निजी विद्यालयको ‘डिपार्टमेन्ट स्टोर्स’

निजी विद्यालयको ‘डिपार्टमेन्ट स्टोर्स’

काठमाडौं, वैशाख १४– काठमाडौंका थापाथलीमा बस्दै आएकी सरिता तिमिल्सिना बच्चाको किताब किन्न भन्दै मिनभवन पुगिन् । थापाथलीस्थित भीएस निकेतन स्कुलमा पढ्ने आफ्नो बच्चाका लागि किताव किन्न उनी मिनभवन पुगेकी हुन् ।

आफ्नो स्कुलको किताब पाइने ठाउँ देखाएपछि सरिता मिनभवन पुगेकी हुन् ।

‘मिनभवनमा एबिटेक्समा जानु भनेकाले यहाँ आएकी हुँ’, सरिताले भनिन्, ‘पुस्तकदेखि बच्चाका लागि पोशाक बेल्ट सबै यहाँ पाइदो रहेछ ।’

सरिताले खोज्दै गएको ‘एबिटेक्स युनिफर्म एण्ड स्टेशनरी’ न्यूरोडको डिपार्टमेन्ट स्टोर्स भन्दा कम छैन । ठूलो सटरमा लत्ता कपडा लगायतका विभिन्न सामग्री छन् । त्यसको दुई तला मुनी अण्डरग्राउण्डमा ठूलो पुस्तक गोदाम छ । गोदामबाटै ग्राहकलाई पुस्तक बेचिने गरेका छन् । पुस्तक बेच्नसमेत विद्यार्थी नै परिचालन गरिएका छन् ।

पसल सञ्चालकदेखि दर्जन बढी कर्मचारीलाई पसलमा राखिएका भीएस निकेतन स्कुलका सामान बेच्न भ्यान नभ्याइ छ । मीनभवनदेखि थापाथलीसम्म छुट्टाछुट्टै चार शाखा रहेको भीएस निकेतनको ‘डिपार्टमेन्ट स्टोर्स’ भने एबिटेक्स मात्रै रहेछ । तर यो पसलबाट भने ग्राहकले पुस्तकमा न त छुट पाएका छन्, न त भ्याट बिल नै ।

‘सबै अभिभावकले छुट मागेर हैरान छ’, पसलका एक कर्मचारीले रातोपाटीसँग भने, ‘पब्लिकेशनले छुट नदिएकाले छुट दिएका छैनौं ।’ आइतबार उक्त पसलमा पुग्दा ग्राहकले छुट नपाएपछि भ्याट बिल मागिरहेका थिए । भ्याटमा दर्ता नभएकाले आफूसँग प्यानबिल मात्रै रहेको सञ्चालक जयराम सेढाइँले बताए । प्रकाशनले छुट नदिएकाले आफूले छुट दिन नसकेको सेढाइँले बताए ।

सरिता मात्र होइन, उनीजस्ता धेरै अभिभावकहरु यतिबेला आफ्नो बच्चाका लागि पुस्तक तथा पोशाकहरु किन्न स्कुलको ‘डिपार्टमेन्ट स्टोर्स’ धाइरहेका छन् । नयाँ शैक्षिक सत्र शुरु नहुँदै विद्यालयकै मातहतमा पुस्तक तथा टाइबेल्टदेखि विद्यालयका पोशाक विक्री गर्ने पसलहरु खोलिएका हुन्छन् ।

भीएस निकेतन मात्र होइन, राजधानीका सबै स्कुलले यस्तो धन्दा चलाइरहेका छन् । संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ ले विद्यालय आफैंले पाठ्यपुस्तक तथा स्टेसनरी खरिदरबिक्री गर्न नपाउने व्यवस्था गरेपछि विद्यालयले आफ्नो विद्यालय भन्दा टाढा पसल थापेका छन् । ‘क’ देखि ‘घ’ श्रेणीका सबै विद्यालयले आफ्नै सम्पर्कमा पसल सञ्चालन गरेका छन् ।

निजी विद्यालयले यतिबेला विद्यार्थी शुल्कसमेत मनोमानी ढंगले बढाएपछि मारमा परेका अभिभावकलाई विद्यालयले पुस्तकदेखि पोशाकसम्म ढाड सेक्ने काम गरिरहेका छन् । शुल्क वृद्धिको विरोधमा आन्दोलन घोषणा गरेका केही ठूला विद्यार्थी संगठनहरुको टारगेट पनि ठूला विद्यालयहरुतिरै देखिन्छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल