२२ स्रष्टालाई पुरस्कार, ४ कृति लोकार्पण

२२ स्रष्टालाई पुरस्कार, ४ कृति लोकार्पण

काठमाडौं, जेठ २ –वाङमय शताब्दी पुरूष डा.सत्यमोहन जोशीले बालबालिका सहित २२ स्रष्टालाई पुरस्कार प्रदान गरेका छन् । राजधानी आज आयोजित एक कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो ।
नइ प्रकाशनले हरेक वर्ष वाङमय शताब्दी पुरूष डा.सत्यमोहन जोशीकै जन्मदिनको अवसरमा यो पुरस्कार प्रदान गर्दै आएको छ । समारोहमा जोशीको ९८ औं जन्मदिन समेत मनाइएको थियो ।
कार्यक्रममा दुई लाख रुपिया राशि र ताम्रपत्र सहित नइ देरुनी अन्तराष्ट्रिय पुरस्कार भारतका श्रीमती विन्द्या सुब्बालाई प्रदान गरियो । पाँच दशक अघिदेखि नेपाली वाङमयको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहँदै नेपाली भाषा साहित्यको अन्तराष्ट्रिय विस्तारमा समेत महत्वपूर्ण योगदान पुर्याए बापत उनलाई सो पुरस्कार दिइएको हो ।
त्यसै गरी साहित्यकार, संस्कृतिविद्, चित्रकार तथा आयुर्वेदाचार्य डा.मोदनाथ प्रश्रितलाई ‘नइ खरा सुकीर्ति पुरस्कार’, प्राध्यापक शिवगोपाल रिसाललाई ‘नइ चन्द्रधन पुरस्कार’, बुद्धिनारायण श्रेष्ठलाई ‘नइ कीर्तिनिधि पुरस्कार’ प्रदान गरियो । यी तीनै पुरस्कार ताम्रपत्र सहित जनही एक लाख रूपियाँ राशिको रहेका छन् ।
समारोहमा ताम्रपत्र सहित ७ जना व्यक्तित्वलाई जनही ५० हजार रूपियाँ राशिका पुरस्कार समर्पण गरिएको थियो ।

कार्यक्रममा डा.जगमान गुरूङलाई नइ भूपालदुर्गा पुरस्कार, नारीजागरण तथा साहित्यका लागि शान्ता श्रेष्ठलाई नइ खरा प्रसिद्धि पुरस्कार, साहित्यका लागि कञ्चन पुडासैनीलाई नइ ईश्वरवल्लभ पुरस्कार र चित्रकलातर्फ विजय थापालाई नइ यउजा पुरस्कार समर्पण गरियो ।
त्यसै गरेर मुलुक बाहिर बसेर नेपाली भाषाको सेवा गर्ने सुरेशजङ्ग शाहलाई नइ गणेशदुर्गा पुरस्कार, काठमाडौं उपत्यका बाहिर रहेर नेपाली भाषा साहित्यको सेवाका निम्ति चितवनका गायत्री श्रेष्ठ र सरस्वती रिजाललाई संयुक्त रुपमा नइ बुलु शर्मा पुरस्कार र रुपन्देहीका अजम्बरध्वज खातीलाई नइ धनरूप पुरस्कार समर्पण गरिएको छ ।
यस्तै साहित्य, चलचित्र तथा सङ्गीतका लागि धीरेन्द्र प्रेमर्षिलाई २५ हजार रूपियाँ राशिको नइ खरा गौरव पुरस्कार र नाटक, समाजसेवा तथा मनोविज्ञानका लागि सुश्री नानी थापालाई १५ हजार रूपियाँका साथ नइ खरा पौरख पुरस्कार समर्पण गरियो ।
नइ प्रकाशनले आआफ्नो अध्ययनमा समर्पित भई विविध वाङ्मयिक गतिविधिमा प्रतिष्ठा आर्जन गर्ने १५ बर्षसम्मका ६ जना बालबालिकालाई ताम्रपत्रका साथ जनही १० हजार रूपियाँ राशि सहित ’नइ देरुनीखपू बाल पुरस्कार’ समेत बाडेको छ । पुरस्कार पाउनेमा बहुआयामिकतर्फ शाश्वत घिमिरे, साहित्यतर्फ अर्चना उप्रेती, चित्रकलातर्फ सौजन्य श्रेष्ठ, गायनतर्फ किम्ती श्रेष्ठ, नृत्यतर्फ श्रीया शाक्य र खेलकुदतर्फ कमलबहादुर थापा मगर रहेका छन् ।
त्यस्तै १० वर्ष उमेर समूहका एञ्जेल राईलाई गायन तथा सम्राज्ञीश्री बस्नेतलाई नृत्यका लागि ताम्रपत्रका साथ ७ हजार रूपियाँ राशि सहित नइ देरुनीखपु कोपिला पुरस्कार र ५ वर्षीय प्रिन्सा विश्वकर्मालाई ताम्रपत्रका साथ ५ हजार रूपियाँ राशि सहित नइ देरुनीखपु चिचिला पुरस्कार समर्पण गरिएको छ । समारोहमा बिभिन्न ४ कृति समेत बिमोचन गरियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल