असल अभिभावक बन्न बच्चालाई यस्तो व्यवहार

असल अभिभावक बन्न बच्चालाई यस्तो व्यवहार

विपुला श्रेष्ठ मनोविमर्शकर्ता,होलिस्टिक माइन्ड्स एन्ड लाइफ सेलिब्रेसन सेन्टर, धापासी

कुशल अभिभावक बन्नु निकै कठिन कार्य नै हो । राम्रो अभिभावकले बच्चाको व्यवहार परिवर्तन गर्नुभन्दा पनि कसरी हुर्काउने भन्ने महत्वपूर्ण हुन्छ । बाल्यकालमा कसरी हुर्कियो, कस्तो संस्कार पायो र कस्तो बानीव्यवहार सिक्यो भन्ने कुराले उसको भविष्य निर्धारण हुन्छ । अधिकांश अभिभावकको गुनासो हुन्छ, धेरै पैसा खर्च गर्दा पनि सोचेअनुरूप प्रतिफल पाइरहेका छैनौँ । पैसा मात्र खर्च गरेर बच्चालाई उत्तम बनाउन सकिँदैन । त्यसका लागि उनीहरूको इच्छा, भावना बुझ्न जरुरी छ । अन्यथा, कुलत तथा गलत संगतमा फस्न सक्छन् । असल अभिभावक बन्न अभिभावकले यस्ता कुरामा ध्यान दिनु फाइदाजनक हुन्छ :

प्रेम गर्ने
बच्चाहरू स्वभावैले प्रेमका भोका हुन्छन् । बच्चाहरू अभिभावकको ध्यान आफूतिर होस् भन्ने चाहन्छन् । त्यसैले उनीहरूलाई ध्यान बढी दिनुपर्छ । उनीहरूलाई बिरामी हुँदा बढी माया गर्ने गर्नु हुँदैन । अरू वेलाजस्तै ठिक्क प्रेम गर्ने तर औषधोपचारमा बढी ध्यान दिने गर्नुपर्छ । किनकि, बच्चाहरूले बिरामी हुँदा बढी प्रेम गर्छ भन्ने थाहा भयो भने अवचेतन रूपमा बिरामी हुन चाहने हुन सक्छ । त्यसैले चाहिनेभन्दा बढी प्रोटेक्सन गर्नु हुँदैन । यसले उनीहरूमा आत्मविश्वासमा कमी ल्याउँछ ।

चिन्तारहित अभिभावक
हरेक अभिभावकमा व्यावसायिक तथा कार्यालयको तनाव हुनु स्वाभाविक हो । तर, आफ्नो कार्यालय या व्यवसायको तनाव बच्चाहरूमा पोख्नु हुँदैन । धेरै अभिभावक तनावकै कारण बच्चालाई राम्रो व्यवहार गर्दैनन् । जसले गर्दा अभिभावक र बच्चाको आत्मीयतामा कमी ल्याउँछ र घरभन्दा साथीहरूसँग बढी रमाउने हुन्छन् । त्यसैले जतिसुकै ठूलो तनाव भए पनि बच्चाको सामु देखाउनु हुँदैन ।

गुणस्तरयुक्त समय बिताउनु
अभिभावकले बच्चाहरूलाई अत्यन्त कम समय दिँदा पनि उनीहरूमा नैराश्य उत्पन्न हुन्छ । एक–अर्काको मनका भावनाहरू साट्न नपाउँदा बच्चाहरू के गरिरहेका छन्, के चाहन्छन् भन्ने थाहा पाइँदैन । अभिभावकले बच्चालाई साथीको जस्तो व्यवहार गर्दा एक–अर्काबीच आत्मीयता बढ्छ । जसले गर्दा बच्चाहरूले आफ्नो हरेक कुरा स्पष्ट राख्न सक्छन् । अभिभावक कुनै कार्यक्रममा जाँदा बच्चालाई पनि सँगै लानुपर्छ । जसले गर्दा नया“ मानिस, वातावरणसँग सहज रूपमा घुलमिल हुन सक्छन् । यसले उनीहरूमा आत्मविश्वास बढाउँछ ।

डर नदेखाउने
प्रायः अभिभावक साना बच्चाहरू फकाउन भूत आयो, गुजी आयो, पागलले लान्छ, पुलिस आयो भनेर तर्साउने गर्छन् । यसले बच्चालाई तुरुन्त शान्त बनाउन त सकिन्छ, तर यसले दीर्घकालीन रूपमा ठूलो मनोवैज्ञानिक असर पुर्‍याउँछ । उनीहरूको अवचेतन मस्तिष्कमा उक्त डर रहिरहन्छ । बच्चा ठूलो भएपछि उक्त डर प्रस्फूटन हुन्छ र उसलाई असर पर्छ । त्यसैले बच्चालाई डर नभई साहस सिकाउनु अत्यन्त राम्रो हुन्छ ।

गुणस्तरीय खानेकुरा खुवाउने
बच्चालाई पोषणयुक्त सन्तुलित खानेकुरा खुवाउन ध्यान दिनुपर्छ । बच्चालाई प्याकिङ फुड, जंकफुडहरू खुवाउनु हुँदैन । चाउचाउ सजिलो हुने हुँदा धेरैले प्रयोग गर्छन् । तर, धेरै चाउचाउ खाँदा पनि असर पुर्‍याउँछ । त्यसैले मधेसी बदाम, ओखरको गुदी मात्रा मिलाएर खुवाउँदा बच्चाको मस्तिष्कलाई फाइदा हुन्छ ।

प्रविधिको कम प्रयोग
अहिले बच्चाहरूलाई सानैदेखि मोबाइल, ट्याबजस्ता ग्याजेट प्रयोग गर्न सिकाइन्छ । यसले बच्चालाई भुलाउन, अल्मल्याउन त सकिन्छ, तर शारीरिक तथा मानसिक असर पुर्‍याउन सक्छ । यस्तो बानीले अभिभावकलाई केही समय स्वतन्त्रता त मिल्ला तर बच्चालाई धेरै असर पुर्‍याउँछ । धेरै मोबाइल चलाउँदा आँखाको समस्या, बढी निहुरिँदा गर्दनको समस्या, एकोहोरो हेर्दा मानसिक समस्या हुन सक्छ । त्यस्तै, ग्याजेटमा बढी समय बिताउने बच्चाहरू मोटोपनसमेत बढ्ने गरेको पाइएको छ । छिटो रिसाउने, अनिद्राजस्ता समस्या पनि आउन सक्छ । त्यसैले अभिभावकले सुरुमै सोच्नु आवश्यक छ । धेरै बानी परेपछि हटाउन असाध्य कठिन हुन्छ ।

नयाँ पत्रिकाबाट

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल