ब्रसेल्स आक्रमणको वर्षगाँठमा ब्रिटेनको संसद् भबनमा आक्रमण, मारिनेहरुको संख्या पाँच पुग्यो (फोटोसहित)

ब्रसेल्स आक्रमणको वर्षगाँठमा ब्रिटेनको संसद् भबनमा आक्रमण, मारिनेहरुको संख्या पाँच पुग्यो (फोटोसहित)

लण्डन, चैत १० – ब्रिटेनको संसद् भबनबाहिरको आक्रमण पछि मारिनेहरुको संख्या पाँच पुगेको प्रहरीले जनाएको छ।

लण्डनको मेट्रोपोलिटन प्रहरीका कार्यवाहक उपकमिश्नर मार्क राउलीले कम्तिमा ४० जना मानिसहरु घाइते भएका बताए।

बु्धबार दिउँसो ब्रिटेनको संसद् भवनबाहिर वेस्टमिनस्टर पुलमा एकजना व्यक्तिले नियतवश पेटीमा हिँडीरहेका मानिसहरुमाथि मोटर लगेर जोताएका थिए।


पछि ती व्यक्तिले मोटरबाट निस्केर संसद भवनको सुरक्षा गरिरहेका प्रहरीमाथि चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताए।

लगत्तै ती आक्रमणकारीमाथि सशस्त्र प्रहरीले गोली चलाएको थियो।

आक्रमणकारी तथा घाइते प्रहरी दुबैको ज्यान गएको विवरणहरुमा जनाइएको छ। मारिने प्रहरीमा किथ पाल्मर रहेका छन् ।


लण्डनको मेट्रोपोलिटन प्रहरीका एकजना प्रवक्ताले लण्डनभरि नै थप प्रहरी तैनाथ गरिएको र पूर्णकालिन आतंकवाद विरोधी छानबीन शुरु गरिएको बताए।

वेस्टमिनस्टर पुलमा घाइतेहुनेहरुमध्ये तीनजना प्रहरी पनि रहेको बताइएको छ।


घाइते हुनेहरुमध्ये फ्रान्सका तीनजना स्कुले विद्यार्थीहरु पनि भएको जनाइएको छ।

जानीजानी पदयात्रीमाथि कार गुडाइएपछि एक महिलाको मृत्यु भएको चिकित्सकहरुले बताए।


सो कार आक्रमणपछि गम्भीर घाइते भएका अन्य केहीको उपचार भइरहेको छ।

आक्रमणमा कैयौं पदयात्रीहरुलाई किचेपछि सो कार नजिकैको रेलिङमा गएर ठोकिएको थियो।

प्रहरीले संसद भवनबाहिर भएका आक्रमणलाई ‘हालका लागि आतंकवादी हमला’ को रुपमा लिइएको बताएको छ।

सो घटना लगत्तै ब्रिटिश संसदको कारवाही स्थगित गरिएको थियो।

सांसदहरुले तीन वा चार पटक गोली चलेको आवाज सुनेको बताएका थिए।


गोली चलेको आवाज सुनिए लगत्तै ब्रिटिश प्रधानमन्त्री टरीजा मेलाई सुरक्षित स्थानतर्फ लगिएको थियो।


उनले सो हमलाको निन्दा गर्दै हताहति हुनेहरुप्रति समवेदना तथा सहानुभूति व्यक्त गरेकी छन्।

उनले मन्त्रीहरुसहितको एउटा संकटकालिन बैठक पनि गरेकी थिइन्।

बिबिसीबाट

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल