हरेक मानिसको जीवनसँग मेल खाने चलचित्र ‘लभ लभ लभ’को शक्ति भनेकै यही हो– निर्देशक दीपेन्द्र

हरेक मानिसको जीवनसँग मेल खाने चलचित्र ‘लभ लभ लभ’को शक्ति भनेकै यही हो– निर्देशक दीपेन्द्र

हरेक चलचित्र फरक विषयमा बनाउने निर्देशक हुन्– दिपेन्द्र के खनाल । प्रयोगवादी निर्देशकका रुपमा पनि उनलाई लिन सकिन्छ । ‘चपली हाइट’, ‘थ्री डी भिजिलान्ते’, ‘पशुपति प्रसाद’लगायत चलचित्रले पनि सो देखाएको छ । ‘दी युगदेखि युगसम्म’ चलचित्रबाट निर्देशनमा डेब्यु गरेका खनालको करिब दर्जन हाराहारीका चलचित्र बजारमा आएका छन् । ती सबै चलचित्रले एक से एक चर्चा बटुलेका छन् । चलचित्र निर्देशनबाट प्रसंशा, चर्चा र अवार्ड थुप्रै पाएका निर्देशक खनालको अर्काे चलचित्र ‘लभ लभ लभ’ वैशाख १ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा प्रेमकथा उनले विषयका रुपमा उठाएका छन् । थुप्रै विषय चलचित्रमा प्रयोग गरेर सफलता हात पारेका खलाल प्रेमकथाबाट पनि सफलता मिल्ने बताउँछन् । सानो क्यानभासमा ठूलो चलचित्र बनाउन माहिर निर्देशक दीपेन्द्र के खनालले ‘लभ लभ लभ’ स्वस्तिामा खड्का र सुरजलाई लिएर बनाएका हुन् । उनै निर्देशक दीपेन्द्रसँग चलचित्रको विषयमा रातोपाटीले राखेको केही प्रश्न :

तपाईंको निर्देशन रहेको चलचित्र ‘लभ लभ लभ’ प्रदर्शनमा आउँदैछ । यो कस्तो चलचित्र हो ?
नामले नै यो चलचित्र प्रेमकथामा आधारित रहेको छ भन्ने बुझाउँछ । प्रेमकथा अर्थात् मायाका कुरा । यीबाहेक चलचित्रमा अन्य केही भेटिँदैनन् । सिम्पल प्रेमकथामा सानोसानो कुरा उठाएर राम्रो बनाएको छु ‘लभ लभ लभ’ मैले । चलचित्रभित्रका रहेका पत्रहरुले धेरै स्ट्रगल पनि गर्दैनन् । यसको विषयवस्तु हरेक मानिसको जीवनमा मेल खान्छ । चलचित्र ‘लभ लभ लभ’को शक्ति भनेकै यही हो । दर्शकले चलचित्रभित्र आफूलाई नै पाउने छन् । मेरो प्रयास पनि यही हो ।

तपाईंको चलचित्रप्रति दर्शकले ठूलो अपेक्षा राख्छन् । ‘लभ लभ लभ’ले यो पूरा गर्ला त ?
म त ढुक्क छु । ठोकुवा पनि गर्नसक्छु । हरेक मानिसले चलचित्रलाई आफ्नो प्रेमकथा भन्न सक्नेछन् । कतिपय अवस्थामा मन पराएको मायालु पाइँदैन, छुटेको मायालु कहिलेकाहीँ याद आउँछ, मन पराएको मानिससँग सम्बन्ध बिग्रन खोज्ने अवस्था आउँछ । यी र यस्तै अवस्था भएका आमदर्शकले ‘लभ लभ लभ’ हेर्दा हुन्छ । यसले सबैको अपेक्षा पूरा गर्छ । चलचित्रले सबै प्रकारका दर्शकलाई रिफ्रेस गराउँछ ।

प्रयोगवादी निर्देशक तपाईं । यो चलचित्रमा के प्रयोग गर्नुभएको छ त ?
चलचित्र नै पूरै प्रयोग हो । यसमा चिनिएको नाम भनेको म मात्रै एक जना । आममानिसको प्रेमकथा लिएर आएको छु यसपटक । टोल छिमेकको, आफूले देखेको, भोगेको प्रेमकथा हुनसक्न चलचित्रमा मैले उठाएको विषय । चलचित्र फ्रेस छ । कथा भन्ने शैली सबैभन्दा उत्कृष्ट छ । दर्शकले पर्दामा चलचित्र हेरुन्जेल पहिलो चोटि यस्तो कथामा चलचित्र हेरेको महशुस गर्नेछन् । सबैलाई राम्रो लाग्नेछ ।

प्रेमकथामा किन उत्रिनु भयो ?
मैले अरु धेरै जनरा चलचित्र बनाइसकेँ । पूर्ण प्रेमकथामा मेरो यो पहिलो प्रयास हो । माया प्रेमसँग सबै नजिक भएकै हुन्छन् । त्यसैले माया पिरतिमा चलचित्र बनाउने सोच त मेरो पहिलै थियो । तर बजारमा आएका चलचित्रका जस्तो प्रेमकथामा बनाउदिन भन्ने ममा थियो । मायाका जति पनि पाटा हुन्छन् तीमध्ये फरक पाटा समाएर बनाउछु भन्ने मेरो अठोट हो । अहिले बजारमा आएका चलचित्रको मायाका पाटा उस्तै लाग्ने खालका छन् । यसमा ठूला सङ्घर्ष भरिएको, भिलेन भएका छन् । यस्ता चलचित्र बनाउँदिन । बरु मायाकै अनसिन पाटो जसलाई मानिसले याद नगरेको विषयमा चलचित्र बनाउँछु भन्ने मेरो सोच थियो । यो सोच लभ लभ लभमा पूरा गरेको छु ।

नयाँ कलाकार लिएर चलचित्र बनाउनु हुन्छ, काम गराउन सजिलो भएर हो कि अन्य केही कारण छन् ?
एक कारण यो पनि हो । नयाँ कलाकारलाई आफूले भनेजस्तो पात्र बनाउन पनि पाइयो । अर्काे कुरा फ्रेस स्टोरीमा नयाँ पात्र घुसाउँदा दर्शकको पात्रप्रति विश्वास पनि धेरै हुन्छ । पुरानो धेरै चलचित्रमा देखिरहेको अनुहारको नयाँ चलचित्र हेर्दा दर्शकलाई ती पात्रको केही पहिलेको अभिनय हाबी दर्शकले महशुस गर्छन् । त्यसैले नयाँ लिँदा पात्रलाई दर्शकले विश्वास गर्न सक्ने बनाउन सजिलो हुन्छ । दर्शकलाई पनि रमाइलो लाग्छ । त्यसैले सकेसम्म चलचित्रमा म नयाँ पात्र भित्राउने गदर्छु ।

यस पटक तपाईंको प्रतिस्पर्धा अन्य दुई प्रतीक्षित चलचित्रसँग हुँदैछ । कतिको च्यालेन्ज महसुस भएको छ ?
मलाई जहिले जे गर्दा पनि च्यालेन्ज महसुस छ । चाहे चलचित्र कसैसँग जुधोस् या नजुधोस् । म जहिले पनि नयाँ जसरी आउन चाहन्छु । आफ्नो चलचित्र चलोस् भन्ने सोच सबैलाई हुन्छ । मेरो चलचित्र दर्शकलाई कतिको मनपर्छ भन्ने कुरो हो । आफ्नो काममा ढुक्क छु ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल