हेलिप्याड नहुँदा समस्या

  |   रासस

हेलिप्याड नहुँदा समस्या

तेह्रथुम, २३ वैशाख – सदरमुकाम म्याङलुङमा हेलिकप्टर अवतरणका लागि हेलिप्याड नहुँदा समस्या हुने गरेको छ ।
जिल्लामा विभिन्न प्रयोजनले आउने हेलिकप्टर अवतरणका लागि उपयुक्त स्थान छैन । म्याङलुङमा नेपाली सेनाले आफ्नो प्रयोजनका लागि मात्रै निर्माण गरेको हेलिप्याड सार्वजनिक रुपमै प्रयोग हुँदै आएको छ तर सेनाको हेलिप्याड प्रयोग गर्न प्रक्रिया झन्झटिलो हुने गर्छ ।

आन्तरिक प्रयोजनका लागि मात्रै निर्माण भएको हेलिप्याडमा निजी तथा व्यावसायिक हेलिकप्टर अवतरण गर्न दिन नमिल्ने इन्द्र दल गुल्मका गुल्मपति महेश्वर कार्कीले बताए । “जो कोहीलाई हेलिप्याड गर्नै दिन मिल्दैन” उनले भने, “तर यहाँ अर्को हेलिप्याड नहुँदा सार्वजनिक रुपमै प्रयोग गर्नैपर्ने बाध्यता छ, उचित ठाउँ खोजेर निर्माण गरे राम्रो हुने थियो ।”
उनले सार्वजनिक रुपमा प्रयोग गर्न सकिने गरी छुट्टै हेलिप्याड निर्माण गर्न म्याङलुङवासीलाई सुझाव दिए ।

जिल्लामा एउटा पनि विमानस्थल छैन । हेलिकप्टर समेत अवतरण गर्नसक्ने उचित स्थान नहुँदा यात्रु तथा पर्यटकले सास्ती बेहोर्नु परिरहेको छ । जिल्लामा विभिन्न समयमा जिल्ला बाहिरबाट हेलिकप्टर नै चार्टर गरेर घुम्न आउने तथा बिरामी लिन तथा पु¥याउन र अन्य प्रयोजनका लागि मानिस आउने गर्छन् ।

त्यस्ता आगन्तुक मानिसलाई सेनाको ब्यारेकभित्रको हेलिप्याड प्रयोग गर्न समस्या हुन्छ । हेलिप्याड प्रयोगका लागि पहिल्यै अनुमति माग्नुपर्ने हुन्छ । निजी भ्रमणमा हेलिकप्टर आउँदा पटक पटक गुल्मसँग अनुमति मागेर अवतरण गराइएको स्थानीय व्यापारी तारा श्रेष्ठले बताए । यसरी पटक पटक समस्या झेल्नुपर्दा सार्वजनिक रुपमा प्रयोग गर्न पाउने गरी हेलिप्याड निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल