दीर्घ तथा स्वस्थ जीवन जिउन मध्यम उपवास

दीर्घ तथा स्वस्थ जीवन जिउन मध्यम उपवास

डा. दिनेशप्रसाद बराल सोहम योग तथा प्राकृतिक चिकित्सा केन्द्र, लोकन्थली

प्राकृतिक चिकित्सा पद्धतिअनुसार अपनाइने पाँच विधि जल चिकित्सा, माटो चिकित्सा, वायु चिकित्सा, सूर्य–किरण चिकित्सा र आकाश चिकित्सा हो । तीमध्ये एक महत्वपूर्ण चिकित्सा आकाश भन्नाले खालीपन तथा शून्यतालाई जनाउँछ । यसको प्रयोग उपवासका माध्यमबाट गरिन्छ । स्वस्थ रहन प्राकृतिक चिकित्साका विभिन्न विधिमध्ये एक महत्वपूर्ण चिकित्सा पद्धति हो, उपवास चिकित्सा । उप भनेको नजिक र वास भनेको बस्नु अर्थात् आफ्नै नजिक बस्नुलाई उपवास भनिन्छ । यसमा अन्न नखाई पानी मात्र खाएर लामो समयसम्म भोकै बस्ने गरिन्छ । उपवास चिकित्सालाई छोटो, मध्यम र लामो गरी तीन प्रकारमा विभाजन गरिएको छ । त्यसमध्ये मध्यम उपवास भन्नाले तीन दिनभन्दा माथि सात दिनसम्म गरिने उपवास हो । मानिसको उमेर, शारीरिक अवस्था, रोगको प्रकृति आदिमा उपवास गर्ने समय निर्भर हुन्छ । परम्परादेखि नै धार्मिक आस्थाका कारण एक दिनको व्रतका रूपमा पानी मात्र खाएर उपवास बस्ने प्रचलन छ । व्रत र उपवासमा केही भिन्नता छ । व्रतमा फलफूल, दूध तथा एक छाक मात्र खाने या दिनभरि भोकै बसेर साँझ परेपछि खाने चलन हुन्छ । त्यस तरिकाबाट गरिने व्रतले केही न केही फाइदा त पु¥याउँछ, तर पूरा लाभ प्राप्त हुँदैन । उपवासले सम्पूर्ण शरीरलाई पुनर्ताजगी र ऊर्जामय बनाउँछ । उपवासबाट बढीभन्दा बढी फाइदा पाउन अघिल्लो रातबाट रसाहार सुरु गर्न सकिन्छ । उपवासको समय शरीर शोधनका लागि एनिमा, चिसो कटिस्नान, तातो कटिस्नान आदि उपचार गरेर शरीर पूर्ण रूपमा शुद्धीकरण गर्न सकिन्छ । मध्यम उपवासले बिस्तारै शरीरमा जम्मा भएका विकारहरू निष्कासन हुँदै जान्छ । जसको कारण शरीरमा छुट्टै ऊर्जा प्राप्त हुन्छ । शरीरका विभिन्न अंग मिर्गौला, सानो आन्द्रा, ठूलो आन्द्रा, छाला, फोक्सो आदिले पूर्ण कार्य गर्न पाउँछ । यसले शरीरमा लागेका सामान्य रोगहरू हराएर पुनर्ताजगी प्राप्त हुन्छ ।

विधि
-उपवास बस्नुभन्दा अगाडि आफू सात दिनको मध्यम उपवास बस्दै छु भनेर शारीरिक र मानसिक रूपले तयार हुनुपर्छ । यसबाट धेरै लाभ प्रात गर्नेछु भनी दृढ संकल्पसाथ सुरु गर्नुपर्छ ।

-दिनको मध्यम उपवास बस्न अघिल्लो रातबाट नै रसाहारमा बस्ने ।

-मध्यम उपवासमा शुद्ध पानी र गाह्रो भएमा महपानीसमेत समय–समयमा आवश्यकताअनुसार दुई–तीन घन्टाको फरकमा पिउन सकिन्छ ।

-उपवास समयमा बिहान शोधनको उपचार गर्ने, दिउँसो आराम गर्ने ।

-उपवासको समयमा सामान्य हिँडडुल गर्न, पुस्तक अध्ययन गर्न सकिन्छ तर बल पर्ने काम तथा अभ्यास नगर्ने ।

-प्राकृतिक ठाँउहरूमा मौसमअनुसार बिहान–साँझ हिँडडुल गर्ने ।

-सरल आसनमा प्राणायाम तथा ध्यान गर्ने ।

 

सावधानी
-प्राकृतिक चिकित्सकको निगरानीमा मात्र गर्ने ।

 

-कमजोरी महसुस भएमा प्राकृतिक चिकित्सकको परामर्शमा अमिलो नहुने जातका फलफूलको रस पिउन दिने ।

 

-उपवासको सात दिन पूरा गरेपछि तोड्दा फलफूलको शुद्ध ताजा जुस, फलफूल खाँदै बिस्तारै तरकारीको सुप, त्यसपछि जाउलो जस्ता खाना खाने । सात दिनपछि मात्र पूर्ण भोजनमा प्रवेश गर्ने ।

 

-उपवास सुरु गरेपछि अमिलो पानी आउने, छाती पोल्ने हुन सक्छ । त्यस्तो समय एनिमा, तातो कटिस्नान जस्ता शरीर शोधनका उपचार दिने ।

 

-उपचार सुरु गरेको दिनमा कुजल पनि दिन सकिन्छ । जसको कारण पेट पोलेको ठीक हुन्छ ।

 

-गर्भवती महिला, डाइबेटिजका बिरामी, निम्न रक्तचाप भएका र कमजोरीपन हुनेले उपवास गर्नु हुँदैन ।

 

फाइदा

-उपवासबाट शरीरमा पुनर्ताजगी पैदा हुन्छ, जसको कारण शरीरका हरेक अंगले प्राकृतिक रूपमा काम गर्न सक्छन् ।

 

-पाचन प्रणाली सक्रिय बनाउनुका साथै अपच, ग्यास्ट्राइटिस, कब्जियत, पायल्स, आउँ, कोलाइटिसजस्ता पेटसम्बन्धी रोगहरू निको पार्न मद्दत गर्छ ।

 

-मोटोपन तथा शरीरको अनावश्यक बोसोलाई घटाउँछ ।

 

-स्नायु प्रणालीलाई सक्रिय बनाउँछ ।

 

-फोक्सो, कलेजो तथा मिर्गाैलाजस्ता अंगको कार्यक्षमता बढाउँछ ।

 

-स्वस्थ व्यक्तिले पनि एक वर्षमा एकपटक मध्यम उपवास गरेमा शरीर स्वस्थ एवं दीर्घायु रहन सकिन्छ ।

 

-रक्तसञ्चार क्रियालाई सक्रिय बनाउनुका साथै रगतमा हुने चिल्लो कोलेस्ट्रोल कम गर्छ ।

नयाँ पत्रिकाबाट

 

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल