‘सहयोग गर्नुस् म नेपाल फर्कन चाहन्छु’ :  शेरबहादुर

फागुन १०

‘सहयोग गर्नुस् म नेपाल फर्कन चाहन्छु’ :  शेरबहादुर

युएई– युनाईटेड अरब ईमिरेट्स (युएई) को रस अल खैमहस्थित सैफ अस्पतालमा उपचार गराइरहेका डोटी केलनाका शेर बहादुर खातीले उद्दारको लागि नेपाल सरकारलाई अपील गरेका छन् । सैफ अस्पतालको ‘साइकियाट्रिक वार्ड’मा राखिएका उनी मानसिक रुपमा बिछिप्त बनेका छन् ।
खाती दुबईस्थित एक क्लिनिङ कम्पनीमा काम गर्नका लागि बिगत १० महिना अघि युएई आएका हुन् । गत जनवरी २ तारिकदेखि कम्पनीबाट सम्पर्कविहिन भएका उनलाई जनवरी २२ अजमानमा रहेको खालिफा अस्पतालबाट रस अल खैमहस्थित सैफ अस्पतालमा सरुवा गरिएको थियो ।
उनलाई बेबारिसे अवस्थामा अस्पताल ल्याईएको अस्पतालले जनाएको छ । अस्पतालले नै खोजी गरी काम गर्ने कम्पनी पत्ता लागेको हो । कम्पनीले भने खाती अस्पतालमा उपचार गरिरहेको थाहा पाएपछि उनलाई प्रहरीमा भागौडा भनेर रिपोर्ट गरेको अस्पताल श्रोतले बताएको छ ।‘शेरबहादुर कम्पनी छोडेर भागेको हो, हामीले प्रहरीलाई खबर गरेका छौं अरु जान्दैनौं,’ कम्पनीको भनाई उद्यृत गर्दै अस्पतालमा कार्यरत कर्मचारीले भने ।
उनको टाउको र हात खुट्टामा चोट लागेका दागहरु छन् । अस्पतालका अनुसार चोटका कारण खातीको ‘ब्रेन हेमरेज’ भएको छ । खालिफा अस्पतालमा उपचार गरेपछि उनी मानसिक रुपमा बिचलित देखिएकोले रस अल खैमहमा रहेको सैफ अस्पतालमा सरुवा गरिएको हो । मानसिक रुपमा बिछिप्त खाती केही बोल्न र सम्झन सक्ने भएका छन् । शेर बहादुरको भनाइअनुसार उनलाई कम्पनीको गाडीले हिर्काएर घाइते बनाएको हो । ‘म त बहुलाएको छु रे, लु न नेपाल पठाइदिनुस् सर’, उनले भने । उनलाई लामो समय सम्म पारिवारिक वातावरणमा उपचार गर्नु पर्ने अस्पतालले जनाएको छ । ‘अहिलेसम्म कम्पनीका कसैले सोधिखोजी गरेको छैन, पहिले भन्दा धेरै सुधार भएको छ, सक्नु हुन्छ भने नेपाल लगेर पारिवारिक बातावरणमा उपचार गर्नुस्, ठीक हुन्छ ।’ अस्पतालमा कार्यरत कर्मचारीले भने ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल