रमेश बुढाथोकीका १० किस्सा : उनले ब्वाइफ्रेन्ड ल्याएकी रहिछन्

रमेश बुढाथोकीका १० किस्सा : उनले ब्वाइफ्रेन्ड ल्याएकी रहिछन्

कुवेर गिरी

युवा अवस्थामा धेरैले जीवनको तीतामीठा अनुभूति सँगाल्छन् । यो अवस्थामा धेरै रमाउँछन् । प्रेममा हराउँछन् । साथीभाइसँग घुम्छन् । तर कलाकार रमेश बुढाथोकीले भने आफ्नो जीवनमा युवा अवस्था कहिले आयो र गयो केही अनुभूति गर्न पाएनन् । उनले भने, ‘कलाक्षेत्रमा रमाउँदा रमाउँदै मेरो युवा अवस्था चिप्लिएछ’ । नेपाली कलाक्षेत्रका सफल निर्माता, निर्देशक, कलाकार हुन्– बुढाथोकी । चार दर्जनभन्दा बढी चलचित्र अभिनय गरेका बुढाथोकीसँग १४ सयभन्दा बढी टेलिशृङ्खला अभिनय गरेको अनुभव छ । चलचित्र क्षेत्रका हठी निर्देशक भनेर चिनिएका बुढाथोकीको निर्देशन रहेका ११ चलचित्र प्रदर्शनमा आइसकेका छन् भने एउटा प्रदर्शनमा आउन बाँकी छ । आफ्नै निर्देशन, लेखनमा समेत चलचित्र र सिरियल गर्दै आएका बुढाथोकी अभिनयमा समेत अब्बल रहँदै आएका छन् । नयाँ कलाकारलाई अभिनयमा डेब्यु दिलाउने मावलामा समेत अगाडि रहेका बुढाथोकी थिएटर अभिनयमा समेत चिनिएका कलाकार थिए । कलाक्षेत्रमै आफ्नो ३५औँ वसन्त समर्पण गरेका उनी कलाक्षेत्रमा आउने उतारचढावमा कहिलै पनि विचलित भएनन् । कलामा लागेर सायौँ पेसा अपनाएका व्यक्तिभित्र आफू बस्न र बाँच्न सकेको बताउने उनले यसै क्षेत्रबाट समाजलाई बुझ्न र नजिकबाट नियाल्न सफल भएको बताउँछन् । एक जुनीमा सयौँ पत्रको अनुभूतिसहित बाँच्ने अवसर कलाले दिएकोमा गर्भ गर्ने उनीसँग कलाकारिता गर्दाको समयका तीतामीठा अनुभूति थुप्रै छन् । प्रस्तुत छ, यी नै कलाकार रमेश बुढाथोकीको चार दशक अभिनय यात्राका दस किस्सा :

किस्सा–१ : गणेशको हातभरी रगत

‘मोहनी’ चलचित्र मेरो निर्देशकीय जीवनकै पहिलो ठूलो पर्दाको चलचित्र हो । ०५१ तिर निर्माण भएको यस चलचित्रको स्क्रिप्ट नै तीन पटकसम्म रिराइट गरिएको थियो । पहिलो भएकाले मलाई राम्रो चलचित्र बनाउनु थियो । त्यसैले धेरै कथाबाट उत्कृष्ट एक छानियो । लोकेस हेर्न त देशको प्रायः ठाउँ पुगियो होला । यसै चलचित्रको ‘यो साँझ यो सुवास’ भन्ने एक गीत कलाकार गणेश उप्रेती, बिना बुढाथोकी र सरोज खनालमाथि छायाङ्कन हुँदै थियो । गीतको भिडियोले कथा पनि बोल्नुपर्ने थियो । कथाअनुसार प्रेममा असफलता पाएका पात्र गणेश र प्रेमीप्रेमिका सरोज र बिना थिए । सरोज र बिनाले प्रेमको समर्थनमा गीत गाउने र गणेशले त्यसको अपोजिट भन्ने थियो । सिनमा गणेशले मदिरा पिउँदै गरेको गिलास हातैले फोर्नुपर्ने सिन थियो । कलाकारलाई गिलास फुटाउन सजिलो होस् भनेर फुटाएर टासिएको थियो । जब सुटिङ सुरु भयो । बिस्तारै फुटाए पनि फुट्ने गिलास गणेशले बेस्सरी निचोरेछन् । गिलास टुक्राटुक्रा । गिलासले काटेर गणेशको हातबाट धेरै रगत बग्न थाल्यो । घाउ देखाउन नक्कली रगत हाल्नु परेन । चलचित्रको सिनमा देखिएको रङ रियल थियो । सिन सकिएपछि उनको हातको घाउ हेरेको देख्दा डर लाग्यो । चलचित्रको यो दृश्यले दर्शकलाई पनि छोएको थियो । आज पनि त्यो दृश्य सम्झँदा मेरो आङ जिरिङ्ग भएर आउँछ ।

किस्सा–२ : अन्धविश्वासले सतायो

नेपाल टेलिभिजनमा लोकप्रिय बन्न सफल सिरियल ‘राप’ छायाङ्कनका लागि ४० जनाको टोलीसहित वीरगञ्ज पुगेको थिए । त्यतिबेला त्यहाँ धेरै गर्मी रहेछ । यति गर्मीकी कलाकार हिँड्दा हिँड्दै बेहोस हुन्थे । गर्मीले दिनमा भन्दा पनि बिहान र साँझ सुटिङ हुन्थ्यो । काम सकाउनुपर्ने प्रेसरले म बिहान चाँडै उठ्थँे । अनि अरुलाई पनि उठाउँथेँ । त्यसरी उठाउने क्रममा एक दिन साथीहरु सबै उठेर बस्नुभएको देखेँ । एकएक गरेर ती साथीहरुलाई हेर्दा उनीहरुको अनुहारमा त्रास, डर र भयले भरिएको, कोही रोइरहेको देखेँ । कोही एकअर्कालाई शङ्काले हेरेको पनि देखेँ । मैले कहिल्यै नसोचेको अवस्था देखेँ । मलाई देख्न वित्तिकै सबैले एकै स्वरमा भने– “हामीबीच लडाइँ भयो । एकअर्कालाई कुट्यौँ ।” किन त्यस्तो भयो भनेर मैले सोधेँ । उनीहरु सबैले एकै स्वरमा भने ‘डरलाग्दो सपना आयो’ । सपनामा कसैले आफूलाई कुट्न आएको र आफूलाई बचाउने क्रममा एकअर्काेलाई आक्रमणमा उत्रिएको उनीहरुले बताए । त्यो सपना सँगै सुत्ने सबैले देखेको रहेछन् । सुटिङका लागि हामी बसेको घर धेरै पुरानो थियो । घरमालिकले त्यो घरमा कहिल्यै माछा मासु पकाएर खाएको रहेनछन् । हामीले खायौँ, त्यही भएर त्यस्तो सपना आएको रहेछ । पछि माछामासु खान छाडेपछि केही भएन । सुटिङको अन्तिम दिनतिर फेरि माछामासु खाएका थियौँ । त्यो समय पनि त्यस्तै भयो । त्यो घरको अन्धविश्वास मलाई पनि विश्वास गर्न कर लाग्यो ।

किस्सा–३ : स्थानीयले कलाकारलाई धम्क्याए

‘प्रतिद्वन्द्वी’ सिरियलको सुटिङ टेलिभिजन स्टुडियो नेपालगञ्जमा हुँदै थियो । सेट लगाएर तीन क्यामर प्रयोग गरेर छायाङ्कन हुँदै थियो । अनलाई इडिटिङ पनि थियो । समयमै सुटिङ सकाएर स्टुडियो छोड्नुपर्ने प्रेसरमा अदालतको सिन गर्नुपर्ने थियो । मिहिनत गरेर काम गरिरहेका थियौ । पूरै युनिटले । अदालतको सिनमा दर्शक भनुपर्ने थियो । त्यही क्रममा अघिल्लो रोमा एक बेग्लै गेटअफका सबैले नोटिस गर्ने खालका मानिस खोजेर राखेका थियौँ । उनी स्थानीय बासिन्दा थिए । अभिनेत्री बिना बुढाथोकीले वकिलको रोल गरेकी थिइन् । गर्मीका कारण मेकअप बगाएर एक सट पछि फेरि मेकअप गर्नुपर्ने अवस्था थियो । सो समय मलाई युरिक एसिड बिमारले सताएको थियो । मैले टाढैबाट युनिट कन्ट्रोल गरिरहेको थिएँ । समयको पावबन्दीले सुटिङ रोक्न सकिएको थिएन । त्यो सट लामो थियो । त्यस्तै १० मिनेटको थियो । कहिले के नमिल्ने, कहिले के नमिल्लने गर्दा गर्दै धेरै टेक भइसकेको थियो । १७औँ टेकमा ओके भयो । सबै युनिटमा खुसी छायो । मलाई पनि लडाइँ जिते जस्तो लाग्यो । सुटिङ सक्नुपूर्व सट हेर्नुपर्यो भनेर रमाइलो मान्दै हेर्दै थिए । हेर्दाहेर्दै मेरो अनुहार खिस्रिक पर्न थाल्यो । मैले फेरि गरौँ भने । युनिटका सबै अचम्मित भए । अगाडि नोटिसका लागि राखेको महत्वपूर्ण मानिस नै सटमा रहेनछन् । त्यो मान्छेको खोजी गरेँ । सबै युनिट त्यसको खोजीमा लागे । ती मानिस एक चोकमा चुरोट तानेर बसेको रहेछ । सुटिङ उनलाई ल्याइयो । उनी पड्किन थाले । मान्छे आफ्नो खुसीले बस्न पनि नपाउने, कहाँ फसियो भन्दै कराउन थाले । अब कलाकारले बिगारे भने मैले जानेको छु भन्दै कलाकारलाई धम्क्याउँदै सट दिए ।

किस्सा–४ : जोक बनाएर उडाए

प्रसङ्ग चलचित्र ‘बाबु साहेब’को हो । एउटा गीत छायाङ्कनका लागि सम्पूर्ण युनिट भैंसेपाटी डाँडाबाट तल जाँदै थियो । कलाकार पहिले नै पुगिसकेका थिए । म र नृत्यनिर्देशक शान्ता नेपाली थियौँ । उहाँको शरीर मोटो भएकाले आरालोमा हिँड्न सक्नुभएन । वर्षा यामको समय भएकाले बाटो हिलो थियो । गीतका लागि त्यो लोकेसन राम्रो भएको सकिनसकी जाँदै थियौँ । शान्तिजी हिँड्न सक्नुभएन । उहाँ लड्नुभयो भने नराम्रो हुन्छ भनेर मैले हात समाएर हिँडाउँदै थिएँ । उहाँ हिलोमा चिप्लिनुभयो र म माथि खस्नुभयो । उहाँको ज्यानले पूरै मलाई किच्यो । सो समय मैले केही देखिनँ । दिमागले पनि काम गरेन । उहाँको शरीर मोटो भएकाले युनिटका अन्य सदस्यहरुले आएर उठाए । त्यसपछि म हलचल गर्न सकिनँ । निर्माताले मलाई बी.एन्ड.बी अस्पतालमा पुर्याउनुभयो । विभिन्न इन्जेक्सन र चेकअप गर्दै मेरो उपचार भयो । बेलुका ठीक भएँ । अहिले पनि शान्ता नेपालीको नाम सुन्ने बिञ्किै मलाई त्यो घटना याद आउँछ । उक्त घटनाको विषयलाई युनिटका केही सदस्यले जोकसमेत बनाए ।

किस्सा–५ : केही दिन पानीसमेत पिउन भएन

चलचित्र ‘रक्षा’को सुटिङ थियो । म आफै पनि अभिनय गर्दै थिएँ । केही नौलो गेटअप दिनुपर्यो भनेर खुँडेको गेटअप गरेँ । ओठभित्र लगेर दाँत बाहिर निकालेँ । सबैले गेटअप मन पराए । त्यसरी अभिनय गर्दा सुरुको दुई दिन त आफूलाई पनि राम्रो लाग्यो । चलचित्रमा चालीस पचास सिन त्यसरी अभिनय गर्नुपर्ने थियो । गेटअप बनाउन केमिकल प्रयोग गरिन्थ्यो । केमिकलले दिन प्रतिदिन मेरो मुखभित्रको भाग बिग्रँदै गयो । खान पनि नहुने, बोल्न पनि गाह्रो हुनेभयो । यो समय मलाई कुन बेलामा यस्तो गेटअप गर्नपुगेँछु भन्ने लाग्यो । यो सुटिङ सकेपछि गेटअपबाट मुक्ति पाएँ भनेर साथीहरुलाई भोजसमेत खुहाए । ओठको उपचार गर्दा निको हुन २० दिनभन्दा बढी समय लाग्यो । केही दिन त पानीसमेत पिउन भएन ।

किस्सा–६ : स्टाइल सबैले रुचाए

चलचित्र चट्याङमा मेरो महत्वपूर्ण भूमिका थियो । प्र्रस्ताव दाइको यो चलचित्रमा एक्सन गर्दै थिएँ । मेरो आँखामुनि चोट लागेर रगत बग्नुपर्ने दृश्य थियो । नक्कली रगत हाल्दा आँखामा परेछ । १० मिनेटपछि मेरो आँखा सुन्निएर डरलाग्दो देखियो । धेरै औषधी गरियो । ठीक भएन । सुटिङबाट घरमा आए । रात भर सुत्न भएन । भोलिपल्ट डाक्टरलाई देखाए । डाक्टरले एक महिना रेस्ट गर्ने सुझाए । त्यतिबेला थोरै चलचित्र बन्थ्यो । चलचित्र पाउनै गाह्रो समय महत्वपूर्ण भूमिका बिरलै पाइन्थ्यो । मेरो महत्वपूर्ण भूमिका थियो । त्यसैले मेरो कारणले चलचित्रलाई असर नपर्योस् भनेर सुटिङमा गएँ । सुटिङमा मलाई आँखा खोल्न सकिने र खोल्दा धेरै पीडा हुने भएकाले प्रताप दाइले आँखामा चिम्लिन लगाएर चलचित्र सकाउनुभयो । यो दृश्य उहाँले बिमारी स्टाइलले बनाइदिनुभयो । आँखा दुखेर दिएको त्यही स्टाइल चलचित्र प्रदर्शनमा सबैले मनपराए ।

किस्सा–७ : त्यो समय धेरै डर लाग्यो

भर्खरै ‘भुइँ मान्छे’ चलचित्र सकेको थिएँ । यस चलचित्रमा नायिकाले मलाई गेटआउट भन्दै गुलाफको फूलले हान्ने सिन थियो । त्यो फूल ओरिजनल नभएर प्लाटिकको ल्याइएको थियो । हिरोइनले फूलले हिर्काउँदा पातको टुप्पोले मेरो आँखामा घोच्यो । त्यही आँखा जुन धेरै पहिले पनि घाइते भएको थियो । घोचाइले गर्दा आँखाबाट हल्का रगत आयो । तुरन्तै आँखा जचाउन गएँ । अस्पतालमा डाक्टरले धन्न नानी बँचेछ भन्नुभयो । त्यो समय धेरै डर लाग्यो । यसपटक मैले तुरुन्तै चलचित्र छायाङ्कनमा जाने रिक्स लिइन । सुटिङ रोकेर केही दिन आराम गरेँ । सबै युनिटले बुझ्नु पनि भयो । दुखाइ कम हँुदै गएपछि सुटिङ सकाएँ ।

किस्सा–८ : गणेशको झापड अहिले पनि आँखामा नाच्छ
चलचित्र अलिखितको सुटिङका लागि तराई झरेका थियौँ । अभिनेता गणेश मुनालको एक दृश्य थियो । डाइलक के थियो भन्ने बिर्सिएँ । तर सजिलो थिएन । त्यो डाइलक गणेशजीले कण्ठ गर्नसक्नु भएन । धेरै पटक टेक लिइयो । ओके नहुँदा हैरान थियौँ । समय पनि धेरै लागेको थियो । अति भयो गणेशजी । अब सिरियस हुनुन मैले भनेँ । त्यसो भन्दा सिरियस नै छु सर भन्ने जवाफ दिनुभयो । फेरि अर्काे टेक लिइयो । यो पनि बिग्रियो । फेरि बिग्रिएपछि उहाँलाई अब्ठ्यारो लागे छ कि के हो । उहाँले आफ्नो दुवै हातले पट्याङ् कि पट्याङ आफ्नो गालामा झापड हान्न थाल्नुभयो । गणेश मुनाल खुब चलचित्र खेल्छन्, आफूलाई राम्रो कलाकार बनाउन चाहान्छन् भन्दै हन्न थाल्नुभयो । हामी सबै छक्क पर्यौँ । युनिटका धेरै सदस्य मिलेर उनलाई रोकियो । उनी पसिनै पसिनाले भरिएका थिए भने गाला राता भएका थिए । यस्तो अवस्थमा फेरि अभिनय गराउनु मुनासिब नठानेर भोलिपल्ट लिने भन्दै सुटिङ प्याकअप गरेँ । भोलिपल्ट त्यही सिन खिचियो । गणेशले आफूले आफूलाई हानेको दृश्य अहिले पनि मेरो आँखामा नाचिरहन्छ ।

किस्सा–९ : उनले ब्वाइफ्रेन्ड ल्याएकी रहिछन्

‘फेरि तिम्रो याद आयो’लाई एउटा रोमान्टिक लभ स्टोरी चलचित्र बनाउने योजनामा थिएँ म । पुरानै कलाकार लिएर काम गर्ने सोचाइ थियो । विभिन्न कारण नयाँ कलाकार लिएँ । नायिका मुम्बईमा सङ्घर्ष गरिरहेकी एक युवती थिइन् भने अर्की अमेरिकामा अध्यायन गर्दैगर्दा छुट्टीमा नेपाल आएकी रहिछन् । कलाकार नयाँ भएपछि निर्देशकलाई कामको प्रेसर भइहाल्छ नि । केही दिनको वर्कसपपछि सुटिङमा हिँडियो । गाउँको दृश्य थियो । १५औँ दिनको सुटिङ बालाजु स्टुडियोमा सेट लगाएर खिच्ने तयारीमा थियौँ । सेट भव्य बनाइएको थियो । परेको पानी झ्यालबाट भित्र छिर्ने । त्यो घरमा एक्लै रहेकी किसानकी छोरीलाई एक्लै भएको मौका पारेर त्यही घरमा काम गर्ने हलीले रेप गर्ने सिन थियो । सबै तयारी सकिएपछि अभिनय गर्न नायिकाले मानिन् । सहायकले मलाई भने । मैले गएर सोधेँ । उनले सिनमा मेरो अब्जेक्सन छ भनिन् । के भनेर सोधेँ । यो सिन गर्दिनँ भनिन् । सिनको विषयमा मैले पहिले नै भनेको थिएँ भनेर बुझाएँ । सिन स्टोरीको मेन प्वाइन्ट हो भनेर सम्झाएँ । विवाह हुन लागेको केटीको रेप भएपछि समाजले उनलाई गर्ने व्यवहार चलचित्रमा देखाउन खोजिएको थियो । यो सिन तिमीले गर्नुपर्छ भनेर धेरै डिस्कस गरेँ । उनी एकछिन आउँछु भन्दै बाहिर गरिन् । केही समयमा आएर अभिनय गर्न रेडी भइन् । सिन सकियो । उनले किन यसो भनिन् । उनलाई के भएछ भनेर पछि बुझ्दा थाहा भयो, उनले छायाङ्कन सेटमा ब्वाइफ्रेन्ड ल्याएकी रहिछन् । त्यो केटाले जे भन्थ्यो उनी त्यही गर्थिन् । उसलाई नै सोध्न उनी हराउँदै आउँदै गर्दिरहिछन् ।

किस्सा–१० : गाडीभित्रै निदाएँ छु

म एक काम सकेर मात्र अर्काे थाल्थेँ । तर विभिन्न कारणले अप्सराको डबिङ र लगनगाँठोका छायाङ्कन एकै साथ पर्न गयो । पहिले मिलाएको सेडुल अनुसार काम नहँुदाको परिणाममा थियो यो । दुवैको काम सार्न पनि नमिल्ने थियो । डबिङ सार्दा रिलिज मिति नजिकिँदै थियो । छायाङ्कन रोक्न पनि नमिल्ने थियो । यो अवस्थामा दिनमा चलचित्रको छायाङ्कन र रातमा डबिङ गर्न थाले । बिहान चार बजेसम्म डबिङ गरेर घर पुगेपछि फ्रेस भएर सुटिङ निस्कन्थे । यो काम गराइले सुत्न नपाएको एकसाता भइसकेको थियो । एक नियमित सेडुल अनुसार डबिङ सकेर सुटिङ घरमा जाँदै थिए । गाडी आफैले चलाउँदै थिए । एकाएक पुतलीसडकमा मेरो गाडी ठोकिएको आवाज आयो । त्यो समय बल्ल मलाई थाहा भयो कि न त केही क्षणका लागि निदाएँछु । गाडी पेटीमा चढेर ठोक्किएछ, पछि पो बिउँझिएँछु । त्यस्तै बिहानको ४ बजेको थियो होला । त्यो समय अहिले झैँ सडकमा ट्राफिक देखिँदैन थिए । लक्कीले गाडी ठोक्किँदा पनि मलाई केही भएनछ । त्यसपछि अगाडि बढ्ने आँट मलाई आएन । गाडी त्यही रोकेर तीन घण्टा निदाएँ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल