कस्तो पहिरनमा कस्तो गहना सुहाउँछ ?

कस्तो पहिरनमा कस्तो गहना सुहाउँछ ?

उत्तम बनेपाली फेसन डिजाइनर

फेसनेबल तथा क्लासिक लुक्स देखिन ड्रेसअप मात्र नभएर गहनाको भूमिका पनि महत्वपूर्ण हुन्छ । आफ्नो पहिरनसँग मिलाएर गहना लगाउन नजान्दा असुहाउँदो देखिन सक्छ । त्यसैले आफूसँग छ भन्दैमा भएभरको गहना लगाउनु पनि उपयुक्त हुँदैन । धेरै गहनाले ड्रेसअप नै असुहाउँदो तथा भद्दा देखाउँछ । गहना प्रयोग गर्दा आफूले लगाएको ड्रेसअप मात्र होइन, कार्यक्रमको प्रकृतिलाई पनि विशेष ध्यान दिनुपर्छ । सिल्भर कलर मिक्स भएको ड्रेसअपमा सुनका गहना लगाउनु सुहाउँदो देखिँदैन । यस्तो ड्रेसअपमा सिल्भर कलरकै या डाइमन्डका गहना सुहाउँछ । ड्रेसअपअनुसार कस्तो गहना कसरी लगाउने भन्ने प्रश्नको उत्तर फेसन डिजाइनर उत्तम बनेपालीले यसरी दिएका छन् :

विवाह, पार्टी, सांस्कृतिक कार्यक्रम तथा अन्य चाडपर्वमा नेपाली महिलाहरूको साझा पहिरन हो, साडी । पछिल्लो केही वर्षदेखि भने साडीजस्तै देखिने तथा लगाउन सजिलो हुने कारण लेहेंगा पनि निकै चलेको छ । करिब ५० प्रतिशत विवाहिता महिलाले अहिले लेहेंगा नै रुचाउँछन् । विशेषगरी, ३५ वर्ष उमेरसम्मका महिलाले लेहेंगा लगाउँछन् । साडी तथा लेहेंगामा सुहाउने गहना छनोटमा विशेष ख्याल राख्नुपर्छ । साडीभन्दा पनि ब्लाउजको डिजाइनले गहना छनोटमा प्रत्यक्ष भूमिका निर्वाह गर्छ । यदि लेहेंगा तथा साडीको ब्लाउज फुल नेक छ भने घाँटीमा गहना नलगाएकै राम्रो देखिन्छ । यस्ता ड्रेसअप रोज्नेले कानमा मात्र गहना लगाउनुपर्छ । तर, ओपन नेक ब्लाउज भएको ड्रेसअपमा नेक्लेस वा घाँटीको गहना लगाउनुपर्छ । गहना सकेसम्म सेट नै मिलाएर लगाउँदा राम्रो हुन्छ ।

सिल्भर वर्क गरिएका ड्रेस छ भने सिल्भर ज्वेलरी तथा डाइमन्ड लगाउँदा सुहाउँदो हुन्छ । गोल्डेन कलर मिक्स छ भने सुनका गहना लगाउँदा नै सुहाउँछ । पछिल्लो समय रानी, सुन्तला तथा हरियो रङका ड्रेस निकै चल्न थालेको छ । त्यसैले चुरा लगाउँदा भने ड्रेसअनुसारको कलर छनोट गर्नुपर्छ । साडी तथा लेहेंगामा हातभरि मिक्स कलरको चुरा लगाउँदा निकै आकर्षक देखिन्छ ।

साडी लगाउन समय धेरै लाग्ने कारण महिलाले कुर्ता–सलवार पनि धेरै प्रयोग गर्छन् । त्यसो त अहिले वानपिस, लङ गाउन तथा अनारकली पनि प्रचलनमा छ । यस्ता ड्रेस लगाउनेले नेक्लेस प्रयोग नगर्दा नै सुहाउँछ । कानको गहना छनोट गर्दा पनि आफ्नो मुहारको बनोटलाई विशेष ख्याल राख्नुपर्छ । गोलो मुहार भएका महिलालाई लामो झुम्का सुहाउँछ । त्यस्तै, लामो अनुहार भएका महिलाले सकेसम्म छोटो झुम्का तथा टप लगाउनु उपयुक्त हुन्छ । कुर्ता–सलवार लगाउनेले थोरै चुरा लगाउँदा राम्रो देखिन्छ । त्यस्तै गाउन, वानपिसमा चुराभन्दा बाला लगाएको सुहाउँछ । यस्ता युवतीले हातभरि चुरा लगाउँदा त्यति सुहाएको देखिँदैन ।

नक्कली सुनको गहना पनि पछिल्लो समय निकै प्रचलनमा छ । मूल्य कम हुने कारण ड्रेसअनुसार फरक–फरक डिजाइनका गहना प्रयोग गर्न सकिन्छ । यस्तै विशेषताले नक्कली सुनका गहनामा आकर्षण बढेको हो । सक्कली सुनजस्तै देखिने, सस्तो हुने तथा प्रयोग गर्दा डर पनि नहुने कारण सस्ता गहना बढी प्रयोग हुन्छन् । भिडभाडमा हिँड्नुपर्दा ड्रेसअपअनुसार सुहाउँदो सस्तो गहना प्रयोग गर्नु उत्तम हुन्छ ।

नयाँ पत्रिकाबाट

 

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल