नदी सफाइबाट २८ मेट्रिक टन फोहर व्यवस्थापन

नदी सफाइबाट २८ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, ३० वैशाख । उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी २८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

वाग्मती सफाइ महाअभियानको २०९औँ हप्तामा आज थापाथली पुल पारी ललितुर क्षेत्रमा सफाइ गरी १५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा ३०० जनाको सहभागिता रहेको अभियानकर्मी उमेश बोहराले राससलाई जानकारी दिए ।

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, मुक्तिनाथ विकास बैंक, जीवन विज्ञान, गायत्री परीवार, हलेसी डेकोर, युरेसिया रेयुकाइ, सिस्नुपानी नेपाल, नेपाल विज्ञापन सङ्घ, नेपाल एस जिआई, साया समूह, फ्रेन्ड्स क्लब, निमार्ण नेपाल, सुपादेउराली युथ, ओसो नेपाल नदी संरक्षण संस्थालगायतको सहभागिता थियो ।

सफाइमा पूर्व सचिवद्वय केशव भट्टराई र किशोर थापा, गायत्री परिवारका डा राजु अधिकारी, जीवन विज्ञानका एलपी भानु शर्मा, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, प्रहरी उपरीक्षक गणेश ऐर, टङक राज आचार्य, राजकुमार भट्टराई, नारायण श्रेष्ठ, हेमराज कार्की, नरेन्द्रबहादुर श्रेष्ठ लगायतको सहभागिता थियो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइ सुरु भएको १७०औँ हप्तामा आज गोठाटार पुलमुनि सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजले अयोजना गरेको सफाइमा ८० जनाको सहभागिता थियो । सो अवसरमा नदी किनारको बगैँचामा पनि सफाइ गरिएको थियो ।

विष्णुमती सफाइको १४०औँ हप्तामा आज जनचेतनामूलक अभियान गर्दै चक्रपथ सफाइमा सहभागी भएको अभियानकर्मी विजेन्द्र लामाले बताए ।

चक्रपथ सफाइको चौथो साता आज बसुन्धराचोकबाट पूर्व उत्तरतर्फ सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा २०० स्वयम्सेवक सहभागी थिए ।

विसं २०७० जेठ ५ गते शनिबारदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान र त्यसपछि सुरु भएका उपत्यकाका विभिन्न नदी सफाइ अभियानमा हालसम्म सात लाख २२ हजार भन्दाबढी स्वयम्सेवकले सहभागिता जनाएका छन् । उपत्यकामा वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई पोखरा, झापा र तुलसीपुरलगायत २६ स्थानमा सफाइ भइरहेको छ । यी अभियानबाट साढे दश हजार मेट्रिक टन फोहर व्यवस्थापन भएको छ ।

आगामी शनिबार २१०औँ हप्ताको वाग्मती सफाइ थापाथली पुल पारी ललितपुरतर्फकै वाग्मती किनारमा हुने छ । झापा सफाइ अभियानले आजैदेखि ५० हप्ता पूरा गरेको छ । झापाको सफाइमा संलग्न हुनेलाई आज विशेष सम्मान गर्दै आगामी दिनमा अझ व्यवस्थित रुपमा अभियान सञ्चालन गर्ने निर्णय गरिएको अभियन्ता सरोज सत्यालले बताए ।

यस्तै पोखरा सफाइ अभियानले एक वर्ष पूरा गरेको र वातावरण दिवसका अवसरमा वृक्षरोपण गरिएको अभियन्ता सुनिल पाण्डेले बताए ।

रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल