पत्रकार अधिवेशनका कमान्डर पत्रकार

पत्रकार अधिवेशनका कमान्डर पत्रकार

सिन्धुलीको झाँगाझोली रातमाटेमा जन्मिएका डा. सुरेश आचार्य नेपाल पत्रकार महासङ्घका हालसम्मका कान्छो उमेरका पूर्वसभापति हुन् । सक्रिय राजनीति गर्ने चाहना हुँदाहुँदै पूर्णकालिन पत्रकारिता पेसामा आबद्ध हुन पुगेका पत्रकार आचार्य पत्रकारिता क्षेत्रका चर्चित प्रशिक्षक मात्र नभएर पत्रकारिता कलेजका सञ्चालक र प्राध्यापक पनि हुन् । पत्रकारिता विज्ञका रुपमा समेत चिनिने उनी केही वर्षदेखि नेपाल पत्रकार महासङ्घको सबैजसो अधिवेशन र साधारणसभाको बन्द सत्रको अध्यक्ष मण्डल सञ्चालन गर्दै आएका छन् । बोल्ड कमान्डिङ भ्वाइस र नेतृत्वको विशिष्ट क्षमताले गर्दा पत्रकार आचार्यले पत्रकारिता क्षेत्रमा आफनो प्रवेश र महासङ्घको अधिवेशन र साधारण सभाको बन्द सत्र सञ्चालन गर्दाको आफ्नो अनुभूतिबारे यसरी बिस्तार लगाए :

यसरी भयो पत्रकारितामा प्रवेश
गाउँको स्कुलबाट एसएलसी पास गरिसकेपछि म पढ्नका लागि अरुले जस्तै काठमाडौँ हिँडे । अस्कलमा आईएस्सी पढ्न थालेँ । त्यो बेला भएको सत्याग्रहमा सहभागी भएँ । पढ्दापढ्दै जेल परँे । जेलबाटै सेकेन्ड इयरको परीक्षा दिएँ । पास गरेँ । जेलबाट छुटेपछि गाउँ फर्कें । गाउँकै स्कुलमा विज्ञान शिक्षक बनेर पढाउन थालेँ । स्कुलेजीवनबाटै नेविसङ्घको समर्थक भएकाले होला गाउँमा पनि राजनीतिमा चासो दिन थाले । म २०३८ सालतिरै नेविसङ्घको जिल्ला उपाध्यक्ष भइसकेको थिएँ । यसैले मेरो रुचि पनि अब राजनीतिमै अगाडि बढ्नुपर्छ भन्ने थियो । यसैले शिक्षण पेसासँगै राजनीतिमा पनि सकृय हुन थालेँ ।


त्यो बेला विद्यालयमा असार साउनमा लामो बिदा हुन्थ्यो । बिदाकै बेला दाजुले मलाई जागिर लगाइदिने भनेर काठमाडौँ बोलाउनुभयो । घरपरिवारले मलाई राजनीतिमा लागेर बिग्रन्छ भन्ने लागेको रहेछ । परिवारकै आग्रहमा उहाँले मलाई काठमाडाँै बोलाउनुभएको रहेछ । घरपरिवारको चाहना म धेरै पढौँ लेखौ । जागिर खाएर ठूलो मान्छे बनौँ भन्ने रहेछ । यसैले मलाई राजनीतिबाट छुटाउन दाजुले देशान्तर साप्ताहिकमा रिर्पोटरको जागिर लगकाइदिनुभयो । उहाँहरुलाई डर थियो म राजनीतिमा लागेर बिग्रन्छु भनेर । देशान्तरको रिर्पोटर त भएँ तर मैले कुनै तालिम लिएको थिएन । नत पत्रकारिता नै बुझेको थिएँ । समाचारको तथ्य र समाचार लेखनबारे मलाई कुनै ज्ञान थिएन । सम्पादक किशोर नेपाल थिए । उनले चुँगीकरबारे अदालतले गरेको फैसलाको समाचार लेख्ने काम दिए । कुनै समाचार नै नलेखी अदालतको समाचार लेख्न सक्ने कुरै भएन । दस चोटी फैसला पढे तर कानुनी भाषा बुझ्नै सकिनँ । तर पनि अह्राएको काम गर्नै पर्यो । नौ चोटिसम्म घोरिएर समाचार लेखेर सम्पादकलाई देखाएँ । सम्पादकले सबै च्यातिदिए– ‘यसरी पनि समाचार लेखिन्छ भन्दै । त्यो बेला लेखाई नमिले च्यातेर फाल्ने गरिन्थ्यो । दस चोटिमा चाहिँ किन हो सम्पादक किशोर नेपालले आफै सच्याएर समाचार बनाएर छापिदिए । देशान्तरमा काम गर्दागर्दै मैले एनपीआई र आईपीएसबाट पत्रकारिता तालिम लिएँ । २०४४ तिर होला जर्मनीको बर्लिनमा भएको तीन महिने डेभलोपमेन्ट जर्नालिज्म तालिममा सहभागी हुने अवसर पनि पाएँ । त्यसले मलाई पत्रकारितामा लाग्न थप उत्प्रेरणा दियो । त्यसपछि मैले आफ्नो पेसासँगै पढाइलाई पनि निरन्तरता दिँदै गए । पञ्चायतकालको त्यो बेला देशान्तर साप्ताहिक काङ्ग्रेसीहरुको पत्रिका भनेर चर्चित थियो । यसैले पञ्चायती प्रशासकहरुले खुवै दुःख दिन्थे । धेरै चाेिट पत्रिका बन्द गराउन प्रयास गरेका थिए । तर सकेका थिएनन् । भारतीय नेता चन्द्रशेखरले बोलेको कुरा छापेपछि अर्को अङ्क निकाल्न दिइएन । मलाई २०४६ मा त्यो पत्रिकामा काम गरेकै कारण पक्राउ गरेर४६ दिन थुनामा राखियो ।

प्रथम जनआन्दोलनपछि देशमा प्रजातन्त्र आयो । जेलबाट छुटेपछि सकृय राजनीति गर्ने चाहना पलायो । तर त्यो बेला जनआन्दोलन विरोधी धेरै पञ्चेहरु काँग्रेमा छिरे । प्रतिगमनकारीहरु भटाभट माला लगाएर काङ्ग्रेसको कमिटीमै छिर्न सफल भएँ । मलाई चित्त बुझेन । यसैले मैले सकृय राजनीति गर्ने चाहना पूरै त्यागिदिएँ । र २०४७ वाट म पार्टी राजनीतिबाट पुर्ण स्वतन्त्र बने । त्यसपछि पूर्ण आईएफजे र रोयटर्स जस्ता संस्थाबाट थप तालिम लिएर स्वतन्त्र पत्रकारिता गर्न थाले । पत्रकारिता तालिमहरु पनि चलाएँ । पछि पत्रकारितामा मास्टर्स र त्यसपछि सामुदायिक रेडियोमा पीएचडी पनि गरे । हाल पत्रकारिताको कलेज पनि चलाइरहेको छु । विभिन्न तालिमहरुमा सहभागी भइरहेको छु । पत्रकारिता सम्बन्धि महत्वपूर्ण नीतिगत कार्यक्रमहरुका छलफलमा पनि भाग लिइरहेको छु ।

म त्यो बेला स्वतन्त्र, रविबार, तरुणको सम्पादक पनि बने । पछि इमेज च्यानलमा न्युज चिफ पनि भएँ । हाल एबीसी टेलिभिजनमा न्युज डाइरेक्टर छु । पत्रपत्रिकामा नियमित लेखहरु लेखिरहेको छु । आठ वर्ष त अन्नपूर्ण देनिकमा कोलम लेखेँ । अहिले नागरिक दैनिकमा नियमित लेखिरहेको छु । कम्युनिकेसन कर्नर र उज्यालो नेटवर्कको न्युज चिफ पनि भएँ । पछि न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पनि बने ।

पत्रकार महासङ्घमा यात्रा

सकृय पत्रकार भएपछि नेपालको पत्रकार महासङ्घको सदस्य हुने नै भएँ । पछि २०४९ मा विराटनगरमा भएको अधिवेशनबाट केन्द्रीय सदस्य भएँ । २०५२ मा झापामा भएको अधिवेशनबाट सचिवमा जिते । फेरि २०५४ मा महासचिवको जिम्मेवारी पाएँ । २०५६ मा नेपालका सबैखाले पत्रकारहरुको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घको सभापति भएँ । त्यो बेला म हालसम्मकै महासङ्घको सबैभन्दा कान्छो सभापति हुन पुगेको रहेछु । त्यो बेला मेरो उमेर मात्र ३४ वर्ष थियो । म सभापति हुनुभन्दा पहिले महासङ्घमा पुराना पुस्ताका पत्रकारहरुको हालीमुहाली थियो । तर मैले ३४ वर्षमै पत्रकार महासङ्घको सभापति बनेर युवाहरुलाई महासङ्घको नेतृत्वमा ल्याउन क्रमभंग गरेको रहेछु । हालका केन्द्रिय अध्यक्ष डा महेन्द्र बिष्ट पूर्व अध्यक्षहरु तारानाथ दहाल, विष्णु निष्ठुरी, धर्मेन्द्र झा लगायतसबै मेरै कार्यसमितिमा थिए । मैले महासङ्घमा सबै निर्वाचन स्वतन्त्र रुपमा लडेर जितेको हुँ । म कहिल्यै पनि कुनै भातृ सङ्गठनको सदस्य भएर महासङ्घमा चुनाव लडिन ।


खसी बजारको कार्यालय टहरो बनाएर सञ्चारग्राममा

म सभापति भएकै बेला हो खसी बजारमा भाडाको घरमा भएको महासघको कार्यालयलाई सञ्चारग्राममा ल्याएर टहरो बनाएर स्थापित गराएको । अहिले त त्यो ठाउँमा भव्य भवन बनिसकेको छ । मेरै पालामा हो लोककल्याणकारी बिज्ञापन दिलाउने काम भएको । यद्यपी म अहिले यसबाट आफै सन्तुष्ट छैन ।

कहिल्यै पक्षपात गर्न चाहिन

मैले महासङ्घको नेतृत्वमा रहँदा होस वा पूर्व अध्यक्ष भैसकेपछि होस मैले कहिल्यै पनि कुनै पत्रकार वा पत्रकारमहासङ्घमाथि पक्षपात गर्न चाहिन । कहिल्यै कुभलो पनि चिताइन । जनयुद्धका क्रममा बेपत्ता पारिएका पत्रकार कृष्णसेन ईच्छुकको खोजबिन र रिहाइकालागि तात्कालिन गृहमन्त्री पुर्णबहादुर खडकासँग पनि चर्काचर्की गरे । प्रशासकहरुलाई पनि पत्रकारको जीवन रक्षा गर्न आग्रह गर्दै आन्दोलनको चेतावनी दिए । पत्रकार सेनलाई छुटाउन राजबिराज हुँदै सिरहासम्म पुग्यौ । त्यो बेला पत्रकार कृष्ण सेनलाई खरखजाना मुद्दा लगाइएको थियो । सिडिओले २५ हजार धरौटीमा छाडने बताएका थिए । पत्रकार ओम शर्मा र म उनलाई छुटाउन सिरहा पुगेका थियौ । तर उनलाई बुझनकालागि परिवारको सदस्य चाहिन्छ भनियो । मैले म नै कृष्णसेनको अभिभावक हुँ भने , सिडिओ चन्द्रबहादुर कार्कीले कसरी अभिभावक भने, – ‘मैले म पत्रकारहरुलाई संरक्षण प्रदान गर्ने साझा सँस्थाको अभिभावक हुँ यसैले कागजमा म सही गर्छु । , तर पछि मिसिल झिकाउने कारण देखाएर उनलाई तत्काल जिम्मा लगाइन । पछि उनलाई राजबिराजबाट जलेश्वर जेल सरुवा गरियो । र छाडियो । मैले उनलाई सोझै जहाजबाट काठमाण्डौ ल्याउन साथीहरुलाई भने । काठमाण्डौ ल्याएपछि सार्बजनिक गराएँ । अफसोच पछि उहाँलाई फेरि पक्राउ गरेर बेपत्ता बनाएर हत्या गरियो ।

अर्को कुरा डा महेन्द्र बिष्ट अध्यक्ष भएपछि महासङ्घका केही पूर्व अध्यक्षहरु निक्कै निरास भए । आत्तिए । उनिहरुले महासङ्घबाट अलग भएको सामुहिक बिज्ञप्ती जारी गर्ने तैयारी गरे । मलाई पनि सामेल हुन आग्रह गरे । तर मैले मानिन उनिहरुलाई सम्झाएर रोके ।

यसैगरी विष्णु निष्ठुरी महासचिव थिए । उनले राजतन्त्रविरुद्ध विज्ञप्ती जारी गरेकाले महाराजले समातेर थुनेका थिए । सभापति तारानाथ त बिष्णुले आफै बठ्याई गरेर विज्ञप्ती जारी गरेको भनेर जोगिएछन् ।
पछि तर बिष्णुलाई हटाएर राजेन्द्र दहाललाई सभापति बनाउने जोर गरियो । तर मैले निर्भिक र प्रजातन्त्रको पक्षमा लागेको विष्णुलाई सर्मथन गरे । मलाई राजेन्द्र दहाललाई सर्मथन गर्न धेरै प्रेसर गरियो । किशोर नेपालले पनि मलाई त्यही कुरा भने । बिष्णुलाई पनि धेरै प्रेसर भएछ । उसले पनि भो अब म सभापति बन्दिन भन्न थालेको थियो । तर मैले उसलाई सम्झाएँ र ऊ उम्मेदवारी दिन तयार भयो । र, मैले केही गर्दा पनि विष्णुले छाड्न नमानेपछि राजेन्द्र दहालले उम्मेदवारी फिर्ता लिए । अनि विष्णु सभापति बने ।

विष्णु निष्ठुरीको पालादेखी हो बन्द सत्र चलाउन थालेको

विष्णु निष्ठुरी सभापति भएदेखि हो मैले महासङ्घको सधारणसभा र अधिवेशनको बन्दसत्रको सञ्चालन गर्न थालेको । नेपाल पत्रकार महासङ्घको विद्यानमा अधिवेशनको समयमा मात्र अध्यक्ष मण्डल गठन गर्नुपर्ने र साधारणसभामा नपर्ने उल्लेख छ । तर जोकोहीले कमाण्ड गर्न नसक्ने भएपछि दुवै समय अध्यक्ष मण्डल बनाएर बन्द सत्र सञ्चालन गर्न थालिएको हो । अझैसम्म पनि बन्द सत्रको अध्यक्ष मण्डलको अध्यक्षताका लागि नाईं भन्दा पनि धर पाउने गरेको छैन ।
मलाई पत्रकार महाङ्सघको बन्द सत्र सञ्चालन गर्दा त्यहाँभित्र हुने होहल्ला, धम्की, अराजकताले केही असर गर्दैन । किनभने म पूर्ण रुपमा निष्पक्ष भएर कमाण्ड सम्हालिरहेको हुन्छु । जिम्मेवारी निभाइरहेको हुन्छु । मेरो राजनीतिक आस्था भए पनि महासङ्घबाहेक म कुनै सङ्गठनको पनि सदस्य नभएकाले पनि होला मलाई निर्धक्क बन्दसत्र सञ्चालन गर्न सजिलो पनि लाग्छ । म पूरै आत्मविश्वासी भएर बन्दसत्र सञ्चालन गर्छु । मलाई कसैले गाली गर्यो भने पनि सहने क्षमता राख्छु । मलाई महासङ्घ छ र त हामी पत्रकार एक छौँ त महासङ्घ नै रहेन भने हामी कसरी रहन्छौँ भन्ने लाग्छ । म बन्दसत्रमा पहिले सबैलाई सकेसम्म बोल्न दिन्छु । किनभने सबैले आफ्नो अधिकार प्रयोग गर्न पाउनुपर्छ । यसैले पहिले सबैलाई सकेसम्म बोल्न दिन्छु । अध्यक्ष मण्डलका साथीहरुले ‘भो अब धेरै भो सम्हाल्न सकिँदैन रोकभन्दा पनि सबैले बोल्न पाउनुपर्छ भन्ने मेरो प्रयास हुन्छ । तर जब महासङ्घकैबिरुद्ध मर्यादा नाघेर सदस्यहरुले अराजकता प्रदर्शन गर्न थाल्छन् । अनि चाहिँ मलाई सह्य हुँदैन र म कडा रुपमा प्रस्तुत हुन्छु । बसको ठाउँबाट उभिएर कार्वाहीको चेतावनी दिन बाध्य हुन्छु । हुन त म सानैदेखि अडिग खालकै हुँ । एक पटक कलेजमा हाजिरी जवाफ सञ्चालन गर्दै थिएँ, कसैले उत्तरप्रति चित्त बुझाएन र विवाद झिक्यो मैले त्यो बेला भनेको थिएँ– ‘जसले जे उत्तर भने पनि यसको सही उत्तर यहाँ लेखिए अनुसार नै हो अरु हुनै सक्दैन ।, हो महासङ्घका सदस्यहरु पनि बिधान अनुसार नै चल्नुपर्छ उनीहरुले प्रश्न पनि सोही आधारमा सोध्नुपर्छ र उत्तरमा चित्त बुझाउनुपर्छ भन्ने म चाहन्छु ।

म बन्द सत्र सञ्चालन गर्दा पुरै ‘भेन्टिलेट’ हुन्छु । सबैको कुरा सुन्छु । तर सम्झाउँदा पनि नमानेपछि चाहिँ कठोर बन्न बाध्य हुन्छु । मलाई बन्दसत्र सञ्चालन गर्दा गाली गर्लान्, कुटलान्, दुव्र्यवहार गर्लान् भनेर पटक्कै डर लागेन लाग्दैन । म आत्तिन्न पनि । किनभने हलभित्र व्यक्ति हैन सस्था छ भन्ने म बुझछु । अरु साथीहरु सञ्चालन गर्दा आत्तिन्छन् । डराउँछन् । कति ठाउँमा त साथीहरुले कमान्ड गर्न नसकेर छाडेका पनि छन् । मलाई भित्रैदेखि बल आउँछ । किनभने म पत्रकार महासङ्घलाई माया गर्छु हृदयदेखि नै । मैले आजसम्म बन्दसत्र सञ्चालन गर्दा कसैलाई गलत व्यवहार गरे भन्ने लाग्दैन ।

मैले बन्द सत्र सञ्चालन गर्दा कसैलाई हलभित्रै नै कार्बाही चाँही गर्नुपरेको छैन । तर हलभित्र पसेको प्रहरीलाई बाहिर निकाल्न बाध्य भएको छु । नेपालगन्ज साधारणसभाको घटना हो, त्यहाँ कसैले मिस सूचना दिएर प्रहरी हलभित्र पसाएछ । तर मैले कठोरतासाथ सबैलाई बाहिर निकालेको थिएँ ।

बन्द सत्र चलाएपछिका आरोप

मैले पत्रकार महासङ्घको बन्द सत्र चलाउँदा त्यस्तो आरोप, दुव्र्यवार केही खप्नुपरेको छैन । तर मलाई पोखरा विधान अधिवेशनमा बन्द सत्र सञ्चालन गर्दा चाहिँ आरोप लगाइयो, त्यो पनि केन्द्रीय समितिबाटै । लौ अध्यक्ष मण्डलको अध्यक्ष सुरेश आर्चायले नै बिधान पारित हुन दिएन भनिएछ । तर त्यो मेरो कारणले भएको थिएन । मैले सभापति शिव गाउँलेलाई पहिले नै भनेको थिए, विधानप्रति मेरो असहमती छ । यसैले म बन्द सत्र सञ्चालन गर्दिनँ भनेर । तर सभापति गाउँलेले बन्दसत्र सञ्चालन गर्न कर गरे । म महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरिसकेपछि हल छाडेर बाहिर निस्किएँ । विधानको छलफलमा सहभागी हुन चाहिन । बाहिर निस्किएर डेढ घन्टा जति चिसो पिएर बसे । कसैसँग कुनै कुरा गरिन । तर भित्र सम्हालिन नसकिने स्थिती बनेपछि म पुन कन्ट्रोल गर्न भित्र गएको हुँ , त्यो पनि आग्रहमा । स्थिती कन्ट्रोल भयो तर बिधान भने पारित नभैै अधिबेशन सकियो ।

पछि त्यो विधान निर्वाचन अधिवेशनका बेला पारित भयो, मैरे अध्यक्ष मण्डलमा । मैले पुनः विधानमा असहमती जनाएर पत्रकार महासङ्घको निर्वाचन रोक्न चाहिन । मेरो असहमती विधानमा आरक्षणको व्यवस्था पदाधिकारीमा हैन केन्द्रीय सदस्यसम्म मात्र हुनुपर्छ भन्ने थियो । केन्द्रय सदस्य भइसकेपछि बाँकी क्षमता आफै बढाएर लानुपर्छ भन्ने मेरो मत थियो । र, म अहिले पनि त्यही मतमा अडिग छु ।

पहिले र अहिलेको बन्द सत्र

मैले थाहा पाएअनुसार अहिलेको बन्दसत्रभन्दा पहिलेको बन्दसत्र निक्कै शान्त हुन्थ्यो । विवाद त पहिले पनि हुन्थे तर त्यो आर्थिक विषयमा हुन्थ्यो । पहिले हुलदङ्गा हुँदैनथ्यो । सभालाई भाँड्ने काम गरिँदैनथ्यो । मञ्चमा चढेर तोडफोड गर्न खोजिदैनथ्यो । अहिले जस्तो गरी पत्रकारका राजनीतिक सङ्गठन थिएनन् । विचार मात्र हुन्थ्यो । अहिले महासङ्घमा जबर्जस्ती राजनीति हुनेगरेको छ । अरुलाई खुइल्याउने मौका यही भनेर साधारण सभा र अधिवेशनको समयमा बन्दसत्रलाई उपभोग गर्न थालिएको छ ।

बन्दसत्रमा सुधार आवश्यक

महासङ्घमा जबसम्म सदस्यहरुको शुद्धीकरण हुँदैन र राजनीतिककरण अन्त्य हुँदैन तबसम्म महासङ्घ सभाहरुमा पनि सुधार आउन सक्दैन । चुनाव जसरी पनि जित्नुपर्छ भन्ने मनसायले गरिने गुटगत एकताको अन्त्य गरिनुपर्छ । महासङ्घ कुनै एक सङ्गठनको मात्र हैन, सबैको साझा बनाउनुपर्छ । भातृसङ्गठन र छाता सङ्गठनको अन्तर कायम हुनुपर्छ । अनि मात्र सबैका लागि भनिएको स्वतन्त्र पत्रकार महासङ्घको अस्तित्व कायम रहनसक्छ । यसका लागि सबैले हाम्रो मात्र हैन विवेक प्रयोग गरेर राम्रो बनाउन ल्याउनुपर्छ । महासङ्घले स्वतन्त्रपूर्वक काम गर्न सकेन भने यो संस्था दाह्रा नभएको बाघ जस्तै बन्न सक्छ । आफै विवादमा आएर आफनै नासिन सक्छ ।

अब बन्दसत्र चलाउँदिन

म पहिले कुनै पार्टीको सदस्य थिइनँ । तर म अहिले पहिले भन्दा अलि भिन्न भइसकेको छु । युद्धविराम गराउँदाखेरीको प्रधानमन्त्री शेरबहादुर देउवाले जारी गरेको विज्ञप्ती बनाउने मै हुँ । मैले उनकै आग्रहमा त्यो विज्ञप्ती बनाएको थिएँ । त्यो बेलादेखि म उनीसँग निकट रहँदै आएँ । हुन त विद्यार्थी कालदेखि नै मेरो काङ्ग्रेससँगको आस्था हो । धेरै नेताहरुलाई कोठमा लगेर पालेको पनि हुँ । काङ्ग्रेसको कार्यकर्ता भएर जिल्ला सभापतिको चुनाव लडेको पनि हुँ ।

तर जब म पत्रकारितामा आएँ तबदेखि म पार्टीप्रति आस्था मात्रै राख्न थालेँ । तर पछिल्लो पटक जब शेरबहादुर देउवा प्रधानमन्त्री बने त्यसपछि उनकै आग्रहमा म नेपाली काङ्ग्रेसको मिडिया सेन्टरको केन्द्रीय संयोजक बने । जब म पार्टीको जिम्मेवारी सम्हाल्न थालिसकेको छु भने मैले कसरी निष्पक्ष रुपले स्वतन्त्र रहने पत्रकारहरुको छाता संस्थाको बन्दसत्र सञ्चालन गर्न सकौँला र भन्ने लाग्छ । यदि मैले बन्द सत्र सञ्चालन गरे भने पनि मलाई बायस भएको आरोप लाग्न सक्छ । अरुले नलगाए पनि काङ्ग्रेस निकट पत्रकारहरुले मलाई हाम्रो मान्छे भएर पनि हामीमाथि यति कृपा गरेन वा फरक व्यवहार गर्यो भनेर आरोप लगाउन सक्छन् । यसैले मैले ठानेको छु अब म बन्दसत्रको अध्यक्ष मण्डलको अध्यक्ष बनेर बन्द सत्र सञ्चालन गर्न चाहन्न ।

प्रस्तुति : गणेश लम्साल

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल