सवारी दुर्घटनामा दुई बालबालिकासहित ८ जनाको मृत्यु

सवारी दुर्घटनामा दुई बालबालिकासहित ८ जनाको मृत्यु

काठमाडौं, वैशाख २३– विभिन्न ठाउँमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई बालबालिकासहित ८ जनाको मृत्यु भएको छ । कैलाली, बर्दिया, धनुषा, कपिलवस्तु, बाँके, रुपन्देही र कालिकोटमा भएको सवारी दुर्घटनामा परी आधा दर्जन बढी घाइते भएका छन् ।

कैलालीको गोदावरी नगरपालिका–८ जमुनानगरस्थित पुर्ब–पश्चिम राजमार्गमा से.१ त ९१३८ नम्बरको ट्याक्टरलाई हाल नम्बर नखुलेको ट्रकले शनिबार पछाडीबाट ठक्कर दिँदा बाटोमा उभिरहेका सोही ठाउँ बस्ने कृष्णसिंह सुतारको छोरा १२ वर्षीय सानु सुतारको घटनास्थलमा नै मृत्यु भएको छ ।

यस्तै, बर्दियाको बानियाभार नगरपालिका–९ बेउडाकलामा भे.१ त ६२४३ नम्बरको ट्याक्टर शनिबार आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरका सह–चालक सोही नगरपालिका कटरनिया बस्ने २३ वर्षीय टेकबहादुर थारुको घट्नास्थलमै मृत्यु भएको छ ।

ट्याक्टर चालक सोही ठाउँ बस्ने ३५ वर्षीय रामकुमार थारु गम्भीर घाइते भएकोले उपचारको लागि स्थानिय मेडिकल हुँदै थप उपचारको लागि कोहलपुर बर्दिया पठाइएको छ ।

यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका–४ स्थित सडकमा से.२ प ५७७ नम्बरको मोटरसाइकल शुक्रबार आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही गाउँपालिका–३ बस्ने ३५ वर्षीय महादेव थारुको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीय कृष्णकुमार थारु सामान्य घाइते भएका छन् ।

उता धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपही चोकमा ना.७ ख २२६३ नम्बरको टिपरले पैदलयात्री सपही–४ बस्ने ५० वर्षीय वैधनाथ साहलाई शनिबार ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी कपिलवस्तु नगरपालिका–३ बैंकरोडस्थित तौलिहवा–भैरहवा सडकमा युपी–५५–१–५४०५ नम्बरको फलफुल बोक्ने गाडीले शुक्रबार साइकललाई ठक्कर दिंदा भएको दुर्घटनामा गम्भीर घाइते भएका साइकलयात्री शुद्धधन गाउँपालिका–६ शिवलवा बस्ने ५५ वर्षीय ठगेप्रसाद पत्थरकट्टको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको छ । गाडी प्रहरीको नियन्त्रणमा छ भने चालक फरार भएकोले खोजी कार्य भइरहेको छ ।

बाँकेको कोहलपुर नगरपालिका–१४ बैजनाथपुरमा टिन बोकी जाँदै गरेको अटोरिक्सा शुक्रबार पल्टिन गई पैदलयात्री सोही ठाउँ बस्ने चन्द्रबहादुर सुनारकी छोरी ४ वर्षीया सिमा सुनारलाई टिनले काट्दा गम्भीर घाइते भएकोमा मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा बालिकाको मृत्यु भएको छ ।

यस्तै, रुपन्देहीको बुटवल उपमहानगरपालिका–४ लक्ष्मीनगरस्थित भित्री सडकमा रोकी राखेको ना.३ ख ५९२८ नम्बरको ट्रकमा लु.४ प ६६०९ नम्बरको मोटरसाइकल शुक्रबार ठक्कर खाँदा भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४४ वर्षीय श्याम खड्काको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ ।

कालीकोटको खाँडाचक्र नगरपालिका–८ सिमलेघाटमा भे.५ प ३०४४ नम्बरको ३ जना सवार मोटरसाइकल शुक्रबार अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–२ बस्ने दिलिप शाहीको घट्नास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालक सोही ठाउँ बस्ने ललित शाही र नम अधिकारी घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल