यो । सरकारले सङ्कटकाल घोषणा गरेर सेना परिचालनको निर्णय गर्यो ।

माओवादीभित्र कोसँग सहकार्य गर्ने भन्नेमा अहिले दुई सोच छन् । एउटा सोच–काङ्ग्रेस–माअ‍ोवादी गठबन्धनलाई जायज मान्छ । अर्को सोच–बामपन्थीहरुबीचको सहकार्यलाई अगाडि बढाउन चाहन्छ । यस्तो अवस्थामा प्रचण्ड–देउवा दोस्ती कहिलेसम्म चल्ने हो, त्यो चाहिँ हेर्नैपर्ने हुन्छ, किनभने राजनीति सम्भावनाको खेल हो, जहाँ सम्बन्ध जोडिने र तोडिने भइरहन्छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल