पिटर वेनलको आँखामा नेपाल

पिटर वेनलको आँखामा नेपाल

डा. शिवराज पण्डित
गत हप्ता काठमाडौँबाट दाङ जाने क्रममा बसको सहयात्री थिए श्रीलङ्कन नागरिक पिटर वेनल । आमा क्रिस्चियन र बाबु हिन्दू धर्मप्रति आस्थावान दम्पतीबाट जन्मेका हाइब्रिड पिटर अन्दाजी ४० वर्षका थिए । निख्खर कालो वर्णको अफ्रिकन जस्तो देखिने पिटर दोस्रो पटक नेपाल आएका रहेछन् । संसारको ५५ देशहरु घुमेर विभिन्न अनुभव बटुलेका पिटरसँग यात्राको क्रममा नेपालको समसामयिक विषयमा धेरै कुराहरु भए । जुन कुराहरु आम नेपालीहरुको भोगाइ र नियतिसँग प्रत्यक्ष जोडिएका छन् । एउटा सार्क देशको सदस्य राष्ट्रको नागरिकले नेपाललाई कुन रुपमा हेर्दो रहेछ भन्ने जिज्ञासा स्वभाविक रुपमा नागरिक स्तरको चासोको विषय हुन सक्दछ ।

काठमाडाैंबाट दाङका लागि दिवा सेवाको बस चढेर हामी दुवै यात्री कलङ्कीमा आयौँ । कलङ्कीमा घटौँ बस रोकिँदाको पीडा यात्रुहरुका लागि सामान्य र स्वभाविक लाग्न थालिसकेको छ । काठमाडाँैबाट बाहिरिने र भित्रिने मुख्य नाका भएको र अहिले अन्डरग्राउन्डबाटो निर्माण भइरहेकाले पनि पहिलेभन्दा बसहरु धेरैबेर रोकिन्छ ।

यो रोकाइ बस चालकको नियन्त्रणभन्दा बाहिरको कुरा थियो । तर कलङ्की पार गरेर पनि यात्रु खोज्ने बाहानामा बस झण्डै एक घण्टा रोकियो । त्यसपछि मसँगै बसेको पिटर अङ्ग्रेजीमा इडिएट र फक भन्दै बरबराउन थाल्यो । बालाजु बसपार्कबाट कलङ्की आउँदासम्म सामान्य हाइहलो भएको पिटरसँगका मेरो सम्बन्ध त्यसपछि भने बाक्लिँदै गयो । यात्रा अवधिको झण्डै ९ घण्टा नेपालको समसामयिक विषय र नेपाली जनताले भोग्नुपरेको पीडा र नियतिका विषयमा लामो छलफल भयो ।

अङ्ग्रेजी भाषी पिटरसँग कुरा गर्ने र उसको कुरा सुन्ने व्यक्ति नजिकको म मात्र थिएँ । कुराको प्रसङ्ग रोकिएको बसबाट सुरुवात भयो । पिटरले भन्यो– तिमीहरुको देशमा कुनै सिस्टम छैन । हामीहरुको देशमा यति धेरै समयसम्म बस रोक्न पाउँदैन । नागरिकले आवाज उठाउँछन् । तर तिम्रो देशमा यति धेरै यात्रुहरु यो प्रचण्ड गर्मीमा पनि लामो समय बस रोकिँदासम्म चुपचाप छन् । किन प्रतिवाद गर्दैनन् नेपाली यात्रुहरु बस चालकको मनोमानी ? मलाई उसको भनाइले भित्रैदेखि पीडा भयो । मैले मेरो देशको पीडा ती छिमेकी देशको नागरिकसँग पोखे र भने– हामी नेपालीहरु २००७ सालदेखि नेपालको सिङ्गो राजनीतिक प्रणाली निर्माणका लागि लड्यौँ, हजारौँ नेपाल आमाका सपुतहरुले परिवर्तनका लागि वलिदान गरे र व्यवस्था पनि परिवर्तन भयो तर विडम्बना नेपालीहरुको आचरण र बानी व्यहोरा परिवर्तन हुन सकेन । त्यसैको प्रतिनिधिमूलक उदाहरण हो, बस चालकको मनोमानी । उसले मेरो कुरा बढो चाखपूर्ण ढङ्गले सुनिरह्योे ।

लामो प्रतीक्षापछि बस कलङ्कीबाट अघि बढ्यो । बस थानकोटबाट ओरालो लागेपछि मैले पिटरलाई नेपालको प्राकृतिक सुन्दरताको विषयमा वकालत गरेँ । उसले आफूले भ्रमण गरेका विकसित अविकसित देशहरुको भौतिक विकास र प्राकृतिक सुन्दरताको विषयमा आफ्नो अनुभूति सेयर गर्यो । मैले उसलाई सोधँे– तैँले भ्रमण गरेका देशहरुको सूचीमा नेपाललाई वर्गीकृत गर्दा कुन श्रेणीमा राख्छस् ? मेरो प्रश्नको जवाफमा उसले भन्यो– मध्यम खालको देश हो । समकक्षी देशको उदाहरण दिनु पर्यो भने तेरो देश इन्डोनेसिया, भियतनाम, थाइल्यान्ड र पूर्वी एसियाका देशसँग तुलना गर्न मिल्दछ तर ती देशहरुमा सिस्टमछ तेरो देशमा सिस्टम छैन । चरम भ्रष्टाचार छ । खरबौं विदेशी अनुदान र ऋण बालुवामा पानी हालेको जस्तो भएको छ । मैले भने– तेरो देश पनि त केही वर्ष पहिलेसम्म गृहयुद्धबाट आक्रन्त थियो । मैले मेरो देशको बचाउ गर्दै भने ।

हाम्रो देश पनि केही वर्ष पहिलेसम्म राजनीतिक द्वन्द्वबाट आक्रन्त थियो । अब हामीहरु पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था निर्माणको दिशामा अघि बढेका छौँ । लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको कार्यान्वयन स्थानीय तहको निर्वाचन मार्फत हुँदैछ भनेपछि उसले पनि आफनो देशको बचाउ गर्दै भन्यो– श्रीलङ्का पनि तिमीहरुकै देश जस्तो विकासन्मुख देश हो, जहाँ बहुसङ्ख्यक सिंहाली, तमिल र अन्य जातका मानिसहरु बसोबास गर्दछन् । तिमीहरुको र हाम्रोमा फरक यति छ कि, तिमीहको सिस्टम बसिसकेको छैन, हामीहरुको हरेक कुरा अडर र सिस्टममा छ ।

मुगलिङ– नारायणगढ खण्डको बाटो १० बजेभित्र क्रस गर्नुपर्ने तर हामी ११.३० बजे मात्र मुगलिङ पुग्यौं । बाटो ४ बजे मात्र खुल्ने रहेछ । प्रचण्ड धुपमा मुगलिङ बजारमा ४.३० घन्टा बिताउनुपर्ने बाध्यता थियो । पिटर र मेरो सल्लाह भयो, यो गर्मी छल्न शीतल छहारी खोजौँ । पसलेकोमा चिसो खायौँ अनि पसलेको सल्लाह अनुसार मुगलिङ –पोखरा खण्डको त्रिशूलीको पुल तरेर पारी गयौँ । पुरानो ढाँचाको जीर्ण पुल भएकाले सामान्य झोलुङ्गे पुलमा मान्छे हिँड्दा हल्लेजस्तो गाडीको ओहोरदोहोर हुँदा उक्त पुल पनि बेसरी हल्लिँदो रहेछ । पुल तर्दा पिटर डरायो । मैले उसको हात समाएँ र पारि गयौँ । वरपीपलको छहारीमा बस्यौँ ।

उसले एउटा केटीलाई फोन गर्यो । व्यक्तिगत फोनमा चासो राखेन । त्यसपछि उसले अर्को फोन गर्यो । फोन गर्दा केटीको आवाज प्रष्ट सुनिन्थ्यो । केटीहरुलाई राम्रो अङ्ग्रेजी बोल्न आउँदैनथ्यो । उसले केटीहरुसँग झर्कंदै भन्यो– के प्याया प्याया गर्या ? राम्रो गरी बोल्न आउँदैन ? त्यसपछि यात्राको साथी हो व्यक्तिगत होस् कि जे होस्, उसले माइन्ड गरोस् या नगरोस उससँग मुख खोल्ने विचार गरेँ । के हो मित्र तिम्रो त नेपालका चेलीहरुसँग राम्रो दोस्ती छ जस्तो छ ? विगारौला नि भने पछि उसले मसँग तर्कनका लागि मेरो यो विषयमा चासो छैन भन्यो ।

मैले पनि उसको व्यक्तिगत मामलामा थप चासो राख्न उचित ठानिन् । तर उसले नेपालका चेलीबेटीहरुको दर्दनाक अवस्थाको बारेमा अनुभूतिजन्य भयावह चित्रण प्रस्तुत गर्यो । उसले नेपालका ठूला सहरमा खुलमखुल्ला वेश्यावृत्ति हुने गरेको, १६–२० वर्ष उमेरका युवती वेश्यावृत्तिमा संलग्न हुने गरेको, काठमाडौँ र पोखरामा वेश्यावृत्ति भयावह हुँदै गरेको र सहरीया जीवन शैली बढ्ता भड्किलो हुँदै गएका कारण युवतीहरु भड्किलो जीवन शैलीलाई व्यवस्थापन गर्न वेश्यावृत्तिमा संलग्न हुने गरेको तीतो तर यथार्थपरक अध्ययन बतायो । उसले भ्रमण गरेका अरबियन देशहरुमा नेपाली चेलीहरुले भोग्ने गरेको नारकीय जीवनको बारेमा पनि थप प्रष्ट पार्यो ।

मैले पिटरलाई भने तिमी र म भारतीय उपमहाद्वीपमा रहेका दक्षिण एसियाली देशहरुको सदस्य राष्ट्रका नागरिक हौँ । के नेपालका चेलीबेटीले भोगेको नारकीय अवस्था जस्तो तिम्रो देशमा छैन ? मेरो प्रश्नको जवाफमा उसले भन्यो– यो अवस्था हाम्रोमा छैन । उसले नेपालका युवतीहरुका बारेमा थप कुरा गर्यो । नेपालको दुर्गम भेगमा बस्ने युवायुवतिहरु धेरै सोझा र इमानदर पाएँ । उसले बारम्बार एउटा शब्द दोहोर्यइरह्यो, लामो समय सहर बसे पनि युवतीहरुमा गाउँले दिमाग गएको छैन । उसको भनाइको भाव थियो– नेपालका अधिकांश युवतीहरुको दिमाग साँगुरो छ, चलाख छैनन् । यस्तै कुरा गर्दागर्दै समय गएको पत्तो भएन । ३.३० बजे मुगलिङ बजारमा आयो । ४ बजे बस छुट्यो र हामी गन्त्व्यतिर लाग्यौँ । बुटवल पुग्दा झण्डै ९ बजिसकेको थियो । पिटरको पश्चिम नेपालको यात्रा पहिलो थियो । नयाँ ठाउँमा जानुपर्नेे र थकित पनि भएकाले बुटवल बस्न विचार गर्यो मैले पनि नयाँ ठाउँमा जाँदैछौ । भोलि जाँदा राम्रो होला भन्ने सुझाव दिएँ र हात मिलाएर बिदा भयो । बस दाङका लागि अघि बढ्यो र म मेरो गन्तव्य स्थलतिर लागेँ ।

श्रीलङ्कन बसको सहयात्री पिटरसँग छुटेको आज झण्डै एक हप्ता हुँदैछ तर उससँग भएका कुराहरु भने मेरो मनमा ताजै छन् । उसले बसभित्र भन्ने गरेको तेरो देशमा सिस्टम छैन भन्ने शब्द मेरो मन र मस्तिस्कमा घुमिरहेको छ । हो, नेपालीहरु प्राकृतिक स्रोत साधनले धनी छन् । संसारका मानिसहरुलाई नेपालको प्राकृतिक सौन्दर्यताले लोभ्याइरहेको छ । तर हामी देशभित्रै मगन्ते छौँ । हाम्रा युवतीहरु देश भित्रर बाहिर एउटा विदेशीको आँखामा नारकीय जीवन विताउन बाध्यछन् । लाखौँ युवाहरु दैनिक लाखौँको सङ्ख्यामा विदेशिन बाध्य छन् । यो सबै हुनुको पछाडि नेपालमा सिस्टम छैन, जसले जे गर्दा पनि भएको छ । पिटरले भने जस्तो सिस्टम साल्न नागरिकको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ ।

प्युठान

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल