भूकम्पले भत्काएको भवन अधुरै, अफिस कोठामै पढाई !

भूकम्पले भत्काएको भवन अधुरै, अफिस कोठामै पढाई !

ओखलढुंगा, जेठ – जिल्लाको मोलुङ गाउँपालिका वडा नं १ स्थित थापाचौरमा रहेको सिंहदेवी प्राथमिक विद्यालयको भवन मर्मत गर्न थालिएको एक वर्षभन्दा बढी भइसक्यो ।

भुकम्पबाट पूर्ण क्षति पुगेपछि ट्रस मर्मतका लागि गत वर्ष नै शिक्षा कार्यालयबाट बजेट आएपनि पूरा बजेट नआएका कारण भवन निर्माण पूरा भएको छैन ।

शिक्षा कार्यालयले दिएको एक लाख ३६ हजार रुपैयाँ र विद्यालयको आन्तरिक स्रोत तथा श्रमदान गरेर एक लाख ८९ हजार रुपैयाँमा २ कोठे भवनको ट्रस मर्मतको काम थालिएको थियो । उक्त बजेटले विद्यालयको वाल उठाउने काम आधामात्रै सकिएको छ ।

ट्रस मर्मतका लागि पर्याप्त बजेट नहुँदा काम अधुरै बनेको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धमलाले जानकारी दिए । ‘शिक्षा कार्यालयले कार्यक्रम हुँदै जान्छ भनेको छ,’ धमलाले भने, ‘बजेट आउँछ भन्ने ग्यारेन्टी पनि गरेको छैन, हुन्छ पनि भनेको छैन ।’

१ देखि ३ कक्षासम्म पढाइ हुँदै आएको उक्त विद्यालयमा भुकम्पबाट सबै भवन भत्किएपछि पठनपाठन प्रभावित हुँदै आएको छ । टीनले बारेर बनाइएको तीन कोठे भवनमा विद्यार्थीलाई कष्टप्रद तरिकाले पठनपाठन गरिँदै आएको छ ।

भवन भत्किएपछि २ वर्षदेखि टीनको अफिस कोठाभित्र कक्षा १ लाई तथा २ र बालकक्षालाई अर्को कोठामा पढाउने गरिएको प्रअ धमलाले बताए । उक्त विद्यालयका कक्षा ३ का विद्यार्थीले भने सिंगो कोठामा पढ्न पाएका छन् ।

टीनको टहरोमा विद्यालय सञ्चालन गर्दा वर्षा र हावाहुरीका कारण पानी चुहिने र टीन उडाउने समस्याले पठनपाठनमा प्रभावित बन्दै आएको प्रधानाध्यापक धमलाले दुस्खेसो पोखे । ‘हामीले शिक्षा कार्यालयलाई बारम्बार समस्या सुनाइरहेका छौँ,’ धमलाले भने, ‘यो वर्षामा पनि समस्या समाधान नहुने भयो ।’

जिल्ला शिक्षा कार्यालय ओखलढुंगाले जनाएअनुसार सिंहदेवी प्राविजस्ता भुकम्पबाट क्षति भएर ट्रस मर्मत गर्नुपर्ने विद्यालय जिल्लाभर दुई सय ५० भन्दा बढी छन् । तीमध्ये ११ वटा विद्यालयको पहिलो फेजको काम सकिएपनि दोस्रो फेजको काम बजेट नआउँदा अलपत्र परेको छ ।

‘शिक्षा विभागमै भुकम्पप्रभावित जिल्लामा पठाउने कि अन्य जिल्लामा पनि पठाउने भन्ने विषयमा कुरा नमिलेर भवन मर्मतको बजेट नआएको भन्ने सुनिएको छ,’ शिक्षा कार्यालयका इन्जिनियर सुनिल यादवले भने, ‘चुनाव सकिएपछि आउला कि भन्ने आशामा छौँ ।’

जिल्लामा दुई सय ८० विद्यालय पूर्ण क्षति छन् । अधिकांश विद्यालयले कष्टप्रद तरिकाले पठनपाठन सञ्चालन गरिरहेका छन् । पूर्ण क्षति भएको विद्यालयमा राष्ट्रिय पुनर्निर्माण कार्यक्रमअन्तर्गत डीएलपीआयूले ४१ वटा विद्यालय पुनर्निर्माण गरिरहेको छ भने ६ वटा विद्यालय नेपाली सेनाले पुनर्निर्माण गर्ने जिम्मा लिएको शिक्षा कार्यालयको भनाई छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल