बस्रेल्स आक्रमणको अनुहार बनिन् उनी, त्यसपछि यस्तो भयो उनीसँग…

बस्रेल्स आक्रमणको अनुहार बनिन् उनी, त्यसपछि यस्तो भयो उनीसँग…

सिएनएन

ब्रसेल्स, चैत १० – दुईवटा बम विस्फोटमा परेपछि निधी चाफेकर रगतले लतपत, त्रसित र हिँड्न नसक्ने अवस्थामा ब्रसेल्सको जाभेन्तेम विमानस्थलको प्रस्थान हलमा थिइन् ।

उक्त आत्मघाती हमलाको केही घण्टापछि नै जेट एयरवेजकी विमान परिचारिकाको तस्विर विश्वरभर फैलिसकेको थियो । विश्वभरका मिडियाले उक्त तस्विरलाई प्राथमिकताका साथ छापे, उनको त्यो तस्विरले त्यस त्रासदीपूर्ण दिनलाई प्रतिनिधित्व गथ्र्यो ।


बुधबार उक्त बम हमला भएको एक वर्ष पूरा भएको छ । त्यस दिन ब्रसेल्स विमानस्थल र मेट्रो स्टेसनमा भएको बम हमलामा ३२ जनाको मृत्यु भएको थियो भने ३ सयभन्दा बढी घाइते भएका थिए ।

आइसिसले उक्त घटनाको जिम्मेवारी लिएको थियो ।

पुनः ब्रसेल्समा फर्किएकी चाफेकर त्यसदिन देखिएकी भन्दा भिन्न देखिन्छिन् । बेल्जियमको इतिहासमा सबैभन्दा खराब आतंकवादी हमलालाई उनी यसरी सम्झिन्छिन् ।

जेट एयरवेजकी विमान परिचारिका रहेकी उनी त्यसदिन न्युजर्र्सीका लागि नियमित उडानको क्रममा थिइन् । उनी एक दिनअघि मात्र मुम्बाईबाट त्यहाँ पुगेकी थिइन् ।

‘मैले पहिलो पटक आत्मघाती बम आक्रमण अनुभव गरेँ तर, त्यति बेला के भएको हो भन्ने मलाई थाहा थिएन,’ उनले भनिन्, ‘केही कुरा पड्किएको जस्तो थियो… सायद ह्वीलचेयर थियो ब्याट्री भएको ।’

विस्फोटपछि उनको पहिलो प्रतिक्रिया थियो, अरुलाई सहयोग गर्ने तर उनका सहकर्मीहरुले उनलाई तानेर रोके ।

‘त्यो छोटो अवधि थियो, त्यसपछि त्यहाँ मानिसहरुको भागदौड मच्चियो … उनीहरु बाहिर जाने ठाउँ पत्ता लगाउन सकिरहेका थिएनन् । उनीहरु हामी भएकै तिर दौडिँदै आइरहेका थिए, कोही रुन पनि थाले ।’

उनी पनि बाहिर निस्कन हलमा रहेको ओलिभर स्ट्रेबेलेको ठूलो मुत्र्ती भएको स्थान तिर फर्किइन्, त्यही बेला दोस्रो विस्फोट भयो ।

‘म सायद केही मिटर उछ्छिटिएँ,’ ४१ वर्षीया चाफेकरले भनिन्, ‘म दुवै खुट्टामा भुइँमा बजारिएँ र भुइँमा ढलेँ …त्यही बेला मेरो टाउकोको पछाडी चोट लाग्यो ।’


बाँच्ने प्रयास

जब एक सैनिक उनको नजिकैबाट गुज्रिए चाफेकरले सहयोगका लागि चिच्याइन् । उनैको सहयोगले उनी प्लास्टिकको कुर्सीसम्म पुगिन् । उनको अनुहारमा रगत चुहिँदैथियो, उनको शरीर जलेको थियो र खुट्टामा गम्भिर चोट लागेको थियो ।
त्यहीबेला उनलाई आफूले लिएको प्राथमिक उपचारको प्रशिक्षण याद आयो । खुट्टामा चोट लागेर रगत बगिरहेको थियो । रगत रोक्नका लागि उनले आफ्नो सेक्युरिटी ब्याज अड्काएको डोरी खोजिन्, तर बम विस्फोटमा त्यो उडिँसकेको थियो ।

‘म मेरो देब्रे खुट्टाबाट बगिरहेको रगत रोक्न चाहन्थे, त्यही भएर तस्विरमा मेरो खुट्टा कुुर्सीमाथि देखिन्छ’ उनले भनिन् ।

स्वास्थ्यकर्मीहरु आउनअघि उनी अरु बाँचेकाहरुलाई पनि सहानुभुति दिइरहेकी थिइन् । उनी त्यसदिन सम्झँदै भन्छिन्, ‘म अरुलाई भन्दै थिएँ, हामी बाँच्यौँ, हामी बाँच्छौँ ।’


घटनाको साढे दुई घण्टापछि उनलाई एन्टवर्पस्थित अस्पतालमा उनलाई पुर्याइएको थियो । त्यहाँ डाक्टरहरुले प्रारम्भिक जाँच गरेपछि उनले आफ्नो मुम्बईमा रहेका पति रुपेशको सम्पर्क ठेगाना दिइन् र परिवारलाई खबर गर्न आग्रह गरिन् ।

उनलाई थाहा थियो, यति बेलासम्म आक्रमणको खबर भारतसम्म पुगिसकेको हुनुपर्छ । यो खबर सुनेर उनको १५ वर्षीय छोरा र ११ वर्षीया छोरी आत्तिएको हुनुपर्छ ।

अर्को दिन उनलाई हेलिकप्टरमा राखेर ब्रसेल्सबाट ५० किलोमिटर दक्षिणमा रहेको ग्रान्डी हस्पिटल डे चार्लेरोइमा लगियो । भारत फर्कनअघि उनको त्यहीँ बाँकी उपचार भएको थियो ।

यता, घटनाको ९ घण्टासम्म उनका परिवार उनको अवस्थाबारे अनभिज्ञ थिए । उनीहरुको आशा भनेको त्यही एउटा तस्विर थियो ।

‘त्यो तस्विर मात्र एउटा कुरा थियो जसले मेरो छोराछोरीलाई आशा दियो,’ उनी भन्छिन्, ‘तस्विरमा मेरो वास्तविक घाउहरु देखाउँदैन । त्स्विरले मात्र यति देखाउँछ, ऊ अझै जीवित नै छे । ऊ ठीक छे । उसलाई डाक्टरहरुले औषधिउपचार गरेपछि फर्किन्छन् ।’

घटनास्थलबाट अस्पताल पुगुन्जेल उनको एउटै ध्यान थियो, ब्युँझिरहने ।

अस्पताल पुगेपछि डाक्टरहरुले उनलाई हातको ब्रेसलेट फुकाल्न भने । उनको अनुहार र शरीर जलेको थियो, खुट्टा भाँचिएको थियो र शरीरमा फलामका टुक्राहरु रोपिएका थिए ।

त्यसपछि भने उनको स्मरण कमजोर भयो । डाक्टरहरुले खबर गरेपछि उनको पति पनि त्यही अस्पताल आइपुग्छन् तर २३ दिनसम्म उनी मेडिकल कोमामा रहन्छिन् ।

‘मेरो अवस्था दिनदिनै बिग्रिरहेको थियो किन भने फलामका केही टुक्रा मेरो शरीरमा नै थिए,’ उनले भनिन् ।


कोमाबाट निस्किँदा

उनका अनुसार उनको स्वास्थ्य स्थिर बनाउन डाक्टरहरुलाई हाम्मेहाम्मे परेको थियो । अप्रिलको मध्यतिर उनी पहिलो पटक ब्युँझिइन् । तर, उनलाई आफू कोहो भन्ने थाहा थिएन ।

त्यसको केही दिनपछि अप्रिल १८ मा बल्ल उनको स्मरणशक्ति फर्किएको थियो ।

त्यसको केही दिनपछि मात्र उनले घटनाको दिनको तस्विर देखिँन । उनी भन्छिन्, म कति निरिह रहेछु ।

जसले तस्विर खिचिन्

उक्त फोटो जर्जियाकी पत्रकार केटेभान कारडाभाले आफ्नो फोनबाट खिचेकी थिइन् । उनी पनि बम आक्रमण हुँदा त्यही थिइन् ।

घटनाको केही महिनापछि दुवैवीच सम्पर्क भएको थियो । जब ब्रसेल्स हमलाको वर्षगाँठमा चाफेकर ब्रसेल्स आइन्, काटेभान उनलाई स्वागत गर्न पुगिन् ।

काटेभानका अनुसार उनले त्यो दिन ११ वटा फोटो खिचेकी थिइन् तर उनलाई थाहा थिएन, उनको तस्विरको यस्तो प्रभाव पर्नेछ भनेर ।

शुरुवमा समाजिक सञ्जालमा सेयर भएको उक्त तस्विर भोलिपल्ट सबै पत्रिका र वेवसाइटमा छ्याप्छ्याप्ती बन्न पुग्यो ।

उक्त तस्विर बम हमलाको प्रतिकात्मक तस्विर बन्यो, जसले दुःख, पीडा, अस्तव्यस्तता र निरहीपनलाई दर्शाउँथ्यो ।

चाफेकरको सामान्य जीवनमा फर्कने यात्रा लामो र कठिन थियो । तर, चाफेकर विनम्र भएर भन्छिन्, ‘मैले हरेक खुड्किालालाई एक–एक गरेर पार गरेँ ।’

‘हो, अप्ठ्याराहरु आए । म हिँड्न सक्दिँन थिएँ । हरेक दिन मेरो लागि नयाँ समस्या हुन्थयो । तर, मैले आफैलाई भनेँ, ‘हैन, मैले योसँग लड्नुपर्छ ।’

अझै चाफेकरको केही शल्यक्रिया बाँकी छ । तर, उनी एक दिन फेरि आकाशमा फर्किन्छु भनेर आशावादी छिन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल