फोहोरलाई मोहरमा बदलौँ 

फोहोरलाई मोहरमा बदलौँ 

रमेश भट्टराई ‘सहृदयी’

गल्ती गर्नेको सङ्ख्या भद्दा हुँदै गर्दा नियम र अनुशासनका ठेली बन्दारहेछन् । स्वच्छ, सुन्दर, हरियालीमा पर्यावरण बाँचौँ भन्ने आशा त छ ।

विडम्बना मानिसले स्वार्थको लिप्सामा अल्झिएर आफ्नो स्वरूप र दायित्व भुल्दो रहेछ । अनावश्यक हर्न बजाएर ध्वनि प्रदूषण गरेमा कारवाहीमा पर्ने नियम ल्याएको खुशीको खबरले अनुशासन सिकाएको छ । पहिलाको तुलनामा केही शान्ति महसुस हुन्छ । अलिअलि वर्षातले सास फेर्ने बाटो बनाउँदै गए पनि हिलाम्मे हुनै पर्छ, वर्षात् रोकिएको केही घण्टामै फेरि उस्तै धुलाम्मे भइ नै हाल्छ ।

निसङ्कोच, गाडीभित्रबाट फोहोर फ्याँक्नेले सजायको कठघारामा उभिनुपर्ने अनि गाडीहरूमा फोहोरका टोकरीले स्थान पाउने नियमले अब कागजमा अड्कनु हुन्न । विडम्बना हो तर भन्नै पर्छ, काठमाडौँमा भत्केका सडक र सवारी चापले धुलोको कमी त थिएन त्यसमा मेलम्चीको पानीको व्यवस्थापनका लागि खनिएका सडकका कारण धुलमाडौँ, डस्टमाडौँको उपनाम पाइ नै रहेको छ ।

विकासले विनास नहोस् भन्ने भावना र प्रतिक्रियाका उद्गारले स्थान ओगटिरहेका छन् तर यो आवश्यकतामा खुशीको प्रतीक्षा पनि जोडिएको छ । बढ्दो असचेत तथा अव्यवस्थित सहरीकरण र औद्योगीकरण, परम्परागत इँटाभट्टा तथा कोइला प्रयोगलगायत धुवाँ प्रदायक कारखनाहरू, पुराना सवारी साधनबाट निर्लज्ज फ्याँकिएका प्रदूषणका डङ्गुरले प्रकृति धमिलिँदो छ । वातावरणीय संरक्षणको गम्भीर पक्षसँग पर्यटकीय गन्तव्यले नातो गाँसेको राजधानीको शोभा र सौन्दर्यमा दुर्गन्धित सहरको उपनाम गाँसिइरहेको दुःखेसो छ । काठमाडौँ मात्र होइन, सिङ्गो देश, कुना–कन्दरा आज विछिप्त बन्दै छन् । जलवायु परिवर्तनको असरमा विश्वको चौथो सङ्कटापन्न मुलुक बन्दै गर्दा हाम्रो मस्तिष्कमा नरकतुल्य जीवनशैलीको लिसो टाँसिएको छ । आरोग्य र स्वस्थताको चिप्लो भाषण छाँट्नेतर हरिया पहाडलाई सुकेनास लगाएर वन्यजन्तुलाई सुकुम्बासी बनाउँदै पक्षीलाई शरणार्थी बनाउने मानिसको दुष्चरित्रमा सुधारको शङ्ख ध्वनि बजेमा मात्र प्राणी अस्तित्वरक्षाको बाटो सोझिने आशा बढ्छ । मानिस प्रकृतिलाई सजाउन वा भत्काउन सामथ्र्यवान् रहेछ, किनकि वातावरण प्रदूषण मानव निर्मित समस्या हो ।

वाग्मती, विष्णुमतीलगायत सडक सरसफाइको एकता कार्यक्रमका सराहनीय सुकार्यमा जुटेकाहरूलाई सम्मान गर्न प्रकृति लाचार बन्छ, अवश्य । राजधानीमा चक्रपथ सफाइ अभियानसँग नातो गाँसेर घरटोल सफाइ गरेमा नदी स्वच्छ रहने सुन्दर भावलाई सराहना गर्नैपर्छ । तर चुनावी माहोलले हाललाई छायाँमा परे पनि भविष्य निर्माता जन्मिने आशा छ नै । अबका विजेता सचेत नेतृत्वमा सायद हेक्का रहला नै । अल्पकालीन तथा दीर्घकालीन योजनासँग एकताको नातो गाँसेर पर्यावरणीय स्वच्छताको महायज्ञमा सचेत नागरिक होमिन्छ । थोत्रा सवारी साधनलाई बिदाइको सिन्दूर पै¥याएर वैज्ञानिक यातायातका व्यवस्थापनका योजनासँग राहतको रङ्ग गाँसिन्छ । फोहोरका टोकरीले कुना कन्दरामा भिक्षादान माग्न थालून्, दीर्घकालीन वैज्ञानिक बस्ती व्यवस्थापनको नीतिले जिउन पाओस्, अब ।

कुहिने र नकुहिने फोहोरबाट रुपियाँ फल्दै गर्दा ‘फोहोरबाट मोहर’ भन्ने भावसँगै किसानले प्राङ्गारिक मललाई कोठेबारीमा घोप्ट्याओस् । कोही फोहोरबाटै बिजुली उत्पादनमा जुटून्, वैज्ञानिक र दीर्घकालीन प्रदूषण नियन्त्रण र रोजगारको दुई हातका लड्डु फलोस्– नेपाल आमाका आग्रहस्वर गुञ्जिरहेकै छन् । पुनःप्रयोग गर्न सकिने, प्रशोधन गर्न सकिने तथा नवीकरणद्वारा प्रयोगमा ल्याउन सकिने सामग्रीको सूची तयार पारेर प्रदूषण व्यवस्थापनका साथमा आय आर्जन र रोजगारको दोहोरो फाइदाका सम्भावनाहरू तड्पिरहेका छन्– सभ्यता सिक्न लालायित मानवबस्तीहरू । साथमा कानुनको दायराले निःस्वार्थ र दादावादका धब्बाबाट बच्न आम नागरिकको दायित्व जोडिन्छ । धुवाँरहित इलेक्ट्रिक यात्रु बस सञ्चालन गर्नसक्ने सम्भाव्यता बोकेको राजधानीले कमसेकम सडकका छेउमा प्रचारका लागि मात्र नभएर अपरिहार्य स्वच्छताको हरियाली वृक्षरेखामा साइनो जोडोस्, अब ।

स्वच्छ प्रकृतिको सिरानीमा सुन्दर स्वस्थ जीवनरथ हाँक्न चाहने मानिसले रोगको कारणलाई आपैmँले जन्माउँछ, प्रकृति स्वच्छताको पुख्र्यौली इतिहासमा स्वार्थको ओढनी ओढाएर प्राणी अस्तित्व सङ्कटको चक्रव्युह आपैmँले रच्दो रहेछ । वैज्ञानिक बस्ती व्यवस्थापनको साटो भद्रगोल सहरका गल्ली मात्र नभई लगभग हरेक खुला सडक दुर्गन्धित र सौन्दर्यहीन लाग्छन् । मन्दिरमा स्वच्छ भई पूजाअर्चना गर्ने तर प्रसादका टपरी, फलोपूmलो या प्लास्टिकजन्य फोहोर छेउमा मिल्काउने संस्कारबाट हामी कहाँ उम्केका छौँ र ! गाउँका स्वच्छ पाखा पखेरीमा थोत्रा, पुराना जुत्ताचप्पल, प्लास्टिकले अलिअलि विस्तारवादी नीति लिएर दौडिँदै गर्दा पाटी, वनभोज या शुभ–अशुभ कार्यहरूमा सर्वश्रेष्ठ प्राणी मानिसले प्रकृतिका गर्भमा फोहोरपदार्थ फाल्नुलाई मन सानो पार्दैन । सिसा, टिनजन्य अपाच्य पदार्थलाई बिना हिचकिचाहट मिल्काउने आधुनिक आडम्बरमा गमक्क पर्ने मानिसले आपूmलाई प्रकृति विध्वंशक हुँ भन्न त कहाँ रुचाउँछ र ! कसैको आँखा छलेर वा रात–साँझको मौका छोप्दै दुर्गन्धित बस्तीका सुगन्धित मानिसले फोहोरको पोको झ्यालबाहिर मिल्काइएका तथ्य खोज्न टाढा जानै पर्दैन । ठूलो बोर्डमा या घरका भित्तामा ‘यहाँ फोहोर फाल्नेलाई ५००० ।– जरिवाना दिलाइनेछ’ भनी लेखिइरहेको हुन्छ तर त्यहाँ नियम नमान्नेको चरित्रले सीमा तोड्न छोड्दैन । जथाभावी पार्किङ गर्ने र ट्राफिकको आँखा छल्नेको पनि त कमी छैन । पैदल यात्रुलाई सडक पेटीमा हिँड्न आग्रह गर्दै गर्दा लाम लागेर बाटो छेक्नेलाई नियमसँग दिलचस्पी रहन्न रहेछ । तर, लामो दूरी पार गरेर जेब्रा क्रसिङमा पुगिने अनि स्कुल, कलेज, अफिस जान ढिलो भइरहँदा गाडी भेट्न झनै गाह्रो हुने पीडा जोडिन्छ । अर्कातिर वृद्धवृद्धा, असक्त, बच्चाका आमा या त विकलाङ्गलाई झनै गाह्रो । न त खुला दिसामुक्त क्षेत्रमा मानवीय स्वभावको प्रस्तुति झल्किन्छ । अर्कातिर निर्माणाधीन र भत्केको सडकमा सवारी चापले तुवाँलोभैmँ ढाकिदिएको धुलाम्मे परिवेश, प्रतिस्पर्धामा लापरवाही तरिकाले बजाइने हरन तथा कैयौँ असचेतनाका कारण राजधानीवासीको स्वस्थ्यमै सङ्कटका लप्काले हिर्काइरहेका छन् ।

वायु प्रदूषणकै कारण मुलुकका ९० प्रतिशत मानिसले यमढोका ढक्ढक्याउनु परेको अनि काठमाडौँमा मापदण्डभन्दा पाँचौँ गुणा बढी प्रदूषणले घेरिसकेको प्रतिवेदनलाई विश्व स्वास्थ्य सङ्गठनले दर्साइदिन्छ । युनिसेफको प्रतिवेदनअनुसार विश्वकै प्रदूषित सहरको ओहोदामा नयाँ दिल्ली साथमा पटनासमेत परेलगतै काठमाडौँको रत्नपार्कको प्रदूषण मापन यन्त्रद्वारा मापन गरिएको वायुप्रदूषणको बढ्दो मात्राले नेपाली जनजीवनलाई सचेत रहनुपर्ने आवश्यकतामा तातो लगाएको प्रतीत हुन्छ । वर्षात्को शुद्धता अभावका अलावा लगभग २०० दिनभन्दा बढी मापदण्ड विपरीत वायुले राजधानीमा डेरा जमाएका त्रासद प्रमाण फेला परेका छन्– कारण, राजधानी उपत्यकालाई छोडेर हावाले बाहिरिने बाटै भेट्दैन– विज्ञको मत छ ।

लोभ, विलासिता, मानसिक कल्मषको जालोमा बेरिएको मानिस प्रकृतिलाई नेपथ्यमा छोडेर एक्लै दौडन चाहँदा मेडिकल जर्नल द लासेन्टद्वारा जारी प्रतिवेदनमा हरेक वर्ष १० लाखभन्दा बढी मानिसले वायुप्रदूषणकै कारण मृत्युवरण गर्नुपरेको तथ्य निस्किन्छ ।

दिनानुदिन बालबच्चाका कलिला मुटुले स्वच्छ वायु फोक्सोमा प्रवाहित गर्ने अधिकार निमोठिँदै छन् । १४ प्रतिशत क्यान्सर रोगीले मृत्युकै बाटो रोज्नुपरेको अनि फोक्सोजन्य रोग, टाउको दुख्ने, खोकीजन्य अल्पकालीन तथा दीर्घकालीन रोगले सताउने, खाना रुची नहुने, बान्ता हुने, वाकवाकी लाग्नेजस्ता सरुवा तथा नसर्ने रोगका असर देखिएका र भोग्दै गरिएका तथ्यहरूलाई सञ्चार माध्यमद्वारा सचेतनाका लागि पस्किरहिएकै छन् । कतिपय अपरिचित रोगसँगै नाक, कान, घाँटी, मुटु, नसा, फोक्सोजस्ता अति संवेदनशील अङ्गमा प्रदूषणको प्रत्यक्ष प्रहार हुने चिकित्सकहरूको मतले नेपाल आमाको परेली ओभाउन पाएको छैन । विषादीले सजिसजाउ बासी तरकारीका साथमा दूषित पानीको थप परिकारको फलस्वरुप हस्पिटलका लेखा शाखामा मोटो रकमको कारोबार बढिरहन्छ ।

शरीरमा अत्तर छर्केर मुखमा माक्ससम्म लगाउने सभ्यता बनाएका हामीले रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हो भन्ने विषयमा एकाकार हुन नसकेको सत्यलाई सिद्धान्तका पानामा अड्काउनु मुर्खता हुनेछ । म एक्लोले गरेर के बिग्रन्छ भन्ने सोचका निर्घिणी सोचकै कारण दुर्गन्धको राज्यगोष्ठीले स्थान पाएको छ ।

उराठलाग्दो बाक्लो बस्तीको भिडमा खुम्चिएको मानिसले आफ्नो प्रकृतिसँगको मितेरी सम्बन्धको गुढतालाई स्मरणपटलमा सुसज्जित बनाउँदै लैजान जान्नैपर्ने हुन्छ । सन्तुलित वातावरणको सुरक्षा, संरक्षण तथा संवद्र्धनको संवेदनशील कित्तामा राजनीतिक गोलचक्करका धब्बा नभई सजीव प्राणीको अस्तित्व रक्षाका विषय गाँसिन्छन् । यसर्थ प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध गर्ने तर प्लास्टिक उद्योगको विकल्पसँग सरलीकरण हुन नसकेका दृष्टान्तसँग हाम्रा प्रयत्न फितला सावित बनिदिन्छन् ।

समस्या समाधानका लागि उब्जिन्छन् तथापि सिद्धान्तभन्दा व्यावहारिक कार्यान्वयन सबल बन्नै पर्ने रहेछ । हाम्रो सनातन संस्कारले सिकाएको वृक्षरोपण, प्रकृतिसंरक्षण तथा प्रकृति पूजादेखि आजका पढाइने विषयमा राखिएका विषयलाई आज व्यवहारमा उतार्नु आवश्यक छ । विकास र परिवर्तनका नाममा कृत्रिमताको ढोल मात्र पिटेमा पुस्तौँपुस्ताले प्रकृतिको सजाय भोग्नुपर्ने कुरामा बोधगम्य हुनु अपरिहार्य ठहर्छ । वर्तमान सन्दर्भमा वायु, भूमि, ध्वनि र जलप्रदूषणको मुस्लोले राजधानीका लाखौँ मानव शरीरका अङ्गप्रत्यङ्ग मक्काउँदै छ । संसारको दौलतले किन्न नसकिने मानव जीवनलाई स्वच्छ वातावरणको आवश्यकता छ भन्ने जान्दाजान्दै सौता भिœयाएर अनादिकालदेखि मानिसले प्रकृतिका हक र अधिकारमा अत्याचार गर्न छोडेको छैन ।

पृथ्वी सबैको साझा घर हो । वातावरण कुनै एक पुस्ताले उपभोग गरेर तिरस्कार गर्ने क्षणिक उपभोग्यवस्तु होइन । न त यसको रक्षामा एउटा व्यक्ति, एउटा संस्था वा एउटा राज्यको मात्र दायित्व जोडिन्छ । दीर्घकालीन समस्यालाई ध्यानमा राखेर बस्ती व्यवस्थापन गर्ने चुनौतीसँग जागरणको प्रवाह होस् ।

कुहिने र नकुहिने फोहोरलाई व्यवस्थापन गरी कुहिने फोहोरबाट प्राङ्गारिक मल तयार पारेर कृषकले करेसाबारीमा रमाउन पाऊन् । फोहोरबाट बिजुली उत्पादन गर्ने विषयमा गाँसिएको रोजगार तथा प्रदूषण सुव्यवस्थापनको दोहोरो फाइदासँग वैज्ञानिक र दीर्घकालीन योजना कार्यान्वयन् होऊन् । नकुहिने कतिपय पुनःप्रयोग गर्न सकिने, प्रशोधन गर्न सकिने तथा नवीकरणद्वारा प्रयोगमा ल्याउन सकिने सामग्रीको सूची तयार पारेर प्रदूषण व्यवस्थापनका साथमा आयआर्जन र रोजगारको दोहोरो फाइदा लिन सकिने सम्भावनाहरू छन् । यसर्थ प्रदूषण, जलवायु परिवर्तनजस्ता समस्या तमाम पृथ्वीबासी सजीव प्राणीको अस्तित्व रक्षाका लागि हो । अतः गरिखाने भाँडो बनाएर कालोधन बटुल्ने नीच सोचमा होइन सम्पूर्ण प्राणीको अस्तित्व बचाउका लागि प्राकृतिक संरक्षण, सन्तुलन, संवद्र्धन तथा विकास रक्षासँगै फोहोरबाट अब मोहरको आशा छ– काठमाडौँजस्ता सहरलाई ।
bhattarairamesh353@gmail.com

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल