मैले चिनेका प्रकाश दाहाल

मैले चिनेका प्रकाश दाहाल

विजय भट्टराई

के छ हो प्रकाशजी, प्रज्ञा–प्रतिष्ठानको बाहिर चौरमा बसिरहेको बेला मैले सोधँे उनलाई । यसो मतर्फ हेरेर उनको बोली निस्कियोे, केको प्रकाश “प्रचण्ड पुत्र प्रकाश भन्नुस् न” । मलाई बुझ्न गारो परेन– यो उनको व्यङ्ग्य थियो ।
उनी अर्थात् प्रकाश दाहाल, एमाओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव । नाताले प्रचण्डका छोरा । तर यही नातासँग जोडिएको परिचय नै उनका लागि गलपासो जस्तै बनेको छ । “जसले पनि प्रचण्ड पुत्र भन्दै ट्याग लगाउने ? मलाई अनावश्यक विवादमा ल्याउने ?” उनले कुराकै क्रममा भने ।

“तपाईं प्रचण्डको छोरा त हो नि ? अनि प्रचण्डपुत्र भन्दा चाहिँ किन रिसाउनु परेको ?” यो प्रश्नको जवाफमा उनले भने– “त्योसँगै म, मेरो पनि त पहिचन छ, चेत पाएदेखि आन्दोलनमा निरन्तर लागेको व्यक्ति । मेरो राजनीतिक चेतना र योगदान के ‘पुत्र’कै छायाँमुनि ढाकिरहने ?, म बसे पनि विरोध, उठे पनि विरोध ?”


प्रचण्डकै छोरा भएको कारण ‘कृपा’ गरेर पद, प्रतिष्ठा आर्जन गरेको भए पुत्रको पगरी गुथाउँदा पनि फरक पर्थेन होला भन्दै प्रकाशले थपे– ४, ५ कक्षादेखि नै सङ्गठित भएर निरन्तर पार्टीको काममा हिँडे, मैले त मेरो योगदानकै आधारमा पनि केन्द्रीय सदस्यको दाबी गर्न मिल्छ र पनि मेरो जीवनलाई सीएमको ट्यागमा झुण्ड्याउन छोडिएन । सीएम अर्थात चेयरमेन, माओवादीहरुले अध्यक्ष प्रचण्डका लागि प्रयोग गर्ने शब्द ।

प्रकाश दाहाल नेपाली मिडियामा धेरै छाए । खासगरी सगरमाथा आरोहण र बहुविवाहका कारण उनी सधैँ चर्चामा रहे । मिडियाले उनी एउटा होटलबाहिर कुर्सीमै निदाएको कुरालाई मात्तिएको भनेर समेत प्रचार गर्यो । कतिपयले उनलाई नवपारससमेत भने । प्रचण्डको छोरा भएर मात्तिएको भन्न पछि परेनन् मान्छेहरु ।
किन तपाईं नै टार्गेट त ? मिडियाले त्यत्तिकै खेदो खनेको होला र तपाईंको ? प्रश्न जन्मिनु स्वभाविकै थियो ।

मिडियाले एकचोटी ‘भेरिफाई” नगरी सब आफूलाई नै थाहा भएजस्तो लेख्ने र केही मानिसहरुले नियोजितरुपमा आफूविरुद्ध प्रचार गरेको उनी बताउँछन् । प्रकाशले प्राङ्गणमा रोकेर राखिएका माओवादी नेताका गाडीहरुतर्फ देखाउँदै भने– तपार्इंलाई थाहा छ, यी सबै गाडी मैले चलाएको छु नेताहरुको ड्राइभर जस्तै बनेर । त्यो कुरा मिडियामा आयो ? माओवादीभित्रै पनि जनयुद्ध लडेका नेताका छोराछोरी आज कहाँ छन् ? कसैले खोजी गर्छ ? अनि म प्रचण्डको छोरा भए भन्दैमा मेरो मात्रै पिछा गर्ने ? प्रकाशको बुझाइमा प्रचण्डमाथि प्रहार गर्न कतिपयले उनलाई निशाना बनाए । ‘प्रचण्डको वैचारिक पावरलाई कमजोर’ पार्न नसकेपछि छोरो मार्फत हिर्काउने र कमजोर बनाउन सिर्जना गरिएको कुटिल चाल हो’ । यसमा आफ्नै पार्टीभित्रका नेता पनि संलग्न रहेको उनको दाबी थियो ।

वामपन्थी आन्दोलनमा व्यक्तिगत सम्पत्ति, परिवार, निजी सम्बन्ध सबैको पार्टीकरण गर्ने नीति रहेको हुन्छ । अझ माओवादीको सशस्त्र युद्धमा त सर्वाहारा संस्कृतिको विकास भन्दै सबैले आफ्नो परिवारलाई क्रान्तिमा हिँडाए पनि । अरुका छोराछोरीलाई सङ्घर्षमा, पार्टीमा, क्रान्तिमा होमिन आह्वान गर्ने तर आफ्ना छोराछोरीलाई राजनीतिबाट टाढा राख्ने प्रवृत्ति बुर्जुवा संस्कार हो भन्दै कतिपय नेताहरुको आलोचना समेत भयो । प्रकाश भन्छन्– त्यही नीतिका आधारमा म पनि हिँडे बन्दुक बोकेर । मर्न सक्थेँ, बाँचेँ । आज आएर भने मलाई प्रचण्डको पुत्रका रुपमा मात्रै हेर्दा सुहाउँछ र ?– पार्टीभित्र समेत राम्रो काम गरेपछि बढुवा हुनुपर्ने भए पनि त्यही पिता–पुत्रको सम्बन्धका कारण आजसम्म बढुवा नभएको उनी बताउँछन् । “योगदान गरेपछि योगदानको मूल्याङ्कन हुनुपर्ने होइन ? तर यहाँ सधैँ बाबु छोराको चार्ज लगाइन्छ ।” प्रकाशले भने ।

प्रकाशको दुखेसो चर्चाका लागि समाचार बनाइहाल्ने मिडियाको प्रवृत्ति छ । अहिले नियोजितरुपमा पदकको विवाद सिर्जना गरिएको उनी बताउँछन् । आफूमाथि बहुविवाहदेखि मात्तिएको आरोपसमेत लगाएका घटना स्मरण गर्दै उनले ती यावत घटनामा एकाधबाहेक कसैले पनि आफ्नो प्रतिक्रिया नलिएको दावी गरे । आफ्नै पार्टीका केही उच्च पदस्थ कमरेडहरुका छोराछोरी भारत या अन्य देशमा बसेर पढाइ गरिरहँदा होल टाइमर भएर रोल्पा, रुकुमदेखि भारतका गल्लीगल्ली पुगेको कुरा मिडियाले नदेखेको उनको गुनासो थियो । “प्रचण्डको छोरा मात्रै बनेको भए जनयुद्धको बेला म पनि असुरक्षा भएको बहानामा सुरक्षित रुपमा कतै बस्थँे होला, या कतै गएर पढ्थेँ नि ।” उनले भने– “तर मैले अध्यक्षको न धाक लगाएँ, न त्यसको फाइदा उठाएँ, बरु क्रान्ति मेरा लागि पनि हो भन्दै पार्टीले खटाएको ठाउँमा हिँडे । तर पनि प्रचण्ड पुत्रको ट्याग नछुट्ने भो कहिल्यै” दुखेसो पोखे उनले ।

प्रचण्डको ट्यागको कुरा गर्दैगर्दा मज्जैले हाँसे प्रकाश । “अब पार्टीमा काम गरेको आधारमा कुनै जिम्मेवारी पाए ‘प्रचण्ड पुत्र फलानो पदमा’ भन्ने, व्यापारतिर हात हाले प्रचण्डको पैसा चोख्याउने नाटक भन्ने’, पार्टीकै निर्देशन अनुसार प्रचण्डसँग कतै गए ‘प्रचण्डपुत्रको मस्ती भन्ने’ । कुनै व्यवसाय र प्रचण्डको पैसा चोख्याए भन्ने ? अब म प्रचण्डको छोरा नै होइन त भन्न मिलेन नि ?”

२०५४ सालमा उनले पार्टीमा सदस्यता लिए । भारतमा रहेको पार्टीको युवा सङ्घको उत्तरपश्चिम क्षेत्रको कोषाध्यक्ष बने उनी । यो एक किसिमले पार्टीमा पूर्णकालीन संलग्नता नै थियो । कक्षा ११ मा परीक्षा दिन नपाएको उनले बताए । “कलेजमा हाजिरी जम्मा ३५ प्रतिशत पुगेछ । चाहिने कम्तीमा ७२ प्रतिशत, जाँच नै दिन सकिनँ र पढाइ छुट्यो ।

त्यसपछि उनी सबै व्यक्तिगत पक्ष छोडेर पार्टीको पूर्णकालीन कार्यकर्ता बने । जनमुक्ति सेनामा जान निवेदन दिए उनले । तर उनको निवेदन स्वीकार भएन । सूचना र सञ्चारमा निपूण भएको देखेर पार्टीले उनलाई रोल्पा र रुकुम क्षेत्रलाई आधार मानेर पार्टीको हेडक्वार्टरको सञ्चारको काममा खटाएको उनी बताउँछन् । जनयुद्धकालमा सूचना व्यवस्थापन युद्धको एउटा मुख्य थियो । आन्तरिक सूचना प्रवाह, बाह्य सूचना सङ्कलन, सूचना सम्बन्धको विकास अत्यन्तै जटिल थियो । उनी यही जिम्मेवारी पूरा गर्नतिर लागे । यता राजधानीमा वार्ताहरु भइरहेका थिए । फौजी युद्धले विकास गर्दै गएपछि प्रकाश र जोखबहादुर महरा २०५७ देखि पार्टी अध्यक्षको सचिवालको जिम्मेवारी सम्हाल्न पुगे । प्रकाश भन्छन्– “यो समय भनेको पार्टीभित्रसमेत चरम अन्तरविरोधको विकास भएको थियो भने नेपाली सेनाले चौतर्फी आक्रमण गरिरहेको समय थियो । पार्टी अध्यक्ष र हेडक्वार्टरका लागि सूचना र अन्य व्यवस्थापन अत्यन्तै जरुरी थियो । १२ बुँदे सहमति हुँदासम्म आधार इलाकामा नै बसियो ।”

प्रविधिमा पोख्त प्रकाश अहिले पनि दैनिक सूचनामा यति तीव्र छन् कि उनको मोबाइलमा घण्टी बजाउँदै हरेक क्षण सूचनाको माग आउँछ । उनी कतिपय बेला उनी देश र विदेशका हरेक घटनाको पहिलो पाठक बन्छन् । सरकारका कुन सूचना कसरी सार्वजनिक गर्ने भन्ने उनलाई राम्रोसँग हेक्का छ । “पीएमको सचिवालय यति व्यवस्थित र यति सहजरुपमा सूचना प्रवाह गरेको उदाहरण छैन आजसम्म” उनी गर्व गर्छन् ।

पार्टीभित्रै रमाएका प्रकाशले पार्टी खुला राजनीतिमा आइसकेपछि भने बल्ल पढ्न नपाएको दुःखको अनुभूति गरे । “बुवाका लागि युद्ध नै प्रधान थियो, व्यक्तिगत सम्बन्ध र परिवार उनका लागि गौण रह्यो । आजसम्म तँ पढ भनेको थाहा छैन् ।” उनले कुरा खोले– “शान्तिकालमा आएपछि यसो अरुलाई हेर्दा ‘मैले पनि पढ्न पाएको भए’ भन्ने लग्छ बारम्बार ।” उनी भन्छन्– “नेताका छोरोछोरी विदेश पढ्न गए, कतिले यहीकै राम्रा स्कुल र कलेज पढेका छन् तर मैले जम्मा १२ कक्षा पास गरेको छु, त्यो पनि भूमिगत अवस्थामै ।’ आफूलाई पार्टी र बाहिर खेद्ने कारण पढाइ पनि भएको उनको बुझाइ छ । अब प्राइभेट दिएर भए पनि बीए पास गर्ने कुरा बताउँछन् ।

प्रकाश २०४१ सालमा चितवनमा जन्मिएका हुन् । चर्चाका हिसाबले जति चुलिए पनि उमेरका हिसाबले उनी ३१ वर्ष पुगे । सामान्य बालबालिकाको जस्तो ‘परिवारको अनुभूति’ नै पाएनन् उनले । बुबा पूर्णकालीन राजनीतिमा, आमा बुबासँगै । घरमा दिदीहरु मात्र । १५, १६ वर्षदेखि परिवार भनेकै पार्टी । “जे सिकेँ, आफै सिके, पार्टी र जनताबाट सिकेँ, यसो गर, उसो गर, यो खा, त्यो नखा, यो पढ, त्यो नपढ, यता हिँड, त्यता नहिँड भन्ने कहिल्यै भएन । अहिले आएर सामान्य गल्तीलाई लिएर आलोचना हुँदा दुःख लाग्छ, मानिसहरुले मलाई नबुझेकोमा ।” भावुक हुँदै भने प्रकाशले ।

“मान्छेलाई मूल्याङ्कन गर्दा वस्तुनिष्ठ हुनुपर्ने होइन र ?” प्रकाशले प्रश्न गरे । आफूलाई नबुझ्नेले कसैले पारसजस्तो भनेको, कसैले मस्ती गर्दै हिँडेको बताएपनि जानाजान गलत काम नगरेको उनले बताए । “आजसम्मको जीवनमा मैले कति जना मान्छे मारेको छु ? देखाउनुपर्यो ? मैले कतिजनालाई बलात्कार गरेको छु प्रष्ट पार्नु पर्यो । मेरो विगत, मैले गरेको त्याग र लगानीको अध्ययन÷समीक्षा नगरी जे पनि लेख्न र बोल्न पाइन्छ होला र ?” उनले प्रश्न गरे ।

मानिसका अगाडि कतिपय अवस्थामा ‘हात समातेर डोर्याउने अभिभावक नहुँदा गल्तीहरु हुने’ उनको ठम्याइ छ । आफूबाट समेत केही गल्ती भएको उनी स्वीकार्छन् । तर गल्तीहरुलाई सचेततापूर्वक सच्याएकोमा समेत उनी गर्व गर्छन् । ‘‘मैले विगतमा अन्जानमा कमजोरी गरेको पक्कै हो त्यसको सजाएँ भोगिसकेको छु, तर हिजोकै विगत कोट्याएर मलाई सधैँ नराम्रो भन्नु कसरी न्यायोचित भयो र ?’’ विवाहको बारेमा समेत सत्यतथ्य अझैसम्म बाहिर थाहा नपाएको उनले दावी गरे । “बाहिरबाट हेर्दा केटीका लागि मरिहत्ते गर्ने व्यक्तिका रुपमा लाग्छु होला, तर भित्री कथा मलाई मात्रै थाहा छ । कतिपय कुरा मैले सार्वजनिक गर्नसमेत सक्दिनँ ।” उनले भने । शान्तिकालमा बहुविवाहको आरोपमा पार्टीले दुई वर्षसम्म साधारण सदस्यतासमेत नरहने गरी कारवाही गर्यो । उनले पार्टीको कारवाही सहस्र स्वीकार गरे तर पार्टीको कामबाट बाहिर गएनन् । पार्टीमै क्रियाशील रहेको कारण उनीमाथि लगाइएको कारवाही फुकुवा गरियो । कारवाही फुकुवा भएपछि उनी केही समय त्यतिकै बसेँ । यस्ता कुराले आफ्नो योगदानको अवमूल्यन गरेको उनको ठहर छ ।

प्रचण्डसँगको सम्बन्ध बुबा र छोराको कहिल्यै हुन नसकेको उनले बताए । “बुबाले हाम्रो व्यक्तिगत जीवनका लागि कहिले सोच्नुभएन, मलाई चिन्ता भविष्यमा कसरी ‘सस्टेन्ड’ हुने भन्नेमा छ” उनले भने । अब भने उनको भावी योजना राजनीतिमै पूर्णकालिन संलग्नता रहनेछ । आर्थिक व्यवस्थापनका लागि उनले बङ्गुर पालन गरेका छन् । चितवनमा साझेदारीमा गाई पालनसमेत उनले गरेका छन् । तर यसलाई पनि प्रचण्डको अरर्बौंको कालो धन चोख्याउन गरिएको नाटक भनेकोमा उनको झनै दुखेसो छ । भन्छन्– “कालो धन नै चोख्याउनु थियो भने त अरु ठूला उद्योगको व्यापार गर्थें होला नि । ८, १० बङ्गुर पालेर करोडौँ, अरबौं चोखिन्छ र ?” प्रचण्डको नाम लिएर आर्थिक चलखेल गरेको एउटा पनि उदाहरण खोज्न उनले चुनौती नै दिए । राजनीतिक र निजी जीवनको अन्तर्सम्बन्धलाई पार्टीले सही ढङ्गले बुझ्नुपर्ने उनको अनुरोध छ । योगदान र क्षमताका आधारमा जुनसुकै जिम्मेवारी दिए पनि पूरा गर्ने उनले बताए ।
भावकुतामा पुगेको बेला कुराको बिट मार्दै उनले फेरि हँसाए– ल, तपाईंलाई अन्तर्वार्ता लिएकोमा धन्यवाद । शीर्षक फेरि उही “प्रचण्डपुत्र भन्छन् भन्ने त बनाउनु हुने होला नि ?”
(लेखक अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष हुन्, लेखकका निजि विचार)

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल