विश्व वातावरण दिवसको महत्व

विश्व वातावरण दिवसको महत्व

निपेश ढाका

सन् १९७२ मा सम्पन्न संयुक्त राष्ट्र सङ्घबाट स्थापित सन् १९७३ देखि हरेक वर्ष विश्वभर जुन ५ तारिखको दिन विश्व वातावरण दिवस मनाउँदै आइरहेका छौँ । हामी मानवीय क्रियाकलापबाट भएको पृथ्वीको क्षति र यसका प्राकृतिक स्रोत र सम्पदाहरूको संरक्षणका सम्बन्धमा आम मानिसमा सचेतना वृद्धि गर्ने उद्देश्यले विश्व वातावरण दिवस मनाइन्छ । त्यसैअनुसार हरेक वर्ष यस दिवसको अवसर पारेर वातावरण तथा पर्यावरण संरक्षणसम्बन्धी चेतना विश्वभर फैलाउन सन्देशमूलक नारा दिई विभिन्न कार्यक्रम गर्ने गरिन्छ । यस वर्ष अर्थात् सन् २०१७ मा पनि विश्व वातावरणको दिवस पारेर “पृथ्वीको गोलाद्र्धदेखि भूमध्यरेखासम्मका सहर र जमिनलाई मानव र प्रकृतिसँगको सम्बन्ध जोडौँ” भन्ने नारा दिइएको छ ।

पृथ्वीमा बढ्दौ जनसङ्ख्या तर सीमित प्राकृतिक स्रोत साधन रहेका छन् । लाखौँ प्राणीमध्ये हामी एक बौद्धिक मानव प्राणी, आफ्नो स्वार्थका लागि पृथ्वीको अनियन्त्रित दोहन गर्दै आएका छौँ । यस्तो बढ्दो प्राकृतिक स्रोतको विनासले पृथ्वीमा पर्यावरणीय संरचना खलबलिएको छ । त्यस्तै अनेकौँ किसिमका प्राकृतिक समस्याहरु पनि हरेक वर्ष क्रमिक रुपमा बढ्दै गएका छन् । अहिले बढ्दो जनसङ्ख्या, सहरीकरण, औधोगीकरण, वन विनास, जमिन उपभोगमा फेरबदल जस्ता मानवीय क्रियाकलापले वायुमण्डलमा कार्वनडाइअक्साईड ग्याँसको उत्सर्जन बढ्दै गएको छ । यसले ओजनतहको तापक्रम बढ्दै पृथ्वीको धरातलीय तापक्रम पनि वृद्धि हुँदै गएको छ । पछिल्ला केही शताब्दीमा पृथ्वीको औसत तापक्रम २ डिग्रीले बढ्दै गएको छ । यही क्रम बढ्दै जाने हो भने हामीले देखिराखेका यी सेता हिमाली भाग केही शताब्दीमा कालापत्थर हुनेछन् । त्यस्तै उत्तर र दक्षिण गोलाद्र्धमा रहेका हिउँका भागहरु क्रमिक रुपमा पग्लिएर समुन्द्री सतहको उचाइ बढेर टापुका मानव बस्ती जोखिममा पर्नेछन् । त्यति मात्र नभई अधिक तापक्रमले लाखौँ जीवजन्तु लोपोन्मुख हुँदै जानेछन् । अन्ततः पृथ्वीको अस्तित्व जोखिममा पर्ने सम्भावना छ । अधिक गर्मी, खडेरी, सुख्खा, अधिक वर्षा, प्राकृतिक विपत्ति, अस्वभाविक मौसम हुनुको कारण पनि यही नै हो । त्यसैले यो वर्षको विश्व वातावरणको नारा पृथ्वीको गोलाद्र्धदेखि भूमध्यरेखासम्मका सहर र जमिनलाई मानव र प्रकृतिसँगको सम्बन्ध जोडौँ अहिलेको विश्वको राजनीति र सामाजिक परिवेशमा सान्दर्भिक रहेको छ ।

वातावरणीय समस्या एउटा गाउँ, क्षेत्र र राष्ट्रको मात्र नभई सम्पूर्ण विश्वको साझा समस्या हो । वातावरणको सम्बन्ध पृथ्वीका जलमण्डल, वायुमण्डल र भूमण्डलसँग प्रत्यक्ष रुपमा अन्तर सम्बन्ध रहेको हुन्छ । यो कुरा हामी मानिसले बुझनु जरुरी छ । चाहे त्यो भूमध्यरेखाका होस् या उत्तरी तथा दक्षिणी गोलाद्र्ध नै किन नहोस्, संसारको हरेक क्षेत्रमा असर परे पनि कालान्तरमा पृथ्वीको भूभागलाई नै असर पर्दछ । समुन्द्री तापक्रमसँगै हिउँका भागले पृथ्वीको तापको सन्तुलन राख्नु पनि पृथ्वीको सन्तुलनका सूचक हुन् । अहिले विश्वमा चलिरहेको कार्बन उत्र्सजन र नेपालले पाउने अनुदानको सन्दर्भ पनि यो पूरा पृथ्वीको पर्यावरण र जलवायुलाई समेटेर गरिएको वातावरणीय हिसाब किताब हो । वातावरणीय भाषामा यस्तो पर्यावरणीय सेवा लिनेले सेवा दिनेलाई रकम तिर्नुपर्ने नियम हुन्छ । जसले हाम्रो देशको हिमाली क्षेत्रलगायत पहाड र तराईका वनजङ्गल, जल, लगायत प्राकृतिक स्रोतलाई जोगाइराख्ने हो भने भविष्यमा नेपाल पर्यावरणीय सेवा दिनेमा पर्दछ । यसले विश्वको वातावरणीय हिसाबमा हाम्रो नेपालले अनुदान पाउन सक्छ । यो हाम्रा लागि गौरवको कुरा हो ।

विकशित देशहरुले गरेको वातावरणीय उद्देश्यहरु निकै नै सराहनीय छन् । उनीहरु वातावरण, पर्यावरण र जलवायु परिवर्तनसम्बन्धी निकै नै संवेदनशील छन् । विकशित राष्ट्रहरुको वातावरणीय मुद्दाहरुको अर्थशास्त्रीय तथ्याङ्क हेर्दा उद्योग कलाकारखाना र औधोगिकीकरणले कार्बन उत्र्सजन गरेर ओजन तहलाई नै पातलो बनाइराखेका छन् भने अर्कोतर्फ वातावरणीय प्रदूषणका कारणले उनीहरु निकै नै चिन्तित छन् । त्यसैले खोज, अनुसन्धान र शोधग्रन्थमा उनीहरुको आर्थिक र राजनीति लगानी निकै नै ठूलो छ । यी राष्ट्रहरुले गोलमेच सम्मेलन साथै वातावरणमैत्री हुने किसिमले उद्देश्य र खाका प्रस्तुत गर्न निकै आतुर छन् । आर्थिक, सामाजिक र राजनीतिक मुद्दाबाट सैद्धान्तिक तवरले व्यवहारमा परिणत गराउन कस्सिएका छन् । यो सन्दर्भमा भने हामी आजको दिनसम्म निकै नै व्यवस्थित छौँ । यहाँका प्राकृतिक स्रोतहरु अझै पनि व्यवस्थित र संरक्षण गर्न सकिने स्थितिमा छन् । तर बदलिँदो अस्थिर राजनीतिक परिवेशले गर्दा प्राकृतिक स्रोतको हामीले केही दशकयता निकै नै क्षयीकरण र विनास गरिराखेका छौँ । नदीनालाहरुमा पानीको सतह अङ्कगणितीय पद्धतिमा घटेका छन् भने वन जङ्गल, पशुपक्षी र जनावर, कृषिभूमिको नास, वनफडानी ज्यामितिय पद्धतिमा बढेको छ ।

पृथ्वीका ५ प्राणीमध्ये ४ प्राणीको जीवन माटोमा आश्रित छ । तर अहिले जताततै कच्ची सडक विस्तारले भूक्षय बढेको छ । बढ्दो पोलिथिनको प्रयोग विषादीको बढ्दो प्रयोगले मानवमा अनेकौँ प्रकारका रोग बढेको छ । यसको असरले जीवजन्तु, पशुपक्षी र जनावरको मृत्यु पनि क्रमिक रुपमा बढेको छ । साथै वनजङ्गलको विनाश, नदीनालबाट निकालिएका अवैध खनिज, खानी, चिम्नीको असरले बढ्दो सहरीकरणको कारण जमिनले प्राकृतिक रुपमा पानी सोस्न नसक्दा भूमिगत पानीको सतह घट्दै गएको छ । यसले जलाधार क्षेत्र र सीमसार क्षेत्रमा ठूलो असर परेको छ । यस्ता गतिविधिले पर्यावरणीय गतिविधिहरुमा असन्तुलन बढ्दै गएका छन् । यसले पर्यावरणीय क्षेत्रमा मात्र हैन इकोसिस्टमा नै खलबलिएको हुन्छ । अहिले बढ्दै गएको कच्ची सडक विस्तारले इकोलोजीको संरचनालाई छुट्याइदिएको छ । वर्षामा बहने पानीको मार्ग नै बदलिदिएको छ । त्यति मात्र हैन, बढ्दै गएको वनजङ्गलमा डढेलोले लाखौँ जीवजन्तु नासिएका छन् । कैयौँ लोपोन्मुख जडीबुटी, बिरुवा, रुखहरु मासिएका छन् ।

जङ्गलमा बढ्दो मानवीय क्रियाकलापले, चोरी तस्करीले लोपन्मुख जीवजन्तुको लोप भएको छ । यस्ता अवैधानिक चोरीपैठारीलाई रोक्न, वन डढेलो रोक्न र दोषीलाई कडा कारवाही गर्न सके मात्र वातावरणीय संरक्षणको ठूलो भूमिका खेल्ने थियो । यस्ता अनैतिक र अवैज्ञानिक कार्यहरु रोकी हामीले प्राकृतिक स्रोतहरुको संरक्षण र व्यवस्थापन गर्न राज्यको नीति तथा कार्यक्रम ल्याउनुपर्दछ । विज्ञ, जिम्मेवार व्यक्ति र हामी सबैले प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ ।

वातावरणीय जगेर्ना कुनै ठोस काम होइन, यो त सभ्य समाजको चिन्तन हो । जब समाजमा शिक्षा, स्वास्थ्यमा समानता, त्यस्तै लैङ्गिक विभेद, जातीय विभेद र रुढीवादीको अत्य हुँदै मानवीय अधिकारको संरक्षण हुन्छ तब वातावरण पर्यावरण संरक्षण हुन सहयोग पुग्दछ । हरेक मानवका आधारभूत अधिकारहरु पनि वातावरणीय गतिविधिसँग अप्रत्यक्ष रुपमा जोडिएको हुन्छन् । देशको आर्थिक उन्नति, सभ्य समाज, विकास, कृषि जस्ता महत्वपूर्ण कुराहरु वातावरण तथा पर्यावरणसँग प्रत्यक्ष सरोकार रहेका छन् । त्यसैले जैविक तथा भौगोलिक विवधताको धनी नेपाल हिमाली क्षेत्र, चुरेभावर क्षेत्र, अन्नको भण्डार तराई क्षेत्र र अनेकौँ सभ्यता बोकेका प्राकृतिक स्रोतहरुको दिगो संरणक्ष गर्दै, प्राकृतिकमैत्री कृषि जल र पर्यापर्यटन विकासको प्रवद्र्धनका लागि सम्पूर्ण नेपाली जुट्नै पर्दछ । यही कुरालाई आत्मसाथ गरेमा मात्र विश्व वातावरण दिवसको अभियान र नारा सार्थक रहन्छ । हामी मानव जातिले आफ्नो स्वार्थका लागि मात्र नभएर लाखौँ प्राणी र पृथ्वीको अस्तित्व बचाउनका लागि पनि प्राकृतिक स्रोतहरुको दिगो व्यवस्थापनमा जुट्नै पर्दछ ।
nipesh.dhaka@gmail.com

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल