हुम्ला सदरमुकाममा खाद्यान्न अभाव

सुर्खेतबाट सेनाको स्काई ट्रकबाट खाद्य ढुवानी

हुम्ला सदरमुकाममा खाद्यान्न अभाव

आकाश तारा बयक

सुर्खेत, वैशाख २२– हुम्लामा खाद्यन्न अपुग भएपछि नेपाल खाद्य संस्थान सुर्खेतले ढुवानी शुरु गरेको छ । निजी विमान सेवाले ढुवानी गर्न आलटल गरेपछि संस्थानले नेपाली सेनाको स्काइ ट्रक मार्फत शुक्रबारदेखि खाद्यन्न ढुवानी शुरु गरेको हो ।

कर्णालीका विभिन्न जिल्लामा नियमित ढुवानी गर्दै आईरहेका निजी विमान सेवा कम्पनीहरु लुक्लातिर पर्यटक ओसार्न व्यस्त भएपछि हुम्लामा ढुवानी प्रभावित भई खाद्यन्न अभाव भएको हो ।

वार्षिक ढुवानी लक्ष्यसँगै चुनाव पनि नजिएकाले स्काई ट्रकको निर्णय भएको खाद्य संस्थान शाखा सुर्खेतका प्रबन्धक भिमबहादुर थापाले बताए । ‘स्काई ट्रकको प्रयोग पहिलोपटक हो । यसले हुम्लाको सदरमुकामसम्म पु¥याउँछ,’ उनले भने, ‘शनिबारदेखि शुरु भएको ढुवानी शुक्रबारसम्म दुई सय क्विन्टल चामल ढुवानी भएको छ ।’

हुम्ला सदरमुकाममा २५ सय क्विन्टल ढुवानी गरिने छ । सेनालाई ५० लाख रुपैयाँ संस्थानको केन्द्रबाटै पेस्की पनि दिइसकिएको उनले जानकारी दिए । उनका अनुसार हुम्लाको दक्षिण भेग तथा बाजुरीको उत्तरी क्षेत्रमा पर्ने श्रीनगर डिपोका लागि ३ हजार एक सय ५७ र सर्केगाढ डिपोका लागि ३ हजार १ सय १३ क्विन्टल चामल पुगिसकेको छ ।

हुम्ला जिल्लाभरीका लागि १८ हजार पाँच सय क्विन्टल स्वीकृत गरिएको छ । हुम्ला सदरमुकामका लागि १३ हजार क्विन्टल कोटा रहेको छ । सदरमुकामका लागि स्वीकृत कोटामध्ये ७२ प्रतिशत हवाई मार्गबाट ढुवानी गर्नुपर्छ । साढे ६ हजार क्विन्टल व्यवसायीले हवाई मार्गबाट ढुवानी गरेका थिए । व्यवसायीले प्रतिकिलो ७९ रुपैयाँको दरले ढुवानी गरेको संस्थानको तथ्यांकमा उल्लेख छ ।

यसअघि संस्थानले टेन्डर प्रक्रियामार्फत ढुवानी गर्दै आएको थियो । व्यवसायीले ढुवानी भाडा कम भएको भन्दै माघदेखी ढुवानी गर्न छाडेका थिए । वार्षिक ढुवानी लक्ष्यसँगै चुनाव पनि नजिएकाले वैकल्पिक व्यवस्था गर्न खाद्य संस्थान बाध्य भएको हो । संस्थानका अनुसार मौसमका कारणले ढुवानी हुन सकेको थिएन । स्काई ट्रकबाट ढुवानी गर्दा प्रतिकिलो ७ रुपैयाँ महँगो छ । संस्थानले सेनाका लागि प्रतिकिलो करिब ८६ रुपैयाँ तोकेको छ । व्यवसायीले भने प्रतिकिलो ७९ रुपैयाँमा ढुवानी गर्दै आएका थिए । सेनाले ढुवानीमा १२ प्रतिशत छुट दिएको संस्थानको भनाइ छ । ‘सेनाका लागि टेन्डर अव्हान गरिएको होइन,’ सुर्खेत शाखा प्रबन्धक थापाले भने, ‘१२ प्रतिशत सहुलियतसहित प्रतिकिलो ८६ रुपैयाँ लागत पर्दछ ।’ उनले सेनासँग ‘जी टु जी’ प्रक्रियाबाट ढुवानी गरिएको जिकिर गरे ।

यसअघि हेलिकप्टरबाट प्रतिकिलो २ सय १० रुपैयाँको दरले ढुवानी भएको थियो । ‘सुक्खाका कारण दशै, तिहार ताका खाद्यान्न अभाव भएपछि मन्त्रीस्तरीय निर्णयअनुसार हेलिकप्टर प्रयोग गरेर ढुवानी ग¥यौं,’ प्रबन्धक थापाले भने, ‘आपतकालीन अवस्था भएकाले ढुवानी दर बढी देखिएको हो ।’ साउन–भदौमा हुम्लाको गाउँतिर ढुवानी भएको थियो । लामो समयसम्म खडेरीका कारण हुम्ला, डोल्पा, मुगु, कालिकोट, जुम्लालगायतमा खाद्य संकट भएको छ । डोल्पामा करिब ९० प्रतिशतले खडेरी भएको कृषि कार्यालयको भनाइ छ । कर्णालीको उत्पादनले स्थानीय जनतालाई पनि पुग्दैन । यस वर्ष उत्पादनमा थप गिरावट भएकाले तत्काल आपूर्ति बढाउनुपर्ने सरोकारवालाको माग छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल