सगरमाथा दिवस : सगरमाथामा पहिलो पटक मानव पाइला टेकिएको ६४ वर्ष

सगरमाथा दिवस : सगरमाथामा पहिलो पटक मानव पाइला टेकिएको ६४ वर्ष

विकास लोहनी

काठमाडौँ, १४ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाइला टेकिएको ६४ वर्ष पुगेको छ ।

दुई साहसी पर्वतारोही तेजिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन सगरमाथाको शिखरमा पुगी सफलता प्राप्त गरेपछि यस घटनाले विश्वभरि नै ठूलो चर्चा पायो र नेपालले अन्तर्राष्ट्रियजगत्मा सर्वोच्च शिखर सगरमाथाको देश भनेर पहिचान प्राप्त गयो । सगरमाथा दिवसलाई विभिन्न कार्यक्रमका साथ उत्सवका रुपमा मनाउने गरिएको छ ।

सरकार, नेपाल पर्वतारोहण सङ्घ र सम्बन्धित निकायले संयुक्तरुपमा पर्वतीय पर्यटनको महत्वलाई उजागर गर्दै आरोहीको सम्मान, अन्तर्राष्ट्रिय सगरमाथा अवार्ड वितरणलगायत कार्यक्रम गरी सो दिवस मनाउँदैछन् । सो ऐतिहासिक घटनापछि सगरमाथाको आरोहण गरी नयाँ कीर्तिमान राख्न देश विदेशका पर्वतारोही अनवरतरुपमा आरोहणमा जाने गरेका छन् ।

यसै क्रममा सबभन्दा बढी उमेरमा आरोहण गरेर, पहिलो महिला आरोही भएर, कृत्रिम अक्सिजन प्रयोग नगरी, कृत्रिम खुट्टा लगाएर, सबभन्दा कम उमेरमा र सबभन्दा बढी उमेरमा सगरमाथा चढेर धेरैले नयाँ रेकर्ड कायम गरेका छन् । पहिलो नेपाली महिला आरोही पासाङल्हामु शेर्पा, पहिलो विदेशी महिला आरोही जापानकी जुन्को तावेई, कृत्रिम अक्सिजन प्रयोग नगरी आरोहण गर्ने फ्रान्सका राइन होल्ड मेसनर, २१औँ पटक आरोहण गर्ने आप्पा शेर्पा, कम समयमा आरोहण यात्रा पूरा गर्ने पेम्वा शेर्पा र महिला पर्वतारोहीमा छोटो समयमा आरोहणको यात्रा पूरा गर्ने छुरिम डोमा शेर्पाका नाम कीर्तिमानी आरोहीको ऐतिहासिक दस्तावेज भएको छ ।

कीर्तिमानी राख्ने होडबाजीसँगै केही आरोहीले सगरमाथा आरोहणकै क्रममा आफ्नो जीवन उत्सर्ग गरेका छन् । पहिलो नेपाली महिला आरोही पासाङ ल्हामु शेर्पा, बाबुछिरी शेर्पा, ७६ वर्षीय वृद्ध पूर्वपरराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्याय र यसै याममा ८२ वर्षीय वृद्ध मीनबहादुर शेरचनले सगरमाथामै आफूलाई समर्पण गर्नुभयो । एक पटक ७५ वर्षको उमेरमा सगरमाथा आरोहण गरिसकेका मीनबहादुरले पुनः आरोहण गर्ने अभिलाषाका साथ बेस क्याम्पमा पुग्दा हृदयघातका कारण उहाँको गत महिना निधन भयो । ती वृद्धको निधनपछि सगरमाथा आरोहणका लागि एउटा अधिकतम उमेर तोकिनुपर्छ भन्ने बहस पनि चलेको छ ।

यस याममा पनि केही आरोहीले नयाँ कीर्तिमानी थपेका छन् । भारतीय महिला आरोही अंशु जम्सेल्याले एकै याममा दुई पटक सफल आरोहण गरेर र कान्छीमाया तामाङले आफ्नो समुदायको प्रथम महिला आरोही बन्ने सौभाग्य प्राप्त गर्नुभएको छ भने कामिरिता शेर्पाले शनिबार २१औँ पटक सगरमाथाको सफल आरोहण गर्नुभयो । यसअघि आप्पा शेर्पा र फुर्वातासी शेर्पाले पनि २१औँ पटक आरोहण गरी सक्नुभएको छ । यसबाट शेर्पा समुदायले नै हिमाल र नेपालको विश्वमा गौरव बढाएको अनुभूति हुन्छ ।

विश्वमा रहेका आठ हजार मिटरभन्दा अग्ला १४ हिमशृङ्खलामध्ये आठवटा नेपालमै रहेकाले पनि संसारभरका साहसिक पर्यटक र पर्वतारोहीका लागि नेपाल एक आकर्षक गन्तव्यका रुपमा चिनिएको छ । पर्वतीय पर्यटन नेपालको पहिचान बनिसकेको छ । वास्तवमै नेपाल सगरमाथा र लुम्बिनीको देशका रुपमा विश्वमा चिनिएको छ । देशमा आउने विदेशी पर्यटकमध्ये करिब ३० प्रतिशत पर्यटक पदयात्रा र पर्वतारोहणका लागि नै आउने गरेका छन् । मनास्लु, धौलागिरि, मकालु, ल्होत्से, आमाडब्लमलगायत हिमाल आरोहणका लागि पनि आरोहीको आकर्षण अझै बढ्दै गएको छ ।

सगरमाथा आरोहणका लागि यस वर्ष ३९ समूहका ३७४ जनाले अनुमति लिएकामा लगभग सबैले आरोहण गरिसकेको नेपाल पर्वतारोहण सङघका अध्यक्ष आङछिरिङ शेर्पाले बताए । अब गर्मी बढ्दै गई आइसफल हुने भएकाले मे महिनाभित्रै सबै आरोहीले आफ्नो आरोहण सिध्याउने गरेको शेर्पाले उल्लेख गरे। गत वर्ष ३४ समूहबाट २८९ आरोहीले अनुमति लिएका थिए ।

चौँसठी वर्षको अवधिमा हजारौँ आरोहीले सफल आरोहण गरिसकेका छन् र बर्सेनि सरकारलाई करोडौँ रुपैयाँ रोयल्टीका रुपमा प्राप्त भइरहेको छ भने आरोहणका लागि विश्वभरबाट आउने पर्यटकबाट समेत विदेशी मुद्रा प्राप्त भइरहेको छ । यस अवधिमा सगरमाथाले नेपाललाई ठूलो नाम र दाम दिएको छ । अब सगरमाथाको प्राकृतिक सौन्दर्यलाई बचाई राख्नुपर्ने आवश्यकता छ । नेपालका हिमशृङ्खला केवल पर्वतारोहीका आरोहणको साहसिक पर्यटकीय यात्रा गर्ने माध्यम मात्र होइन, यसको हिमाली र पहाडी क्षेत्रका नेपाली जनजीवनसँग अन्योन्यास्रित सम्बन्ध रहेको छ । हिमाली क्षेत्रको वातावरणीय सन्तुलन बिग्रँदै जाँदा यसले मानव बस्ती, जीवजन्तु र चराचुरुङ्गीसमेत प्रभावित हुन्छ ।

जलवायु परिवर्तन र विश्वव्यापीरुपमा बढ्दै गएको तापक्रमले हिमालका हिउँ पग्लँदै गएको अध्ययनले देखाएको छ । त्यसैले हिमालको प्राकृतिक सौन्दर्य र पर्यावरणीय सन्तुलन जोगाइराख्न अब आरोहणमा रोक लगाई आराम दिनुपर्छ भन्ने आवाज पनि वातावरणविद्बाट आउने गरेको छ । दुई वर्षअघिको गोरखा भूकम्प र हिमपहिरोले पनि सगरमाथाको स्वरुपमै परिवर्तन हुँदै गएको छ र बढी मात्रामा आइसफल भई हिमताल फुटने खतरा बढ्दै गएको छ ।

साथै आरोहीको चाप बढ्दै जाँदा हिमाली क्षेत्रमा फोहरमैलाको थुप्रोले प्रदूषण बढ्दै गएको छ । यद्यपि हिमालको सरसफाइ गरी फोहर सङ्कलन गर्ने कार्य नभएका होइनन् तर त्यो पर्याप्त छैन । यी सबै तथ्यलाई ध्यान दिई समयमै सरकार, वातावरणविद् र सरोकारवालाको पहलमा नेपालका सगरमाथालगायत देशका हिमालको आकर्षण र सौन्दर्यलाई बचाइराख्न दीर्घकालीन नीति निर्माण गरी ठोस पहल गर्नुपर्ने खाँचो छ । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल